नेपाल लाइफको नाफा साढे ४६ करोड, जीवन बीमा कोष २.७३ खर्ब नाघ्यो
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १५.०२ प्रतिशत घटेर ४६ करोड ५४ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५४ करोड ७६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन १२.१४ प्रतिशत बढेर ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्ष कम्पनीको खुद दाबी भुक्तानी ६२ अर्ब ८४ करोड २७ लाख ३८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५७ अर्ब ३७ करोड ९० लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीले ७४ अर्ब ३३ करोड ६५ लाख ४ हजार रुपैयाँ कुल आम्दानी गरेर ७० अर्ब ७६ करोड ६३ लाख ६९ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६८ अर्ब ३० करोड ८४ लाख ५८ हजार रुपैयाँ कुल आम्दानी गरेर ६४ करोड २६ लाख ३३ हजार ५३ करोड रुपैयाँ कुल खर्च गरेको थियो । ९ अर्ब ४८ करोड २ लाख १ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ, जगेडा कोषमा ७९ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४.९१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२६.०७ रुपैयाँ रहेको छ ।
सर्वोत्तम सिमेन्टको नाफा १.१० अर्ब, प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ
काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब १० करोड ७४ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब २ करोड ८२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७.७० प्रतिशत बढेको हो । अघिल्लो वर्ष ९ अर्ब ५३ करोड ७३ लाख ३३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष १० अर्ब २५ करोड ८५ लाख २७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ७ अर्ब ९३ करोड ५१ लाख ३६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ७ अर्ब ५२ करोड ७७ लाख ५२ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष २ अर्ब ९५ लाख ८१ हजार रुपैयाँ रहेको कुल नाफा गत वर्ष बढेर २ अर्ब ३२ करोड ३३ लाख ९० हजार रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको अन्य आम्दानी गत वर्ष १७ करोड ६९ लाख ५० हजार रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको अन्य आम्दानी १३ करोड ७६ लाख ७ हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीले २५ करोड ७४ लाख ४२ हजार रुपैयाँ प्रशासनिक खर्च, ६५ करोड ६५ लाख ४७ हजार रुपैयाँ विक्री वितरण खर्च र १ अर्ब १५ करोड ६३ लाख ९५ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले २२ करोड ४२ लाख २७ हजार रुपैयाँ प्रशासनिक खर्च, ३३ करोड ९६ लाख ४५ हजार रुपैयाँ विक्री वितरण खर्च र ८६ करोड १ लाख ६६ हजार रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ८७ करोड ७७ लाख ६४ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.२० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ रहेको छ ।
शिवम् सिमेन्टको नाफा साढे ७८ करोड, ईपीएस १४ रुपैयाँ
काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८२/८३ मा ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ७९ करोड ८१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको आम्दानी घटेका कारण नाफा पनि घटेको देखिन्छ । अघिल्लो वर्ष ७ अर्ब ७६ करोड ६५ लाख ७६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष ६ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँ मात्रै सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ५ अर्ब ३२ करोड ५१ लाख ४६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ६ अर्ब ३ करोड ९८ लाख ३२ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष १ अर्ब ७२ करोड ६७ लाख ४४ हजार रुपैयाँ रहेको कुल नाफा गत वर्ष घटेर १ अर्ब ५९ करोड ७५ लाख ११ हजार रुपैयाँमा झरेको छ । यस्तै, कम्पनीको अन्य आम्दानी गत वर्ष १३ करोड ३२ लाख १३ हजार रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको अन्य आम्दानी १३ करोड ७४ लाख ५६ हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीले २६ करोड ६० लाख ८९ हजार रुपैयाँ प्रशासनिक खर्च, ५३ करोड ११ लाख १५ हजार रुपैयाँ विक्री वितरण खर्च र ८० करोड ८१ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले २६ करोड ७१ लाख ९ हजार रुपैयाँ प्रशासनिक खर्च, ६५ करोड ५३ लाख ५४ हजार रुपैयाँ विक्री वितरण खर्च र ९३ करोड १६ लाख ४० हजार रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ९६ करोड ४३ लाख ३७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.७६ रुपैयाँ रहेको छ ।
एनएमबि लघुवित्तको नाफा ८९८ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा १०.३१ करोड
