४२ हजार विपन्नले लिए कडा रोगको उपचार

कुल बिरामीमध्ये सबैभन्दा ठूलो संख्या क्यान्सर रोगीको छ ।

स्वास्थ्य बीमा बोर्ड ।

काठमाडौं । नेपालमा प्राणघातक र कडारोगको उपचारमा सर्वसाधारणको ठूलो खर्च हुने गरेकामा ‘विपन्न नागरिक औषधी उपचार कार्यक्रम’ विपन्न नागरिकको लागि भरोसा बन्दै गएको छ ।

स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को तथ्यांक अनुसार एक वर्षमा ८ प्रकारका कडा रोगबाट पीडित ४२ हजार १३१ जना विपन्न नागरिकले स्वास्थ्य बीमाबाट सेवा लिएका छन् ।

प्रतिवेदनअनुसार विपन्न नागरिक औषधी उपचार कार्यक्रम उपचार लिने कुल बिरामीमध्ये सबैभन्दा ठूलो संख्या क्यान्सर रोगीको छ ।

महँगो र लामो समयसम्म गराउनुपर्ने क्यान्सर उपचारका लागि गत वर्ष १९ हजार ५४४ जना विपन्न नागरिकले बीमार्फत सेवा लिएका छन् ।

त्यस्तै, खर्चिलो औषधी उपचारको रूपमा मिर्गौला रोगलाई लिइन्छ । एक वर्षमा  १२ हजार ८२४ जना मिर्गौला रोगीले उपचार सेवा लिएका छन् ।

जसमध्ये ११ हजार ४० जनाले हेमोडायलाइसिस, ५१२ जनाले पेरिटोनियल डायलाइसिस, ७५० जनाले एक्युट किड्नी इन्जुरीको उपचार र २१२ जना सेरोपोजिटिभ डायलाइसिस सेवा स्वास्थ्य बीमार्फत लिएका छन् । यस्तै, एक वर्षमा ३१० जना विपन्न नागरिकको मिर्गौला प्रत्यारोपण (ट्रान्सप्लान्ट) सेवा लिएका छन् ।

त्यसैगरी, एक वर्षमा ६ हजार ८२९ मुटुसम्बन्धी कडा रोग लागेका ६ हजार ८२९ जना विपन्न नेपालीले यो कार्यक्रमबाट उपचार सेवा लिएका छन् । यो कार्यक्रमअन्तर्गत सिकलसेल एनिमियाका १ हजार ४३७, स्पाइनल इन्जुरीका ९४२, हेड इन्जुरीका ४३७, पार्किन्सोनिज्मका ८२ र अल्जाइमर्सका ४६ जना बिरामीले समेत सेवा लिएका छन् ।

Share News