विकासन्युज

रास्वपाको प्रवास विभाग प्रमुख बने दीपक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास विभाग प्रमुखमा दीपक बोहरा नियुक्त भएका छन् । आइतबार बसेको पार्टीको सचिवालय बैठकले बोहरालाई प्रवास विभाग प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।  यसअघि उक्त विभागको प्रमुखको जिम्मेवारी डिपी अर्यालले सम्हाल्दै आएका थिए । अर्याल सभामुख बनेपछि बोहरालाई सो जिम्मेवारी दिइएको हो ।   

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

दोधारा चाँदनी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताएका छन् । आइतबार कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्र नाफा कमाउनका लागि मात्रै हो भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए ।       'कुल गार्हस्थ उत्पादन (जिडिपी)मा ८० प्रतिशतभन्दा बढी योगदान गर्ने र हरेक पूर्वाधार निर्माणमा योगदान गर्ने निजी क्षेत्र हो', ढकालले भने, 'सबैभन्दा बढी रोजगारी सिर्जना पनि निजी क्षेत्रले गरिरहेका छन् ।' उनले सुदूरपश्चिममा पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन प्रवर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले यस क्षेत्रमा आफूले लगानी गरेको बताए ।       'सुदूरपश्चिममा जहाँ हेर्‍यो त्यहीँ सम्भावना छ, त्यसकारण यहाँको सबैभन्दा ठूलो पर्यटन पूर्वाधार अगाडि बढाएका छौँ', अध्यक्ष ढकालले भने, 'यसले सुदूरपश्चिमको मात्रै नभई मुलुकमै पर्यटन प्रवर्द्धनमा टेवा पुगाउने छ ।' उनले इमान्दारिताका साथ काम गरे प्रतिफल आउने विश्वास व्यक्त गरे । सुदूरपश्चिमबाट छिमेकी मुलुक भारतका ठूला औद्योगिक क्षेत्र नजिक रहेकाले त्यसको फाइदा पनि सुदूरपश्चिमलाई रहेको उनले बताए ।      'यहाँको बडिमालिका, रामारोशन जस्ता धार्मिक पर्यटकीय गन्तव्य छन्,' ढकालले भने, 'अब पर्यटकीय पूर्वाधारमा पनि लगानी हुनुपर्छ ।' उनले निजी क्षेत्रको समस्या समाधानका लागि सरकारसँग निरन्तर पहल गरिरहेको बताए ।   

