विकासन्युज

१४ अंकले बढ्यो नेप्से, ४ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंकले बढेर २५९० विन्दुमा पुगेको छ । नेप्सेका अनुसार १९५ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३६२ कम्पनीको ८४ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार १० प्रतिशत हिमालयन बैंक डिभेन्चरको ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै ७ प्रतिशत आरबीबीएल डिभेन्चरको ३३ करोड, १०.२५ प्रतिशत एनआइसी एसियाको २१ करोड, सिद्धार्थ बैंकको १५ करोड र आँखु खोला जलविद्युतको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज १२ उपसमूहका सूचक बढेको छ । बैंकिङ ०.७४ प्रतिशत, डेभलपमेन्ट बैंक १.३७ प्रतिशत, फाइनान्स ०.५० प्रतिशत, होटल तथा पर्यटन ०.६१ प्रतिशत र हाइड्रोपावर ०.४७ प्रतिशतले बढेको छ ।  धितोपत्र बोर्ड (सेबोन) ले ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेसँगै लगानीकर्ताको मनोबल बढेको देखिएको छ । 

पर्यटन प्रवर्द्धनमा सरकार, होटल व्यवसायीको चिन्ता हट्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पर्यटन क्षेत्रको प्रवर्द्धनलाई तीव्र गतिमा अघि बढाइएकाले होटल व्यवसायीहरूले लामो समयदेखि व्यक्त गर्दै आएको चिन्ता अव हट्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल संघ नेपाल हानका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारका रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री साहको निजी सचिवालयले दिएको जानकारी अनुसार व्यवसायीहरूलाई कानुनको पालना गर्दै व्यवसाय सञ्चालन गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन समेत आग्रह गरे । प्रधानमन्त्रीले पर्यटन विकासका लागि सार्वजनिक निजी साझेदारी पीपीपी मोडेल अपनाएर गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गरेको सचिवालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलको उपस्थितिमा भएको छलफलमा होटल संघ नेपालले मुलुकको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराएको छ । हाल नेपालमा वार्षिक करिब १२ लाख पर्यटक मात्र भित्रिरहेको उल्लेख गर्दै संघले पर्यटक आगमन वृद्धि भए होटल उद्योगले ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने र नेपाली युवाको वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन महत्वपूर्ण भूमिका खेल्ने जनाएको प्रधानमन्त्री साहको सचिवालयले जनाएको छ । छलफलमा व्यवसायीहरूले नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह डेस्टिनेसन र सीमा–पार क्रस–बोर्डर पर्यटनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै सरकार समक्ष विभिन्न नीतिगत सुधारका माग राखेका छन् । उनीहरूले होटल उद्योगलाई अन्य उत्पादन मूलक उद्योगसरह विद्युत महसुलमा सहुलियत उपलब्ध गराउन, २५ वेडसम्मका होटलका लागि अनिवार्य गरिएको संक्षिप्त वातावरणीय मूल्याङ्कन आईईईको सीमा ५० वेडसम्म पु¥याउन तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरेका छन् । नेपाल एयरलाइन्सको सेवा विस्तार र गुणस्तर सुधार गर्न पनि व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । त्यसैगरी, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अन्तर्गत ट्रेडमार्क प्रयोग बापतको रोयल्टी वा शुल्क कुल बिक्री मूल्यको पाँच प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था संशोधन गरी आपसी सहमतिमा शुल्क निर्धारण गर्न पनि व्यवसायीहरूले माग गरेका छन् । प्रधानमन्त्री साहको सचिवालयका अनुसार  होटल व्यवसायसँग सम्बन्धित कानुनहरूको पुनरावलोकन गर्नुपर्ने तथा डेस्टिनेसन वेडिङका लागि गरगहना आयातको प्रक्रिया सहज बनाउनुपर्ने माग पनि संघले अघि सारेको छ । आरोग्य पर्यटनको अन्तराष्ट्रिय प्रवर्द्धन प्रभावकारी बनाउन फोटो र भिडियोमा मात्र सीमित नरही फुल स्टोरी टेलिङमा आधारित प्रचार अभियान सञ्चालन गर्न र त्यसका लागि आवश्यक विज्ञ तथा स्रोतसाधनको व्यवस्था गर्न पनि व्यवसायीहरूले सरकारसँग आग्रह गरेका छन् । छलफलमा होटल संघ नेपालका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जय दिन श्रेष्ठ, आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी रहेको सचिवालयले जनाएको छ ।

