१ प्रतिशत ब्याजदरमै बाइक र स्कुटर
काठमाडौं । गत चैतसम्मको तथ्याङ्क अनुसार राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५.०२ प्रतिशत छ । यदि बैंकले ०.२५ प्रतिशत मात्रै प्रिमियम जोडेर कर्जा प्रवाह गर्याे भने ऋणको लागत ५.२७ प्रतिशत हुन आउँछ । अझै बैंकले लचकता अपनाएर आधार दरमै ऋण प्रवाह गर्याे भने पनि सो कर्जाको लागत ५.०२ प्रतिशत हुन आउँछ । राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम रहेकाले यहाँ उदाहरण मात्रै दिन खोजिएको हो । तर, होण्डा नेपालले १ प्रतिशत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने भएको छ । कम आधार दर रहेको राष्ट्रिय वाणिज्य बैंकको कर्जाको लागत ५ प्रतिशतभन्दा माथि रहेका बेला होण्डाले कसरी १ प्रतिशत ब्याजमै कर्जा उपलब्ध गराउँछ भनेर चासोका साथ हेरिएको छ । होण्डा कम्पनीका अनुसार नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरूलाई १ प्रतिशत ब्याजदरमा मोटरसाइकल (बाइक) र स्कुटर उपलब्ध गर्ने गरी फाइनान्सको अफर ल्याएको हो । जेठ १७ गतेसम्मका लागि १ प्रतिशत ब्याजदरमा होण्डाका जुनसुकै मोडलका बाइक र स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । तर, फाइनान्सको सुविधा भने ४० प्रतिशत मात्रै रहेको कम्पनीको भनाइ छ । ‘जेठ १७ गतेसम्मका लागि १ प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा ल्याएको हो । डाउनपेमेन्ट ६० प्रतिशत गर्नुपर्ने हुन्छ । बाँकी रहेको ४० प्रतिशत कर्जाका लागि ब्याजदर १ प्रतिशत हुन्छ,’ कम्पनीको कस्टमर केयर सेन्टरले भन्यो, ‘यो चाहिँ नयाँ वर्षको विशेष अफर हो ।’ उक्त सुविधाका लागि कम्पनीले सकार हायर पर्चेज कम्पनीसँग सम्झौता गरेको छ । जुन होण्डाको आफ्नै फाइनान्स कम्पनी हो । ४० प्रतिशत फाइनान्सको सुविधा १२ महिनाभित्र तिरिसक्नु पर्ने कम्पनीले जनाएको छ । ‘होण्डा कम्पनीका १८० सीसीसम्मका जुनसुकै बाइक र स्कुर खरिद गर्दा यो सुविधा उपलब्ध हुनेछ । सबै मोडलमा पाइनेछ । योभन्दा माथिका लागि नर्मल फाइनान्सअन्तर्गत उपलब्ध हुनेछ,’ कम्पनीको विभागले भन्यो, ‘उपत्यकाबाहिरका सबै सोरुममा यो सुविधा उपलब्ध छैन । सीमित सोरुममा मात्रै यो अफर उपलब्ध छ ।’
नेपालमा लोकप्रिय बन्दै सेरेस ईभी
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को लोकप्रियता बढ्दै गएको छ । इन्धनको बढ्दो मूल्य, वातावरणीय चिन्ता र विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने सरकारी नीतिका कारण पनि यसको प्रयोग बढ्दै गएको हो । नेपाली अटो बजार विस्तारै स्मार्ट र ईभीमैत्री बन्दै गएसँगै अटो व्यवसायीहरूले पनि विद्युतीय सवारीमा जोड दिन थालेका छन् । नेपालको अटो क्षेत्रलाई स्मार्ट र दिगो यातायातको नयाँ युगमा प्रवेश गराउनमा महत्त्वपूर्ण योगदान पुर्याउने ईभीमध्ये सेरेस पनि एक हो । कम्पनीका अनुसार आकर्षक डिजाइन, एडभान्स फिचरहरू र वातावरणमैत्री प्रविधिका कारण सेरेस इलेक्ट्रिक गाडी नेपाली चालकहरूमाझ लोकप्रिय हुँदै गएको छ । सेरेस स्मार्ट ड्राइभिङ र स्वच्छ ऊर्जामा ध्यानकेन्द्रित गरेको एक विश्वव्यापी इलेक्ट्रिक भेहिकल ब्रान्ड भएको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार नेपालमा यस ब्रान्डका मोडलहरूमध्ये सेरेस थ्री प्रमुख हो, जुन पूर्णतया विद्युतीय एसयुभी हो । यसले पर्फर्मेन्स, लक्जरी र आधुनिक प्रविधिलाई एकै साथ प्रस्तुत गर्छ । सेरेस थ्रीले एकपटक चार्ज गर्दा अधिकतम ४०५ किलोमिटरको दूरी तय गर्न सक्छ । जसले यसलाई सहरभित्रका साथै लामो यात्राको लागि पनि उपयुक्त बनाउने कम्पनीको भनाइ छ । बलियो ब्याट्री र फास्ट चार्जिंगको सुविधाले चालकहरूलाई ‘रेन्ज’को चिन्ता नगरी यात्रामा केन्द्रित हुन मद्दत गर्ने हुँदा पनि चालकको रोजाइमा सेरेस पर्न सफल भएको हो । सेरेस ईभीले आधुनिक र लक्जरियस ड्राइभिङको अनुभव गराउनुका साथै डिजिटल ड्यासबोर्ड, टचस्क्रिन