खजुरा बन्दै फुटबलको केन्द्र, गाउँमै हजारौँ दर्शक

राँझा । पछिल्लो समय नेपालगञ्ज रङ्गशालामा दर्शक हराउँदै गएका बेला बाँकको खजुरा क्षेत्रमा भने फुटबल खेलप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ । खजुरा क्षेत्रमा आयोजना हुने सानादेखि ठूला सबै फुटबल प्रतियोगितामा स्थानीय दर्शकको उल्लेख्य सहभागिता देखिन्छ ।       यहाँका गाउँमा हुने फुटबल प्रतियोगिता हेर्न टाढाटाढाबाट स्थानीय खेल मैदानसम्म पुग्ने गरेका छन् । अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले यहाँ हुने फुटबलमा खेलाडी र दर्शकको सहभागिताले खेलप्रति आकर्षण बढ्दै गएको देखाउने बताए ।       'नेपालगञ्ज रङ्गशालामा हुने फुटबल प्रतियोगितामा दर्शक सङ्ख्या न्यून हुँदा खजुरा क्षेत्रमा भने यो सङ्ख्या बढ्दै गएको छ', उनले भो, 'खजुरा क्षेत्र फुटबल खेलाडी उत्पादनको उर्वर क्षेत्र हो, यहाँ फुटबलप्रति स्थानीयको छुट्टै खालको लगाव छ ।'      खजुरा गाउँपालिकामा नियमितजसो ठूलासाना धनराशिका फुटबल प्रतियोगिता आयोजना भइरहने जनाउँदै शाहीले यसले खेलाडी र फुटबलप्रेमीलाई उत्साहित बनाएको धारणा राखे ।      खजुरा गाउँपालिका-४, डीगाउँमा करिब रु ६० लाखको खर्चमा एन्टी एरिना प्रथम खजुरा गोल्डकप सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेतालाई रु सात लाख र द्वितीयलाई रु चार लाख नगद पुरस्कार प्रदान गरिने आयोजक न्यू डाँफे स्पोटर्स क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिए ।       'पहिलो पटक गाउँमा गोल्डकप आयोजना गर्दैछौँ, सबैको साथ र सहयोग प्राप्त भएको छ', उनले भने, 'करिब ५० हजार दर्शकले प्रतियोगितामा खेल अवलोकन गर्ने हाम्रो अनुमान छ ।' एन्टी एरिना प्रथम खजुरा गोल्डकपमा यस क्षेत्रका साथै नेपालगञ्ज र कोहलपुरबाट समेत दर्शक सहभागी हुने गरेका खत्रीले बताए ।      खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले गाउँमा हुने यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्नुका साथै फुटबल खेलको विकास हुने बताउँदै गोल्डकपलाई आगामी वर्षदेखि पालिकाको वार्षिक बजेटमा राखेर निरन्तरता दिने जानकारी दिए । रासस   

घण्टीको नयाँ अभियान : सांसदविहीन क्षेत्रमा समानुपातिकको ‘कमान्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला र निर्वाचन क्षेत्र सहितको सूची भोलिको केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै, प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा नियुक्त भएका छन् । यसअघि विभागको प्रमुखको जिम्मेवारीमा डीपी अर्याल रहेका थिए । उनी सभामुखमा निर्वाचित भएपछि यो पद खाली रहेको थियो । त्यसैगरी, रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ ।

इन्धनको मूल्यवृद्धिले चितवनमा १२५ ठेक्काको काम रोकिने अवस्थामा

चितवन । पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा पुगेका छन् । इन्धनसहित आवश्यक वस्तुमा बढ्दो महँगीका कारण ती ठेक्‍कामा काम हुन नसक्ने अवस्थामा पुगेको हो । कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीका अनुसार यस कार्यालयमा २६७ वटा आयोजना रहेकामा अहिले ठेक्का सम्झौता भई २१७ वटा सञ्चालन भइरहेका छन् । तीमध्ये १२५ वटा आयोजनाको काम रोकिने अवस्थामा आएका उनले बताए । यसरी ठेक्का सम्झौता गर्ने समयमा भन्दा अहिले इन्धनको मूल्यमा भएको वृद्धि र अलकत्रा (विटुमिन) को समस्याका कारण पूर्वाधार विकासका  काम रोकिने अवस्थामा पुगेका उनको भनाइ छ । प्रमुख चौधरीले भने, 'निर्माण व्यवसायीहरूले ‘निर्माण होलिडे’ (तत्कालका लागि रोक्न मिल्ने प्रकृतिका आयोजनालाई रोक्ने प्रक्रिया) को माग गर्दै कार्यालयमा पत्र बुझाएका छन् ।' इन्धनको मूल्य बढेपछि सबै क्षेत्रमा मूल्य वृद्धि हुँदा पूर्वाधार निर्माण प्रभावित बन्दै आएका उनको भनाइ छ ।   यस कार्यालयबाट ५० वटा आयोजना उपभोक्ता समितिबाट गर्नुपर्ने भए पनि ती आयोजनाको काम पनि हुन सकेको छैन । कार्यालयले अहिले १९ वटा पुल निर्माण गरिरहेको छ भने अन्य आयोजनाअन्तर्गत सडक निर्माण भइरहेका उनले बताए ।       कार्यालय प्रमुख चौधरीले भने, 'यस्तै अवस्था रहे यस कार्यालयबाट सुरु गरिएका आयोजनामध्ये ५० देखि ६० प्रतिशत काम सम्पन्न हुने अवस्था छैन ।' ६७ करोड रुपैयाँ बजेटबाट विकास निर्माण गर्दै आएको कार्यालयले सरकारको निर्णयअनुसार अघि बढ्ने निर्माण व्यावसायीलाई बताएको छ ।        निर्माण व्यवसायी सङ्घ चितवनका महासचिव पुष्कर अधिकारीले अहिलेको अवस्थामा निर्माण व्यवसायीले काम गर्न सक्ने अवस्था नभएको बताए । उनले यही अवस्थामा महँगी बढ्दै जाँदा काम गर्न नसकिने भएकाले निर्माण होलिडेका रूपमा सरकारले अघि बढाउन आवश्यक रहेको धारणा राखे । महँगीमा भएको वृद्धिका कारण बजेटमा समायोजन वा होलिडेका रूपमा राज्यले निर्माण व्यवसायीलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । रासस  

