ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरिक्त करबारे छलफल सुरु
बेल्जियम । युरोपेली संघ (ईयू) र चीनका व्यापार प्रमुखबीच चिनियाँ विद्युतीय कारमा कर वृद्धि गर्ने ब्रसेल्सको योजनाबारे शनिबार ‘स्पष्ट र रचनात्मक’ वार्ता भएको र दुवै पक्षले थप छलफल गर्ने ईयूले आइतबार जानकारी गराएको छ । ईयूले जुलाईदेखि चिनियाँ विद्युतीय कार आयातमा ३८ प्रतिशतसम्म अतिरिक्त कर लगाउने घोषणा यसै महिना गरेको थियो । ईयूका प्रवक्ताले युरोपेली व्यापार आयुक्त भाल्डिस डोम्ब्रोवस्कीस र चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओबीच शनिबार ‘चीनमा उत्पादित ब्याट्री विद्युतीय सवारी साधनमा इयूको अनुदान विरोधी अनुसन्धानबारे स्पष्ट र रचनात्मक कुराकानी भएको’ बताएका छन् । प्रवक्ता ओलोफ गिलले भने, ‘ईयू पक्षले आफ्नो अनुसन्धानको लागि वार्ताको कुनै पनि परिणाम हानिकारक अनुदानलाई सम्बोधन गर्न प्रभावकारी हुनुपर्छ भन्ने कुरामा जोड दिएको छ ।’ उनले भने,’दुवै पक्षले आगामी हप्तामा सबै तहमा सहकार्य जारी राख्नेछन् ।’ चिनियाँ वाणिज्य मन्त्रालयले एक्समा जनाएअनुसार दुवै पक्ष वार्ताको क्रममा ‘परामर्श सुरु गर्न सहमत भएका छन् । ईयूले चिनियाँ आयातको वृद्धिको सामना गरिरहेका समय युरोपेली उत्पादकहरूको रक्षा गर्न अनुसन्धान सुरु गरेर बेइजिङलाई चिढ्याएको थियो । यूरोपेली आयोगले अहिले चिनियाँ कार उत्पादकहरूमाथि अस्थायी रूपमा कर वृद्धिको प्रस्ताव गरेको छ । आयोगले बीवाईडीको लागि १७.४ प्रतिशत, जिलीको लागि २० प्रतिशत र एसएआईसीको लागि ३८.१ प्रतिशत कर वृद्धिको प्रस्ताव गरेको छ । ईयूले यो रकम फर्महरूले प्राप्त गर्ने राज्य अनुदानको स्तरमा निर्भर रहेको बताएको छ । चीनमा ईयूसँग सहकार्य गर्ने विद्युतीय कार उत्पादकहरूले २१ प्रतिशतको अतिरिक्त करको सामना गर्नु पर्नेछ भने सहकार्य नगर्नेहरूले ३८.१ प्रतिशत शुल्कको अधीनमा हुनेछन् । यो हालको १० प्रतिशतको आयात शुल्कको उच्चतम विन्दु हुनेछ । शुल्क जुलाई ४ देखि अस्थायी रूपमा लागू हुनेछ र त्यसपछि नोभेम्बरदेखि लागू हुनेछ । ईयूले चीनसँग छलफल गर्ने आफ्नो योजना सार्वजनिक गर्दै अनुदानसम्बन्धी समस्या समाधानका लागि सम्भावित उपायको खोजी गर्ने प्रतिबद्धता जनाएको छ । इयूको कर उच्च भए पनि संयुक्त राज्य अमेरिकाले गत महिनादेखि चिनियाँ विद्युतीय कारहरूमा लगाएको १०० प्रतिशत अतिरिक्त कर दरभन्दा कम हो । युरोपको अटोमोटिभ क्षेत्र यसको औद्योगिके गहना हो । विद्युतीय कार उत्पादनमा चीनको हेड–स्टार्ट सहित खतराहरूको सामना गर्नुपर्दा मर्सिडीज र फेरारीजस्ता प्रतिष्ठित ब्रान्डहरूको घमण्ड तोडिएको छ । ब्रसेल्सले युरोपका सवारी साधन (कार) हरूलाई कमजोर पार्ने अनुचित अभ्यासहरू भएको दाबी गरेको छ । यसले दहन इन्जिन कारहरूको नयाँ बिक्री चरणबद्ध गर्न सन् २०३५ को समयसीमाको सामना गर्नुपर्नेछ । रासस
बजेटमार्फत् कर बढ्ने सूचना चुहिएको पुष्टि, जेठ १५ अगाडि यसरी भित्रिएका थिए गाडी
