भारतमा टेस्लाको छलाङ, एकै वर्षमा आम्दानी १२ गुणाले बढ्यो

काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कको विद्युतीय कार निर्माता कम्पनी टेस्लाले भारतीय बजारबाट उल्लेख्य आम्दानी गर्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नवभारत टाइम्सका अनुसार भारतमा कार बिक्री सुरु गरेसँगै कम्पनीको आम्दानी एकै वर्षमा झन्डै १२ गुणाले बढेको हो ।

टेस्लाको भारतीय इकाइ टेस्ला इन्डिया मोटर्स एन्ड इनर्जीले आर्थिक वर्ष २०२५/२६ मा २४७ करोड ३१ लाख भारु (३९५ कराेड ६९ लाख रुपैयाँ) आम्दानी गरेको छ । 

यस अवधिमा कम्पनीले ५ करोड १६ लाख भारु (८ करोड २५ लाख रुपैयाँ) खुद नाफा कमाएको छ ।

भारतमा कार बिक्री सुरु गरेपछिको यो पहिलो आर्थिक वर्ष हो, जसमा कम्पनीको कुल आम्दानीमा सवारीसाधन बिक्रीको ठूलो योगदान रहेको छ ।

कम्पनीले नियामक निकायमा पेस गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०२५/२६ मा कुल आम्दानी झन्डै १२ गुणाले बढेर ३९५ कराेड ६९ लाख रुपैयाँ पुगेको हो । 

अघिल्लो आर्थिक वर्ष २०२४/२५ मा कम्पनीको आम्दानी २० करोड ८३ लाख भारु (३३ करोड ३२ लाख रुपैयाँ) थियो ।

त्यस्तै, कम्पनीको खुद नाफा पनि अघिल्लो आर्थिक वर्षको ५५ लाख ४९ हजार भारु (८८ लाख ७८ हजार रुपैयाँ) बाट बढेर ५ करोड १६ लाख भारु  (८ करोड  २५ लाख रुपैयाँ) पुगेको छ ।

टेस्ला इन्डियाको कुल आम्दानीमा विद्युतीय कार बिक्रीको सबैभन्दा ठूलो हिस्सा रहेको छ । आर्थिक वर्ष २०२५/२६ मा कम्पनीले कार बिक्रीबाट मात्रै २१४ करोड ६९ लाख भारु (३४३ करोड ५० लाख रुपैयाँ) आम्दानी गरेको छ । यो कुल आम्दानीको करिब ८७ प्रतिशत हो ।

त्यस्तै, सेवा व्यवसायबाट कम्पनीले ३२ करोड ४० लाख भारु (५१ करोड ८४ हजार रुपैयाँ) आम्दानी गरेको छ ।

यसअघि आर्थिक वर्ष २०२४/२५ मा कम्पनीको सम्पूर्ण आम्दानी सेवासम्बन्धी व्यवसायबाट भएको थियो । यस आधारमा आर्थिक वर्ष २०२५/२६ भारतमा टेस्लाको कार बिक्रीले कुल आम्दानीमा उल्लेख्य योगदान दिएको पहिलो आर्थिक वर्ष बनेको छ ।

टेस्लाले सन् २०२५ मा भारतको मुम्बईमा आफ्नो पहिलो शोरुम खोलेको थियो । त्यसपछि कम्पनीले भारतीय बजारमा औपचारिक रूपमा कार बिक्री सुरु गरेको हो ।

सन् २०२५ को सेप्टेम्बरदेखि २०२६ को मार्चसम्म भारतमा टेस्लाका ३४६ वटा कार दर्ता भएका थिए ।

त्यसपछि आर्थिक वर्ष २०२६/२७ को पहिलो छ महिना अर्थात् अप्रिलदेखि सेप्टेम्बर २०२६ सम्म कम्पनीका ६५० वटा कार दर्ता भएका छन् ।

यसरी चालु आर्थिक वर्षको पहिलो छ महिनामै टेस्लाले अघिल्लो आर्थिक वर्षको सम्पूर्ण अवधिभन्दा बढी कार दर्ता गराएको छ ।

सुरुवाती चरणमा भारतमा टेस्लाका मासिक औसत ४९ वटा कार दर्ता हुने गरेका थिए । अहिले यो संख्या बढेर मासिक औसत १०८ वटा पुगेको छ ।

भारतीय बजारमा आफ्नो उपस्थिति बलियो बनाउन टेस्लाले लगानीसमेत बढाएको छ ।

कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०२५/२६ मा टेस्लाले आफ्नो भारतीय इकाइमा करिब ८६ करोड भारु (१३७ करोड ६ लाख रुपैयाँ) नयाँ पुँजी थपेको छ ।

यसका अतिरिक्त सम्पत्ति, प्लान्ट, उपकरण तथा निर्माणाधीन सम्पत्तिमा कम्पनीको खर्च बढेर ६२ करोड ५४ लाख भारु (१०० करोड रुपैयाँ ) पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०२४/२५ मा यी शीर्षकमा कम्पनीले जम्मा १ करोड १६ लाख भारु (१ करोड २५ लाख रुपैयाँ) खर्च गरेको थियो ।

Share News