रास्वपाको केन्द्रीय समिति बैठक भोलि बस्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक भोलि (वैशाख ७) गते बस्ने भएको छ । पार्टी कार्यालयद्वारा जारी सूचनाअनुसार बैठक सोही दिन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा आयोजना गरिनेछ । बैठकमा केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । पार्टीले समसामयिक राजनीतिक अवस्था तथा संगठनात्मक विषयमा छलफल हुने जनाएको छ ।
‘क्रुड आयल’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम
काठमाडौं । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको छ । ‘क्रुड’ आयल (कच्चा तेल) को मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको भनी आमउपभोक्तालाई भ्रममा पार्ने प्रयास भइरहेको जनाउँदै निगमले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो । क्रुड आयलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक रहेको निगमले जनाएको छ । नेपालसँग आफ्नै ‘रिफाइनरी’ नहुँदा कच्चा तेल आयात नगरी सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको छ । 'क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ, त्यसैले मूल्य तुलना गर्दा क्रुड होइन, प्रशोधित पेट्रोलियम पदार्थकै अन्तर्राष्ट्रिय मूल्य हेर्नुपर्छ', निगमका प्रवक्ता मनोज ठाकुरले भने । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । आइओसीबाट प्राप्त प्रशोधित पेट्रोल र डिजेलको खरिद मूल्यका आधारमा नेपालमा प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन हुँदै आएको छ । निगमले उपलब्ध गराएको तथ्याङ्कअनुसार १६ अप्रिल २०२६ मा क्रूड आयलको मूल्य प्रतिब्यारेल ९९.६ अमेरिकी डलर, पेट्रोल १३९.३ डलर र डिजेल २२८.१ डलर थियो । यस अवधिमा सबैभन्दा उच्च मूल्य २ अप्रिल २०२६ मा पुगेको थियो, जहाँ क्रूड आयल ११८.३ डलर, पेट्रोल २६२.० डलर र डिजेल ३३४.४ डलर प्रति ब्यारेल पुगेको देखिन्छ । सामान्य अवस्थामा क्रुड आयल र पेट्रोलबीच करिब १० डलर तथा क्रुड आयल र डिजेलबीच करिब २० डलरको अन्तर रहने भए पनि पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिमा यो अन्तर क्रमशः करिब १४४ डलर र २१६ डलरसम्म पुगेको निगमले जनाएको छ । यसले प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप बढाएको छ । निगमका अनुसार भन्सार, कर, ढुवानी, बीमा, भण्डारण र सेवा शुल्कजस्ता पक्षहरूले पनि अन्तिम खुद्रा मूल्य निर्धारणमा प्रभाव पार्नेछ । निगमले यही वैशाख ३ गतेदेखि नेपालमा डिजेल/मट्टितेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु ५ वृद्धि गरेको थियो । निगमले डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि २३६ रुपैयाँ र तेस्रो वर्गका लागि २३७ रुपैयाँ तोकेको छ । मूल्य वृद्धि पश्चात पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा भइरहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा दैनिक बढोत्तरी आउँदा १५ दिनमा करिब रु पाँच अर्ब ७५ करोड घाटा हुने प्रवक्ता ठाकुरले जानकारी दिए । रासस
विषादीरहित तरकारी उत्पादनमा किसान, उचित मूल्य नपाएको गुनासो
