विकासन्युज

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत श्रेष्ठ ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ भियतनामको परराष्ट्र मन्त्रालयबाट प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित भएका छन् । भियतनामको परराष्ट्र मन्त्रालयले नेपाल–भियतनामबीच व्यापार, पर्यटन तथा सांस्कृतिक सम्बन्ध विस्तारमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै श्रेष्ठलाई प्रमाणपत्रसहित उक्त सम्मान प्रदान गरेको हो । मन्त्रालयले श्रेष्ठले नेपालस्थित भियतनामी नागरिक तथा व्यवसायीलाई आवश्यक सहजीकरण गर्दै द्विपक्षीय सहयोग अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको जनाएको छ । ‘भियतनामको वैदेशिक सेवामा योगदान’ शीर्षकअन्तर्गत प्रदान गरिएको सम्मानपत्रमा भियतनामका परराष्ट्रमन्त्री हो बिन्ह ट्रुङको हस्ताक्षर रहेको छ । सम्मानपत्रमा नेपाल–भियतनामबीचको कूटनीतिक सम्बन्ध सुदृढ गर्न, आपसी सहकार्य विस्तार गर्न तथा भियतनामको वैदेशिक सेवाको प्रवर्द्धनमा श्रेष्ठले खेलेको भूमिका उल्लेखनीय रहेको उल्लेख गरिएको छ । सम्मानपछि श्रेष्ठले भियतनाम सरकार, परराष्ट्र मन्त्रालय, नयाँदिल्लीस्थित भियतनाम दूतावास तथा सम्बद्ध निकायप्रति आभार व्यक्त गर्दै दुई देशबीचको सहकार्यलाई अझ प्रभावकारी, सुदृढ र परिणाममुखी बनाउन निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए । उनले नेपाल र भियतनामबीच सिधा हवाई उडान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । प्रत्यक्ष हवाई सम्पर्कले बौद्ध पर्यटन, व्यापार, लगानी तथा सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उनको भनाइ छ । नेपाल बुद्धको जन्मस्थल र भियतनाम समृद्ध बौद्ध सम्पदा भएको मुलुक भएकाले धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तारका लागि सिधा हवाई सेवा अपरिहार्य रहेको श्रेष्ठले बताए । लुम्बिनीलाई केन्द्रमा राखेर बौद्ध पर्यटन प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै उनले सिधा उडान सञ्चालन भए धार्मिक पर्यटनसँगै सांस्कृतिक आदान–प्रदान, शैक्षिक सहकार्य र व्यावसायिक साझेदारीसमेत विस्तार हुने विश्वास व्यक्त गरे । श्रेष्ठले सूचना प्रविधि, पर्यटन, शिक्षा, सेवा, कृषि, खाद्य प्रशोधन, उत्पादन, पूर्वाधार, नवीकरणीय ऊर्जा, खानी तथा खनिज र लगानीका क्षेत्रमा नेपाल–भियतनामबीच सहकार्यको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै संयुक्त लगानी र साझेदारीबाट दुवै मुलुक लाभान्वित हुने बताए ।

९९३ सदस्य रहेको शुभ सन्देश सहकारीको सम्पत्ति साढे १२ करोड, ५१ जना ऋणी

काठमाडौं । शुभ सन्देश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सहकारी विभागको निर्देशन बमोजिम संस्थाले सार्वजनिक गरेको विवरणअनुसार सहकारीको कुल सम्पत्ति १२ करोड ४८ लाख १६ हजार १५९ रुपैयाँ पुगेको छ । विवरणअनुसार संस्थाको सेयर पुँजी १ करोड ६५ लाख ६ हजार ९०० रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३५ लाख ३६ हजार ६०६ रुपैयाँ रहेको छ । कुल संस्थागत पुँजी १२ लाख १ हजार ५६७ रुपैयाँ र अन्य कोषमा १२ लाख ५२ हजार ४०९ रुपैयाँ रहेको उल्लेख छ । सहकारीले ८ करोड ४३ लाख ३ हजार ७६७ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । संस्थाको कुल बचत ९ करोड ९३ लाख १५ हजार ४४७ रुपैयाँ रहेको छ । तरलता रकम ३ करोड ४७ लाख ७८३ रुपैयाँ रहेको र तरलता अनुपात ३३.२८ प्रतिशत पुगेको विवरणमा उल्लेख गरिएको छ । संस्थामा हाल ९९३ जना सदस्य आबद्ध रहेका छन् भने ५१ जना ऋणी सदस्य रहेको वित्तीय विवरणमा जनाइएको छ । 

