टोयोटाको नाफा १८ अर्ब १३ करोड अमेरिकी डलर, प्रक्षेपण गरेको भन्दा बढी
टोकियो । सबैभन्दा बढी बिक्री हुने जापानी कार निर्माता कम्पनी, टोयोटाले बुधबार आफ्नो पूरा वर्षको खुद नाफाले अपेक्षालाई उछिनेको बताएको छ । कम्पनीले आगामी आर्थिक वर्षका लागिसमेत राम्रो बिक्री र राजस्व सङ्कलनमा थप योगदानको प्रक्षेपण गरेको छ । जापानी फर्मले गत आर्थिक वर्षको लागि २.४५ ट्रिलियन येन (१८.१२ अर्ब अमेरिकी डलर) को शुद्ध मुनाफाको रिपोर्ट गरेको छ । यो कोभिडले थला परेको विश्व अर्थतन्त्र र युक्रेनमा जारी युद्धका कारण प्रभावित बजारमा अपेक्षा गरिएको २.३६ ट्रिलियन येनको प्रक्षेपणभन्दा बढी हो । यद्यपि, एक वर्ष पहिलेको तुलनामा यो १४ प्रतिशत कम हो । २.३६ ट्रिलियन येनको प्रक्षेपणलाई पछाडि पारेको छ । सेमीकन्डक्टर आपूर्तिमा सुधार र उत्पादन स्थलहरूको प्रयासका कारण आगामी वर्षका लागि पूर्ण वर्षको खुद मुनाफा पाँच प्रतिशतले वृद्धि भई २.५८ ट्रिलियन येन पुग्ने अनुमान गरिएको छ । अधिकांश उद्योगले महामारीका कारण प्रभावित बजार र विश्वव्यापी चिप अभावको प्रभावसँग जुधिरहेको समय जापानी विशाल कार कम्पनीले सन् २०२२ मा लगातार तेस्रो वर्ष आफ्नो सबैभन्दा बढी बिक्री हुने सवारी साधनका रूपमा रेकर्ड राखेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोजी सातोले भने, ‘एक शब्दमा भन्ने हो भने यो वर्ष हाम्रा ग्राहकलाई गाडी उत्पादन र डेलिभरी गर्न निकै कठिन वर्ष थियो ।’ प्रमुख वित्तीय अधिकारी योइची मियाजाकीले गत आर्थिक वर्षमा उत्पादन अवरोधका लागि प्राकृतिक प्रकोपदेखि चिप सङ्कटसम्म सबै कुरा उद्धृत गर्दै आफ्नो आम्दानीलाई उत्साहजनक भनेका छन् । टोयोटाले गत आर्थिक वर्षमा विश्वभर एक करोड पाँच लाखभन्दा बढी कार बेचेको थियो, जसमा हिनो मोटर्स र दाइहात्सुजस्ता सहायक कम्पनीले बनाएका कार पनि समावेश छन् । ‘सेमीकन्डक्टर आपूर्ति र मागमा सुधार भएको छ, हामी सबै क्षेत्रमा वृद्धिको अपेक्षा गर्दछौँ,’ मियाजाकीले भने । टोकाई टोकियो रिसर्च इन्स्टिच्युटका वरिष्ठ विश्लेषक सेइजी सुगिउराले परिणाम घोषणा हुनुअघि एएफपीसँग भने, ‘उत्पादन क्षमतामा वृद्धिले सेमीकन्डक्टरको अभावको प्रभाव घट्दै गएको सङ्केत गर्छ ।’ अनुसन्धान तथा परामर्श फर्म टीआईडब्लुका अटो एनालिस्ट सतोरु ताकाडाका अनुसार भूकम्पजस्ता प्राकृतिक प्रकोपको प्रभावसँग जुध्न सक्ने प्रणाली निर्माण गर्न टोयोटाले ‘निकै कडाइ’ गरेको र यसबाट आम्दानीमा थप उल्लेख्य योगदानको अपेक्षा गरिएको छ । यस वर्षको सुरुमा टोयोटाले अकियो टोयोडाको स्थानमा ५३ वर्षीय सातोलाई कार्यकारी प्रमुखको रूपमा नियुक्त गरेको थियो । उनले सन् २०२६ सम्ममा ’नेक्स्ट जेनेरेसन’ लेक्सस