टीकापुर । टीकापुरका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्य र माटो संरक्षणका लागि यहाँका एक सय ४० किसानले विषादीरहित तरकारीखेती गर्न थालेका हुन् । विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने बुझेपछि प्राकृतिक तरकारी खेतीतर्फ लागेको किसानहरू बताउँछन् । ती किसानले आठ वटा कृषक समूह बनाएर तरकारी खेती गरिरहेको जनाएका हुन् । टीकापुर- १ को वनगाउँ र शङ्करपुर, वडा नं २ को राजीपुर र सीतापुर, वडा नं ३ को घीया, वडा नं ५ नुक्लीपुरमा समूह बनाएर तरकारी खेतीतर्फ लागेका हुन् । टीकापुर–१ वनगाउँस्थित असल चमेली कृषक समूहका अगुवा किसान मीनबहादुर चौधरीले विषादी न्यूनीकरण र सुरक्षित खाद्य तत्व संरक्षणका लागि तीन वर्षदेखि खेती गर्न थालिएको बताए । 'माटोको उर्वरा शक्ति बढाउने, बढी उत्पादन लिने र जैविक जीवाणु संरक्षण तथा स्वस्थ तरकारी उत्पादनमा जैविक प्राकृतिक खेतीमा लागेका छौँ', उनले भने, 'हामीले नजानेर माटो र स्वास्थ्यमा खेलवाड गरिरहेका रहेछौँ भन्ने बुझेपछि यसतर्फ लागेका हौँ । खेतीमा रासायनिक मल र विषादी हाल्दैनौँ, घरमै जैविक विषादी बनाएर प्रयोग गरिरहेका छौँ ।' किसानले घरमै जैविक, घरेलु मल बनाउने गरेका छन् । मल बनाउन झारपात, सडेगलेका तरकारी, पिसाब आदि प्रयोग गरिन्छ । वनगाउँमा रहेको कृषक समूहमा १५ जना किसान आबद्ध छन् । यी किसान कसैले पाँच कट्ठा त कसैले १५ कट्ठा जमिनमा तरकारीखेती गरिरहेका छन् । यतिबेला यहाँका बारीमा काक्रा, फर्सी, लौका, भिन्डी, खुर्सानी, टमाटरलगायतको तरकारी छ । पछिल्लो समय उपभोक्ताले पनि विषादीरहित उत्पादनको महत्त्व बुझेपछि बारीमै तरकारी किन्ने आइरहेका छन् । बचेको तरकारी टीकापुर बजारमा लाग्ने हाटबजारमा बिक्री गर्ने गरिएको चौधरीले जानकारी दिए । टीकापुर नगरपालिकाले अर्गानिक तरकारीखेती गर्ने किसानको सहजताका लागि हाटबजारमा छुट्टै ‘स्टल’ को व्यवस्था गरिदिएको छ । यसरी अर्गानिक खेती गरे पनि बजार मूल्य अन्य तरकारी सरह हुँदा आफूहरू मर्कामा परेको किसानको गुनासो छ । किसान रुविना चौधरीले विषादीरहित र अर्गानिक तरकारीको मूल्य फरक हुनुपर्ने बताए । 'हामीले मानव स्वास्थ्य र वातावरण संरक्षणमा योगदान पुग्ने गरी उत्पादन गरिरहेका छौँ, तर बजार मूल्य भने अन्य तरकारीजस्तै छ', उनी भन्छन्, 'यसले हामी मारमा परिरहेका छौँ । अब सबैले हाम्रो मेहनत बुझ्नुपर्छ, विषादी नहालेको तरकारी उत्पादक किसानलाई प्रोत्साहन गर्न उपभोक्ता र सरकार पनि गम्भीर बन्नुपर्छ ।' किसानको जीविकोपार्जनमा सुधार र उपभोक्ताका स्वास्थ्य लाभका लागि प्राकृतिक तरकारीखेतीमा लाग्न सेवक नेपाल नामक संस्थाले सहयोग गरिरहेको छ । यसमा टीकापुर नगरपालिकाको पनि सहकार्य छ । सेवक नेपालका परियोजना अधिकृत प्रेम चौधरीले संस्थाले समूहमा आबद्ध एक सय ४० जना किसानलाई प्राकृतिक खेतीका लागि बीउबिजन, प्रविधि र अन्य प्राविधिक सहयोग गरिरहेको बताए । किसानलाई विषादी र रासायनिक मल प्रयोग गर्न नदिन सचेत गराउनुका साथै विकल्पका रूपमा स्थानीयस्तरमै पाइने सामग्री प्रयोग गरी झोल मल बनाउन सिकाइएको उनले जानकारी दिए । रासस
इरानको आणविक मुद्दामा रुसको ‘इन्ट्री’, युरेनियम लैजान सघाउने प्रस्ताव
काठमाडौं । रुसको सरकारी आणविक ऊर्जा कम्पनी रोसाटोमका प्रमुख अलेक्सी लिखाचेभले रुसले इरानबाट सम्वर्धित युरेनियम लैजान सहयोग गर्न सक्ने बताएका छन् । बीबीसी पर्सियनका अनुसार यो जानकारी औद्योगिक प्रकाशन ‘स्ट्राना रोसाटोम’ को टेलिग्राम च्यानलमा प्रकाशित गरिएको हो । एलेक्सीले भनेका छन्, ‘प्राविधिक कठिनाइहरू बाहेक अमेरिका र इरानबीच हुने भविष्यको सम्झौतामा विश्वासको विषय सबैभन्दा महत्त्वपूर्ण छ ।’ ‘यस विषयमा इरानसँग राम्रो सहकार्यको अनुभव रुससँग मात्र छ । सन् २०१५ मा इरानको अनुरोधमा हामीले पहिले पनि सम्वर्धित युरेनियम लगेका थियौं र अहिले पनि यसमा सहयोग गर्न तयार छौं,’ उनले थपे । दुई दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता ‘धेरै नजिक’ पुगेको बताएका थिए । उनले इरानले करिब ४४० किलो सम्वर्धित युरेनियम दिन सहमति जनाएको दाबी गरेका थिए । तर इरानको विदेश मन्त्रालयका प्रवक्ताले युरेनियम दिने दाबीलाई अस्वीकार गरेका छन् । हर्मुज स्ट्रेटमा भारतीय झण्डावाहक जहाजमाथि गोलीबारी, अवस्था झन् जटिल बन्दै