कांग्रेस संसदीय दलको नेता छान्न वैशाख ८ मा चुनाव

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न वैशाख ८ गते (मंगलबार) निर्वाचन गर्ने निर्णय गरेको छ ।  कार्यालयले उपत्यका बाहिर रहेका सांसदहरूलाई वैशाख ७ गतेभित्र अनिवार्य रूपमा काठमाडौं आइपुग्न मोबाइल सन्देशमार्फत जानकारी गराएको एक सांसदले जानकारी दिए ।  काठमाडौं उपत्यकाभित्र रहेका सांसदहरूलाई निर्वाचनसम्म बाहिर नजान पनि अनुरोध गरिएको छ । सांसद प्रकाशसिंह बस्नेतका अनुसार हाम्रो मागअनुसार ८ गते बिहान दलको नेता चयनको निर्वाचन हुने कार्यक्रम रहेको छ ।

माउन्ट एभरेस्ट डिस्टिलरीद्वारा ‘रेड नेचर’ र ‘ब्लु नेचर’ प्रिमियम स्पिरिट बजारमा

काठमाडौं  । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले प्रिमियम स्पिरिट सेग्मेन्टमा दुई नयाँ उत्पादन सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले ‘रेड नेचर’ र ‘ब्लु नेचर’ नामका 40 UP प्रिमियम स्पिरिटहरू बजारमा ल्याउने भएको हो । कम्पनीका अनुसार यी उत्पादनहरू आगामी वैशाख ५ गतेदेखि देशभरका बजारमा उपलब्ध हुनेछन् । आधुनिक उपभोक्ताको स्वाद र प्राथमिकतालाई ध्यानमा राखेर उच्च गुणस्तरमा आधारित उत्पादन तयार गरिएको कम्पनीले जनाएको छ । ७५० एमएल क्षमताको बोतलको अधिकतम खुद्रा मूल्य रु. १,२४० तोकिएको छ । उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको र उपभोक्तालाई गुणस्तरीय अनुभव दिने लक्ष्य राखिएको कम्पनीको दाबी छ । नयाँ वर्षको सन्देशसँगै कम्पनीले न्यू इयर सेम सरकल अवधारणालाई अघि सार्दै जिम्मेवार उपभोगको सन्देश पनि प्रवाह गरेको जनाएको छ । कम्पनीका प्रतिनिधिले उपभोक्तालाई गुणस्तरीय विकल्प उपलब्ध गराउनुका साथै जिम्मेवार उपभोग संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताएका छन् । माउन्ट एभरेस्ट डिस्टिलरीले आगामी दिनहरूमा पनि बजारको माग अनुसार थप नवीन तथा प्रिमियम उत्पादनहरू ल्याउने योजना रहेको जनाएको छ ।