डिस्प्ले, रिभर्स क्यामेरा, ड्राइभर असिस्टेन्स प्रणाली जस्ता स्मार्ट सुविधाहरूले यो गाडीलाई अझ सुरक्षित र रमाइलो बनाउँने कम्पनीको दाबी छ । विशेषगरी प्रविधिमा रुचि राख्ने प्रयोगकर्ताहरूका लागि सेरेस उपयुक्त छनोट हुन सक्छ । पेट्रोलियम गाडीभन्दा सस्तो कम्पनीका अनुसार सेरेस डिजेल वा पेट्रोल गाडीहरूभन्दा सस्तो मूल्यमा ग्राहकले किन्न सक्छन् । ईभी गाडी बिजुलीबाट चल्ने हुँदा प्रति किलोमिटरको हिसाबले सस्तो पर्न जाने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इन्धनमा आधारित गाडीहरूभन्दा ईभीहरूमा चल्ने भागहरू कम हुने भएकाले मर्मतसम्भार खर्च पनि कम नै लाग्छ । नेपाल सरकारले ईभी प्रयोगलाई प्रोत्साहन गर्न सक्रिय रूपमा लागिपरेको छ । ईभीलाई नेपाली अटो बजारमा थप विस्तार गर्दै लैजानमा केही चुनौतीहरु भने छन् । देशभर चार्जिङ पूर्वाधार निर्माण हुनको लागि सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ । साथसाथै विद्युतीय गाडीहरूमा आयात कर कम लाग्ने, पेट्रोल र डिजेल गाडीभन्दा फरक सुविधा दिनुपर्ने देखिन्छ । सरकारले यी कुरामा ध्यान दिन सके सेरेसजस्ता ब्रान्डहरूलाई बजार विस्तार गर्न सजिलो हुने कम्पनीको सुझाव छ ।
विद्युतीय गाडीको बिक्री बढे पनि अमेरिकी शुल्कको प्रभावबिना अडीको आर्थिक पूर्वानुमान
काठमाडौं । जर्मन अटो निर्माता कम्पनी अडीले चालु आर्थिक वर्षको लागि राजस्वको पूर्वानुमान कायम राखेको छ । कम्पनीले पहिलो त्रैमासिकमा विद्युतीय सवारीसाधनको बिक्रीमा उल्लेख्य वृद्धि हुँदै १२.४ प्रतिशत राजस्व वृद्धि गरे पनि अमेरिकी आयात शुल्कको सम्भावित असरलाई भने पूर्वानुमानमा समावेश नगरेको जनाएको छ । जनवरीदेखि मार्च महिनासम्म अडीको राजस्व १५.४३ अर्ब युरो (झण्डै १७.४९ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १३.७३ अर्ब युरोभन्दा धेरै हो । कम्पनीले २०२५ मा वार्षिक राजस्व ६७.५ अर्बदेखि ७२.५ अर्ब युरोको बीचमा रहने अपेक्षा गरेको छ र सञ्चालन नाफा ७ देखि ९ प्रतिशतको दायरामा रहने जनाएको छ । अडीले स्पष्ट पारेको छ कि अमेरिकी आयात शुल्कहरूको प्रभाव अझै पूर्ण रूपमा मूल्याङ्कन गर्न बाँकी छ । साथै मार्चमा अडीको व्यवस्थापन र कामदार युनियनबीच भएको सहमतिका प्रभावहरू पनि वर्तमान पूर्वानुमानमा समावेश छैनन् । अमेरिकामा उत्पादनको तयारी अडीसँग हाल अमेरिकाभित्र कुनै उत्पादन केन्द्र छैन । तर कम्पनीले यसै वर्ष अमेरिकी उत्पादन क्षमताको सम्भाव्यता मूल्याङ्कन गरी निर्णय लिने जनाएको छ । सीईओ जुर्गेन रिटर्सबर्गरका अनुसार उक्त उत्पादन विद्युतीय सवारीसाधनसमेत समेटिन सक्नेछ । 'हामी विद्युतीय सवारीमाथि विशेष ध्यान दिइरहेका छौं, अमेरिका पनि त्यही फोकस क्षेत्र हो,' उनले भने । विद्युतीय सवारीको बिक्री उकालो, अन्य बजारमा संकुचन यद्यपि अडीले विश्वभर पहिलो त्रैमासिकमा ३.४ प्रतिशत कम गाडी बिक्री गरेको छ, कम्पनीका विद्युतीय सवारीहरूको बिक्री भने ३०.१ प्रतिशतले बढेको छ । उत्तर अमेरिकामा (मेक्सिको बाहेक) अडीको बिक्री २.१ प्रतिशतले घटेको छ भने चीनमा तीव्र प्रतिस्पर्धाका कारण बिक्री ७ प्रतिशतले घटेको कम्पनीले जनाएको छ । शुल्कले मूल्य वृद्धि र बजारमा असर युरोपेली गाडी निर्माता कम्पनीहरूमाथि अमेरिकी शुल्कले ठूलो असर पारिरहेको छ । शुल्कका कारण गाडीको मूल्य हजारौं डलरले बढ्ने देखिएको छ । शुल्कले पहिले नै चुनौती भोगिरहेको विश्व अटो उद्योगमा थप दबाब सिर्जना गर्ने विश्लेषण गरिएको छ। अडीले हाल अमेरिकी बजारलाई मेक्सिकोको सान जोस चिएपा कारखानाबाट सेवा दिइरहेको छ, जहाँ लोकप्रिय क्यू फाइभ मोडल उत्पादन हुन्छ र ५ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । ल्यान्ड रोभरको अमेरिका गाडी निर्यात पुनः सुरु मस्क बिनाको टेस्ला, निल्नु न ओकल्नुको अवस्थामा बोर्ड ईयूमा शुल्कबाट बच्न प्लग-इन हाइब्रिड बढी बेच्दै चिनियाँ अटो कम्पनी