गाडीमा लोन टु भ्यालु रेसियो ७५% पुर्याउन माग, घरजग्गा ऋण र आम्दानी अनुपात बढाउनु पर्ने
काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालले सवारीसाधनमा लोन टु भ्यालु रेसियो ७५ प्रतिशत पुर्याउनु पर्ने माग राखेकाे छ । नाडाले नेपाल राष्ट्र बैंक समक्ष विद्यमान अटोमोबाइल क्षेत्रका समस्याहरूलाई समाधान गर्न भन्दै आगामी मौद्रिक नीतिका लागि सुझाव दिँदै यस्ताे माग गरेकाे हाे । नाडाले मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष ७ बुँदे माग राखेकाे छ । नाडाले अटोमोबाइल क्षेत्र नेपालको जीडीपीमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र भएकाे उल्लेख गर्दै यो क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाखौं नेपालीहरुलाई रोजगार प्रदान गरी राष्ट्रिय विकासमा ठूलो भूमिका निभाउँदै आएको बताएकाे छ । ‘अटोमोबाइल सेक्टरमा आर्थिक सुस्ततासँगै अटो क्षेत्रमैत्री नीतिको अभावले गर्दा सम्पूर्ण क्षेत्र नै संकटमा परिरहदा समग्र अटोमोबाइल बजारमा ६८ प्रतिशतको गिरावट देखिएको छ भने यो क्षेत्रले अहिले १४ प्रतिशत मात्र जीडीपीमा योगदान गरेको छ ,जुन एक समयमा २१ प्रतिशतसम्मको योगदान हुने गरेको थियो,’ नाडाले भनेकाे छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीका अनुसार अहिले अटोमोबाइलमैत्री मौद्रिक नीतिको चरम आवश्यकता छ । यस्ता छन् सुझाव: १. पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनहरूलाई बैंकहरूबाट हायर पर्चेज लोन प्रवाह गर्ने पक्रियामा लोन टु भ्यालु रेसीयोलै ५० प्रतिशतबाट बढाएर ७५ प्रतिशतमा पुर्याउनुपर्ने । २. पेट्रोल, डिजेल र विद्युतीय शक्तिबाट चल्ने निजी प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरूलाई स्पष्ट रूपमा छुट्याइ सोही अनुरूप बैंक लगानी गर्न सहजीकरण गरिदिनुपर्ने । ३. चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु भएपछि विभिन्न चरणमा नेपाल राष्ट्र बैंकले यसलाई सच्याउँदै पनि आएको छ । तर, पनि यसले अझै पनि व्यवसायीहरूलाई समस्यामा पारेको छ । यो लागु भएको मितिपछि कर्जा लिएकाहरुलाई मात्रै चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु हुने गरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने । ४. कालोसूचीमा परेका व्यक्तिहरूले पनि अन्य बैंकहरुबाट आफ्नो कारोबार गरिरहेको देखिएकोले कालोसूचीमा परेका व्यक्ति वा कम्पनीमाथीको कारबाही ज्यादै फितलो हुने गरेको देखिएकाले नेपाल राष्ट्र बैंकले यस नियमलाई कडाइका साथ लागु गर्नुपर्ने । ५. नेपाल राष्ट्र बैंकले पेट्रोल, डिजेल र विद्युतिय शक्तिबाट चल्ने निजी प्रयोजन र व्यावसायीक महत्वका सवारीसाधनहरूलाई स्पष्ट रूपमा छुट्याइ सोही अनुरूप बैंक लगानी गर्न सहजीकरण गरिदिनुपर्ने । त्यसैगरी कुनै पनि क्षेत्रमा एनपीए ५% भएमा बैंकलाई त्यो क्षेत्रमा फाइनान्स् गर्न मिल्दैन । व्यावसायिक महत्वका माइक्रोबस र निजी प्रयोजनका कार एउटै क्षेत्र अन्तर्गत पर्ने हुँदा धेरै बैंकहरूले डिजेल पेट्रोलबाट चल्ने निजी कारलाई पनि फाइनान्स् गर्न बन्द गर्नुपर्ने । ६. घर परिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात् दम्पतीले सवारीसाधनका रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने । घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेबीट सर्भीस टु ग्रस इनकम रेसीयो) लाई सहजीकरणगरी चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिनुपर्ने । ७. नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने निजी र व्यावसायीक महत्वका सवारीसाधनहरूलाई छट्याउनुपर्ने छ ।
