ट्रम्पको गाजा योजनालाई नेतन्याहूले गरे ठाडै अस्वीकार
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १५ सूत्रीय योजनालाई अस्वीकार गरेका छन् । उनले हमासले पूर्ण र वास्तविक रूपमा हतियार नत्यागेसम्म इजरायली सेना गाजाबाट पछि नहट्ने स्पष्ट पारेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा नेतन्याहूले भने, ‘इजरायल १५ सूत्रीय दस्तावेज स्वीकार गर्दैन ।’ उनले हमासले पूर्ण रूपमा हतियार नत्यागेसम्म इजरायली सेना फिर्ता नहुने र इजरायलले आफ्ना सैनिक तथा नागरिकविरुद्ध हुन सक्ने कुनै पनि खतरा रोकिरहने बताए । गत महिना ट्रम्पको ‘बोर्ड अफ पिस’ले गाजामा हमास र अन्य सशस्त्र समूहको ‘पूर्ण निशस्त्रीकरण’ गर्ने विषयमा सहमति भएको जनाएको थियो । तर, हमासले भारी हतियार बुझाउने निर्णय इजरायलले सबै प्रकारका आक्रमण रोक्ने र गाजाबाट आफ्ना सेना फिर्ता बोलाउने विषयमा निर्भर हुने बताएको थियो । नेतन्याहूले हमासले पहिले हतियार त्याग्नुपर्ने र यो प्रक्रिया कागजमा मात्र सीमित वा देखावटी हुन नहुने बताए । उनका अनुसार यस विषयमा अमेरिकी अधिकारीहरूसँग वार्ता भइरहेको छ । अमेरिकाले अघि सारेका केही प्रस्ताव इजरायलले स्वीकार गर्न सक्ने भए पनि केही प्रस्तावमा भने आफूहरू सहमत नरहेको उनले बताए । ट्रम्पको गाजा शान्ति योजनामा हमासको निशस्त्रीकरण, इजरायली सेनाको फिर्ती र गाजाको पुनर्निर्माणको योजना समावेश छ । सम्झौता कार्यान्वयनको निगरानी गर्न ‘बोर्ड अफ पिस’ गठन गर्ने प्रस्तावसमेत गरिएको छ । नेतन्याहूको पछिल्लो अडानले ट्रम्पको गाजा शान्ति योजनामा थप चुनौती सिर्जना भएको छ । इजरायलका दक्षिणपन्थी गठबन्धन साझेदारहरूले पनि उक्त योजनाको विरोध गरिरहेका छन् । राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–ग्विरले समेत मस्यौदा स्वीकार गर्न अस्वीकार गरेका छन् ।
सार्वजनिक प्रदर्शनअघि नै काठमाडौंमा देखियो चेरी क्यू
काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ सुरु हुनुअघि नै काठमाडौंका सडकमा चेरीका नयाँ विद्युतीय गाडी देखिन थालेका छन् । आगामी अगस्ट ११ देखि १६ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमामा चेरी क्यू लगायतका गाडी सार्वजनिक प्रदर्शनमा राखिने तयारी भइरहेका बेला चेरी क्यू काठमाडौंमा देखिएको हो । नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले चेरी क्यूको आधिकारिक सार्वजनिक प्रस्तुति नाइमामार्फत हुने जनाएको छ । नाइमामा आगन्तुकले पहिलोपटक चेरी क्यूलाई नजिकबाट अवलोकन गर्न पाउनेछन् । चेरीको नयाँ पुस्ताको विद्युतीय सवारीमध्ये एक चेरी क्यूलाई आधुनिक सहरी जीवनशैली लक्षित अर्बन क्रसओभरका रूपमा प्रस्तुत गरिएको छ । यसको नयाँ डिजाइन र प्रविधिका कारण अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा बटुल्दै आएको कम्पनीले जनाएको छ । चेरी क्यूमा ४१.२ किलोवाट–घण्टा ब्याट्री रहेको छ भने एकपटकको चार्जमा ४०० किलोमिटरसम्म यात्रा गर्न सकिने दाबी गरिएको छ । गाडीमा ५४० डिग्री सराउन्ड क्यामेरा, १७५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स र ७० लिटर फ्रंक स्पेस उपलब्ध छन् । त्यस्तै, यसमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम लगायतका सुविधा छन् । यी सुविधाले सहरी यात्रालाई थप सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ । चेरी क्यूले विश्वप्रसिद्ध रेड डट डिजाइन अवार्ड २०३५ तथा आईएफ डिजाइन अवार्डसमेत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । काठमाडौंमा आधिकारिक सार्वजनिक प्रदर्शनअघि नै देखिएपछि यो गाडी सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ ।