कुवेतमा आक्रमणमा ज्यान गुमाएका नेपालीको शव आज स्वदेश ल्याइँदै

काठमाडौं । उत्तरी कुवेतमा गत बिहीबार भएको आक्रमणमा ज्यान गुमाएका तेह्रथुमका नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज नेपाल ल्याइँदै छ । परराष्ट्र मन्त्रालयका अनुसार तामाङको पार्थिव शरीर कुवेत एयरवेजमार्फत स्वदेश ल्याउन लागिएको हो । मन्त्रालयले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने सम्पूर्ण प्रक्रिया पूरा गरेको मन्त्रालयले जनाएको छ ।

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी २५ करोड रुपैयाँभन्दा कम भएका उद्योगसँग सम्बन्धित विभिन्न सिफारिस तथा सेवा प्रदेश सरकार र त्यसअन्तर्गतका निकायबाटै प्रदान गरिने स्पष्ट पारेको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने २५ करोड रुपैयाँभन्दा कम स्थिर पुँजी भएका उद्योगका लागि आवश्यक मेसिनरी, औजार तथा कच्चा पदार्थसम्बन्धी सिफारिस प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको हो । यस्तै, रसायन आयात, बण्डेड वेयरहाउस सञ्चालन, कच्चा पदार्थ खपतको नर्म्स निर्धारण तथा अन्य छुट, सुविधा र सहुलियतसम्बन्धी सिफारिससमेत सम्बन्धित प्रदेश सरकार र त्यसअन्तर्गतका निकायबाटै गरिने विभागले स्पष्ट पारेको छ । यसैबीच, उद्योग विभागले उद्योग दर्तासहित थप सात प्रकारका सेवा पनि अनलाइनमार्फत उपलब्ध गराउने भएको छ । विभागका अनुसार औद्योगिक व्यवस्थापन सूचना प्रणालीमार्फत आगामी साउन १८ गतेदेखि यी सेवाहरू अनलाइनबाटै सञ्चालनमा ल्याइनेछ ।

‘बिल्ड नेपाल ह्याकाथन’ सुरु, एआईदेखि रोबोटिक्समार्फत नेपालको समस्या समाधान खोज्दै युवा

काठमाडौं । मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि काठमाडौंमा सुरु भएको छ । ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित आयोजना गरिएको दुईदिने ह्याकाथन अगस्ट १ (आज)  र २ गते सञ्चालन हुनेछ । युवाको नेतृत्वमा डिजिटल नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ह्याकाथनमा २१ वटा बहुविषयगत टोलीमा विभाजित ६० भन्दा बढी युवा सहभागी हुँदैछन् । १६ देखि २४ वर्ष उमेर समूहका युवालाई लक्षित गरिएको कार्यक्रममा सहभागी टोलीले कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स तथा क्लाउड प्रविधिको प्रयोग गरी नेपालका वास्तविक समस्या समाधानमा केन्द्रित कार्यात्मक नमुना (प्रोटोटाइप) तयार गर्नेछन् ।  ह्याकाथनमा स्मार्ट सिटी, स्मार्ट कृषि, शिक्षा तथा सिकाइ, पर्यटन तथा सम्पदा, साइबर सुरक्षा र डिजिटल अर्थतन्त्र गरी छवटा विषयगत क्षेत्रमा नवीन समाधान विकास गर्न सहभागी टोलीले प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमका क्रममा सहभागी टोलीलाई सूचना प्रविधि क्षेत्रका आठ जना विज्ञ तथा मेन्टरले प्रत्यक्ष मार्गदर्शन गर्नेछन् । आयोजकका अनुसार प्रोशोर, पिनाकिन टेक्नोलोजिज र जेनेसेलगायतका आईटी कम्पनीका विज्ञले सहभागीलाई प्राविधिक तथा व्यावहारिक पक्षमा आवश्यक सहयोग र परामर्श दिनेछन् । मिड–भ्याली इन्टरनेसनल कलेजका ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी कार्यक्रमका प्रबन्धक सुदीपलाल बजिमयाले सैद्धान्तिक ज्ञान र व्यावहारिक प्रयोगबीचको दूरी कम गर्नु ह्याकाथनको मुख्य उद्देश्य रहेको बताएका छन् । उनले नेपालको आगामी दशकको विकासमा युवा नवप्रवर्तकको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उद्योग क्षेत्रका अनुभवी विज्ञसँग प्रत्यक्ष सहकार्य गर्ने अवसरले युवालाई देशका वास्तविक समस्या समाधान गर्ने प्रविधिमा आधारित समाधान विकास गर्न सहयोग पुग्ने बताए ।  ह्याकाथनको अन्तिम दिन आइतबार सहभागी टोलीले आफूले तयार पारेका न्यूनतम व्यवहार्य उत्पादन (एमभीपी) निर्णायकमण्डलसमक्ष प्रस्तुत गर्नेछन् । अन्तिम प्रस्तुतिको मूल्याङ्कन टेक उद्यमी तथा सिटीटेकका संस्थापक साजन शर्मा, बीएलसी ग्लोबल होल्डिङ्स प्रालिका प्रबन्ध निर्देशक तथा ग्लोबल इक्विटी फन्डका अध्यक्ष मनिष खेम्का र खल्ती (आईएमई खल्ती लिमिटेड) का सहसंस्थापक तथा निर्देशक अमित अग्रवालले गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ७५ हजार रुपैयाँभन्दा बढीको पुरस्कार राशि रहेको छ । कार्यक्रममा अल्फा बिटा, जेनेसे, भायानेट, दामी एक्सपिरियन्स, पिनाकिन टेक्नोलोजी र प्रोशोर नेपाल प्रालिलगायतका संस्था तथा प्रविधि क्षेत्रका साझेदारको सहयोग रहेको छ । आयोजकका अनुसार ह्याकाथनका गतिविधि तथा सहभागी टोलीको प्रगति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ भने विजेताको घोषणा आइतबार साँझ गरिनेछ ।  काठमाडौंको ज्ञानेश्वरमा रहेको मिड–भ्याली इन्टरनेसनल कलेजले सूचना प्रविधि, व्यवस्थापन तथा हस्पिटालिटीसम्बन्धी स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजले व्यावहारिक तथा उद्योगमैत्री शिक्षामार्फत विद्यार्थीलाई प्रविधि, नेतृत्व र नवप्रवर्तनका क्षेत्रमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ । 

