स्मार्ट ईभी लञ्चपश्चात् वीवाईडीविरुद्ध गुनासोको बाढी

काठमाडौं । वीवाईडीले आफ्ना अधिकांश गाडीहरूमा निःशुल्क स्मार्ट ड्राइभिङ सुविधा दिने निर्णय गरेपछि धेरै ग्राहकहरूले आफूले कार किन्दा धेरै पैसा तिरेको अनुभव गर्दै चिनियाँ अटो उपभोक्ता गुनासो प्लेटफर्ममा गुनासो दर्ता गरिरहेका छन् । फेब्रुअरी ११–१७ को बीचमा १२३६५ अटो डट कममा बीवाईडी गाडीहरूविरुद्ध ४ हजार ७०० भन्दा बढी गुनासोहरू दर्ता भएका छन्, जुन एक तेस्रो-पक्षीय अटो उपभोक्ता गुनासो प्लेटफर्म हो । गत हप्ता मात्र १५० गुनासोहरू थिए भने जनवरी महिनाभरि करिब ५०० गुनासोहरू मात्र थिए । बीवाईडीका चर्चित ओसन र डाइनास्टी सिरिजका गाडीहरू पनि प्लेटफर्मले प्रकाशित गरेको सूचीमा शीर्ष १० स्थानमा परेका छन्, जुन गुनासोहरूको संख्याका आधारमा कार मोडेलहरूलाई वर्गीकृत गर्दछ । ग्राहकहरूको गुनासोहरू एक ग्राहक जसले सील जेरो सिक्स डीएम-आई प्लग-इन हाइब्रिड सेडान किनेका थिए । उनले गुनासो गर्दै भनेका छन्, ‘गाडी किन्नुअघि मैले सेल्सपर्सनलाई बारम्बार नयाँ मोडेल यस वर्ष आउँछ कि आउँदैन भनी सोधेको थिएँ ।’ ‘तर मैले गाडी लिएको मात्र आधा महिना नपुग्दै सोही मूल्यमा राम्रो कन्फिगरेसन भएको नयाँ मोडेल बजारमा आयो,’उनले थपे । उनले बीवाईडीसँग निःशुल्क अपग्रेड र अन्य क्षतिपूर्तिको माग गरेका छन् । गुनासोहरूलाई सम्बोधन गर्दै प्लेटफर्मले यो जानकारी सम्बन्धित विभागहरूलाई पठाइसकेको बताएको छ । यद्यपि बीवाइडीले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। चिनियाँ अटो बजारमा मूल्ययुद्धको असर यी गुनासोहरू चीनमा दीर्घकालीन मूल्ययुद्ध र अटो उद्योगको तीव्र प्रतिस्पर्धाको असरको एउटा उदाहरण हो । अहिले कार निर्माता कम्पनीहरूले मूल्य कटौती, निःशुल्क सुविधा प्रदान गर्ने वा नयाँ मोडेलहरू छिट्टै बजारमा ल्याउने प्रवृत्ति अपनाएका छन् । दुई वर्षअघि अमेरिकी अटो कम्पनी टेस्लाले मूल्य कटौती गरेपछि सयौं टेस्ला कार मालिकहरू चीनका सोरुमहरू तथा डिस्ट्रीब्युसन सेन्टरहरूमा भेला भएर छुट वा क्रेडिटको माग गरेका थिए । बीवाईडी माथिको हालको गुनासोहरू पनि यही उद्योगकै तीव्र प्रतिस्पर्धा र मूल्य रणनीतिको प्रभाव हुनसक्छ ।  (एजेन्सीहरूको सहयोगमा) साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो ईभी ब्याट्री रिसाइक्लिङमा नयाँ उपलब्धी हासिल, युरोपलाई चीनविरुद्ध प्रतिस्पर्धा गर्न सजिलो निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ?

बागमती प्रदेशभित्रका सवारीसाधनको विद्युत्तीय अभिलेख सुरु

काठमाडौं । बागमती प्रदेशभित्रका सवारीसाधनको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) शुभारम्भ गरिएको छ । सोमबार यातायात व्यवस्था कार्यालय गुर्जुधारा (मोटरसाइकल)मा सम्पन्न एक कार्यक्रमबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले उक्त कार्यको शुभारम्भ गरेका हुन् । कार्यक्रममा डिजिटाइजेशनका लागि मन्त्रालयबाट १ सय जना तथ्याङ्क प्रविष्ट गर्ने कर्मचारी खटाइएको यातायातमन्त्री महर्जनले जानकारी दिए । महर्जनका अनुसार छिट्टै प्रदेशभित्रका सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने, अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने र ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने छ । कार्यक्रममा मन्त्री महर्जनले प्रविधिले सुशासन कायम गर्नमा सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले सवारीसाधनको क्षेत्रमा डिजिटाइजेशनले महत्त्वपूर्ण अर्थ राख्ने बताए । अर्का बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले लामो प्रयासपश्चात यातायातसम्बन्धी वास्तविक अधिकार प्रदेशमा आएको बताए । श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले तथ्याङ्क अभिलेखकर्ताले जति छिटो तथ्याङ्क प्रविष्ट गर्न सक्यो त्यति धेरै आम्दानी गर्न सक्ने जानकारी दिए । मन्त्रालयले यातायात क्षेत्रमा परिवर्तनको आभास गर्न सक्नेगरी काम भइरहेको उनको भनाइ छ । कार्यक्रममा मन्त्रालयका प्रशासन प्रमुख खगेन्द्र पौडेलले यातायात क्षेत्रका विभिन्न प्रयासका विषयमा प्रस्तुतिकरण गरेका थिए । सो अवसरमा मन्त्रालयले सवारीसाधनको फाइल फिर्ता गर्न दिएको सूचनाअनुसार सवारीधनी प्रशान्त चौधरीले कार्यक्रमस्थलमै यातायात व्यवस्था कार्यालय गुर्जधाराका प्रमुखलाई फाइल हस्तान्तरण गरेका थिए ।