बीवाईडीका पुराना ग्राहकलाई १० प्रतिशत छुट
काठमाडौं । बीवाईडीका पुराना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले नेपालका लागि आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक प्रालिले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी अभियानको औपचारिक शुभारम्भ गरिएको हो । कम्पनीका अनुसार अभियान देशभर रहेका बीवाईडीका १३ वटा आधिकारिक सर्भिस सेन्टरमा एकसाथ लागू भएको छ । अभियानअन्तर्गत विशेषगरी सेप्टेम्बर २०२४ भन्दा अघि डेलिभरी भएका र बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन सुविधा नपाएका योग्य सवारीसाधनमा ती सुविधा निःशुल्क उपलब्ध गराइनेछ । त्यस्ता ग्राहकले इन्फोटेनमेन्ट सुविधासहित ६ महिनासम्म निःशुल्क बीवाईडी एप कनेक्टिभिटी डाटा प्राप्त गर्नेछन् । साइमेक्सका अनुसार अभियानले बीवाईडी ग्राहकको बिक्रीपछिको सेवा, स्मार्ट कनेक्टिभिटी र स्वामित्व सुरक्षालाई एउटै पहलमा समेटेको छ । यसका लागि एनसेल, शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्ससँग सहकार्य गरिएको छ । ‘केयर प्लस’ अभियानलाई ‘केयर प्लस’, ‘कनेक्ट प्लस’ र ‘प्रोटेक्ट प्लस’ गरी तीन मुख्य आधारमा विभाजन गरिएको छ । ‘केयर प्लस’अन्तर्गत बीवाईडीका आधिकारिक सर्भिस सेन्टरबाट सवारीको विस्तृत निरीक्षण, जेन्युइन स्पेयर पाट्र्स, प्रोफेसनल डायग्नोस्टिक सेवा र प्रमाणित प्राविधिकमार्फत सर्भिस उपलब्ध गराइनेछ । त्यस्तै, ‘कनेक्ट प्लस’अन्तर्गत सिम एक्टिभेसन, बीवाईडी एप एक्टिभेसन, कनेक्टेड भेइकल फिचर र इन्फोटेनमेन्ट कनेक्टिभिटी सेवा उपलब्ध हुनेछ । यसका लागि बीवाईडी नेपालको आईओटी साझेदार एनसेलले सहयोग गर्नेछ । ‘प्रोटेक्ट प्लस’अन्तर्गत बीमा परामर्श, बीमा नवीकरणमा सहयोग, योग्य सवारीका लागि विस्तारित वारेन्टीसम्बन्धी जानकारी तथा सहजीकरण उपलब्ध गराइनेछ । यसमा १० वर्षसम्मको विस्तारित वारेन्टी सम्बन्धी सुविधा पनि समावेश रहेको कम्पनीले जनाएको छ । दुर्घटनाको अवस्थामा नगदरहित सेवा तथा बीमा दाबी प्रक्रियामा समन्वय र सहजीकरणसमेत गरिनेछ । यसका लागि शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सले सहयोग गर्नेछन् । अभियानअन्तर्गत योग्य बीवाईडी ग्राहकले ब्याट्री कभर, स्पेयर टायर तथा डेन्ट एन्ड पेन्ट सेवामा १०–१० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, ग्राहकले एकपटक निःशुल्क होम चार्जर चेक–अप सुविधा पनि प्राप्त गर्नेछन् । बीवाईडी एप कनेक्टिभिटी सुविधा यसअघि नपाएका योग्य ग्राहकले इन्फोटेनमेन्ट सुविधासहित ६ महिनासम्म निःशुल्क कनेक्टिभिटी डेटा पाउने कम्पनीले जनाएको छ । साइमेक्स इंक प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले ग्राहकको