विकासन्युज

विश्वमा शक्तिको हैकम चल्ने अवस्था अन्त्य हुनुपर्छ : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले विश्वमा शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि आफ्नो इच्छा र सर्त लाद्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा महान ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करण पुस्तक विमोचन समारोहमा बोल्दै पन्तले नेपाल र चीनका जनता बुद्धका विचार र भावनाबाट प्रभावित रहेको उल्लेख गरेका हुन् । उनले नेपाली समाजमा विभिन्न धर्म मान्ने भए पनि भगवान् बुद्धप्रति विशेष सद्भाव, आस्था र विश्वास रहेको बताए । बुद्धका विचारले शान्ति, सहअस्तित्व र आपसी सम्मानको सन्देश दिने उनको भनाइ छ । पन्तले हालै भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले व्यक्त गरेको विचार ग्लोबल साउथका देशहरूका लागि महत्त्वपूर्ण रहेको बताए । सी चिनफिङको भनाइ उद्धृत गर्दै पन्तले बलियाको नै जित हुनुपर्छ भन्ने तर्क स्वीकार्य नहुने बताए । विश्वमा शक्तिशाली देशले आफूले भनेको नमान्ने साना देशमाथि आक्रमण गर्ने तथा दबाब सिर्जना गर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ । उनले विश्वमा अहिले व्यापार तथा ट्यारिफ युद्ध चलिरहेको उल्लेख गर्दै शक्ति र प्रभावका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाए । उनले भने, ‘हामी बुद्धका विचारहरूबाट, बुद्धका भावनाहरूबाट प्रभावित मानिसहरू हौँ । चीन पनि, चिनियाँ जनताहरू पनि र हामी नेपालीहरू पनि । हामी विभिन्न धर्म मान्न सक्छौँ तर प्रत्येक नेपालीको मनमा बुद्धप्रति विशेष अनुग्रह, विशेष सद्भाव र विशेष आस्था र विश्वास भएको तपाईं पाउनुहुन्छ । र मैले किन प्रसङ्ग जोडेको भन्दाखेरि त्यही बुद्धिजमको प्रभावले होला, भर्खरै भारतमा सम्पन्न भएको ब्रिक्समा चीनका राष्ट्रपति सी चिनफिङले बडा राम्ररी केही कुराहरू भन्नुभयो ।’ पन्तले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्लेटफर्मलगायत प्रविधिको प्रयोगका विषयमा समेत विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए । विश्वमा कुनै एक देश वा शक्तिको हैकम चल्ने अवस्था स्वीकार गर्न नहुने उनको भनाइ छ । उनले ग्लोबल साउथका देशहरूले समानता, आपसी सम्मान र सहकार्यमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको पक्षमा आवाज उठाउनुपर्नेमा जोड दिए ।

कांग्रेस विवादमा बद्री पाण्डेले अगाडि सारे ‘एकताको सूत्र’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीभित्र चुलिएको महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि दुवै पक्षले आ–आफ्नो ठाउँबाट लचकता अपनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । पाण्डेले पूर्वसंस्थापन पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा फिर्ता लिने र संस्थापन पक्षले मंसिरमै महाधिवेशन गर्ने प्रतिबद्धता जनाउने गरी समझदारी कायम गर्न सकिने धारणा सार्वजनिक गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीभित्रको विवाद समाधानका लागि यस्तो ‘एकताको सूत्र’ अघि सारेका हुन् । ‘पूर्वसंस्थापन–अदालतबाट आधिकारिकतासम्बन्धी मुद्दा फिर्ता लिने, संस्थापन–अधिवेशन मंसिरमा गर्ने,’ पाण्डेले लेखेका छन् । दुवै पक्षबीच सहमति निर्माणका लागि पार्टी, लोकतन्त्र र मुलुकको हित चाहने नेता–कार्यकर्ताले आ–आफ्नो ठाउँबाट सुझाव र दबाब दिने अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। ‘दुवै पक्षलाई आ–आफ्नो ठाउँबाट सुझाव, दबाब दिने अभियान चलाउनु राम्रो हुन्छ होला, पार्टी, लोकतन्त्र र मुलुकको हित चाहने हामी सबैको लागि,’ उनले भनेका छन् । कांग्रेसभित्र महाधिवेशनको मिति, पार्टीको आधिकारिकता तथा संगठन सञ्चालनसँग जोडिएका विषयमा संस्थापन र पूर्वसंस्थापन पक्षबीच मतभेद रहँदै आएको छ ।  विवाद समाधानका लागि विभिन्न तहबाट सहमतिको प्रयास भइरहेका बेला पाण्डेको पछिल्लो प्रस्ताव सार्वजनिक भएको हो । पाण्डेको प्रस्तावमा एकातर्फ अदालतमा विचाराधीन आधिकारिकतासम्बन्धी विवादलाई राजनीतिक समझदारीमार्फत टुंग्याउने र अर्कोतर्फ महाधिवेशनको मिति सुनिश्चित गर्ने गरी दुवै पक्षबीच समझदारी निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । पार्टीभित्रको विवाद लम्बिँदै जाँदा महाधिवेशनको प्रक्रिया र संगठनात्मक गतिविधिमा समेत प्रभाव पर्न सक्ने भन्दै कांग्रेसका विभिन्न नेताले सहमतिको पहल गर्दै आएका छन् ।  यही सन्दर्भमा पाण्डेले दुवै पक्षले एकअर्काबाट मात्रै त्यागको अपेक्षा गर्नुको सट्टा आ–आफ्नो ठाउँबाट कदम चाल्नुपर्ने धारणा अघि सारेका हुन् ।

ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।  समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ । 

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो । बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।

कार्कीको अभिव्यक्तिले आयोगको निष्पक्षतामाथि प्रश्न उठेको एमालेको दाबी

काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पछिल्लो अभिव्यक्तिले आयोगको निष्पक्षता र अनुसन्धान प्रक्रियामाथि थप प्रश्न उठाएको दाबी गरेको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणामा आयोगका अध्यक्ष कार्कीको एक टेलिभिजन अन्तर्वार्तामा आएको अभिव्यक्तिलाई लिएर प्रश्न उठाएका हुन् । आचार्यका अनुसार अध्यक्ष कार्कीले आन्दोलनको अघिल्लो दिन अर्थात् भदौ २३ गते बिहानै ‘हामी नेपाल’का तत्कालीन प्रमुख तथा हालका गृहमन्त्री सुधन गुरुङ माइतीघरमा एम्बुलेन्स, खानेपानी, माइक, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीसहित पुगेको बताएका थिए । आन्दोलनका लागि गरिएको उक्त पूर्वतयारीले आन्दोलनबाट हुन सक्ने सम्भावित परिणामबारे गुरुङलाई पहिल्यै जानकारी थियो कि भन्ने प्रश्न उठेको आचार्यको भनाइ छ ।  आयोगले अनुसन्धानका क्रममा सीसीटीभी फुटेज र मोबाइल लोकेसनसमेत अध्ययन गरेको अध्यक्ष कार्कीले बताएको पनि उनले उल्लेख गरेका छन् । त्यसैगरी, आचार्यले भदौ २४ गते भएका आगजनी, लुटपाट तथा तोडफोडका घटनामा संलग्न व्यक्तिमाथि कारबाही नगर्न तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले दबाब दिएको अध्यक्ष कार्कीले बताएको दाबी गरेका छन् । जेन–जीसँग भएको सहमतिका आधारमा विध्वंसात्मक घटनामा संलग्नलाई कारबाही नगर्ने विषय उठेको कार्कीको अन्तर्वार्तासम्बन्धी विवरणमा उल्लेख भएको आचार्यको भनाइ छ । आयोग गठन भएदेखि नै एमालेले अध्यक्ष कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको स्मरण गराउँदै आचार्यले पछिल्लो अभिव्यक्तिले ती आशंकालाई थप बल पुगेको बताएका छन् । यसअघि एमालेले उठाएका प्रश्नलाई राजनीतिक आरोपका रूपमा व्याख्या गरिए पनि आयोगका अध्यक्षकै अभिव्यक्तिपछि अनुसन्धानको दायरा, निष्पक्षता र प्रतिवेदनका निष्कर्षबारे थप प्रश्न उठेको उनको दाबी छ । ‘एमालेले सुरूदेखि उठाउँदै आएको आशंका राजनीतिक आरोप मात्र थियो वा त्यसमा अनुसन्धानयोग्य आधार पनि थियो भन्ने प्रश्न स्वयं अध्यक्ष कार्कीको अभिव्यक्तिले थप गम्भीर बनाएको छ,’ आचार्यले भनेका छन् । उनले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाका तथ्यहरू क्रमशः सार्वजनिक हुँदै जाने दाबीसमेत गरेका छन् । ‘अब कालो पर्दा खुल्दै जानेछ । नेकपा एमाले, लोकतन्त्र र देशविरुद्ध गरिएका षड्यन्त्रहरू क्रमशः पटाक्षेप हुँदै जानेछन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । कार्की नेतृत्वको जाँचबुझ आयोगले गत फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । सरकारले प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरे पनि त्यसमा समेटिएका विषय तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न विवरण सञ्चारमाध्यममार्फत सार्वजनिक हुँदै आएका छन् । अध्यक्ष कार्कीको पछिल्लो अभिव्यक्तिपछि जेन–जी आन्दोलनको पूर्वतयारी, घटनामा विभिन्न व्यक्तिको भूमिका, भदौ २४ गते भएका हिंसात्मक तथा विध्वंसात्मक घटनामाथिको अनुसन्धान र आयोगको प्रतिवेदनका निष्कर्षलाई लिएर पुनः बहस सुरु भएको छ ।

