' नेपाल सुरक्षित छ, नेपालले पर्यटकलाई बोलाइरहेको छ ’
काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले श्रीलंकाका करिब १५० जना प्रतिष्ठित पर्यटन व्यवसायी नेपाल आएका छन्। रुप्से होलिडेजको पहल, समन्वय तथा व्यवस्थापनमा श्रीलंकाका दुई प्रमुख पर्यटन व्यवसायी संस्था ट्राभल एजेन्ट्स एसोसिएसन अफ श्रीलंका र अन्तर्राष्ट्रिय हवाई यातायात संघबाट मान्यता प्राप्त एजेन्ट्स एसोसिएसन अफ श्रीलंकाको वार्षिक साधारणसभा नेपालमा आयोजना गरिएको हो। दुसित प्रिन्सेस होटलमा भदौ १७ देखि २० गतेसम्म आयोजना भइरहेको कार्यक्रममा पहिलो संस्थाको ५१ औँ तथा दोस्रो संस्थाको ३८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। श्रीलंकाका पर्यटन व्यवसायीले हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा वार्षिक साधारणसभा आयोजना गर्दै आएका छन्। गत वर्ष दुवै संस्थाको वार्षिक साधारणसभा सिंगापुर–मलेसिया क्षेत्रमा सञ्चालन हुने समुद्री पर्यटकीय यात्रामा भएको थियो । यसअघि बेइजिङ, टोकियो, इस्तानबुल, बैंकक, जकार्ता, बाकु र मेलबर्नलगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा वार्षिक साधारणसभा आयोजना गरिसकेका यी संस्थाले यसपटक काठमाडौंलाई रोजेका हुन्। श्रीलंकाका पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गराउने र उनीहरूलाई नेपालको पर्यटनबारे प्रत्यक्ष अनुभव गराउने उद्देश्यले रुप्से होलिडेजले कार्यक्रमका लागि आवश्यक पहल, समन्वय र व्यवस्थापन गरेको हो। नेपालको पर्यटन क्षेत्रमा देखिएका चुनौतीका बीच अन्तर्राष्ट्रिय बजारमा नेपालको वास्तविक अवस्था र सकारात्मक सन्देश पुर्याउनुपर्ने छ । रुप्से होलिडेजले यस कार्यक्रमलाई वार्षिक साधारणसभामा मात्र सीमित नराखी पर्यटनप्रतिको विश्वास बढाउने अभियानका रूपमा अघि बढाएको जनाएको छ। कार्यक्रममा ‘नेपाल सुरक्षित छ, नेपालले पर्यटकलाई बोलाइरहेको छ’ भन्ने सन्देशलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। नेपाल पर्यटकका लागि सुरक्षित रहेको, विदेशी पर्यटकलाई स्वागत गर्न तयार रहेको र निर्धक्क भएर नेपाल भ्रमण गर्न सकिने सन्देश श्रीलंकाका पर्यटन व्यवसायीमार्फत त्यहाँको बजारसम्म पुर्याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। नेपालका लागि श्रीलंकाका राजदूत, श्रीलंकाको राष्ट्रिय वायुसेवा कम्पनीका वाणिज्य निर्देशक, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डे, महासचिव राजकुमार देवकोटा, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, श्रीलंकाको राष्ट्रिय वायुसेवाका नेपालस्थित सामान्य बिक्री प्रतिनिधि जय देवानलगायत नेपाल तथा श्रीलंकाका पर्यटन व्यवसायी सहभागी थिए। रुप्से होलिडेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रमेश पराजुली नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका सचिवसमेत हुन्। पराजुलीले नेपालको पर्यटन क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला सरकार वा पर्यटन बोर्डको प्रयास मात्र पर्याप्त नहुने बताए । निजी क्षेत्रका पर्यटन व्यवसायीले समेत अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष रूपमा विश्वास निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ। उनले करिब १५० जना श्रीलंकाली पर्यटन व्यवसायीलाई नेपाल ल्याउनुको उद्देश्य एउटा कार्यक्रम आयोजना गर्नुमा मात्र सीमित नभएको बताए। 'यी व्यवसायी आफ्ना बजारमा पर्यटकलाई विभिन्न गन्तव्य सिफारिस गर्ने व्यक्ति हुन्। उनीहरूले नेपालमा आएर यहाँको अवस्था प्रत्यक्ष रूपमा बुझेपछि आफ्ना ग्राहकलाई नेपालबारे वास्तविक जानकारी दिन सक्छन्। त्यसैले उनीहरूको नेपाल भ्रमण आफैंमा पर्यटन प्रवर्द्धनको एउटा माध्यम हो,' पराजुलीले भने। श्रीलंकाका पर्यटन व्यवसायीको ठूलो समूहको नेपाल भ्रमणलाई नेपाल–श्रीलंका पर्यटन व्यवसायबीचको सम्बन्ध विस्तार गर्ने अवसरका रहेको पर्यटन व्यवसायी बताउँछन् ।
