फर्चून–५०० मा बीवाइडीले हासिल गर्यो २१२ औं स्थान

काठमाडौं । हरेक वर्ष विश्वका ५०० ठूला कम्पनीको सुची सार्वजनिक गर्दै आएको फर्चूनलेले सन् २०२३ को सूची वाहिर ल्याएको छ । सो सूचीको २१२ औं स्थानमा चीनीयाँ अटो निर्माता बीवाईडीले आफ्नो स्थान सुरक्षित गरेको छ । सूचीको पहिलो स्थानमा वालमार्ट, दोस्रोमा अमेजन र तेस्रोमा एक्सन मोवील सामेल छन् । अघिल्लो वर्ष बीवाइडी सूचीको २२४ औं स्थानमा रहेको थियो । इलेक्ट्रिक कारको उत्पादन गरेर विश्व बजारमा आफ्नो उपस्थिती मजवुत बनाउँदै आएको बीवाइडीको आम्दानी २०२३ मा ६३ अर्ब डलर पुगेको फर्चूनले उल्लेख गरेको छ । सो आम्दानीबाट कम्पनीले २.४७ अर्ब डलर मुनाफा आर्जन गरेको छ । बीवाइडीको मार्केट भ्यालू १०४.३२ अर्ब डलर रहेको उल्लेख गरिएको छ । कम्पनीमा ५ लाख ७० हजार कामदारले रोजगारी पाएका छन् । बीवाइडी चीनको सबैभन्दा ठूलो मध्ये एक अटोमोवाइल कम्पनी समेत हो । सो कम्पनीले बीवाइडी, हान र ट्याङ लगायत ब्रान्डमा सवारीसाधन उत्पादन गरी विश्व बजारमा बिक्री गर्दै आएको छ । बीवाइडीको इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । सो ब्रान्डलाई नेपालका लागी आधिकारिक वितरकका रुपमा साइमेक्स इंक प्रालिले कारोबार गर्दै आएको हो ।

साउन २२ गतेदेखि दुई एसयूभी अनावरण गर्दै सुजुकी, कुनको मूल्य कति ?

काठमाडौं । दुई सुजुकी एसयूभीहरु अब नेपाली बजारमा पाइने भएको छ । सुजुकीले आगामी साउन २२ गते सबै सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स अनावरण गर्न लागेको हो । यससँगै ग्राहकले सो दिनदेखि नेपालको अधिराज्यभरका सबै सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स हेर्न र टेस्ट ड्राईभ गर्न पाउने छन् । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स् अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकोर्प तथा सीजी एनएक्सटीजीईएनले सो एसयूभीहरुको बुकिंङ्ग गत असार २९ गते देखि नै खुल्ला गरिएको थियो । कम्पनीका अनुसार जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ छ । कम्पनीका अनुसार ५-ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो हेभी-ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । यो एसयूभी एक समर्पित उन्नत ४डब्लुडी प्रणाली, अल ग्रिप प्रोसँग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र ३ लिक्स रिजिड एक्स्ले सस्पेन्सन जस्ता अफ-रोड सुविधाहरू समावेश गर्दछ । अफ-रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गर्ने कम्पनीले जानकारी गराएको छ ।

जुनसुकै गाडीसँग हुण्डाईका नयाँ गाडी साट्न सकिने, पाँच लाखसम्म छुट

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्वील अफ चेन्ज’ नामक एक्सचेञ्ज अफर ल्याएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल नेपालमा हुन्डाइ गाडीहरुको आधिकारिक वितरक हो । साउन १८ बाट यस्तो अफर सुरु भएको कम्पनीले बताएको छ । पाँच प्रतिष्ठित कार एक्सचेञ्ज विक्रेताहरुसँगको साझेदारीमा यस्तो अफर ल्याइएको कम्पनीले बताएको छ । ग्राकहले आफ्नो कुनै पनि ब्राण्डको गाडी ल्याएर हुण्डाईको इन्धनयुक्त वा विद्युतिय उत्पादनसँग एक्सचेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ । यो एक्सचेञ्ज अफर काठमाडौंको अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रालि, आरके अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेजसँगको सहकार्यमा सञ्चालन भइरहेको कम्पनीले बताएको छ । यो योजनामा ग्राहकलाई हुण्डाईको विभिन्न मोडलहरुमा पाँच लाख रुपैयाँसम्म नगद छुट, एक लाख ५० हजाररुपैयाँसम्मको एक्सचेञ्ज बोनस र २५ हजारसम्मको एसेसरिज उपलब्ध हुने कम्पनीले बताएको छ । हुन्डाईका सबै गाडीमा तीन वर्षको वारेन्टी र वर्षको फ्रि सर्भिसिङ्ग सेवा उपलब्ध रहेको छ ।