विकासन्युज

गाजर किलोको २५ रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३६, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु ३५, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ४०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु २०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३०, टमास कोसा प्रतिकिलो रु २२०, तीते करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु २०, परवर (तराई) प्रतिकिलो रु १००, चिचिन्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २०, भिन्डी प्रतिकिलो ५०, बरेला प्रतिकिलो रु ५०, सक्खरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ५० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु ८०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ५०, सजीवन प्रतिकेजी रु १००, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ४५, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ५०, पार्सले प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु १८०, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकिलो रु १२०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १८०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु २५० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ३८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २२०, काँक्रो (लोकल) प्रतिकिलो रु ३५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ३०, रुखकटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, एभोकाडो प्रतिकिलो रु ८००, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, माछे खुर्सानी प्रतिकिलो रु ७०, खुर्सानी अकबरे प्रतिकिलो रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु ९०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १३०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

सेवा प्रवाह सरल बनाउन मार्गदर्शन जारी, बहुस्वीकृति तह घटाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सेवा प्रवाहलाई सरल, छिटो र प्रभावकारी बनाउन ‘कार्यप्रक्रिया पुनर्संरचना (बिजनेश प्रोसेस रिइन्जिनियरिङ- बीपीआर) कार्यान्वयन सम्बन्धी मार्गदर्शन, २०८३’ जारी गरेको छ । मन्त्रिपरिषद्को गत चैत १३ गतेको निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सेवा प्रवाहमा देखिएको दोहोरोपन, जटिलता र बहु-स्वीकृति तहलाई घटाउने उद्देश्यले उक्त मार्गदर्शन लागू गरिएको हो ।  मार्गदर्शनअनुसार अब सबै सार्वजनिक निकायहरूले आफ्ना कार्यप्रक्रियाहरूको व्यापक समीक्षा गरी अनावश्यक तथा दोहोरिएका प्रक्रिया हटाउनुपर्नेछ । निर्णय प्रक्रियामा रहेका स्वीकृति तहलाई बढीमा तीन तहमा सीमित गर्नुपर्ने व्यवस्था गरिएको छ । कार्यालयका अनुसार हाल सार्वजनिक सेवामा जटिल कागजी प्रक्रिया, समन्वय अभाव र अनावश्यक चरणका कारण सेवा ढिलो, खर्चिलो र अप्रभावकारी बन्दै गएको छ । यसले सेवाग्राहीलाई समय, श्रम र आर्थिक भार थपिरहेको छ भने संस्थागत दक्षता र पारदर्शितामा पनि चुनौती देखिएको छ । नयाँ मार्गदर्शनले सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य लिएको छ । यसका लागि सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहमा ‘प्रक्रिया सुधार कार्यदल’ गठन गर्न निर्देशन दिइएको छ । उक्त कार्यदलमा प्रशासन, कानुन, योजना तथा अनुगमन, सूचना प्रविधि तथा सेवा प्रवाहसँग सम्बन्धित शाखाका प्रतिनिधिहरू रहनेछन् । आवश्यक परेमा प्राविधिक विज्ञहरूलाई पनि समावेश गर्न सकिने व्यवस्था गरिएको छ । कार्यदलको मुख्य जिम्मेवारी निकायले प्रवाह गर्ने सेवा, प्रक्रिया, निर्णय तह, समय, लागत तथा समस्याको पहिचान गरी सुधार प्रस्ताव तयार गर्नु रहनेछ। साथै, विद्यमान प्रक्रियाको नक्साङ्कन, अनावश्यक चरण हटाउने, स्वीकृति तह घटाउने र नयाँ सरलीकृत प्रक्रिया तयार गर्ने कार्य पनि कार्यदलले गर्नेछ । मार्गदर्शनले प्रत्येक सेवाका लागि समयसीमा निर्धारण, कागजातको संख्या घटाउने, निर्णय प्रक्रियालाई स्पष्ट बनाउने तथा डिजिटल रूपान्तरणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ । सरकारले यस कदममार्फत सार्वजनिक सेवा प्रवाहमा दक्षता अभिवृद्धि, प्रक्रियागत सरलीकरण, पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्ने अपेक्षा गरेको जनाएको छ ।