जेसीबीको एनएक्सटी सिरिज एक्स्काभेटर सार्वजनिक, यस्ता छन् विशेषताहरू

काठमाडौं । विश्वव्यापी निर्माण तथा भारी उपकरण निर्माता जेसीबीले नेपालमा नयाँ एनएक्सटी सिरिज एक्स्काभेटर सार्वजनिक गरेको छ । जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्स्काभेटर नेपाली बजारमा ल्याएको हो । यी दुवै एक्स्काभेटरहरू उच्च इन्धन दक्षता र कम मर्मत खर्चलाई ध्यानमा राखी डिजाइन गरिएका छन् । नेपालमा जेसीबीका यी नयाँ मेसिनहरू एमएडब्ल्यू अर्थमुभर्स (जेसीबीको नेपालका लागि आधिकारिक डिलर) मार्फत उपलब्ध हुने जनाइएको छ । जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर यस मेसिनले १४ प्रतिशत इन्धन खपत घटाउने र ५ प्रतिशत बढी उत्पादकत्व दिने क्षमता राख्छ । यसमा स्वचालित इन्जिन आइडल स्टप फिचर छ, जसले अनावश्यक इन्धन खपत हुनबाट जोगाउँछ । जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्स्काभेटर आफ्नो श्रेणीमा सबैभन्दा बढी इन्धन दक्ष र उत्पादक एक्स्काभेटरमध्ये एक हो । यसको इन्लाइन एफआईपी इन्जिन प्रणालीले मर्मत सजिलो बनाउँछ र सञ्चालन खर्च घटाउँछ । अघिल्लो मोडेलको तुलनामा ५ प्रतिशत बढी इन्धन दक्ष र ६ प्रतिशत बढी उत्पादक रहेको छ । यसमा १० हजार घण्टा वा ५ वर्षको वारेन्टी प्रदान गरिएको छ । यी एक्स्काभेटरहरूको उच्च इन्धन दक्षता जेसीबीको अत्याधुनिक इन्टेलीफ्लो हाइड्रोलिक्स प्रविधिबाट सम्भव भएको हो । साथै इन्धन खपतको वास्तविक–समय डेटा मेसिनको अनबोर्ड स्क्रिन वा जेसीबीको लाइभलिन्क रिमोट मनिटरिङ प्रणालीमार्फत उपलब्ध हुने जनाइएको छ । विष्णुकुमार अग्रवाल । जेसीबीको नेपालमा लगानी र प्रतिबद्धता जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा म्यानेजिङ डिरेक्टर दीपक शेट्टीले नेपाल दक्षिण एसियामा नेपाल प्रमुख बजार रहेको बताए । उनले भने, ‘दक्षिण एसियामा नेपाल हामीहरूका लागि प्रमुख बजार हो । देश निर्माण तथा पूर्वाधार क्षेत्रमा तीव्र प्रगति गर्दैछ । जसले जेसीबीका उत्पादनहरूका लागि ठूलो सम्भावना देखाउँछ । नेपालमा प्रविधिमैत्री उत्पादनहरू ल्याउन हामी प्रतिबद्ध छौं ।’ दीपक शेट्टी । एमएडब्ल्यू अर्थमुभर्सका डिलर प्रमुख विष्णु अग्रवालले जेसीबीका मेसिनहरू ग्राहकको ध्यानमा राखी डिजाइन गरिएको जानकारी दिए । एमएडब्ल्यूले विगत २० वर्षदेखि जेसीबीका मेसिनहरू बिक्री गर्दै आएको छ । यसका नेपालभरि ३३ वटा आउटलेटहरू छन् । हालसम्म ११ हजार प्लस जेसीबी मेसिनहरू बिक्री भइसकेका छन् । जेसीबीको बारेमा जेसीबी जसको पूरा नाम जोशेफ सिरिल बामफर्ड हो । यो एक ब्रिटिश कम्पनी हो जसले मुख्य रूपमा निर्माण, कृषि र उद्योगहरूका लागि भारी उपकरणहरू बनाउँछ । यसको स्थापना स्थापना १९४५ मा जोशेफले गरेका थिए । यो कम्पनी विश्वभर प्रसिद्ध छ र यसले विभिन्न प्रकारका उपकरणहरू जस्तै एक्साभेटर, लोडर, बुलडोजर र टेलीह्यान्डलरहरू उत्पादन गर्दै आइरहेको छ ।