नेपालमा भिडोल लुब्रिकेन्टको उत्पादन सुरु
काठमाडौं । लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन सुुरु गरेको छ । भिडोललाई नेपालमा युनाइटेड लुब्रिकेन्ट प्रालिले उत्पादन गर्न सुरु गरेको हो । भिडोल इन्टरनेसनल, यूकेसँग ट्रेडमार्क लिई यसको उत्पादन नेपालमै शुरु गरिएको कम्पनीका विजनेस हेड दिनेश खनालले बताए । अटोमोटिभ र इन्डष्ट्रियल प्रयोजनमा प्रयोग हुने सबै रेन्जका भिडोल लुब्रिकेन्ट उत्पादन सुरु गरिएको खनालले जानकारी गराए । ‘हामीले भिडोल इन्टरनेसनलसँग टेक्नोलोजी ट्रान्सफर गरी यसको ट्रेडमार्क प्रयोग गरेर लुब्रिकेन्ट उत्पादन थालेका हौँ । अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुनेछ । लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय प्रयोग गरेका छौँ’, उनले भने । धनुषाको ढल्केवरमा ब्लेन्डिङ प्लान्ट स्थापना गरेको युनाइटेड लुब्रिकेन्टले यसअघि स्वदेशी ब्रान्ड नेपाल गोल्डलाई बजारमा ल्याइसकेको छ । सोही प्लान्टबाट अव भिडोल लुब्रिकेन्ट समेत उत्पादन गर्न सुरु गरिएको हो । यो लुब्रिकेन्ट यसअघि भारतबाट आयात हुँदै आएको कम्पनीले बताएको छ ।
गोल्डेन ड्रयागन ब्रान्डका भ्यानहरू नेपालमा, मूल्य ५७ लाख रुपैयाँ
काठमाडौं । अक्र्स ग्रुप प्रालिले गोल्डेन ड्रयागन कम्पनीका विद्युतीय भ्यान नेपाली बजारमा भित्र्याएको छ । चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माण कम्पनीका विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको हो । उक्त कम्पनीका विद्युतीय भ्यानको १४ वटा सिट क्षमता रहेका छन् । जसको बिक्री मूल्य ५७ लाख रुपैयाँ तोकिएका कम्पनीले जनाएको छ । गोल्डेन ड्रयागनको १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक गरिएका छन् । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्न सक्ने यस भ्यानमा ८० किलोवाट पिक पावरको मोटर समेत जडान गरिएको कम्पनीको भनाइ छ । हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको गोल्डेन ड्रयागनका भ्यानहरू नेपालका लागि आधिकारिक बिक्रेता आर्क्स ग्रुपले उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिबद्धता सहित यी भ्यानहरु उपलब्ध गराउने भएको हो । यस्तै, अर्क्स ग्रुपले गोल्डेन ड्रयागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ । गोल्डेन ड्रयागनको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस केही महिनाभित्र नेपाल आइपुग्ने अर्क्स ग्रुपको दाबी छ । यी भ्यानहरु लामो दुरी र छोटो दुरीका विभिन्न यातायात संचालक, ट्राभल एजेन्सी, ट्रेकिङ्ग, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यवहारिक हुने विश्वास गरिएको छ । साथै विद्युतबाट सञ्चालन हुने भएकाले यी भ्यानहरू पर्यावरणमैत्री र सञ्चालन खर्चमा पनि कमी आउने कम्पनीको दाबी छ ।