काठमाडौं । कर्णाली प्रदेश सरकारमा सत्ता समीकरण फेरिने संकेत देखिएको छ । मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने सम्भावना बढेको हो ।
नेकपाका ५ जना र नेपाली कांग्रेसका ११ जना गरी १६ प्रदेशसभा सदस्यले बिहीबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
अविश्वास प्रस्तावसँगै विपक्षी दलहरूले नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् ।
प्रदेशसभामा दर्ता गरिएको प्रस्तावमा वर्तमान सरकारले प्रदेशको शासन सञ्चालन, राजनीतिक सहकार्य तथा जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाइएको छ ।
त्यसैले नयाँ नेतृत्वमार्फत प्रदेश सरकारलाई प्रभावकारी बनाउन आवश्यक भएको दाबी गरिएको छ ।
अविश्वास प्रस्ताव दर्ता भएसँगै अब प्रदेशसभामा त्यसबारे छलफल र मतदानको प्रक्रिया अघि बढ्नेछ ।
प्रस्ताव पारित भएमा मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकार ढल्नेछ भने जीवनबहादुर शाहीको नेतृत्वमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।
