गभर्नर पौडेलको हस्ताक्षर भएको १ हजारको नयाँ नोट बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ । बैंकले आज (असोज ८ गते) देखि १ हजार रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएको हो ।

नयाँ नोट साविककै आकारमा भए पनि यसको रङमा परिवर्तन गरिएको छ । नोटमा बैजनी रङ्गको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ । नयाँ नोटको सिरिज सन् २०२५ रहेको छ ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटको अग्रभागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १ हजार तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख गरिएको छ ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ । पानीछापको मुनि ‘१०००’ अङ्क पनि राखिएको छ । त्यस्तै, नोटको दायाँतर्फ निलो रङमा ‘१०००’ को केही अंश देखिने सुरक्षा विशेषता राखिएको छ, जसलाई प्रकाशतर्फ पारेर हेर्दा ‘१०००’ पूर्ण रूपमा देखिन्छ ।

दृष्टिविहीन व्यक्तिले स्पर्शमार्फत नोट पहिचान गर्न सहज होस् भनेर नोटको दायाँतर्फको तल्लो भागमा एक हजार अंक जनाउने रोमन अक्षर ‘एम’ राखिएको छ । सगरमाथा हिमालको बायाँतर्फ र पानीछापको दायाँतर्फ १०–१० वटा तेर्सा रेखा पनि राखिएका छन् ।

नोटको अग्रभागमा सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र भगवतीको चित्र राखिएको छ । उक्त चित्रलाई सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने गरी तयार गरिएको छ ।

त्यस्तै, नोटमा ३.५ मिलिमिटर चौडाइको सुरक्षा धागो राखिएको छ । सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने उक्त धागोमा ‘एनआरबी’ र ‘१०००’ अंक राखिएको छ ।

नयाँ नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ । नोटको तल्लो खण्डमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ ।

नोटको पछाडिको भागमा चितवनस्थित सरकारी हात्तीसारमा जन्मिएका राम र लक्ष्मण नामका जुम्ल्याहा हात्तीको चित्र राखिएको छ । राष्ट्र बैंकका अनुसार ती हात्तीहरू देवकली नामक हात्तीबाट जन्मिएका हुन् । पछाडिको भागको बायाँतर्फ पनि ‘१०००’ को केही अंश देखिने सुरक्षा विशेषता राखिएको छ, जसलाई प्रकाशतर्फ पारेर हेर्दा ‘१०००’ पूर्ण रूपमा देखिन्छ ।

त्यस्तै, पानीछापको दायाँतर्फ नेपालका सातवटा प्रदेश जनाउने गरी सातवटा लालीगुराँसका चित्र राखिएका छन् । नोटको दायाँतर्फ ‘रुपिज वान थाउजेण्ड’ लेखिएको छ भने हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृति पनि समावेश गरिएको छ ।

नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर ‘२०२५ ए.डी.’ उल्लेख गरिएको छ ।

यसअघि राष्ट्र बैंकले २०७७ साउन ७ गतेदेखि १ हजार रुपैयाँ दरको सिरिज २०१९ को बैंकनोट चलनचल्तीमा ल्याउने सूचना जारी गरेको थियो । उक्त नोटको संकेत नम्बर ज६८ ०००००१ देखि ट९९९९९९ सम्म रहने भनिए पनि ज६८ ०००००१ देखि ट९१ ४४०००० सम्मका नोट मात्रै चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसपछि नयाँ सिरिजको १ हजार रुपैयाँ दरको बैंकनोटको संकेत नम्बर ९२०००००१ बाट सुरु गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकले बैंकनोट राष्ट्रको सम्पत्ति भएकाले यसको जतन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । 

Share News