बजेटमा एसेम्बलिङ उद्योगमा कर बढ्ने सूचना कसले चुहायो ?
काठमाडौं । अर्थमन्त्रालय आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट लेखनको अन्तिम चरणमा पुगेको छ । बजेट लेखनकै लागि मन्त्रालयले सोमबारदेखि अर्थमन्त्रालयको ढोका नै बन्द गरेको छ । बाहिरि व्यक्तिहरु मन्त्रालय प्रवेश गर्दा बजेट लेखनमा प्रभाव पर्नेभन्दै सोमबारदेखि अर्थमन्त्रालय बाहेकका अन्य कर्मचारीहरुलाई बाहिरै रोकेर मन्त्रालय बजेट लेखनमा केन्द्रित भएको हो । गत चैतदेखि नै मन्त्रालयले ६ सदस्यीय बजेट लेखन समूह बनाएर बजेटको काम गरिरहेको छ । कोर टिम बनाएर बजेट लेख्दा वा भनु मन्त्रालयकै ढोका बन्द गरेर काम गर्दा बजेटमा समावेश हुने करका दर हेरफेरको सूचना बाहिरिएको छ । आगामी बजेटमा करको दर हेरफेरको सूचना चुहिएसँगै उद्योगी व्यवसायीहरु बजेटमा समावेश नगर्न लविङ सुरु गरेका छन् । मंगलबार नै नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले एक विज्ञप्ती नै जारी गरेर करका दर हेरफेर नगर्न आग्रह गरेको छ । ‘हामीले गोप्य सूचना मार्फत आगामी बजेटमा नेपालमा नै सवारी उत्पादन गर्ने (एसेम्बलिङ) उद्योगमा दिँदै आएको कर छुट हटाउने जानकारी पाएका हौँ, सरकारले प्रत्येक वर्ष करको दरमा परिवर्तन गर्दा व्यवसायमा संकट आउने देखिपछि नबढाउन आग्रह गरेका हौँ’, नाडा स्रोतले भन्यो । ‘सरकारले ल्याउन लागेको बजेटमा त्यस्ता सवारी साधन एसेम्बलिङ्ग उद्योगहरुलाई दिइदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौटी गर्न लागेको भन्ने विषयमा सुनिएको छ’, नाडाले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ । नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले जारी गरेको विज्ञप्ती अनुसार सरकारले एसेम्बल उद्योगमा छुट दिँदा हाल नेपालमा २ वटा कम्पनीले दुई पाँग्रे सवारी उत्पादन गर्दै आएका छन् भने अन्य तयारीको चरणमा रहेका छन् । ‘नाडाले धेरै समय अघिदेखि राख्दै आएको मागलाई दृष्टिगत गदैं सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि नीजिक्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको छ, यसैको फलस्वरुप नेपालमा ४ वटा दुई पाँग्रे सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको, अरु दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको र केही अरु यस्ता एसेम्बल उद्योगहरु खुल्ने तयारीमा रहेका छन्’, विज्ञप्तीमा भनिएको छ ।
सवारी साधन एसेम्बलिङ्ग उद्योगको छुट कटौती गरे ठूलो लगानी डुब्छ : नाडा
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशनले सरकारले आउँदो बजेटमार्फत सवारी साधन एसेम्बलिङ्ग उद्योगको महशुलमा छुट कटौती गर्न लागेको विषयमा आपत्ती जनाएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै नाडाले यस विषयप्रति आपत्ती जनाएको हो । सरकारले यसरी सेवा कटौती गर्ने नीति ल्याएमा एसेम्बल उद्योगमा लगानी गरिरहेका उद्योगी व्यवसायीहरुको ठूलो लगानी डुब्नुका साथै नेपालको ओद्योगिकरणको दौड पनि अझै पछाडी पर्ने निश्चित रहेको नाडाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधरणले समेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्नेका साथै रोजगारी सृजना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने नाडाको भनाइ छ । ‘सरकारले सबै नागरिकले सवारी साधन प्रयोग गरुन भन्ने उद्धेश्यले सोही अनुरुप नीतिगत प्रोत्साहनका प्याकेजहरु ल्याउँदै जानु पर्नेमा थोरै वर्षको अन्तरालमा भएकै नीतिहरुलाई समेत पटक पटक हेरफेर गर्दै जाने हो भने नेपालमा एसेम्बलिङ्ग उद्योग खुल्ने त कुरै छाडौ भएकै एसेम्बल उद्योगहरु पनि बन्द हुने अवस्था आउने छ,’ नाडाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । नेपालमा ४ वटा दुई पाँग्रे सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको छ । यस्तै, दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको छन् भने केही खुल्ने तयारीमा रहेका छन् । सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि नीजिक्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको छ ।
सुन्दर अटोको ईभी मोटरसाइकल ‘गन्तव्य’ सार्वजनिक, साढे २ लाख पर्ने
काठमाडौं । सुन्दर अटो ईन्जिनियरिङले गन्तव्य ईभी १००-एस मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गरी सो मोटरसाइकलको सार्वजनिक गरेको हाे । कम्पनीले आफ्नै डिजाइन तयारी गरी सो इलेक्ट्रिक मोटरसाइकल बनाएको हो । गन्तव्य मोटरसाइकल नेपालको प्रविधि र स्रोत साधनको प्रयोग गरी निर्माण गरिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । ‘नेपाल सरकारले अहिले विद्युतीय सवारीको प्रोत्साहन गरिरहेको छ, यस्तो अवस्थामा हामीले स्वदेशमा नै ईभी मोटरसाइकल तयार गरेका छौं, यो नेपालको बाटोमा सुहाउँदो मोटरसाइकल हो,’ उनले भने । अध्यक्ष थापाले उक्त मोटरसाइकलमा ३० देखि ४० प्रतिशत सामाग्री नेपाली र बाँकी अन्य देशबाट ल्याएर तयार गरिएको जानकारी दिए । ‘गन्तव्य ईभीको जाँच पास सरकारी निकायबाट भइसकेको छ, अहिले नम्बर प्लेट प्राप्तिको तयारीमा छौं,’ उनले भने । गन्तव्य मोटरसाइकलमा १५०० वाटको मोटर र ५१.२ भोल्टेजको ब्याट्रीको जडान भएको छ । सुन्दर अटोका अनुसार यस बाइको अधिकतम गति २४ देखि ५५ किलोमिटर प्रति घण्टा रहेको छ । यसै गरी यस बाइकको रेन्ज १००-१२० किलोमिटर रहेको छ । यस्तै, गन्तव्यको ग्राउन्ड क्लियरेन्स १५० मिलिमिटर छ भने याे फाइबर र पलास्टीकले बनेकाे हाे । थापाका अनुसार गन्तव्य ईभी १००-एस मोटरसाइकलको मूल्य २ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । उनका अनुसार आजबाट एक महिनाभित्र खरिद गर्ने ग्राहकले दुई लाख ४० हजार रुपैयाँमै बाइक प्राप्त गर्न सक्ने छन् ।