पशुपति खाद्यले बेच्यो १०.१८ अर्बको खाने तेल, ८५ प्रतिशत भारत निर्यात

काठमाडौं । पशुपति खाद्य तेल उद्योगले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामै १० अर्ब १८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ भर गरेको १० अर्ब ३० करोड रुपैयाँ आम्दानीसँग लगभग बराबर हो । पछिल्ला वर्षहरूमा कम्पनीको आम्दानीमा उल्लेख्य उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ अर्ब ७ करोड १० लाख रुपैयाँ, आव २०७९/८० मा ३ अर्ब ६६ करोड १० लाख रुपैयाँ, आव २०७८/७९ मा ७ अर्ब ७८ करोड ७० लाख रुपैयाँ, आव २०७७/७८ मा ४ अर्ब ६२ करोड २० लाख रुपैयाँ, आव २०७६/७७ मा ३ अर्ब ७ करोड ७० लाख रुपैयाँ र आव २०७५/७६ मा १ अर्ब ८३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आम्दानीको मुख्य स्रोत भारततर्फको निर्यात हो । गत  आर्थिक वर्षको ९ महिनामा कुल बिक्रीको करिब ८५ प्रतिशत हिस्सा भारत निर्यातबाट आएको कम्पनीले जनाएको छ । सन् १९८२ मा स्थापना भएको पशुपति खाद्य तेल उद्योग नेपालका प्रमुख परिष्कृत खाद्य तेल तथा वनस्पति घ्यू उत्पादक उद्योगमध्ये एक हो । कम्पनीले विदेशबाट कच्चा खाद्य तेल आयात गरी प्रशोधन गरेर सोयाबिन, सूर्यमुखी र पाम ओलिन तेलका साथै वनस्पति घ्यू उत्पादन गर्दै आएको छ । यी उत्पादनहरू ‘पोस्टम्यान’, ‘हनुमान’, ‘हेल्लो’ र ‘पशुपति’ ब्रान्डमार्फत बजारमा बिक्री-वितरण गरिन्छ । कम्पनीको दर्ता कार्यालय मोरङको विराटनगर-८ मा रहेको छ भने उत्पादन केन्द्र सुनसरीको दुहबी उपमहानगरपालिका-८ मा सञ्चालनमा छ। कम्पनीमा नन्द किशोर राठी १३ प्रतिशत स्वामित्वसहित सबैभन्दा ठूलो व्यक्तिगत सेयरधनी छन्। बाँकी स्वामित्व शारदा, राठी र वैद्य परिवारका १९ जना अन्य सेयरधनीसँग रहेको छ । कच्चा खाद्य तेलका लागि कम्पनी पूर्ण रूपमा आयातमा निर्भर छ । नेपालमा उत्पादन हुने कच्चा खाद्य तेलले कुल आवश्यकताको सानो हिस्सा मात्र पूरा गर्ने भएकाले कम्पनीले अधिकांश कच्चा तेल अर्जेन्टिना, युक्रेन, रुस, ब्राजिललगायत मुलुकबाट आयात गर्छ । कम्पनीका अनुसार आयात नीतिमा हुने परिवर्तन, प्रतिकूल मौसमका कारण कच्चा पदार्थको मूल्यमा आउने उतारचढाव, अन्तर्राष्ट्रिय बजारमा खाद्य तेलको मूल्य अस्थिरता तथा अमेरिकी डलरमा हुने आयातका कारण सिर्जना हुने विनिमय दरको जोखिमले कारोबार, नगद प्रवाह र नाफामा प्रत्यक्ष असर पार्न सक्छ । विश्वव्यापी आपूर्ति शृंखलामा आउने अवरोधका कारण कच्चा पदार्थ आपूर्तिमा ढिलाइ हुने र मौज्दात व्यवस्थापन लागत बढ्ने जोखिम पनि रहेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८ अर्ब रुपैयाँ कर्जा लिएको छ । यसमध्ये ३ अर्ब रुपैयाँ फन्ड-बेस्ड र ५ अर्ब रुपैयाँ नन-फन्ड-बेस्ड कर्जा रहेको छ ।

