कांग्रेस विवादमा बद्री पाण्डेले अगाडि सारे ‘एकताको सूत्र’

मुद्दा फिर्तादेखि मंसिरमा महाधिवेशनसम्म

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे ।

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीभित्र चुलिएको महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि दुवै पक्षले आ–आफ्नो ठाउँबाट लचकता अपनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

पाण्डेले पूर्वसंस्थापन पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा फिर्ता लिने र संस्थापन पक्षले मंसिरमै महाधिवेशन गर्ने प्रतिबद्धता जनाउने गरी समझदारी कायम गर्न सकिने धारणा सार्वजनिक गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत पार्टीभित्रको विवाद समाधानका लागि यस्तो ‘एकताको सूत्र’ अघि सारेका हुन् ।

‘पूर्वसंस्थापन–अदालतबाट आधिकारिकतासम्बन्धी मुद्दा फिर्ता लिने, संस्थापन–अधिवेशन मंसिरमा गर्ने,’ पाण्डेले लेखेका छन् ।

दुवै पक्षबीच सहमति निर्माणका लागि पार्टी, लोकतन्त्र र मुलुकको हित चाहने नेता–कार्यकर्ताले आ–आफ्नो ठाउँबाट सुझाव र दबाब दिने अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

‘दुवै पक्षलाई आ–आफ्नो ठाउँबाट सुझाव, दबाब दिने अभियान चलाउनु राम्रो हुन्छ होला, पार्टी, लोकतन्त्र र मुलुकको हित चाहने हामी सबैको लागि,’ उनले भनेका छन् ।

कांग्रेसभित्र महाधिवेशनको मिति, पार्टीको आधिकारिकता तथा संगठन सञ्चालनसँग जोडिएका विषयमा संस्थापन र पूर्वसंस्थापन पक्षबीच मतभेद रहँदै आएको छ । 

विवाद समाधानका लागि विभिन्न तहबाट सहमतिको प्रयास भइरहेका बेला पाण्डेको पछिल्लो प्रस्ताव सार्वजनिक भएको हो ।

पाण्डेको प्रस्तावमा एकातर्फ अदालतमा विचाराधीन आधिकारिकतासम्बन्धी विवादलाई राजनीतिक समझदारीमार्फत टुंग्याउने र अर्कोतर्फ महाधिवेशनको मिति सुनिश्चित गर्ने गरी दुवै पक्षबीच समझदारी निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

पार्टीभित्रको विवाद लम्बिँदै जाँदा महाधिवेशनको प्रक्रिया र संगठनात्मक गतिविधिमा समेत प्रभाव पर्न सक्ने भन्दै कांग्रेसका विभिन्न नेताले सहमतिको पहल गर्दै आएका छन् । 

यही सन्दर्भमा पाण्डेले दुवै पक्षले एकअर्काबाट मात्रै त्यागको अपेक्षा गर्नुको सट्टा आ–आफ्नो ठाउँबाट कदम चाल्नुपर्ने धारणा अघि सारेका हुन् ।

Share News