‘बालेन सरकार गठनपछि महँगी बढ्यो, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउनु आपत्तिजनक छ’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नयाँ सरकार गठन लगत्तै महँगी र कालो बजारी बढेको बताएको छ । नेकपाले आइतबार विज्ञप्ति जारी गदै नयाँ सरकार बनेलगत्तै महँगी र कालोबजारी बढेको बताएको हो । नेकपाले विज्ञप्तिमा संविधानको मर्म र भावनाविपरीत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयास अत्यन्तै आपत्तिजनक भएको पनि उल्लेख गरेको छ ।  सरकारले सुकुम्वासी परिवारहरूलाई बसोबास र जीविकोपार्जनको उचित विकल्प उपलब्ध नगराई जबरजस्ती उठिबास लगाउने तथा झुप्रा भत्काउने कार्यप्रति नेपाली कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।    यस्तो छ विज्ञप्ति हालै सरकारले सुकुम्वासी परिवारहरूलाई बसोबास र जीविकोपार्जनको उचित विकल्प उपलब्ध नगराई जबरजस्ती उठिबास लगाउने तथा झुप्रा भत्काउने कार्यप्रति नेपाली कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारको अमानवीय कदमले पीडित परिवारलाई बिचल्ली पार्नुका साथै सीमान्तकृत समुदायको राज्यप्रतिको जनविश्वास कमजोर बनाउने खतरा बढ्ने हाम्रो ठहर छ । सुकुम्वासी व्यवस्थापनका सन्दर्भमा समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं ।  यसैगरी नयाँ सरकार गठन लगत्तै महङ्गी र कालो बजारी बढेकोमा तत्काल नियन्त्रण गर्न हाम्रो पार्टी आग्रह गर्दछ । साथै संविधानको मर्म र भावनाविपरीत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयास अत्यन्तै आपत्तिजनक छ । पञ्चायती कालखण्डमा समेत संगठित हुने अधिकार उपभोग गर्दै आएका विद्यार्थीहरूमाथि बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमा यस्तो प्रतिबन्ध लगाइनु स्वीकार्य हुन सक्दैन । संगठित हुन पाउने संवैधानिक अधिकार तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताविपरीत ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति पनि हाम्रो पार्टी चिन्ता व्यक्त गर्दछ । सरकारलाई यो विषयलाई हलुकारूपमा नलिन र पुनर्विचार गर्न आग्रह गर्दछौं । ताजा जनादेशबाट बनेको वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय तथा समृद्धिको ठूलो अपेक्षा गरेका छन्। सरकारले अघि सारेका वाचा तथा प्रतिबद्धतापत्रका सकारात्मक विषयहरूलाई हाम्रो पार्टी सकारात्मक रूपमा स्वागत गर्दछ । तथापि, शासन सञ्चालन प्रक्रिया तथा संसदीय अभ्यासका क्रममा देखिएको पूर्वाग्रही, मनोगत तथा एकपक्षीय दृष्टिकोण चिन्ताजनक छन् । नेपाली कम्युनिष्ट पार्टी सरकारलाई अझ लोकतान्त्रिक बन्न, सुकुम्वासी, किसान, मजदूर तथा उपेक्षित, उत्पीडित समुदायप्रति सहिष्णु र जिम्मेवार बन्न, सामाजिक न्याय र सुशासनको विषयमा अनावश्यक स्टनबाजी नगर्न तथा लोकतान्त्रिक अधिकारहरूलाई थप संस्थागत गर्ने दिशामा अघि बढ्न आग्रह गर्दछ । हामी लोकतन्त्रको सर्भिसिङका पक्षमा छौं । तर लोकतन्त्रको सुदृढीकरण, अधिकारहरू खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन, बरु सीमान्तीकृत समुदायका अधिकारहरूलाई सुदृढ गर्दै यी समुदायका पक्षमा सामाजिक न्याय र समृद्धि हासिल गर्नु नै सही मार्ग हो भन्ने हाम्रो ठहर छ ।