चिनियाँ ईभीको दबाबसँग जुध्न जीएम र हुन्डाई एकजुट
काठमाडौं । जनरल मोटर्स (जीएम) र हुन्डाई मोटरले बुधबार पाँचवटा गाडी संयुक्त रूपमा निर्माण गर्ने योजना सार्वजनिक गरेका छन् । ती योजना चिनियाँ विद्युती सवारीसाधन (ईभी) सँगको बढ्दो प्रतिस्पर्धाका बीच लागत घटाउने प्रयासस्वरूप ल्याइएको हो । यद्यपि केही विश्लेषकहरूले यस योजनाको सफलतामा प्रश्न उठाएका छन्। चारवटा सवारीसाधन- एक कम्प्याक्ट एसयूभी/कार/पिकअप र एक मिड-साइज पिकअप- मध्य र दक्षिण अमेरिका बजारका लागि लक्षित छन् र सन् २०२८ मा भित्र्याउने योजना छ । यी गाडीहरू आन्तरिक दहन इञ्जिन (आईसीई) र हाइब्रिड दुबै प्रणालीमा आधारित हुनेछन् । जीएम र हुन्डाईले ती मोडेलहरू कहाँ उत्पादन हुने भन्ने खुलाएका छैनन्, तर पूर्ण उत्पादनमा पुगिसकेपछि वार्षिक कम्तिमा ८ लाख सवारीसाधन उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन् । यो साझेदारीले जीएम र हुन्डाईलाई ल्याटिन अमेरिकामा बढ्दो चिनियाँ ईभी निर्माता कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सहयोग पुर्याउनेछ । तर केही विश्लेषकहरूले यसले साँच्चिकै महत्त्वपूर्ण लाभ ल्याउनेछ कि भनेर शंका व्यक्त गरेका छन् । ‘यद्यपि उनीहरूले ती नयाँ मोडेलहरू दक्षिण अमेरिकामा बेचे पनि, पहिले नै कम मूल्यका ईभीमा अग्रता लिइसकेका चिनियाँ प्रतिस्पर्धीलाई हराउन गाह्रो हुन्छ,’ सिओलस्थित हेज फण्ड बिलियनफोल्ड एसेट म्यानेजमेन्टका प्रमुख लगानी अधिकृत अन ह्युंग-जिनले भने । ‘हुन्डाईले जीएमबाट पिकअप ट्रक निर्माण गर्न सिक्न सक्छ, तर मुनाफा उत्पादन गर्न केही समय लाग्छ,’ उनले थपे । यी दुई विश्वव्यापी अटो निर्माता कम्पनीहरू सन् २०२८ देखि अमेरिका भित्र एक इलेक्ट्रिक व्यावसायिक भ्यान पनि संयुक्त रूपमा विकास र उत्पादन गर्ने छन् । ‘साझेदारी आफैमा दुबै कम्पनीका लागि लाभदायक रणनीति हो । जीएमले हुन्डाईबाट हाइब्रिड प्रविधि सिक्न सक्छ भने हुन्डाईले जीएमसँगको सम्बन्धलाई अमेरिकासँग व्यापार वार्तामा लाभको रूपमा प्रयोग गर्न सक्छ,’ मिरे–मोबिलिटी रिसर्च एन्ड सर्भिसेजका प्रमुख अनुसन्धानकर्ता टेडी किमले बताए । गत हप्ता अमेरिका र दक्षिण कोरियाबीच १५ प्रतिशत भन्सार महसुलका साथ द्विपक्षीय व्यापार सम्झौता भएको थियो, जसमा सवारीसाधन पनि पर्छन् । यो सम्झौता हालका हप्ता दक्षिण कोरियाली र अमेरिकी कम्पनीबीच भएका थुप्रै सम्झौतामध्ये एक हो- जस्तै स्यामसङ इलेक्ट्रोनिक्स र टेस्ला, एप्पलसँगको चिप सम्झौता र एलजी एनर्जी सोल्युसनको टेस्लासँगको ब्याट्री सम्झौता । राोयटर्सले मार्चमा हुन्डाई र जीएम दुई व्यावसायिक ईभी भ्यान र पिकअप ट्रकसँगै साझा गर्ने सम्झौताको नजिक रहेको रिपोर्ट गरेका थिए । यो हुन्डाई मोटरको सवारीसाधन विकासमा पहिलो प्रमुख अन्तर्राष्ट्रिय साझेदारी हो । जीएमले पछिल्लो दशकमा जापानी कम्पनी होन्डासँगका थुप्रै संयुक्त परियोजनाहरू अन्त्य गरिरहेको छ । सन् २०२३ मा यी दुई कम्पनीले संयुक्त रूपमा सस्तो ईभी विकास गर्ने ५ अर्ब डलरको योजना रद्द गरेका थिए । चिनियाँ कार निर्माता कम्पनीहरूले अत्याधुनिक प्रविधिसहित सस्तो मूल्यका थुप्रै मोडेलहरू सार्वजनिक गरेका छन्, जसले जीएमजस्ता परम्परागत कम्पनीहरूमा लागत घटाउने र उत्पादन प्रक्रियालाई सरल बनाउने दबाब सिर्जना गरेको छ । यस्ता प्रतिस्पर्धीहरूलाई सामना गर्न धेरै कम्पनीहरूले विकास लागत साझेदारी गर्ने उपायका रूपमा साझेदारीको खोजी गरिरहेका छन्, विशेष गरी ब्याट्री सञ्चालित मोडेलका लागि । लागत घटाउनु अति आवश्यक भएको छ किनभने विश्वभर कार निर्माताहरूका लागि भन्सार महसुलले अर्बौं डलरको अतिरिक्त खर्च थपेको छ । सान्दर्भिक सामग्री : लिफ्ट र चीनको बाइडुले युरोपमा रोबोट्याक्सी सेवा सुरु गर्ने भिनफास्टले भारतबाटै अन्तर्राष्ट्रिय बजारमा गाडी पठाउने, २ अर्ब डलरको लगानी योजना