वास्तविक स्वामित्व यात्रा सवारी डेलिभरीपछि सुरु हुने बताए । उनले बिक्रीपछिको सेवा, स्मार्ट कनेक्टिभिटी र स्वामित्व सुरक्षालाई एउटै पहलमा समेटेर देशभरका १३ वटै सर्भिस सेन्टरबाट सेवा उपलब्ध गराउन अभियान सुरु गरिएको बताए । बीवाईडीको आधिकारिक सर्भिस नेटवर्क हाल नेपालका धनगढी, नेपालगञ्ज, दाङ, बुटवल, पोखरा, चितवन, ललितपुर, काठमाडौं, वीरगञ्ज, जनकपुर, इटहरी, विराटनगर र बिर्तामोड गरी १३ स्थानमा रहेको छ । ग्राहकलाई थप सहज र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले सन् २०२६ भित्र भक्तपुर, डल्लु र लहानमा थप तीनवटा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ । ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान नाइमा मोबिलिटी एक्स्पो २०२६ को पूर्वसन्ध्यामा सुरु गरिएको हो । आगामी अगस्ट ११ देखि सुरु हुने एक्स्पोमा बीवाईडीले आफ्ना नवीनतम उत्पादन तथा सेवाहरू प्रस्तुत गर्ने तयारी गरेको छ ।
बनकालीमा साढे ३ करोड बढीको सम्पदा पुनरुत्थान
काठमाडौं । काठमाडौंको बनकालीमा रहेको प्राचीन धर्मशाला र धर्मशाला परिसरमा पार्क, वरिपरि पर्खाल निर्माण गर्ने कार्यको शिलान्यास भएको छ । आइतबार (आज) काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले पूजाआजा गरेर निर्माण कार्यको शिलान्यास गरेका हुन् । शिलान्यासपछि कार्यवाहक प्रमुख डंगोलले, पशुपति क्षेत्रमा आउने श्रद्धालुहरुले पशुपति क्षेत्रमै बास बसेर दर्शन गर्न पाउने वातावरण बनाउन लगानी गरिएको बताइन् । ‘१ वर्षमा काम सम्पन्न गर्ने लक्ष्यसहित योजना अगाडि बढाएका छौं । वडाले नेतृत्व लिएको छ । पशुपति क्षेत्र विकास कोषसँग समन्वय छ । सबैको सक्रियतामा योजना सम्पन्न हुनेछ,’ उनले भनिन् । वडाध्यक्ष एवं समितिका संयोजक संगतले प्राचीन पहिचान पुनःस्थापना गर्ने लक्ष्यसहित काम गर्न लागेको जानकारी दिए । उनले भने, ‘बनकाली धर्मशालाको पुनरुत्थानका लागि २ चरणमा काम हुँदैछ । पहिलो चरणमा धर्मशालाको छाना मर्मत, छानामा फल्याक राख्ने, वाटर प्रफिङ गर्ने, छाना नभएको ठाउँमा राख्ने काम भएको छ । यस क्षेत्रको प्राचीन पहिचान पुनःस्थापना गर्ने लक्ष्यसहित काम गर्दैछौं । २०४५ सालदेखि २०५० साल तिर पुरिएको पोखरी पुनरुत्थान गर्नेछौं ।’ छाना मर्मतका लागि सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ३२ लाख ५४ हजार ६१३ रुपियाँमा अगाडि बढाइएको हो । यसको अहिले ९० प्रतिशत काम सकिएको छ । यो परियोजनाको गुरुयोजना सहरी योजना आयोगले तयार पारेको हो । आयोगका सदस्य आर्किटेक्ट बाबुराम भट्टराईका अनुसार पशुपति क्षेत्र बिकास कोष अन्तर्गत रहेको करिब १२ रोपनी ६ आना क्षेत्रफलमा निर्माण कार्य हुनेछ । यसको लागत करसहित ३ करोड ६५ लाख १३ हजार ४३२ रुपैयाँ रहेकाे महानगरले जनाएकाे छ । कामका लागि निर्माण पक्षसँग असार १७ गते सम्झौता भएको थियाे । आगामी वर्षको असार १० गतेसम्म काम सकिने जनाइएकाे छ । करिब एक रोपनी क्षेत्रफलमा ३६ कोठे धर्मशाला भवन रहेको काठमाडौं महानगरले जनाएको छ । महानगरका अनुसार भवन पुरानो र जीर्ण भएको, झ्याल ढोका मक्किएको, थामले ठाउँ छोडेको, छाना चुहिने भएको, कति ठाउँमा छानो नभएकोले यसमा मानव बसोबास हुनसक्ने