मुक्तिनाथ म्युचुअल फण्ड-२ ले सेयरमा ७७ प्रतिशत लगानी गर्ने, १२१.५५ प्रतिफल दिने
काठमाडौं । मुक्तिनाथ क्यापिटलले असोज १ गते बुधबारदेखि मुक्तिनाथ म्युचुअल फण्ड-२ को इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई बिक्री खुला गरेको हो । कम्पनीले कुल १ अर्ब रुपैयाँ बराबरको इकाई निष्काशन गरेको हो । कुल इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंक र २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले इकाई खरिदका लागि छिटोमा असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागअनुसार पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज १५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ । इकाई खरिदका लागि धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिनेछ । यस योजनाको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । योजना व्यवस्थापकको परिचय मुक्तिनाथ क्यापिटल लिमिटेड साविकको भिबोर क्यापिटल लिमिटेड हो । कम्पनी ऐन, २०६३ बमोजिम २०६६ माघ २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट २०६७ साउन ११ गते मर्चेन्ट बैंकरका रूपमा कार्य गर्न अनुमति प्राप्त गरेको हो । भिबोर क्यापिटलमा मुक्तिनाथ विकास बैंकले २०७६ साउन २६ गते ५८.०२ प्रतिशत सेयर स्वामित्व ग्रहण गरेपछि कम्पनीको नाम परिवर्तन गरी मुक्तिनाथ क्यापिटल कायम गरिएको हो । हाल क्यापिटलमा मुक्तिनाथ विकास बैंकको ६०.२६ प्रतिशत लगानी रहेको छ । कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक तथा संस्थागत परामर्श सेवासहितका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । नेपाल धितोपत्र बोर्डबाट २०७१ असोज १४ गते निक्षेप सदस्यको अनुमति प्राप्त गरेको क्यापिटलले २०७१ कात्तिक २३ गते सीडीएस एन्ड क्लियरिङ लिमिटेडको निक्षेप सदस्यता पनि प्राप्त गरेको थियो । त्यस्तै, २०८० असार १७ गते नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापक तथा डिपोजिटरीका रूपमा कार्य गर्न अनुमति पाएपछि क्यापिटलले मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत योजनाहरू व्यवस्थापन गर्दै आएको छ । हाल सञ्चालनमा रहेको मुक्तिनाथ म्युचुअल फण्ड-१ पछि मुक्तिनाथ म्युचुअल फण्ड-२ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको दोस्रो बन्दमुखी योजना हो । भावी योजना मुक्तिनाथ क्यापिटलले आगामी दिनमा बजारको अवस्था र लगानीका अवसरलाई ध्यानमा राख्दै विभिन्न खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड योजना सञ्चालनमा ल्याउने रणनीति बनाएको छ । क्यापिटलले यसअघि सञ्चालनमा ल्याएको मुक्तिनाथ म्युचुअल फण्ड-१ को इकाई नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार भइरहेको छ । उक्त योजना १० वर्ष अवधिका लागि सञ्चालन गरिएको हो । सुरुमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्ने स्वीकृति पाएको योजनामा लगानीकर्ताबाट बढी माग आएपछि योजनाको आकार २५ प्रतिशतले वृद्धि गरी १ अर्ब २५ करोड रुपैयाँ पुर्याइएको छ । मुक्तिनाथ क्यापिटलले चालु आर्थिक वर्ष २०८२/८३ मा मुक्तिनाथ म्युचुअल फण्ड-२ सञ्चालनमा ल्याउने र त्यसपछि खुलामुखी म्युचुअल फण्डसमेत सञ्चालनमा ल्याउने योजना बनाएको जनाएको छ । क्यापिटलले आफ्नो सेवा प्रविधिमैत्री बनाउँदै डिम्याट तथा मेरो सेयर खाता खोल्ने, नवीकरण गर्ने र लगानी व्यवस्थापनसम्बन्धी सेवा अनलाइनबाटै उपलब्ध गराउने व्यवस्था विस्तार गर्ने जनाएको छ । आगामी दिनमा क्यापिटलका अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउँदै देशभर सेवा विस्तार गर्ने रणनीति रहेको कम्पनीको भनाइ छ । त्यस्तै, इन्भेष्टमेन्ट बैंकिङ क्षेत्रमा नयाँ सेवा तथा योजना सञ्चालन गर्ने, लगानीका अवसर पहिचान गरी बजारको अवस्थाअनुसार लगानी रणनीति तयार गर्ने र त्यसको नियमित समीक्षा तथा समायोजन गर्ने योजना क्यापिटलले अघि सारेको छ । कहाँ-कहाँ लगानी गर्नेछ ? मुक्तिनाथ म्युचुअल फण्ड-२ को लगानी तथा वित्तीय प्रक्षेपण सामूहिक लगानी कोष नियमावली, २०६७ मा तोकिएको व्यवस्था र लगानी सीमालाई आधार बनाएर गरिएको छ । योजनाले स्थिर आम्दानीतर्फ बैंकको मुद्दती निक्षेपमा योजनाको आकारको १५ प्रतिशतसम्म र डिबेञ्चरमा २० प्रतिशतसम्म लगानी गर्ने प्रक्षेपण गरेको छ । त्यस्तै, प्राथमिक तथा दोस्रो बजारमा योजनाको आकारको अधिकतम ७७ प्रतिशतसम्म लगानी गर्ने अनुमान गरिएको छ । माग तथा अल्पसूचनामा परिचालन गर्नुपर्ने रकमतर्फ अधिकतम ४३ प्रतिशतसम्म लगानी गर्ने प्रक्षेपण गरिएको छ। बजारको अवस्था र लगानीका अवसरअनुसार उक्त लगानीको अनुपात घटबढ गर्न सकिने योजना व्यवस्थापकले जनाएको छ । साधारण सेयरमा लगानीका लागि छुट्याइएको रकम उच्च आम्दानीको सम्भावना भएका कम्पनीमा लगानी गर्ने प्रक्षेपण गरिएको छ । योजनाको आम्दानी तथा खर्चसम्बन्धी अनुमान पनि सामूहिक लगानी कोष नियमावली, २०६७ मा उल्लेखित प्रावधानका आधारमा गरिएको छ । योजनाको वित्तीय विवरण तथा लगानीसम्बन्धी प्रक्षेपण सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ को उपनियम (१) र (२) मा तोकिएको लगानी क्षेत्र र सीमाभित्र रहेर गरिएको कम्पनीले जनाएको छ । योजनाको रकम नियमित रूपमा लगानी गर्ने क्रममा बजारको अवस्था र लगानीका अवसरअनुसार लगानी संरचनामा परिवर्तन गर्न सकिने भए पनि यस्तो परिवर्तन नियमावलीमा तोकिएको सीमाभित्रै रहनेछ । १० वर्षमा १२१.५ प्रतिशत प्रतिफल दिने प्रक्षेपण मुक्तिनाथ क्यापिटलले ‘मुक्तिनाथ म्युचुअल फण्ड-२’ का इकाईधनीलाई १० वर्षको अवधिमा कुल १२१.५ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । फण्डबाट संकलित रकम विभिन्न क्षेत्रमा लगानी गरी त्यसबाट प्राप्त आम्दानीबाट खर्च कटाएर इकाईधनीलाई प्रतिफल वितरण गर्ने योजना व्यवस्थापकले जनाएको छ । कम्पनीको प्रक्षेपणअनुसार पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष ११.५ प्रतिशत तथा तेस्रो, चौथो र पाँचौं वर्ष १२-१२ प्रतिशत प्रतिफल दिने अनुमान गरिएको छ । त्यस्तै, छैटौं र सातौं वर्ष १५-१५ प्रतिशत, आठौं वर्ष १६ प्रतिशत र नवौं वर्ष १८ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरिएको छ । कम्पनीले गरेको वित्तीय प्रक्षेपण योजनाको भविष्यको अनुमानमा आधारित भएकाले वास्तविक प्रतिफल भने लगानीको प्रदर्शन तथा बजार अवस्थाअनुसार फरक पर्न सक्नेछ । मुक्तिनाथ क्यापिटलले यसअघि ‘मुक्तिनाथ म्युचुअल फण्ड-१’ नामक बन्दमुखी योजना सञ्चालन गर्दै आएको छ । कम्पनीका अनुसार मुक्तिनाथ म्युचुअल फण्ड-१ ले आर्थिक वर्ष २०८१/८२ मा ३.८ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा २.२ प्रतिशत प्रतिफल वितरण गरेको थियो । संचालन पूर्व खर्च विवरण मुक्तिनाथ क्यापिटलले मुक्तिनाथ म्युचुअल फण्ड-२ को इकाई निष्काशन तथा बिक्रीका क्रममा लाग्ने अनुमानित खर्च विवरणसमेत सार्वजनिक गरेको छ । कम्पनीले निष्काशनपूर्व तथा निष्काशनपश्चात् हुने विभिन्न खर्च इकाईधनीलाई जानकारी गराएको हो । कम्पनीका अनुसार निष्काशन तथा बिक्री प्रबन्धक शुल्कबापत २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यस्तै, विवरणपत्र प्रशोधन शुल्क ४५ हजार रुपैयाँ, मार्केटिङ तथा प्रचारप्रसार खर्च १२ लाख रुपैयाँ र वित्तीय प्रक्षेपण प्रमाणित गर्ने लेखापरीक्षकसम्बन्धी शुल्क ५६ हजार ५ सय रुपैयाँ रहनेछ । कुरियर, इकाई बाँडफाँड, सफ्टवेयर तथा अन्य भैपरी आउने खर्चका लागि १३ लाख १० हजार रुपैयाँ छुट्याइएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडसँग सम्बन्धित दर्ता शुल्कबापत १ लाख ५० हजार रुपैयाँ, छपाइ तथा सूचना प्रकाशन खर्च २ लाख ५० हजार रुपैयाँ र नेपाल धितोपत्र बोर्डमा योजना सञ्चालन स्वीकृति तथा दर्ता शुल्कबापत १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरणसम्बन्धी निवेदन तथा सूचीकरण शुल्कबापत १ लाख १५ हजार रुपैयाँ खर्च हुने कम्पनीले जनाएको छ । उल्लेखित खर्चहरू जोड्दा फण्ड निष्काशनसम्बन्धी यी शीर्षकमा मात्रै करिब ६१ लाख २६ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मार्केटिङ, प्रचारप्रसार तथा छपाइसम्बन्धी केही खर्च भने वास्तविक खर्चका आधारमा फरक पर्न सक्ने कम्पनीले जनाएको छ । क्यापिटलको संचालक र व्यवस्थापक टिम मुक्तिनाथ क्यापिटल लिमिटेडको सञ्चालक समितिमा ६ जना सदस्य रहेका छन् । क्यापिटलको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ रहेका छन् । अध्यक्ष श्रेष्ठसँग औषधि व्यापार व्यवसायमा ३० वर्ष तथा विभिन्न वित्तीय एवं व्यावसायिक क्षेत्रमा सञ्चालकका रूपमा १४ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ । क्यापिटलको सञ्चालकमा डण्डपानी ढकाल, उमेश रेग्मी, लीलानाथ ढकाल, दिपाञ्जली खकुरेल र सुमन कोइराला रहेका छन् । डण्डपानी ढकालसँग विभिन्न वित्तीय क्षेत्रमा तथा मुक्तिनाथ विकास बैंकमा विभिन्न तहमा रही २२ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ । त्यस्तै, उमेश रेग्मीसँग लेखापरीक्षण तथा वित्तीय क्षेत्रमा २२ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ । लीलानाथ ढकालसँग विभिन्न वित्तीय संस्थाको सञ्चालकका रूपमा तथा व्यापार, व्यवसाय र पूँजी बजार क्षेत्रमा २२ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ । दिपाञ्जली खकुरेलसँग बैंक तथा वित्तीय क्षेत्रमा २६ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ भने सुमन कोइरालासँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थामा आबद्ध रही लेखापरीक्षण तथा परामर्श सेवामा २० वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कबिन्द्र विक्रम ध्वज जोशी कार्यरत छन् । जोशीसँग मुक्तिनाथ क्यापिटलमा ६ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ। यसअघि उनले एनआईएमबि एस क्यापिटलमा ५ वर्ष, प्रभु क्यापिटलमा ५ वर्ष, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (साबिकको एस डेभलपमेन्ट बैंक) मा २ वर्ष तथा