पालिकाको लगानीमा बन्ने सौर्य आयोजनाको पीपीए गर्न आह्वान, प्रतियुनिट ४.९९ रुपैयाँ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत आयोजनाका लागि विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) गर्न प्रवर्द्धक कम्पनीहरूलाई आह्वान गरेको छ । प्राधिकरण सञ्चालक समितिको कात्तिक १९ गत बसेको बैठकले चाल् आर्थिक वर्ष २०८२/८३ भित्र पीपीए सम्पन्न गर्ने गरी स्थानीय तहको कम्तीमा ५१ प्रतिशत साझेदारीमा निर्माण हुने १ मेगावाटसम्म जडित क्षमता भएका सौर्य आयोजनासँग सम्झौता गर्ने निर्णय गरेको थियो । विद्युत खरिद दर विद्युत नियमन आयोगको पुस २० गतेको निर्णय बमोजिम प्रतियुनिट ४ रुपैयाँ ९९ पैसा कायम गरिएको छ । उक्त दरमा वार्षिक मूल्यवृद्धि नहुने प्राधिकरणले जनाएको छ । प्राधिकरण व्यवस्थापनको वैशाख २ गतेको निर्णयअनुसार इच्छुक प्रवर्द्धक कम्पनीहरूले आवश्यक कागजातसहित वैशाख २८ गतेभित्र विद्युत व्यापार विभागमा निवेदन दिनुपर्नेछ । यस्ता आयोजनालाई प्राधिकरणको ३३/११ केभी ग्रिड वा वितरण सबस्टेसनको ३३ केभी वा ११ केभी लाइनमा जडान गर्न सकिनेछ । साथै, आवश्यक प्रोटेक्सन व्यवस्थासहित ११ केभी वितरण लाइनमा टी-कनेक्सन गर्न पनि सकिने व्यवस्था गरिएको छ । त्यस्तै, आयोजनाहरूको ग्रिड इम्प्याक्ट स्टडी बिना नै ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न गर्न सकिने उल्लेख गरिएको छ । पीपीएका लागि आवेदन दिँदा कम्पनी दर्ता प्रमाणपत्र, कम्तीमा ५१ प्रतिशत स्थानीय तहको सेयर विवरण, कर चुक्ता प्रमाणपत्र, विद्युत सर्वेक्षण अनुमति, सम्भाव्यता अध्ययन प्रतिवेदन, जग्गा सम्बन्धी कागजातलगायत आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ । प्राधिकरणले स्थानीय तहको सहभागितामा सौर्य ऊर्जा प्रवर्द्धन गर्दै ऊर्जा उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ ।

माउन्ट एभरेष्टले वैशाख १७ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ८ करोड ८६ लाख रुपैयाँको ८ लाख ८६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये ३ लाख ४४ हजार कित्ता अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का स्थानीय र ५ लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिकाका १ र २ बाहेक अन्य वडाका स्थानीयलाई बिक्री खुला गरिनेछ ।  साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ १८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय, माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । 

सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख ८ गते अन्तिम दिन रहेको छ । वैशाख ३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४२ लाख ४९ हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ ।  दोस्रो चरणमा कम्पनीले ३४ लाख ७४ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ११ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना, यस्तो छ देशभरको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।  देशका हिमाली भू-भागका एक/दुई स्थानमा  मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको ‘बुलेटिन’मा जनाइएको छ ।  साथै मधेसलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ । महाशाखाका अनुसार आज राति हिमाली भू-भागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने र कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने

काठमाडौं । पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने भएको छ ।  विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्यका लागि राति ११:४५ देखि बिहान ६:३० बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुनेछ । विमानस्थलको धावन मार्गको छेउमा रहेको ट्याक्सीवेमा निर्माण जारी छ । सुरक्षाका दृष्टिकोणले रातको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गरिन लागिएको हो । निर्माणलाई गति दिन विमानस्थल बन्द गरिने विमानस्थल कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।  सूचनाअनुसार विमानस्थल बन्द हुँदा त्यसबाट पर्न जाने असरलाई न्यूनीकरण गर्न आवश्यकताअनुसार उडान तथा अवतरणको कार्यतालिका निर्धारण गर्न हवाई सेवा प्रदायकलाई विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

४० मेगावाटको राहुघाटको जेठभित्र परीक्षण उत्पादन गर्ने, ९५ प्रतिशत भौतिक प्रगति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको हो । आगामी जेठभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएका भौतिक संरचनाको परीक्षणको तयारी गरेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । ‘सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलका संरचना निर्माण र उपकरण जडान सकेर फिनिसिङ भइरहेको छ । सुरुङमा पस्ने चारवटा प्रवेशमार्ग बन्द गराएपछि पानी भरेर परीक्षण गर्ने तयारीमा छौँ,’ उनले भने । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बरसम्मका लागि तेस्रोपटक म्याद थपिएको थियो । चौथोपटक थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्यअनुसार काम भइरहेको प्रबन्ध सञ्चालक केसीले बताए ।  रघुगङ्गा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुइवटा पानी थिग्य्राउने पोखरी निर्माण सकिएको छ । तिल्केनीचौरमा विद्युतगृह निर्माण सकेर रङरोगन गर्न थालिएको छ । २० मेगावाटको एक वटा युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाटपुर्जा जडान अन्तिम चरणमा पुगेको छ । विद्युतगृह परिसरमा आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि स्वीचयार्ड तयार पारिएको हाइड्रोपावरका प्रबन्ध सञ्चालक केसीले जानकारी दिए । कोरोना महामारी, बाढी पहिरोलगायत प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजनाको काममा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग २०७६ साल कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो । भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत आयोजना सञ्चालन गरिएको हो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसीएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी) ले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना(कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । ४ वटा टावर र प्रसारण लाइन पनि बनिसकेको आयोजना कार्यालयले जनाएको छ ।