गाडीको आविष्कारसहित ‘नयाँ दृष्टिकोण’ मार्फत ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनको विकासलाई‘’गति’ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । केही आलोचक भन्छन्, ‘उत्सर्जन अटोमोबाइलको लागि माग बढेको अवस्थामा टोयोटाले हाइब्रिड कारहरूको नेतृत्व गरेको छ । कम्पनी ब्याट्री–सञ्चालित इन्जिनमा स्थानान्तरण गर्न ढिलो भएको छ । जबकि कम उत्सर्जन अटोमोबाइलको लागि माग बढेको छ ।’ कम्पनीले सन् २०२६ सम्ममा विद्युतीय कारको बिक्री १५ लाख युनिट पु¥याउने लक्ष्य राखेको छ, जुन सन् २०२२ मा २० हजार रहेको देखिन्छ ।
नेक्सन इभी म्याक्स अब नेपाली बजारमा, मूल्य साढे ४६ लाख
काठमाडौं । यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले नेक्सन इभी म्याक्सको नेपाली बजारमा बिक्री वितरण शुभारम्भ गरेको छ । कम्पनीको हाल बजारमा बिक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप ७.२ किलोवाट चार्जिङ्गको व्यवस्थासहित यो नयाँ गाडी ४६ लाख ४९ हजार मूल्यमा उपलब्ध रहेकाे छ । उच्च भोल्टेजको उच्चतम जिप ट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तीन वटा आकर्षक रङ्गहरुमा उपलब्ध छ । त्यसैगरी, स्ट्यान्डर्ड रङ्गको रुपमा डुएल टन बडी पनि उपलब्ध छ । ४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी छ । यस कारणले यो गाडीले विना कुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्ने कम्पनीकाे दावी छ । यसले १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ । यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ्ग कार्य सम्पन्न गर्दछ । नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्र नेक्सन इभी म्याक्समा जस्तोसुकै मौसम र सडक अवस्थामा यात्रा गर्न सक्ने बताउँछन् । ‘रेञ्ज, आराम र बनावट जस्ता दृष्टिकोणले पनि यो सर्वोत्कृष्ट छ । त्यसैले विद्युतीकरणको दिशामा अगाडि बढिरहेको नेपाली अटोमोबाइल बजारमा यसले अमिट छाप छोड्न सफल हुनेमा हामी विश्वस्त छाैं,’ उनी भन्छन्। नेक्सन इभी म्याक्समा एक्टिभ मोड डिस्प्ले, मकराना बिज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ्ग जस्ता सुविधाहरु भएको ज्वेवेल्ड सेन्ट्रल नबको व्यवस्था छ । नेक्सन इभी म्याक्स इको, सिटि र स्पोर्ट गरी जम्मा तिनवटा मोडहरुमा उपलब्ध छ । यस गाडीमा मल्टी–मोड रिगेनको विशेषता छ, जसले चालकलाई फ्लोर कन्सोल रहेको स्विच मार्फत रिजेनेरेटिभ ब्रेकिङ्गको लेभललाई सहज तरिकाले मिलाउन सहयोग गर्दछ । ड्राइभिङ्ग अवस्था अनुरुप रिगेनको चार विभिन्न लेबलहरु मध्ये एक प्रयोग गर्न सकिन्छ । लेभल ० मा शुन्य रिक्युपरेटिभ ब्रेकिङ्ग देखि लेभल ३ सम्म जसमा एउटै पेडल प्रयोग गरी गाडी हाँक्न सकिन्छ ।