लायन्स क्लबको आयोजनामा रक्तदान सम्पन्न, २१ जनाले दिए रक्तदान
काठमाडौं । जियोन ओभरल्याण्डको आयोजित बाइकर्स जात्रामा लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेण्डस र लायन्स क्लब अफ काठमाडौं ग्लोबल युथको संयुक्त आयोजन र अटो नेपाल, पत्रिकाको सहयोगमा सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी लायन वर्ष २५, २६ र २७ का लागि फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन कुश प्रसाद मल्ली र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन कृष्ण प्रसाद शर्मा उपस्थित भएका छन् । उक्त कार्यक्रममा २१ जनाले रक्तदान गर्नुका साथैं सबैंको सहयोगले कार्यक्रम निकैं सफल भएको लायन्स क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकारले बताए । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले सिनियर लायन्स लिडर र अन्य लायन्स सदस्यहरुको उपस्थिती रहेको डिष्ट्रिक कर्पोरेट कम्युनिकेशन चिफ, लायन्स लिडर रोशनकुमार श्रेष्ठले जानकारी दिए ।
नेपालमा दूतावास खोल्न टर्कीका सभामुखलाई अध्यक्ष दाहालको प्रस्ताव
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १५२औं महासभामा सहभागी हुन इस्तानबुलमा रहेका अध्यक्ष दाहालले शनिबार टर्कीको संसद्का सभामुखसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देशबीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनुपर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीयमैत्री समूह गठनका लागि आफूहरू आतुर रहेको बताए । दुई देशबीचको कूटनीतिक सम्बन्ध छ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरे । अहिले टर्कीसँग जोडिएका सबै काम गर्न नेपाली भारतको राजधानी दिल्ली धाउनुपर्ने स्थिति रहेको भन्दै अध्यक्ष दाहालले नेपाल र टर्कीबीच श्रम सम्झौता गर्नुका साथै नेपालमै टर्किस दूतावास स्थापना भए दुई देशबीचको सहकार्यमा थप सहज हुने विश्वास व्यक्त गरे । आइपीयूको महासभामा टर्की सरकार र संसद्ले गरेको स्वागत र हार्दिकताका लागि अध्यक्ष दाहालले धन्यवाद व्यक्त गर्नुभयो । सो क्रममा टर्कीको संसद् ग्रान्ड नेसनल एसेम्बलीका सभामुखले राष्ट्रियसभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधिमण्डललाई इस्तानबुलमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । टर्की र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन आफूहरू सदैव तत्पर रहेको उल्लेख गर्दै सभामुख नुमानले नेपालमा टर्किस दूतावास खोल्न सकारात्मक रहेको बताए टर्किस सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबीचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गरे । आगामी नोभेम्बरमा कोप–३१ टर्कीमा हुन लागेको उल्लेख गर्दै सभामुख नुमानले त्यसको नेतृत्वका लागि टर्कीलाई आवश्यक सहयोग गर्न अनुरोध पनि गरे । भेटमा आइपीयूमा सहभागी नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरू पनि उपस्थित थिए ।
सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने
काठमाडौं । अब सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो । सोमबारबाट लागू हुन लागेको नयाँ व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरूको सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ । यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो । बजारलाई थप चलायमान बनाउन र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउन यो सीमा बढाइएको नेप्सेले जनाएको छ । नयाँ नीतिअनुसार बजार खुल्नुअघिको प्रि–ओपन सेसनको मूल्य सीमामा पनि परिवर्तन गरिएको छ । यसअघि २ प्रतिशत रहेको यस्तो सीमालाई बढाएर ५ प्रतिशत कायम गरिएको छ । यसले बजार खुल्ने बित्तिकै हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ । यसैगरी, नेप्से परिसूचक (इन्डेक्स) मा आधारित सर्किट ब्रेकर प्रणालीलाई पनि सरलीकृत गरिएको छ । अब तीन तहको सट्टा दुई तहको मात्र सर्किट ब्रेकर रहनेछ । कारोबार सुरु भएको दुई घण्टाभित्र बजार सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ । यदि सूचक ८ प्रतिशतले घटबढ भएमा उक्त दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ । यसअघि ४/५ र ६ प्रतिशतको तीन तहको जटिल सर्किट प्रणाली रहेको थियो । नयाँ व्यवस्थाले बजारको अवरोध कम गरी कारोबारलाई सहज बनाउने लक्ष्य लिएको छ । यस्तै नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन नयाँ व्यवस्था लागू गरेको छ । आईपीओका लागि पेस भएका कम्पनीहरुको विवरणको पुनरावलोकन गर्ने सम्बन्धी मापदण्ड बोर्डले परिमार्जन गर्दै वैशाख १ देखि लागू गरेको हो । नयाँ व्यवस्थाअनुसार अब आईपीओका लागि आवेदन दिने कम्पनीहरूको वित्तीय अवस्था र मापदण्डको जाँच लेखा विशेषज्ञबाट अनिवार्य पुनरावलोकन गराइनेछ । मापदण्डअनुसार धितोपत्र बोर्डले कम्पनीहरूको पछिल्लो तीन वर्षको लेखापरीक्षण भएको विवरण जाँचबुझ गर्नेछ । कम्पनीको कुल बिक्रीको ७५ प्रतिशतभन्दा बढी रकम उठ्न बाँकी देखिएमा पुनरावलोकन गरिनेछ । उत्पादनमूलक क्षेत्रमा पनि ७५ प्रतिशत र होटल तथा पर्यटन क्षेत्रमा ५० प्रतिशतभन्दा बढी प्राप्य रकम भएमा यो नियम लागू हुनेछ । बोर्डले विभिन्न क्षेत्रका लागि छुट्टाछुट्टै वित्तीय सूचकहरू पनि तय गरेको छ ।
रुपातालमा ४ अर्बको परियोजना, स्वरूप नै बदलिने तयारी
वासुदेव पौडेल गण्डकी । अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ । यसका लागि जलस्रोत तथा सिँचाइ विभागले गुरुयोजना कार्यान्वयलाई पहिलो प्राथमितामा राख्दै अहोरात्र एकसाथ विभिन्न काम गरिरहेको छ । विभागमा महानिर्देशक महानिर्देशक ई मित्र बरालले जलस्रोत संरक्षण कार्यक्रम अन्तर्गत विभागले रुपाताल संरक्षणमा गुरुयोजना कार्यान्वयन गरिराखेको जानकारी दिए । उनले भने, 'पर्यावणीय संरक्षण, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले काम भइराखेको छ ।' अहिले जारी काम सम्पन्न भएसँगै दिनमा पटकपटक रुप फेरिनै भएका कारण रुपाताल नामकरण गरिएको रुपातालको समग्र रुप नै फेरिने लागेको छ । सात तालको बगैँचा सिमसार सूचीमा सूचीकृत तालहरूमध्येको एक रुपातालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाको सफलतासँगै यसको समग्र रुप फेरिने अवस्थामा पुगेको हो । यसअघि रुपाताल संरक्षण एकीकृत विकास परियोजना नाममा रहेको यो परियोजना अहिले भने सिँचाइ तथा जलस्रोत व्यस्थापन आयोजनाअन्तर्गत छ । रुपाकोट, हंसपुरको सिरान र माझठाना साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ को केही भागले छोएको यो ताल प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा पर्न थालेपछि गुरुयोजनासहित संरक्षणका कामहरू थालिएको हो । आयोजनाका लागि विस्तृत योजना प्रतिवेदन तयार गरी त्यसअनुरुप काम निरन्तर अघि बढिरहेको जलस्रोत तथा सिँचाइ विभाग, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार परियोजना सम्पन्न भएसँगै