लक्ष्मी सनराइज क्यापिटलमा ९ वर्ष काम गरेको अनुभव छ । क्यापिटलमा सहायक महाप्रबन्धक तथा प्रमुख सञ्चालन अधिकृतका रूपमा अनिल महर्जन र प्रमुख लगानी अधिकृतका रूपमा नितेश जंग जोशी कार्यरत छन् । योजना व्यवस्थापकको रेटिङ मुक्तिनाथ क्यापिटल लिमिटेडलाई इक्रा नेपालले ‘इक्रा एनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले योजना व्यवस्थापकसँग सम्पत्ति तथा कोषको उचित व्यवस्थापन गर्न पर्याप्त आधार रहेको संकेत गर्छ। कोष सुपरिवेक्षक मुक्तिनाथ म्युचुअल फण्ड-२ को कोष सुपरिवेक्षकमा डा. नरहरी ढकाल, त्रिलोचन पंगेनी, वरिष्ठ अधिवक्ता मोतीराज गौतम, चार्टर्ड एकाउन्टेन्ट अनिल पौडेल र सुनिता सिग्देल रहेका छन् । ढकालसँग बैंक तथा वित्तीय संस्थासम्बन्धी अध्ययन तथा अनुसन्धान क्षेत्रमा ४० वर्षको कार्यअनुभव रहेको छ । त्यस्तै, पंगेनीसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षको कार्यअनुभव रहेको छ । वरिष्ठ अधिवक्ता गौतमसँग कानुनी व्यवसायमा ३० वर्षभन्दा बढीको अनुभव रहेको छ । चार्टर्ड एकाउन्टेन्ट पौडेलसँग लेखापरीक्षण तथा वित्तीय परामर्श सेवामा १६ वर्षभन्दा बढीको अनुभव रहेको छ भने सिग्देलसँग विभिन्न सहकारी संस्थामा १८ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ ।
सुन तोलामा ३ हजार ६ सय र चाँदी १५० रुपैयाँले बढ्यो
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँ बढेर ३ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य ४ हजार ६२५ रुपैयाँ प्रतितोला थियो ।
सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन’ बीमा योजना
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा ‘सन स्मार्ट प्रोटेक्सन’ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले १८ देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई कम बीमा शुल्कमा ठूलो आर्थिक सुरक्षा दिने उद्देश्यले यो योजना ल्याएको जनाएको छ । योजनाको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गरेका हुन् । कम्पनीका अनुसार यो योजना विशेषगरी परिवारको आर्थिक जिम्मेवारी बोकेका व्यक्तिलाई लक्षित गरिएको हो । बीमा कम्पनीका शाखा कार्यालयसँगै डिजिटल माध्यमबाट पनि यो योजना खरिद गर्न सकिनेछ । यस योजनामा न्यूनतम १० लाख रुपैयाँ देखि आयस्रोतका आधारमा आवश्यकताअनुसार बीमाङ्क छनोट गर्न सकिने सुविधा छ । बीमा शुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा तिर्न सकिने व्यवस्था गरिएको छ । बीमितको मृत्यु भएमा बीमाङ्कको शतप्रतिशत रकम दाबी भुक्तानी गरिने कम्पनीले जनाएको छ । साथै, ऐच्छिक सुविधाअन्तर्गत ५० हजार रुपैयाँसम्म किरिया खर्च र १ लाख रुपैयाँसम्म आपत्कालीन स्वास्थ्य सेवा सुविधा पनि उपलब्ध हुनेछ । सन नेपाल लाइफले हाल देशभरका १३६ शाखा तथा उपशाखा र ४० हजारभन्दा बढी अभिकर्ता मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार दुर्घटना, अशक्तता र आपत्कालीन रोगबाट हुने आर्थिक जोखिम कम गर्दै दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नु योजनाको मुख्य उद्देश्य हो ।
जग्गाको बैना गरेर ५ करोड बढी ठगी गरेको आरोपमा वैद्य पक्राउ