ईभीको उदयसँगै डिजेलबाट चल्ने गाडीको व्यापारमा धक्का
काठमाडौं । नेपालमा इलेक्ट्रिक भेइकल (ईभी) सवारीको लोकप्रियता बढ्नुको साथै प्रयोगकर्ताको संख्या बढ्दो छ । पछिल्लो समय सडकमा विभिन्न कम्पनीका ईभी सवारीको उपस्थिति बाक्लो हुँदै गएको देखिन्छ । ईभीमा मान्छेको आकर्षण बढेसँगै सरकारले पनि यसलाई प्रोत्साहन गर्ने नीति लिएको छ । यसका लागि सरकारले ईभी गाडीको आयातमा भन्सार छुट तथा विभिन्न सेवा तथा सुविधाहरू दिइरहेको छ । सरकारले ईभी सवारीको क्षेत्रमा सन् २०२५ सम्म प्राइभेटमा २० प्रतिशत र सार्वजनिक यातायातमा २५ प्रतिशत र २०३० सम्ममा सबै निजी यात्रुवाहक सवारीको बिक्री ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यस्तै, चार पाँग्रे सार्वजनिक यात्रुवाहक विद्युतीय सवारीको बिक्री ६० प्रतिशतले वृद्धि गर्ने योजना छ । पछिल्लो समय ईभी सवारीको खरिदबिक्री बढेसँगै त्यसको असर पेट्रोल र डिजेलबाट चल्ने गाडीमा देखिन थालेको छ । पेट्रोल र डिजेलबाट चल्ने गाडीको बिक्रीमा पनि कमी आएसँगै यसको व्यवसायमा समेत असर गरेको छ । ईभीका गाडीले डिजेलबाट चल्ने गाडीको व्यापारमा धक्का दिन थालेपछि डिलरहरूलाई व्यवसाय धान्न पनि मुस्किल परेको व्यवसायीहरु बताउँछन् । इन्जिनका गाडी बिक्रीमा कमी आएसँगै डिलरहरुलाई समेत समस्या भएको हो । अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को तथ्याङक अनुसार विद्युतीय गाडीको आयातमा वार्षिक वृद्धि दर ४३ प्रतिशतले बढेको छ भने दुई पाँग्रे ईभीका सवारीमा ६३ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९/२० मा ५७५, २०२०/२१ मा २१८, २०२१/२२ मा १५४० र २०२२/२३ मा २४१६ वटा ईभी गाडी आयात भएको नाडाको तथ्यांकमा उल्लेख छ । ईभीका सवारीको आयात र बिक्रीमा वृद्धि भएसँगै इन्जिनका गाडी बेच्ने डिलरलाई गाडी बेच्न समस्या सिर्जना भएको व्यवसायीहरुको भनाइ छ । आर्थिक मन्दी, बैंकिङ ब्याजमा वृद्धि, पेट्रोल तथा डिजेलको मूल्य उच्च भएको कारणले पनि इन्जिनका गाडीमा मान्छेको आकर्षण घटेको हो । नाडाका अध्यक्ष ध्रुब थापाले पेट्रोलियम इन्जिन गाडीको माग र बिक्रीमा कमी आएको बताएका छन् । उनका अनुसार पेट्रोलबाट चल्ने गाडीको बिक्री अहिले २५ प्रतिशत भन्दा बढी घटेको छ । ‘लामो समयको प्रतिबन्धपछि इन्जिनवाला गाडीको आयात हुन थालेको २ महिना भयो, पेट्रोल र डिजेलबाट चल्ने गाडीको अहिले पहिलाको भन्दा २५ प्रतिशत भन्दा कम छ, इन्जिन वाला गाडी मुस्किलले बिक्री भइरहेको छ’ उनले भने । ईभी गाडी प्रयोगकर्ता गर्नेको संख्या बढेका कारण पेट्रोल तथा डिजेलबाट चल्ने गाडीको व्यवसायमा दबाब परेको उनले बताए । साथै, बैंक तथा