ग्यासका लागि लाइन बस्न नपर्ने, टेकुबाट सिधै बिक्री सुरु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ । हालै मन्त्री यादवले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन, उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने वातावरण बनाउन तथा वितरण प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन नेपाल आयल निगमलाई निर्देशन दिएकी थिइन् । सोही निर्देशनअनुसार निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै ग्यास वितरण व्यवस्थालाई थप व्यवस्थित बनाइएको जनाएको छ। निगमका अनुसार दैनिक मागअनुसार एलपी ग्यासको आपूर्ति भइरहे पनि केही सञ्चार माध्यममा ग्यास अभाव भएको समाचार आएपछि त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन सबै ग्यास उद्योगलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा बिक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न आग्रह गरिएको छ । त्यसैगरी, काठमाडौं उपत्यकामा बढी माग हुने ग्यास ब्रान्डको आपूर्तिलाई सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ । ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरिएको छ । साथै एलपी ग्यासको आयात र वितरण नियमित भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक मौज्दात नगर्न निगमले अनुरोध गरेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवले बजारमा उपभोक्ताको हितलाई केन्द्रमा राख्दै अत्यावश्यक वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै वितरण प्रणालीमा देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिएकी थिइन् । निगमले सोही निर्देशनलाई कार्यान्वयन गर्दै ग्यास आपूर्तिलाई थप सहज, व्यवस्थित र पारदर्शी बनाउने कदम अघि बढाएको जनाएको छ ।

भ्रष्टाचार अनुसन्धानका क्रममा मेयरसहित ५५ जना हिरासतमा

काठमाडौं । टर्कीको प्रहरीले राजधानी अङ्काराको एतिमसगुत नगरपालिकाका मेयर एर्दाल बेसिकिओग्लुसहित ५५ जनालाई भ्रष्टाचार अनुसन्धानका क्रममा हिरासतमा लिएको छ । आन्तरिक मन्त्रालयका अनुसार विपक्षी दलद्वारा सञ्चालित नगरपालिकालाई लक्षित गरी यो कारबाही अघि बढाइएको हो । पक्राउ परेका मेयर बेसिकिओग्लु प्रमुख विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सीएचपी) का सदस्य हुन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी टर्कीका एक चर्चित अभिनेताका रूपमा स्थापित थिए । मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार यस अभियानका क्रममा उनका तीनजना उपमेयरहरूलाई समेत नियन्त्रणमा लिइएको छ ।  नगरपालिकाभित्र भएको भनिएको भ्रष्टाचार र अनियमितताको उजुरीका आधारमा अभियोजकहरूले गिरफ्तारी वारेन्ट जारी गरेपछि बिहीवार बिहानै समन्वयित रूपमा छापा मारिएको थियो । प्रहरीले नगरपालिकाको कार्यालय र संदिग्ध व्यक्तिहरूको निवासमा समेत विस्तृत खानतलासी गरेको छ । पछिल्लो समय विपक्षी दल सीएचपीको नेतृत्वमा रहेका विभिन्न नगरपालिकाहरूमा भ्रष्टाचार अनुसन्धानलाई तिब्र बनाइएको छ । यसै सिलसिलामा, गत बुधबार मात्रै इस्तानबुलको उस्कुदार नगरपालिकाकी मेयर सिनेम देदेताससहित २३ जना अधिकारीहरूलाई हिरासतमा लिइएको थियो । उनीहरूमाथि निर्माण तथा बसोवास अनुमति पत्र वितरणका क्रममा घुसखोरी र असुली गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।