मासेराटी ब्रान्डको विद्युतीय स्पोर्ट्स कार नआउने

काठमाडौं । मासेराटीले आफ्नो एमसीट्वान्टी स्पोट्र्स कारको विद्युतीय संस्करणको योजना रद्द गरेको छ । यसको अपेक्षित माग कमजोर देखिएकाले योजना रद्द गरेको लक्जरी कार निर्माता कम्पनीले मंगलबार जानकारी दिएको छ । एमसीट्वान्टी फलगोर यस वर्ष सार्वजनिक हुने योजना थियो । मासेराटीले यो निर्णय व्यापारिक सम्भावनाका आधारमा लिएको हो किनकि आगामी वर्षहरूमा थोरै गाडीहरू बिक्री हुने अपेक्षा गरिएको मसारेटीका प्रवक्ताले जानकारी दिए । बजार अनुसन्धान अनुसार एमसीट्वान्टीका ग्राहकहरू शक्तिशाली पेट्रोल इन्जिनहरूलाई प्राथमिकता दिन्छन् र ’छिट्टै बीईभी (ब्याट्री विद्युतीय सवारी) मा रूपान्तरण हुन तयार छैनन्,’ प्रवक्ताले थपे । सन् २०२० मा सुरु गरिएको ६३० हर्सपावरको एमसीट्वान्टी मासेराटीको गृहनगर मोडेना, उत्तरी इटालीमा निर्माण गरिन्छ । यसको सुरुवाती मूल्य करिब २ लाख ४० हजार युरो (२ लाख ६२ हजार डलर) छ । यो खबर स्टेलान्टिसले नोभेम्बरमा युनियनहरूसँगको बैठकमा मसारेटीका पहिले घोषणा गरिएका विद्युतीकरण योजनाहरू पुष्टि गर्न अस्वीकार गरेपछि आएको हो । ब्रान्डले गत वर्ष मात्र ११ हजार ३०० सवारीसाधनहरू बेचेको थियो ।  २०२३ मा कम्पनीले २६ हजार ६०० बेचेको थियाे । इटालियन स्पोट्र्स कार निर्माता फरारीले अक्टोबरमा आफ्नो पहिलो ईभी सार्वजनिक गर्नेछ, जबकि फक्सवागन समूहको हिस्सा रहेको प्रतिस्पर्धी ल्याम्बोर्घिनीले २०२९ मा आफ्नो पहिलो ईभी ल्याउने योजना बनाएको छ । पोर्शेले २०१९ देखि ईभी मोडेलहरू प्रस्तुत गर्दै आएको छ । (एजेन्सीहरूको सहयोगमा) हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै

हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने

काठमाडौं । टोयोटाले सन् २०२५ र २०२६ मा आफ्नो टोयोटा र प्रिमियम लेक्सस ब्रान्डका लागि युरोपमा कुल नौवटा पूर्ण रूपमा विद्युतीय मोडेलहरू (ईभी) सार्वजनिक गर्ने भएको छ । टोयोटाले बुधबार यस्तो घोषणा गरेको हो । यसले ठूलो ईभी बजारमा प्रतिस्पर्धा गर्ने बुझिएको छ । जापानी अटो निर्माता कम्पनीले यस वर्ष टोयोटा ब्रान्डका नयाँ संस्करणका तीनवटा विद्युतीय एसयूभी सार्वजनिक गर्नेछ, जसलाई २०२६ मा थप तीनवटा मोडेलहरूले पछ्याउने छन् । त्यसैगरी, कम्पनीले आगामी १२ महिनामा युरोपमा तीनवटा लेक्सस ब्रान्डका ईभी पनि ल्याउने जनाइएको छ । बिक्रीका आधारमा विश्वको सबैभन्दा ठूलो अटो निर्माता टोयोटा परम्परागत प्रतिस्पर्धीहरूको तुलनामा ईभी रणनीतिमा बढी सतर्क देखिएको छ । गएको वर्षमा विद्युतीय गाडीहरूको माग विश्वभर सुस्ताउँदा टोयोटाले विशेषगरी अमेरिकाजस्तो प्रमुख बजारमा आफ्नो हाइब्रिड मोडेल लाइनअपबाट फाइदा उठाएको छ । टोयोटाको ईभी कार । टोयोटाले पहिलो पटक हाइब्रिड गाडी सन् १९९७ मा सार्वजनिक गरेको थियो । यसको पहिलो हाइब्रिड मोडेल टोयोटा प्रिअस हो, जसले स्वच्छ ऊर्जामा आधारित गाडीको युगको सुरुवात गर्‍यो । टोयोटाले हालसम्म २ करोडभन्दा बढी हाइब्रिड गाडी बिक्री गरिसकेको छ । यो संख्या २०२३ को अन्त्यसम्मको हो र कम्पनीले लगातार आफ्ना हाइब्रिड मोडेलहरूको उत्पादन र बिक्री विस्तार गरिरहेको छ । हाइब्रिड गाडीहरूको सफलताले टोयोटालाई इलेक्ट्रिक गाडीमा ढिलो प्रवेश गर्दा पनि बजारमा मजबुत बनाइराखेको छ । टोयोटाले सन् २०२२ मा २४ हजार  विद्युतीय कारहरू उत्पादन गरेको थियो । कम्पनीले २०२५ सम्ममा वार्षिक रूपमा ६ लाख विद्युतीय कारहरू उत्पादन गर्ने लक्ष्य राखेको छ । युरोपमा नयाँ पूर्ण विद्युतीय कारहरूको बिक्री जनवरी महिनामा ३७.३ प्रतिशतले उकालो लागेको छ । ईभीले बजारको करिब १७ प्रतिशत हिस्सा ओगटेको छ । टोयोटाले दिएको विज्ञप्तिमा भनेको छ कि कार्बनडाइअक्साइड उत्सर्जन कटौती गर्न यसको ‘बहु-मार्गीय रणनीति’ विभिन्न क्षेत्रका ग्राहकहरूका लागि सही विकल्प प्रदान गर्न केन्द्रित छ । उदाहरणका लागि ईभी बिक्री अझै कमजोर रहेको दक्षिण अमेरिकामा टोयोटाले हाइब्रिड गाडीहरूलाई प्राथमिकता दिनेछ । ‘विकल्पहरू उपलब्ध गराउनु र अवसरहरू सिर्जना गर्नु नै उत्कृष्ट गाडीहरू उत्पादन गर्ने हाम्रो मुख्य आधार हो,’ टोयोटाका प्रमुख ब्रान्डिङ अधिकृत साइमन हम्फ्रिजले विज्ञप्तिमा भने । २०२४ मा युरोपमा टोयोटाको बिक्री १३.१ प्रतिशतले वृद्धि भएर १० लाख युनिट नाघेको थियो जबकि समग्र बजार वृद्धि दर ०.९ प्रतिशतमात्र थियो । (एजेन्सीहरूको सहयोगमा) यी पनि पढ्नूहोस् :  निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

काठमाडौं । मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले फागुन २८ गते (बुधबार) उक्त कनक्लेभ आयोजना गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहान ९ बजे कनक्लेभको उद्घाटन गर्ने छन् । नेपालको समग्र अटोमोबाइल क्षेत्रका विद्यमान समस्या, तिनको समाधानका उपाय, स्वदेशमै सवारी उत्पादनको सम्भावना र चुनौती लगायत विषयमा बृहत् छलफल गर्ने उद्देश्यले कनक्लेभ आयोजना गरिएको हो । अटोमोटिभ कनक्लेभ तीन सत्रमा सञ्चालन हुनेछ । पहिलो सत्र (११ बजेदेखि १२ः३० बजेसम्म)मा ‘निजी सवारी : आजको आवश्यकता’ विषयमा बहस हुनेछ । मेरोअटोका सम्पादक सागर गजुरेलले सहजीकरण गर्ने यो सत्रमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, अन्तर्राष्ट्रिय व्यापार विशेषज्ञ रवि शंकर सैंजु र काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. विराज सिंह थापा वक्ताको रूपमा रहेका छन् । त्यस्तै, दिउँसो १ बजे सुरू हुने दोस्रो सत्रमा ‘सार्वजनिक सवारी : समस्या र समाधान’ विषयमा बहस हुनेछ । यस सत्रका वक्ताहरूमा बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रमेभक्त मर्हजन, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल, नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापा, भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्त र सीजी मोटर्सका सीईओ हेमन्त अग्रवाल छन् । यो सत्रमा मोडेरेटरको भूमिकामा आशिष गजुरेल रहेका छन् । ‘सवारी उत्पादनको नयाँ गन्तव्य’ विषयक अन्तिम सत्र दिउँसो ३ः३० बजे सुरू हुनेछ । यो सत्रमा नेकपा एमालेका सांसद योगेश भट्टराई, नेपाली काँग्रेसका सांसद उदय शमशेर राणा, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र उद्योग वाणिज्य महासंघका गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छाले आफ्ना धारणा राख्ने छन् । यस सत्रको सहजीकरण रुपेश श्रेष्ठले गर्नेछन् । अटोमोटिभ कनक्लेभ मेरोअटोको आधिकारिक फेसबुक पेज र युट्युबबाट प्रत्यक्ष प्रसारण हुनेछ । यस कनक्लेभको प्रमुख साझेदारी सिटिजन्स बैंक इन्टरनेशनल रहेको छ ।