नाइमाको प्रर्दशनी अब ८ बजेसम्म चल्ने, ७ बजेसम्म टिकट पाइने
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पहिलो दिन १५ हजारभन्दा बढी दर्शकको आगमनले प्रदर्शनी स्थलमा दिनभरि उत्सवको माहोल छायो । उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी तथा अटोमोबाइल क्षेत्रका अग्रज व्यक्तिहरूको उपस्थितिमा उद्घाटन सम्पन्न भएपछि सर्वसाधारणका लागि प्रदर्शनी खोलिएको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि उप–प्रधानमन्त्री तथा अर्थमन्त्री माननीय श्री विष्णु प्रसाद पौडेलले नेपालमा भएको भौतिक विकासको चर्चा गर्दै सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । कार्यक्रममा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्य र एक्स्पो समितिका प्रमूख शिरीष कुमार मुरारकाले पनि मन्तव्य दिँदै नेपालको अर्थतन्त्रमा अटो मोबाइल उद्यमीहरुको भूमिका, नवप्रवर्तन र सार्वजनिक–निजी साझेदारीको महत्त्वमाथि प्रकाश पारिन् । पहिलो दिनको उत्साहजनक उपस्थितिपश्चात नाइमाले प्रदर्शनी ८ बजेसम्म खुला रहने र सात बजेसम्म टिकट पाइने जनाएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि खुला हुनेछ ।
याडियाको ‘भेलाक्स सिरिज’ इलेक्ट्रिक स्कुटर बजारमा, मूल्य २ लाख ८५ हजारदेखि सुरु
काठमाडौं । याडिया ब्रान्डका अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरू अब नेपाली बजारमा सार्वजनिक भएका छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्सपो’को अवसरमा याडियाले ‘भेलाक्स सिरिज’का तीन नयाँ मोडल नेपाली बजारमा भित्र्याएको हो । याडियाका लागि नेपालमा आधिकारिक वितरक कुजु नेपाल प्रालिले स्कुटर सिरिज सार्वजनिक गरेको हो । ‘भेलाक्स फास्ट चार्जिङ’, ‘भेलाक्स यु’ र ‘भेलाक्स एच’ नामका ती मोडलहरू आ–आफ्नै विशेषता बोकेका छन् । भेलाक्स फास्ट चार्जिङ मोडल व्यस्त जीवनशैली अपनाउनेहरूका लागि लक्षित गरिएको छ । ७६ भोल्ट ३० एएच एलएफपी ब्याट्रीसहितको यो स्कुटरले ११० किमी सम्म रेन्ज दिन सक्छ । यसले २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमता राख्दछ । ३२०० वाटको मोटर, ६२ किमी प्रतिघण्टा टप स्पिड र १७२ एनएम टर्क यसमा उपलब्ध छन् । भेलाक्स यु मोडल डुअल ७४ भोल्ट २० एएच ब्याट्री प्रणालीमा आधारित छ र एक पटकको चार्जमा १४० किमी रेन्ज प्रदान गर्छ । यो मोडलमा ४९०० वाटको शक्तिशाली मोटर, ८० किमी प्रतिघण्टा गति र १७६ एनएम टर्क रहेको कम्पनीले जनाएको छ । भेलाक्स एच मोडल दैनिक प्रयोगकर्तालाई ध्यानमा राखी सुलभ मूल्यमा डिजाइन गरिएको हो। यसमा ७२ भोल्ट ३० एएच ब्याट्री, १०० किमी रेन्ज, ३२०० वाट मोटर, ६२ किमी प्रतिघण्टा गति र १७२ एनएम टर्क प्रदान गर्ने क्षमता रहेको छ। 'एचु' को अर्थ ‘हाई परफमेन्स’ रहेको कम्पनीको भनाइ छ । तीनै मोडलमा क्रुज कन्ट्रोल, रिभर्स मोड, किलेस स्टार्ट, स्मार्ट अनलक, मोबाइल एप इन्टिग्रेसन, रिजेनेरेटिभ ब्रेकिङ, यूएसबी चार्जिङ पोर्ट, एलईडी लाइट र फुल्ली डिजिटल ड्यासबोर्डजस्ता अत्याधुनिक फिचरहरू समावेश छन् । भेलाक्स सिरिजको मूल्य २ लाख ८५ हजार रुपैयाँदेखि सुरु हुन्छ । स्कुटरहरूमा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी पनि प्रदान गरिनेछ । देशभर रहेका १२ भन्दा बढी आधिकारिक डिलरमार्फत टेस्ट राइड, प्रि–बुकिङ र फाइनान्सिङ सुविधा उपलब्ध गराइसकिएको कम्पनीले जनाएको छ ।