अवस्था थिएन । अब भवनलाई मौलिक स्वरूपमा जीर्णोद्धार गरिने भएको हो । त्यस्तै, श्रद्धालुको बसोबासलाई सहज बनाउन हरेक तलाका दुवैतर्फ महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र स्नान कक्ष बनाइने पनि महानगरले जनाएको छ । यसपछि धर्मशालामा २४ वटा शौचालय र २० वटा स्नान कक्ष हुनेछन्। महानगरका अनुसार धर्मशाला भवनमा सरसफाइ र स्वच्छताको काम हुनेछ । पानीका लागि पाइप जडान र विद्युत जडानको काम हुनेछ । धर्मशालामा रहने श्रद्धालुहरूका लागि मनमोहक पार्क डिजाइन गर्दा सबै उमेर समूहका व्यक्तिहरूलाई ध्यानमा राखिएको छ । आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठका अनुसार ६ हजार ३८१ वर्ग मिटर क्षेत्रको सरसफाइ गरेपछि काम थालनी गरिनेछ । पोखरी निर्माणसहित बगैँचा बनाउन करिब ३ हजार २३० घन मिटर माटो, बालुवा घटु चाः (पोखरी बनाउने माटो) प्रयोग हुनेछ । त्यसैगरी, बगैँचामा ४ फिट उचाइका १५० वटा र ८ फिट उचाइका ३० वटा विरुवा रोपिनेछन् । ६ सय वटा मौसमी फूल रोपिनेछन् भने २५० वटा पोली हेज सहितको हरियाली क्षेत्र निर्माण हुनेछ । करिब ३५० मिटर लम्बाईको सिमाघेरा पर्खाल लगाइनुका साथै पर्खालको १ हजार ३५४ वर्गमिटर क्षेत्रमा दछी आपा राखिनेछ । पर्खाल कासिमो बुट्टा र पालेफो बुट्टासहितको हुने महानगरले जनाएकाे छ । त्यस्तै, भुइँको २२७ दशमलव ७९ वर्गमिटर क्षेत्रमा परम्परागत तेलिया टायल राखिनुका साथै भुइँ र पर्खाल गरी ३९७ दशमलव ९९ वर्गमिटर क्षेत्रमा टायल राखिने जनाइएकाे छ ।
काभ्रेबाट बेपत्ता दम्पतीमध्ये तिलकुमारीको शव ओखलढुंगामा फेला
काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका- ८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका दम्पतीमध्ये वृद्धाको शव ओखलढुंगामा फेला परेको छ । मण्डनदेउपुर नगरपालिका- ७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव आइतबार (आज) ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको हो । स्थानीयले सुनकोशी नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार सुनकोशी नदीमा फेला परेको शवको हुलिया काभ्रे पठाइएको थियो । आफन्तले शव तिलकुमारीकै भएको पहिचान गरेका छन् । थप पुष्टिका लागि उनका आफन्त ओखलढुंगा पुगेका छन् । तिलकुमारीसँगै बेपत्ता भएका उनका श्रीमान् ६८ वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात छ । पराजुली दम्पती बुधबार साँझ दोलालघाटबाट बेपत्ता भएका थिए । उनीहरू बेपत्ता भएपछि प्रहरीले खोजीका लागि टोली परिचालन गरेको थियो । प्रहरीले केदारनाथको खोजी जारी राखेको जनाएको छ ।
४२ हजार विपन्नले लिए कडा रोगको उपचार
काठमाडौं । नेपालमा प्राणघातक र कडारोगको उपचारमा सर्वसाधारणको ठूलो खर्च हुने गरेकामा ‘विपन्न नागरिक औषधी उपचार कार्यक्रम’ विपन्न नागरिकको लागि भरोसा बन्दै गएको छ । स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को तथ्यांक अनुसार एक वर्षमा ८ प्रकारका कडा रोगबाट पीडित ४२ हजार १३१ जना विपन्न नागरिकले स्वास्थ्य बीमाबाट सेवा लिएका छन् । प्रतिवेदनअनुसार विपन्न नागरिक औषधी उपचार कार्यक्रम उपचार लिने कुल बिरामीमध्ये सबैभन्दा ठूलो संख्या क्यान्सर रोगीको छ । महँगो