रुपा तालको स्वरुप नै परिवर्तन हुनेछ । २०७५/०७६ देखि काम थालिएको थियो । चरणबद्ध अघि बढ्ने आयोजनाको रु चार अर्ब ५२ करोड लागत रहेकामा हालसम्म दुई अर्ब ७० करोडको काम गरिएको छ । स्वीकृत गुरुयोजनाअनुसार यो आयोजना २०८५/०८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कूल १२२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल हालको निर्माणाधीन बाँध सम्पन्न भएसँगै क्षेत्रफल बढेर १८३ हेक्टर क्षेत्रफल हुनेछ । परियोजनाअन्तर्गत बाँध निर्माण ठेक्का सम्झौता भएर काम अघि बढिसकेको छ । बाँध निर्माणका लागि कूल रु २९ करोडको ठेक्का सम्झौता भएकोमा कालिका नयाँ बाटो जेभिले निर्माण गरिरहेको छ । बाँध निर्माण कार्य २०८३ भदौ २३ सम्म सक्ने समयावधि निर्धारण गरिएको छ । निर्माण सम्झौता अनुसार तालमा ५९० मिटर माटाको बाँध रहनेछ भने ४५ मिटर कङ्क्रिट बाँध रहनेछ । बाँध निर्माणको काम ७० प्रतिशत सकिएको आयोजना प्रमुले श्रेष्ठले जानकारी दिए । बाँध निर्माण कार्य सकिएसँगै हाल रहेको तालको गहिराइ तीन मिटरबाट बढेर सात मिटर हुनेछ । यस आयोजनाअन्तर्गत रुपातालको बायाँतर्फ ७।८ किलोमिटर पक्की सडक गत आर्थिक वर्षमा नै सम्पन्न भइसकेको छ । त्यस्तै परियोजनाअन्तर्गत नै हालको लम्बाइ दुई किलोमिटर रहेको ताल फैलिएर ३।६ किलोमिटर हुनेछ । तालमा रहेको आठ लाख घनमिटर माटो निकालेर त्यसलाई व्यवस्थित गर्नै काम भइरहेको छ । यसका लागि रु ४० करोड विनियोजन भई काम भइरहेको र सम्झौताअनुसार आगामी फागुन २० सम्म सक्ने लक्ष्य राखिएको छ । यसको निर्माण कार्य उमा एण्ड कम्पनीमार्फत भइरहेको छ । आयोजनाअन्तर्गत नै तालको बीचमा टापु बनाएर त्यहाँ मन्दिर बनाउने योजना छ । एक सय ४० मिटर लम्बाइ र ९५ मिटर चौडाइमा रहने उक्त टापुमा आकर्षक मन्दिर बनाउन लागिएको हो । त्यस्तै तालको दायाँ किनारामा पाँच किलोमिटर दूरीको इको ट्रेल निर्माण गरिनेछ । बाँकी काम गर्नका लागि ३१७ रुख काट्नुपर्नेछ । यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन पनि भइसकेको छ । त्यस्तै भोगाधिकारका लागि एक हेक्टर जग्गा लिन बाँकी छ । वातावारणीय प्रभाव मूल्याङ्कन (इआइए) अनुसार ३१७ रुख काट्न स्वीकृति भए पनि फिल्ड भेरिफिकेशन गर्दा १२८ वटा मात्रै रुख हटाउनुपर्ने देखिएको जानकारी दिँदै श्रेष्ठले १० प्रतिशत तलमाथि भएमा पुनः पुरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएकोले त्यसका लागि वनबाट स्वीकृति आउनुपर्ने प्रावधान रहेको उनले जानकारी दिए । आयोजनाकै लागि एक हजार २०० रोपनी अधिग्रहण गर्नुपर्नेमा यसअघि ९११ रोपनी अधिग्रहण भइसकेको छ । त्यसका लागि रु एक अर्ब रुपमा मुआब्जा वितरण गरिसकिएको आयोजनाले जनाएको छ । बाँकी थप १२६ रोपनी अधिग्रहण गर्नुपरेमा त्यसका लागि नयाँ दररेट कायम हुनुपर्ने भए पनि जिल्ला दररेट कायम भइनसकेको कारण उक्त कार्य पनि प्रभावित बनेको छ । यी सबै काम सम्पन्न भएसँगै तालको क्षेत्रफलसँगै थप चार मिटर गहिराइ पनि बढ्ने जनाइएको छ । रुपातालको एकीकृत विकास आयोजनासँगै सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले गण्डकी प्रदेश भित्रका विभिन्न ५० भन्दा बढी आयोजना हेर्दै आएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । हालै सिँचाइ दिवस एवं ७३ औँ वार्षिकोत्सवका अवसरमा आयोजनाबाट सम्पादित कार्यप्रगति एवं समुदायमा पुर्याएको समग्र प्रभाव मूल्याङ्कनका आधारमा उत्कृष्ट आयोजनाका रुपमा पुरस्कृत समेत भएको उनले बताए । सूर्यको किरणसँगै रुपातालमा पानीको रुपमा परिवर्तन आइरहने भएका कारण यसको नाम रुपाताल रहन गएको यहाँका बूढापाकाको