वित्तीय संस्थाले गाडीमा फाइनान्स कम गरेको कारण बिक्रीमा कमी आएको अध्यक्ष थापाको भनाइ छ । विद्युतीय गाडीमा प्रयोगकर्ताहरुहरुको आकर्षण बढी देखिएपनि यसलाई वैकल्पिक साधनको रुपमा अगाडि सारेको उनले बताए । ‘मान्छेले ईभीका सवारीलाई नै अहिले पहिलो प्राथमिकता दिएका छैनन्, यसलाई मान्छेले सेकेन्ड विकल्पको रूपमा लिइरहेका छन्, किन भने यसबाट लामो यात्रा तय गर्न सकिँदैन, जसका कारण प्रयोगकर्ताको पहिलो रोजाइमा इन्जिनवाला गाडी नै पर्छ तर, अहिले गाडी किन्नेको संख्या कम भएको महसुस गरेका छौं’, उनले भने । यस्तै, आर्थिक मन्दी र व्यपार व्यवसाय चलायमान नहुँदा पनि प्रयोगकर्ताहरुको प्राथमिकतामा सवारी साधन खरिदको विषय नपरेको उनको अध्यक्ष थापाको बुझाई छ । अहिले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको बिक्री हुन छाडेपछि भने डिलर व्यवसायीहरुलाई समस्या परेको थापाले बताए । खरिद बिक्रीको अवस्था हेर्दा नेपाली बजारमा इभीको दुई तथा चार पाङग्रे सावारीको वृद्धि राम्रो हुँदै गएको थापाको भनाइ छ । यस्तै, सिप्रदी ट्रेडिङका (सीईओ) राजनबाबु श्रेष्ठले पनि पछिल्लो समयमा पेट्रोलियम इन्जिनका सवारी साधनको बिक्रीमा कमी हुँदै गएको छ । ‘हामीले हाम्रा डिलरहरूलाई धेरै सेवा सुविधाहरू दिइरहेका छौं, त्यसले गर्दा अहिले नै डिलरहरू बन्द गर्नुपर्ने अवस्था छैन, ईभीका गाडी बिक्री भइरहेको छ तर, इन्जिन गाडी चाहिँ बिक्री भएको छैन’, उनले भने । ईभी गाडीको खरिद बिक्रीले गर्दा डिलरहरूलाई व्यवसाय निरन्तर सञ्चालन गर्न ठूलो भूमिका खेलेको श्रेष्ठको भनाइ छ । आर्थिक मन्दीको अवस्थामा पनि ईभी गाडी सम्बन्धी सोधपुछ गर्ने काम प्रयोगकर्ताहरुबाट राम्रो भएको उनले बताए । उनका अनुसार प्रयोगकर्ताहरु इभी गाडीलाई लक्षित गरेर डिलरसम्म आइपुग्नेको संख्या धेरै रहेको छ । बिक्री हुनै छाड्यो कमर्सियल भेइकल अहिले कमर्सियल भेइकल बिक्री हुनै छाडेको व्यवसायीहरू बताउँछन् । कमर्सियल भेइकलको स्टक भएर पनि विभिन्न कम्पनीका आधिकारिक बिक्रेता कम्पनीले गाडी बिक्री गर्न सकिरहेका छैनन् । नाडाका अध्यक्ष ध्रुब थापाका अनुसार अहिले सबै भन्दा नाजुक अवस्था कमर्सियल भेइकलको रहेको बताए । ‘दुई तथा चार पाँग्रे (कार) तथा ईभीको बिक्री राम्रो नै छ, तर कमर्सियल भेइकलको बिक्रीको अवस्था ठप्प जस्तै छ’, उनले भने । थापाका अनुसार पहिलाको तुलनामा कमर्सियल भेइकलको बिक्री २० प्रतिशत मात्र छ । यसैगरी सिप्रदीका सीइीओ राजनबाबु श्रेष्ठले पनि कमर्सियल भेइकलको व्यवसाय नाजुक रहेको बताए । व्यावसायिक महत्वका सवारी तथा ढुवानीका साधनहरुको बिक्री नभएको कुरा उल्लेख गर्दै श्रेष्ठले अटो उद्योग धराशायी स्थितिमा रहेको पनि बताए ।