काठमाडौं । जग्गा बिक्री गर्ने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा रहेका एक व्यक्ति पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–३ घर भई बस्दै आएका ७० वर्षीय किरण वैद्य पक्राउ परेका हुन् । भक्तपुर जिल्लाको साविक ताथली गाविस–६ (हाल चाँगुनारायण नगरपालिका–२) स्थित कित्ता नम्बर २७ लगायत ४८ कित्ता जग्गामा हकबन्दी कायम भई बिक्री–वितरण गर्न मिल्ने थिएन । बिक्री गर्ने भन्दै बैना कागज गरी उनले रकम लिएका थिए । उनले जग्गा बिक्री गर्ने भन्दै बैना बापत ५ करोड ४० लाख ९६ हजार ९ सय ४० रुपैयाँ लिई ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले पक्राउ अनुमति दिएको थियो। काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार पक्राउ अनुमति जारी भएपछि फरार रहेका वैद्यलाई काठमाडौं महानगरपालिका–१ नक्सालबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका वैद्यविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
युद्धबीच इरानी राष्ट्रपतिलाई यूएन महासभामा जान अमेरिकाले दियो भिसा
काठमाडौं । अमेरिकी सरकारले इरानी अधिकारीहरूलाई आगामी साता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भिसा दिएको छ । दुई देशबीचको युद्ध अहिले सातौं महिनामा प्रवेश गरिरहेको छ । बीबीसीका अनुसार अमेरिकाले स्वीकृति दिएको इरानी प्रतिनिधिमण्डलमा इरानी राष्ट्रपति मसुद पेजेश्कियान र विदेशमन्त्री अब्बास अराग्ची पनि छन् । अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले बिहीबार यस निर्णयको पुष्टि गरेका छन् । उनका अनुसार इरानी प्रतिनिधिमण्डलमाथि यात्रा सम्बन्धी प्रतिबन्ध लागू हुनेछ । साथै प्रतिनिधिमण्डलका सदस्यहरूले अमेरिकामा केही वस्तु खरिद गर्न पाउने छैनन् । युद्ध अन्त्य हुने कुनै संकेत नदेखिएको समयमा अमेरिकाले यस्तो निर्णय गरेको हो । फेब्रुअरीमा सुरु भएको यस युद्धका कारण विश्वभर तेल र ग्यासको मूल्य बढेको छ भने यसको प्रभाव छिमेकी मुलुकहरूसम्म फैलिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बीबीसीसँग भने, ‘आयोजक राष्ट्रका रूपमा हाम्रो जिम्मेवारीअन्तर्गत इरानी शासनको मुख्य प्रतिनिधिमण्डललाई संयुक्त राष्ट्रसंघ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन अनुमति दिइनेछ ।’ उनले भने, ‘प्रतिनिधिमण्डलमाथि यात्रा सम्बन्धी प्रतिबन्ध लागू हुनेछ । हाम्रो नीतिअनुसार विलासी तथा अन्य वस्तुको खरिदमा पनि रोक हुनेछ । यो प्रतिनिधिमण्डल गत वर्षको तुलनामा सानो छ ।’ गत वर्ष इरानबाट आएका कूटनीतिज्ञहरूलाई कस्टको जस्ता थोक पसलबाट सामान खरिद गर्नसमेत रोक लगाइएको थियो ।
कलाकार संघद्वारा दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार सहयोग
काठमाडौं । नेपाल चलचित्र कलाकार संघले बाढीपहिरो प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेको छ । शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा संघका अध्यक्ष उत्तम केसीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि कलाकारहरूबाट संकलन गरिएको रकम कोषमा जम्मा गरिएको संघले जनाएको छ । चेक हस्तान्तरण कार्यक्रममा संघकी उपाध्यक्ष पुजना प्रधान, महासचिव सुनिल कटुवाल, सहकोषाध्यक्ष पवन केसी तथा सदस्यहरू इन्द्र दोङ खम्बे, नवीनकुमार श्रेष्ठ, मोनिका दाहाल र संगम राई लव्लीको उपस्थिति थियो । कार्यक्रममा चलचित्रकर्मी पुकार भट्टराई र लव प्याकुरेल पनि सहभागी थिए । अध्यक्ष केसीले बाढी प्रभावित क्षेत्र नुवाकोटका जनप्रतिनिधिका रूपमा मन्त्री तिमिल्सिनाले खेलेको भूमिकाको प्रशंसा गर्दै चलचित्र क्षेत्रका विभागीय मन्त्रीको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको बताए । संघका निवर्तमान अध्यक्ष मोहन निरौलाले नेपाल