तर्क छ । पछिल्ला वर्षमा सौन्दर्य ह्रासका अतिरिक्त बढ्दो अतिक्रमणले तालको आकार पनि खुम्चँदै गएका अवस्थामा परियोजना सम्पन्न भएसँगै यसले तालको संरक्षण हुने विश्वास लिइएको छ । विगतमा अतिक्रमणमा पर्दै आएको ताललाई संरक्षण गर्न रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका तर्फबाट सम्बन्धित निकायहरूमा निरन्तर ध्यान आकृष्ट गर्दै आइएको सहकारीका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए । रुपाताल प्राकृतिक सुन्दरताका दृष्टिले मात्र नभएर माछाका लागि पनि यतिखेर पर्यटकको आकर्षण बनेको छ । यहाँका माछाको स्वाद लिन पनि दैनिक सयौँ पर्यटक रुपाताल पुग्ने गरेका छन् । सार्वजनिक बिदाका दिनका साथै अधिकांश शनिबारका दिन रुपाताल किनारमा माछा खान जानेको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् । प्रेमी–पे्रमिकाको भेटघाटका लागि पनि पछिल्लो समयमा आकर्षणको केन्द्र बन्दै गएको यो तालमा स्विमिङ र फिसिङका लागि पनि पर्यटक पुग्ने गरेका छन् । आयोजनाका लक्षित कामहरूले समग्र तालको रुपमा परिवर्तन आउने उनले बताए । मोती उत्पादनको परीक्षण रुपा तालमा मोती उत्पादनको परीक्षण पनि थालिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेसँगै रुपातालमा पनि मोती उत्पादनका लागि परीक्षण बढाइएको सहकारीका अध्यक्ष थापाले जानकारी दिए । मोती उत्पादन परीक्षण समफल भएमा यस ताललाई मोती उत्पादनका माध्यमबाट पनि उपयोग गर्न सकिने उनको भनाइ छ । तालमाथि झोलुङ्गे पुल रुपाताल किनारका जङ्गललाई समेटेर निर्माण गरिएको प्राणी उद्यान केन्द्र यहाँको अर्को आकर्षण हो । प्राणी उद्यान केन्द्र पर्यटकका लागि आकर्षक गन्तव्य बनिरहेको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ ढकालले जानकारी दिए । आयोजना अन्तर्गत ताल किनारमा बनाउने भनिएको फुट ट्रयाकले यहाँको सौन्दर्यतालाई अझै उजागर गर्ने उनको भनाइ छ । केन्द्रमा अवलोकन गर्न आउने पर्यटकले रुपातालको मनोरम दृश्यसँगै यहाँ राखिएका चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् । उनका अनुसार रुपाताल आसपासका क्षेत्रको जङ्गलमा ३६१ प्रजातिका वनस्पति, १७५ प्रजातिका जडीबुटी पाइनुका साथै बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् । यस क्षेत्रमा एकसय ३४ जातका वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छ । रुपामाथि राखिएको झोलुङ्गे पुल यहाँको अर्को आकर्षण हो । दुई सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि यो पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । पोखरा महानगरपालिका–३१ र रुपा गाउँपालिका–६ जोड्ने गरी पुल निर्माण गरिएको हो । पछिल्ला समयमा तालमाथिको झोलुङ्गे पुल हेर्न र टिकटक तथा भिडियो बनाउन आउने क्रम पनि बढीरहेको छ । रुपातालमा सञ्चालत आयोजनाका काम सबै सम्पन्न भएसँगै यसको रुपमा नै आमूल परिवर्तन आउने ढकालले बताए । तालको रुपमा परिवर्तनसँगै रुपाताल यस क्षेत्रकै विशिष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास हुने उनले बताए । चरा पर्यटन गन्तव्य रुपाताल चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । यस तालमा धेरै प्रजातिका विदेशी चरा चीन, साइबेरियालगायतका देशबाट आउने गरेका छन् । विशेषगरी हिउँदको समयमा साइबेरियालगायत स्थानबाट विभिन्न प्रजातिका चराहरु रुपातालमा आउने गरेको पोखरा पन्छी समाजका निवर्तमान अध्यक्ष मनशान्त घिमिरेले बताए । रुपातालसहित लेखनाथका तालहरू चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्यका रुपमा रहेको उनको भनाइ छ । रासस