चिकित्सकमाथि सांघातिक आक्रमण, दोषीमाथि कारबाही गर्न चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्युटीमा खटिएका चिकित्सकमाथि बिरामीका आफन्तसहितको समूहले सांघातिक आक्रमण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल चिकित्सक संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत २०८३ साल असोज १ गते जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्युटीमा कार्यरत रहेका नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. सरोज साहमाथि बिरामीका आफन्तलगायतको समूहले सांघातिक आक्रमण गरेको जनाएको हो । संघका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीले देशका विभिन्न स्थानमा स्वास्थ्य सेवामा समर्पित भएर काम गरिरहेका बेला समय–समयमा हुने यस्ता आपराधिक घटनाले उनीहरूको पेशागत सुरक्षा तथा आत्मसम्मानमा गम्भीर आघात पुग्ने गरेको छ । नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा आतंक फैलाउने गरी घटाइएका यस्ता अमानवीय घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेको छ । संघले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको हो । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने हिंसा र आक्रमणका घटनाले स्वास्थ्य सेवा प्रवाहमै असर पार्ने भन्दै संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएको छ । नेपाल चिकित्सक संघका महासचिव डा. विश्व राज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको माग गरिएको छ । 

खुला प्रतिस्पर्धाबाट ४ डिन नियुक्त गर्दै पोखरा विश्वविद्यालय

पोखरा । पोखरा विश्वविद्यालयले चारवटा संकायमा डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ । विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो । डिन छनोट प्रक्रियामा उम्मेदवारले सम्बन्धित संकायको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना र व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ ।  विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको स्वट विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना तथा समयसीमा, आवश्यक स्रोत तथा बजेट र अनुगमनलगायतका विषय समेटिनुपर्नेछ। खुला प्रतिस्पर्धाबाट डिन छनोट गर्दा उम्मेदवारको योग्यता र अनुभवसँगै सम्बन्धित संकायको विकासका लागि प्रस्तुत गरिने रणनीतिक योजना र त्यसलाई कार्यान्वयन गर्ने क्षमतालाई समेत आधार बनाइने विश्वविद्यालयले जनाएको छ ।

मुक्तिनाथको घर कर्जा अफर : घर किन्दा ८० प्रतिशतसम्म कर्जा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले बेसरेटमा ०.२५ प्रतिशत थप गरी घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा लिन सक्नेछन् । घरजग्गाको मूल्यांकनको अधिकतम ७० प्रतिशतसम्म कर्जा पाइनेछ । पहिलो घर कर्जाको हकमा भने अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । आफ्नै घर बनाउने वा खरिद गर्ने योजना बनाएका ग्राहकलाई सहज कर्जा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ । यो विशेष घर कर्जा योजना २०८३ साल कात्तिक मसान्तसम्म लागू हुनेछ । त्यसपछि बैंकको प्रचलित ब्याजदर तथा कर्जाका अन्य सर्त लागू हुनेछन् । बैंकले यो सुविधा देशभर रहेका १७६ शाखाबाट उपलब्ध गराउने जनाएको छ । ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी योजनाबारे थप जानकारी लिन सक्नेछन् । मुक्तिनाथ विकास बैंकले यससँगै अटो कर्जा तथा कृषि र साना तथा मझौला व्यवसाय कर्जाका विशेष योजनासमेत सञ्चालनमा ल्याएको जनाएको छ ।