काठमाडौं । सरकारले बजेटमार्फत् विद्युतीय गाडी (ईभी)मा कर बढाउँछ भन्ने सूचना अटो व्यवसायीले अगाडि नै पाएको पुष्टि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठमा सबैभन्दा बढी ईभी भित्रिएका छन् । अटो व्यवसायीहरूले ईभीमा कर बढ्छ भन्ने सूचना पाएर नै धमाधम ईभी आयात गरेको तथ्यांकबाट देखिन्छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठसम्म कुल २९ अर्ब ८८ करोड रुपैयाँ बराबरका १९ हजार ९८९ विद्युतीय सवारी साधन (तीन पाँग्रे र चार पाँग्रे) भित्रिएका छन् । जेठ महिनामा मात्रै ३ हजार पाँच सय २२ विद्युतीय गाडी आयात भएको तथ्यांकले देखाउँछ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको थियो । तर, अहिलेसम्म सो बजेट पारित हुन सकेको छैन । यसअघि मासिक ६/७ गाडी भित्रिने भएपनि जेठको तथ्यांकले व्यवसायीहरूले कर बढ्छ भन्ने सूचना पहिल्यै नै पाइसकेको पुष्टि हुन्छ । उसो त राजस्व अनुसन्धान विभागले केही कम्पनीले बजेटअघि अस्वाभाविक रुपमा गाडी भित्र्याएको अनुमान गरेर कम्पनीमाथि पनि अनुसन्धान थालेको छ । यसले पनि व्यवसायीले पहिल्यै नै सुचना पाएको हुन सक्ने अनुमान गर्न सकिन्छ । सरकारले बजेटमार्फत् ईभी गाडीमा अन्त:शुल्क बढाएको छ । भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा कुल १९ हजार ९८९ विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । १ महिनाको अवधिमा तीन पाँग्रे ८ हजार ५२३ गाडी, ५० किलोवाटभन्द्या माथिका ४ हजार ३४४, ५१ देखि १०० किलोवाटका ६ हजार ८८५, १०१ देखि २२ किलोवाटसम्मका २०९ वटा सवारी, २०१ देखि ३०० सम्मका २७ र ३०० माथिका एक वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । जेठ महिनामा मात्रै ३ हजार ५ सय २२ वटा विद्युतीय गाडी भित्रिदा सबैभन्द्या बढी ५१ देखि १०० किलोवाटका सवारी साधन भित्रिएका छन् । जेठमा यस्त गाडी कुल १ हजार ९८९ वटा भित्रिएका छन् । यस्तै, जेठमा तीन पाँग्रे विद्युतीय सवारी ५५३, ५० किलोवाटसम्मका ८७२, १०१ देखि २०० सम्मका १०४ र २०१ देखि ३०० किलोवाटसम्मका तीन वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
महिन्द्राले ल्यायो बोलेरो मर्मत र सर्भिसिङमा ज्याला नलाग्ने योजना
काठमाडौं । अग्नी ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी यही असार ९ देखि २१ गतेसम्मका लागि ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना सुरु गरेको छ । कम्पनीले ल्याएको स्कीम डेन्ट पेन्ट र बाहिरी श्रममा भने लागु हुने जनाएको छ । कम्पनीले ल्याएको स्कीमको लाभ पाउन ग्राहकले कम्तीमा एक हजार रुपैयाँको स्पेयर पार्ट्स खपत गरेको हुनु पर्नेछ । बालाजु अटो वर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठले स्कीमको बारेमा बताउँदै भने, ‘ग्राहकमैत्री स्कीम हाम्रो प्राथमिकतामा रहँदै आएको छ । विगतमा पनि हामीले यस किसिमका अफर दिएका थियौ । अहिले पनि यो स्कीम त्यसकै निरन्तरता हो ।’ कम्पनीले उक्त योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्कस अन्तर्गत रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरुमा मात्र लागु गरिएको छ । साथै, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालीले समेत यसै योजना अन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ । जसअन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्भिसिङ, अग्नि हायर पर्चेज मार्फत सरल फाइनान्सिङ, लगायत अन्य सुविधा पाउनेछन् ।