र लामो समयसम्म गराउनुपर्ने क्यान्सर उपचारका लागि गत वर्ष १९ हजार ५४४ जना विपन्न नागरिकले बीमार्फत सेवा लिएका छन् । त्यस्तै, खर्चिलो औषधी उपचारको रूपमा मिर्गौला रोगलाई लिइन्छ । एक वर्षमा १२ हजार ८२४ जना मिर्गौला रोगीले उपचार सेवा लिएका छन् । जसमध्ये ११ हजार ४० जनाले हेमोडायलाइसिस, ५१२ जनाले पेरिटोनियल डायलाइसिस, ७५० जनाले एक्युट किड्नी इन्जुरीको उपचार र २१२ जना सेरोपोजिटिभ डायलाइसिस सेवा स्वास्थ्य बीमार्फत लिएका छन् । यस्तै, एक वर्षमा ३१० जना विपन्न नागरिकको मिर्गौला प्रत्यारोपण (ट्रान्सप्लान्ट) सेवा लिएका छन् । त्यसैगरी, एक वर्षमा ६ हजार ८२९ मुटुसम्बन्धी कडा रोग लागेका ६ हजार ८२९ जना विपन्न नेपालीले यो कार्यक्रमबाट उपचार सेवा लिएका छन् । यो कार्यक्रमअन्तर्गत सिकलसेल एनिमियाका १ हजार ४३७, स्पाइनल इन्जुरीका ९४२, हेड इन्जुरीका ४३७, पार्किन्सोनिज्मका ८२ र अल्जाइमर्सका ४६ जना बिरामीले समेत सेवा लिएका छन् ।
आदिवासी जनजातिका अधिकार अवसर र अर्थतन्त्रसँग जोडिनुपर्छ: मन्त्री श्रेष्ठ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आदिवासी जनजाति समुदायले लामो संघर्षबाट प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् । आदिवासी जनजाति महासंघद्वारा आयोजित ३२औं विश्व आदिवासी दिवसको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अधिकार प्राप्त गर्नु मात्रै पर्याप्त नभएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन, संरक्षण र संस्थागत विकासमा जोड दिएका हुन् । विश्व आदिवासी दिवस केवल उत्सव मनाउने अवसर मात्र नभई आदिवासी जनजातिको इतिहास, संघर्ष र उपलब्धिको समीक्षा गर्दै आगामी पुस्ताको भविष्य सुनिश्चित गर्ने संकल्प गर्ने दिन भएको उनको भनाइ छ । ‘आफ्नो भाषा, संस्कृति, सम्पदा, पहिचान, परम्परा, सीप र आत्मसम्मानको संरक्षणका लागि पुस्तौँदेखि आवाज उठाउँदै आएका छौँ । ती आवाजको सुनुवाइ पनि भएको छ, तर पर्याप्त भने छैन,’ मन्त्री श्रेष्ठले भने, ’आफ्नो पहिचानको रक्षाका लागि हाम्रा आवाज अझै बुलन्द हुनुपर्छ ।’ नेपालको संविधानले समानुपातिक समावेशिता, सामाजिक न्याय तथा भाषा, संस्कृति र पहिचानका क्षेत्रमा अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रले राज्यका विभिन्न निकायमा विविध समुदायको प्रतिनिधित्वका लागि अवसर सिर्जना गरेको बताए । वर्तमान सरकारले सभ्यता, संस्कृति, जैविक विविधता र मानव अस्तित्वलाई महत्व दिँदै वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत समेत सम्बोधन गरेको उनको भनाइ थियो । धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा सामाजिक महत्व बोकेका सम्पदा, आदिवासी समुदायका परम्परागत सीप तथा आध्यात्मिक मूल्यलाई राष्ट्रिय सम्पदाका रूपमा संरक्षण गरी आगामी पुस्ताका लागि जोगाउनुपर्नेमा उनले जोड दिए । मन्त्री श्रेष्ठले आदिवासी जनजाति समुदायले प्राप्त गरेका अधिकार संस्थागत भए नभएको विषयमा आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । ‘प्राप्त अधिकारलाई संस्थागत गरिएन भने त्यसको पुस्तान्तरण हुन सक्दैन । नयाँ पुस्तालाई आफ्नो इतिहास, भाषा, संस्कृति, सम्पदा, सीप र अधिकारबारे