आईबीएमको सेयरमा पहिरो, बजार मूल्यमा ७० अर्ब डलर गिरावट

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी आईबीएमले दोस्रो त्रैमासिकको प्रारम्भिक वित्तीय नतिजा अपेक्षाभन्दा कमजोर रहने संकेत दिएपछि कम्पनीको सेयर कारोबारका क्रममा २६ प्रतिशतसम्म घटेको छ । यससँगै कम्पनीको बजार मूल्य करिब ७० अर्ब अमेरिकी डलरले घटेको छ । यदि कारोबार अन्त्यसम्म यही गिरावट कायम रहे यो सन् १९८७ पछिकै आईबीएमको सबैभन्दा ठूलो एकदिने सेयर गिरावट हुने अनुमान गरिएको छ । आईबीएमले दोस्रो त्रैमासिकमा १७.२ अर्ब अमेरिकी डलर आम्दानी हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ, जुन वाल स्ट्रिट विश्लेषकहरूको १७.८६ अर्ब डलर अनुमानभन्दा कम हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरविन्द कृष्णाका अनुसार ग्राहकहरूले सफ्टवेयर तथा परम्परागत आईटी सेवामा हुने खर्च घटाएर एआई पूर्वाधारका लागि आवश्यक सर्भर, स्टोरेज र मेमोरी खरिदमा पूँजी केन्द्रित गर्न थालेका कारण कम्पनीको आम्दानी अपेक्षाअनुसार हुन सकेन । लगानीकर्तालाई पठाएको पत्रमा उनले बजारको तीव्र परिवर्तनसँग कम्पनीले अपेक्षित गतिमा आफूलाई अनुकूल बनाउन नसकेको स्वीकार गरेका छन् । उनका अनुसार केही ठूला सम्झौताहरू अपेक्षित समयमा सम्पन्न हुन नसक्दा राजस्व प्रभावित भएको हो । आईबीएमको कमजोर प्रक्षेपणको असर अन्य सफ्टवेयर कम्पनीहरूमा पनि देखिएको छ । माइक्रोसफ्टको सेयर करिब २ प्रतिशत, वर्कडेको ६.३ प्रतिशत, सेल्सफोर्सको ३.२ प्रतिशत, अटोडेस्कको २.४ प्रतिशत तथा अमेरिकामा सूचीकृत एसएपीको सेयर ३.४ प्रतिशतले घटेको छ । सफ्टवेयर क्षेत्रको प्रदर्शन मापन गर्ने आईसेयर्समा पनि कारोबारका क्रममा २.७ प्रतिशतसम्म घटेको थियो, यद्यपि पछि केही सुधार देखिएको थियो । आईटी सेवा कम्पनीहरू पनि दबाबबाट अछुतो रहेनन् । एक्सेन्चरको सेयर २.९ प्रतिशत, कग्निजेन्ट टेक्नोलोजी सोलुसन्सको २.२ प्रतिशत र इन्फोसिसको २.८ प्रतिशतले घटेको छ । बजार विश्लेषकहरूले आईबीएमको नतिजालाई सफ्टवेयर उद्योगका लागि चेतावनीका रूपमा लिएका छन् । भाइटल नलेजका संस्थापक एडम क्रिसाफुलीका अनुसार कम्पनीहरूले पूँजीगत खर्च एआई पूर्वाधारतर्फ मोड्दै जाँदा परम्परागत सफ्टवेयर र आईटी सेवा कम्पनीहरू थप दबाबमा पर्न सक्ने जोखिम बढेको छ । यस वर्ष एआईसँग सम्बन्धित हार्डवेयर र सेमिकन्डक्टर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ भने परम्परागत सफ्टवेयर कम्पनीहरू दबाबमा परिरहेका छन् । आईबीएमको पछिल्लो नतिजाले पनि यही प्रवृत्तिलाई थप स्पष्ट पारेको विश्लेषकहरूको भनाइ छ ।

ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायत समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।      सिंहदरबारमा आज बसेको बैठकमा सभापति रहबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभावसहित अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिएका छन् ।       उनले पुराना ग्यास सिलिन्डरको उपयोगबाट उपभोक्तालाई पर्नसक्ने जोखिम न्यूनीकरणका लागि नेपाल एलपी ग्यास, आयल निगम र मन्त्रालयकोतर्फबाट नियमित अनुगमन गरी गुणस्तरीय जाँचको सुनिश्चितता गर्न थप निर्देशन दिएका छन् ।   

एक खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ । केन्द्रीय बैंकले बुधबार सूचना जारी गर्दै निक्षेप संकलनका लागि बोलकबोल जारी गरेको हो ।  सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । बोलकबोल गर्दा निक्षेप गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलवपछिका चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ । घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सकिने  छ ।  

अरुण काबेली पावरले संस्थापक समूहको ३ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको ३ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको नाममा रहेको इङ्वा हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता सेयर दोस्रो बजारमार्फत बिक्री गर्न लागिएको जनाएको छ । कम्पनीका अनुसार विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ बमोजिम सर्वसाधारणको जानकारीका लागि १५ दिने सूचना प्रकाशित गरिएको हो । बिक्रीमा राखिएको सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । प्राप्त आवेदनका आधारमा प्रचलित कानुनी व्यवस्था अनुसार सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीको भनाइ छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विपक्षीको विरोध कायमै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसदमा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोध बुधबार पनि जारी रहेको छ । प्रतिनिधिसभाको बैठक सुरु भएपछि सभामुख डीपी अर्यालले कार्यसूची अघि बढाउन खोज्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् ।  गत जेठ १७ गते प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए ।  उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले त्यसलाई संसदको अभिलेख (रेकर्ड) बाट हटाउन र प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । यसै विषयलाई लिएर विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् भने सरकार र विपक्षीबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको नियमित कार्यसूची प्रभावित हुँदै आएको छ ।

सेयर बजार बुझ्न १० दिने निःशुल्क तालिम सञ्चालन गर्दै सन सेक्युरिटिज

काठमाडौं । सन सेक्युरिटिज प्रालिले वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले १० दिने निःशुल्क सेयर बजारसम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौंभित्र तथा बाहिर, साथै नेपालबाहिर रहेका विभिन्न पेशा तथा व्यवसायमा आबद्ध लगानीकर्तालाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको हो । तालिम गुगल मिटमार्फत अनलाइन सञ्चालन हुनेछ । कम्पनीका अनुसार तालिममा सेयर बजारको आधारभूत विश्लेषण, संस्थागत तथा फन्ड म्यानेजरले सेयर छनोट गर्ने विधि, मार्जिन कारोबारको प्रयोग र जोखिम व्यवस्थापन, नेपालमा उपलब्ध लगानीका वित्तीय साधन, म्युचुअल फन्ड र मल्टिब्यागर सेयर पहिचान गर्ने तरिका, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तथा क्यान्डल, चार्ट, ट्रेन्ड र विभिन्न इन्डिकेटरसहितको प्राविधिक विश्लेषणका विषय समेटिनेछन् । यस्तै, वर्तमान बजार परिस्थितिमा लगानीकर्ताले अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल गरिने कम्पनीले जनाएको छ। यसका लागि विश्लेषक अभिका पौडेल, छोटेलाल रौनियार, अस्तित्व शर्मा र सौगात पन्तले सहजीकरण गर्नेछन् । तालिम हरेक दिन साँझ ७ः३० बजेदेखि ९ बजेसम्म गुगल मिटमार्फत सञ्चालन हुने कम्पनीले जनाएको छ ।