चलचित्र कलाकार संघको स्थापना नै सामाजिक सेवाको भावनासहित भएको उल्लेख गर्दै संघले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको बताए । कठिन परिस्थितिमा सरकारसँग एकताबद्ध हुँदै बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले कलाकारहरूबाट रकम संकलन गरिएको उनको भनाइ छ । संघका अनुसार भदौ २३ गते ‘जेन–जी शहीद दिवस’ तथा नेपाल चलचित्र कलाकार संघको ३८औँ स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रम र राहत सहयोगका क्रममा रकम संकलन गरिएको थियो । संकलित रकममध्ये बाढी प्रभावितका लागि छुट्याइएको सहयोग कोषमा हस्तान्तरण गरिएको संघले जनाएको छ ।
कांग्रेस विधि र विधानअनुसार १५औँ महाधिवेशनमा जान्छौँ : प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५औँ महाधिवेशनको तयारीमा आफूहरू अघि बढिसकेको भन्दै पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार महाधिवेशन सम्पन्न गरिने बताएका छन् । शुक्रबार लौह पुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा काठमाडौंको शोभा भगवतीस्थित उहाँको शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले यस्तो बताएका हुन् । उनले राजनीतिक दलका लागि राजनीतिक मुद्दा र एजेन्डा मुख्य हुने उल्लेख गर्दै न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए । अदालतले न्यायिक विषयमा आफ्नो भूमिका निर्वाह गर्ने र राजनीतिक विषयमा राजनीतिक दलले नै निर्णय गर्नुपर्ने उनको भनाइ छ । सिंहले कांग्रेसको इतिहासमा राजनीतिक मुद्दालाई प्राथमिकता दिँदै आएको उदाहरणका रूपमा बीपी कोइराला र गणेशमान सिंहको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिलाई स्मरण गरे । २०३३ सालमा राष्ट्रियता र प्रजातन्त्रको रक्षाका लागि उनीहरू निर्वासनबाट नेपाल फर्किएको उल्लेख गर्दै उहाँले त्यसपछिका राजनीतिक घटनाक्रमले अन्ततः २०४६ सालको परिवर्तनको आधार तयार गरेको बताए । उनले कांग्रेसले विगतदेखि नै जनताको अधिकार पुनर्बहालीका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै अहिले पनि पार्टीभित्र लोकतान्त्रिक मान्यता र विधिको पालना गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने बताए । उनले कांग्रेस कुनै पनि अवस्थामा आफ्नो परम्परा, विधि र नियमअनुसार १४औँ महाधिवेशनबाट १५औँ महाधिवेशनमा जाने बताए । कांग्रेसको विधानले महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल चार वर्ष तोकेको र विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने व्यवस्था रहेको सिंहले बताए । थपिएको एक वर्षको अवधि यही मंसिरमा पूरा हुने उनको भनाइ छ । उनले भने, ‘१४औँ महाधिवेशनबाट १५औँ महाधिवेशनको तयारीतर्फ हामी अगाडि बढिसकेका छौँ । कांग्रेसको चाहना विशेष महाधिवेशन थिएन । कसैको व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्न विधि र नियम मिच्नु उचित हुँदैन । राजनीतिक मुद्दा र एजेन्डा पार्टीले नै तय गर्ने हो भने न्यायिक विषय अदालतले हेर्ने हो । नेपाली कांग्रेस लोकतन्त्र र न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्छ ।’ नेपालको संविधानले एउटा महाधिवेशनबाट अर्को महाधिवेशन साढे पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै सिंहले पार्टीले संविधानको भावना र मर्मअनुसार नै प्रक्रिया अघि बढाउने बताए । विधिको शासन स्थापित गर्न, जनताको अधिकार सुरक्षित राख्न र राष्ट्रलाई जोगाउन आफूहरू लागेको बताए ।