सचेत बनाउन सकेनौं भने हाम्रो पहिचान क्रमशः कमजोर हुँदै जान्छ,’ उनले भने । उनका अनुसार अबको आवश्यकता अधिकार थप्ने मात्र नभई प्राप्त अधिकारको संरक्षण, कार्यान्वयन र संस्थागत विकास गर्नु हो । आदिवासी जनजातिको अधिकारलाई अवसर र आर्थिक विकाससँग जोड्नुपर्ने उनको भनाइ थियो । मन्त्री श्रेष्ठले आदिवासी समुदायका सम्पदालाई संग्रहालयमा सीमित नराखी जीवन्त प्रयोगमा ल्याउनुपर्ने बताए । संस्कृति पर्व तथा उत्सवमा प्रदर्शन गर्ने विषय मात्र नभई समुदायको पहिचान र अर्थतन्त्रसँग जोडिएको शक्तिका रूपमा विकास गर्नुपर्ने उनले धारणा राखे । त्यस्तै, परम्परागत सीप, ज्ञान र जीवनशैलीलाई विज्ञान तथा प्रविधिसँग जोड्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए । परम्परागत ज्ञान र सीप नेपालको दिगो विकासका लागि महत्वपूर्ण स्रोत बन्न सक्ने उनको भनाइ थियो । ‘हाम्रा भाषा, संस्कार, परम्परा, मौलिक कला र अमूर्त सांस्कृतिक सम्पदा समुदायको पहिचान मात्र होइनन्, राष्ट्रका अमूल्य धरोहर हुन् । तिनको संरक्षण, संवद्र्धन र पुस्तान्तरण गर्नु हामी सबैको साझा कर्तव्य हो,’ उनले भने । नेपालको शक्ति नै विविधतामा रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले हिमालदेखि तराईसम्म तथा पूर्वदेखि पश्चिमसम्म फैलिएको सामाजिक, सांस्कृतिक र भाषिक विविधतालाई मुलुकको सबैभन्दा ठूलो सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्ने बताए । तर बसाइँसराइ, तीव्र आधुनिकीकरण, जलवायु परिवर्तन, प्रविधिमा आधारित जीवनशैली तथा बाह्य संस्कृतिको प्रभावका कारण आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानमा चुनौती थपिँदै गएको बताए ।
इन्टर्न चिकित्सक हरिजनले तोडे अनसन
काठमाडौं । सरकारसँगको पाँचबुँदे सहमतिपछि एमबीबीएस इन्टर्न विद्यार्थी डिल्ली हरिजनले अनसन तोडेका छन् । सरकारी वार्ता टोली र इन्टर्न विद्यार्थीबीच सहमति भएपछि उनले अनसन तोडेका हुन् । सहमतिअनुसार सरकारी तथा निजी मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस इन्टर्न चिकित्सकलाई स्वास्थ्य सेवाको आठौं तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ अघि बढाइने भएको छ । यसका लागि साउन २८ गते शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय, निजी मेडिकल कलेजका प्रतिनिधि र आन्दोलनरत इन्टर्न चिकित्सकबीच विस्तृत छलफल गरिनेछ । यी विषय आयोगको बैठकमा एजेन्डाका रूपमा प्रस्तुत गर्ने सहमति भएको छ । त्यस्तै, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम आयोगको बैठकमा स्टाइपेन्ड अभियन्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने तथा श्रम ऐन, २०७४ अनुसार इन्टर्न र आवासीय चिकित्सकका लागि समान कार्यघण्टा लागू गर्न समिति गठन गरी प्रतिवेदन तयार गर्ने सहमति भएको छ । त्यस्तै, सरकारी तथा निजी मेडिकल कलेजले विभिन्न शीर्षकमा असुलेका अतिरिक्त शुल्क छानबिन गरी नियमानुसार फिर्ता गर्ने व्यवस्था कार्यान्वयन गर्ने र एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीका लागि छात्रावास बसाइलाई वैकल्पिक बनाउने आयोगको परिपत्र प्रभावकारी रूपमा लागू गर्ने विषय पनि सहमतिमा समेटिएको छ ।