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा १४ करोड ७४ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा लघुवित्तले १ करोड ४७ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तको नाफा ८९८.४४ प्रतिशत बढेको हो । अघिल्लो वर्ष ४३ करोड ९० लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले गत वर्ष ६४ करोड ३४ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत वर्ष लघुवित्तले ८ करोड १२ लाख ८६ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ७२ करोड ४७ लाख ७४ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १९ करोड १७ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष लघुवित्तको वितरणयोग्य नाफा १० करोड ३१ लाख १९ हजार रुपैयाँ रहेको छ । ७२ करोड १४ लाख १९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा २५ करोड ५ लाख ९३ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २.०५ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २०.४३ रुपैयाँ पुगेको छ । गत वर्ष लघुवत्तले २ अर्ब १० करोड ७ लाख ३० हजार रुपैयाँ निक्षेप तथा ६ अर्ब ९ करोड २६ लाख रुपैयाँ सापटी लिई ८ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष १४.५१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटाएर १३.१० प्रतिशतमा झारेको लघुवित्तले जनाएको छ ।
पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले ललितपुरस्थित निवास छेउबाट पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरी उनलाई नियन्त्रणमा लिएको हो । उनलाई परिसरको हिरासतमा राखि अनुसन्धान अघि बढाइएको छ । उनी जनआस्था डकमका प्रधान सम्पादक पनि हुन् । श्रेष्ठमाथि वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको अभियोग छ । प्रहरीका अनुसार दिपिका सिंहले जनआस्थाको सामाजिक सञ्जाल पेजमा आफ्नो तस्बिर प्रयोग गरी भ्रामक विषयवस्तु फैलाएको भन्दै उजुरी दिएपछि यो कारबाही अगाडि बढाइएको हो । यसैबीच, प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीले पनि पत्रकार श्रेष्ठविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएकी छन्। जनआस्थाको सामाजिक सञ्जाल पेजबाट सुध्रिनुस् म्याडम, अझै समय छ भन्ने आपत्तिजनक थम्बनेल र तस्बिर प्रयोग गरी भ्रामक सामग्री सम्प्रेषण गरिएको भन्दै उनले काउन्सिलमा छानबिनको माग गरेकी हुन् । उक्त सामग्रीले आफ्नो पद, प्रतिष्ठा, चरित्र र सामाजिक मर्यादामा गम्भीर क्षति पुर्याएको उल्लेख गर्दै उपसभामुखले पत्रकारिता आचारसंहिता र प्रचलित कानुन बमोजिम कडा कारबाहीको माग गरेकी छन् ।
नाइमा एक्स्पोमा राखिएका ७ महँगा कार
काठमाडौं । काठमाडौंको भृकुटीमण्डप यतिबेला अटोप्रेमीहरुले भरिभराउ छ । बुधबार नाइमा मोबिलिटी एक्स्पोको दोस्रो दिन पनि अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ । नाइमाका अनुसार २ दिनमै ५५ हजारले एक्स्पोको अवलोकन गरेका छन् । ५५ भन्दा बढी ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनहरू एउटै छानोमुनि सजिएका छन् । नाइमा एक्स्पोमा करिब १९ लाखदेखि झण्डै ३ करोडसम्म पर्ने महँगा र सस्ता कारहरू प्रदर्शनीमा राखिएका छन् । विभिन्न अटो कम्पनीहरुले उक्त कारहरु प्रदर्शनमा राखेका हुन् । डेन्जा बी फाइभ नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नाइमा एक्स्पोमा डेन्जा बी फाइभ राखेको छ । जुन नाइमा एक्स्पोमै महँगो कारका रुपमा रहेको छ । कम्पनीले प्रिमियम लग्जरी एसयूभी डेन्जा बी फाइभको मूल्य २ करोड ९७ लाख रुपैयाँ तोकेको छ । डेन्जा बी फाइभ दुई भेरियन्टमा उपलब्ध छ । यसको डाइनामिक भेरियन्टको लम्बाइ ४८८८ एमएम र प्रिमियम भेरियन्टको लम्बाइ ४९२१ एमएम छ । दुवै भेरियन्टको चौडाइ भने समान १९७० एमएम छ । यसमा २८०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । ह्वील साइज पनि फरक छ । डाइनामिक भेरियन्टमा १८ इन्चको ह्वील छ । माथिल्लो प्रिमियम भेरियन्टमा २० इन्चको ह्वील पाउन सकिन्छ । डेन्जा बी फाइभ मोडलमा १४९७ सीसी क्षमताको टर्बो इन्जिन दिइएको छ । यक्त इन्जिनको अधिकतम १८१ एचपी पावर प्रदान गर्छ । इन्जिनको पीकटर्क भने २६० न्युटन मिटर रहेको छ । यसमा ईएचएस इलेक्ट्रीक हाइब्रिड सिस्टम उपलब्ध छ । उक्त सिस्टमसँग ३१.८ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । यसमा ८३ लिटर क्षमको इन्धन ट्याङ्की छ । फुल ट्याङकी इन्धन र फुल चार्ज ब्याट्री छ भने ८५० किलोमिटर चलाउन सकिने डब्लूएलटीपी टेस्टमा देखिएको छ । ईभी मोडमा मात्रै ९० किलोमिटर हाराहारी चलाउन सकिन्छ । विद्युतीय मोटर निकै पावरफुल प्रयोग भएको छ । अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुने बी फाइभ एसयूभीको अगाडि २०० किलोवाट र पछाडि २२५ किलोवाटको मोटर दिइएको छ । इन्जिन र मोटरको संयुक्त पावर ४२५ किलोवाट हुनेछ । निकै पावरफुल मोटर भएको कारण यसलाई शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन केबल ४.८ सेकेण्ड मात्रै लाग्नेछ । यसको टप स्पीड क्षमता प्रतिघण्टा २१० किमी छ । डेन्जा बी फाइभले १०० किलोवाटको डीसी र ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ । यो नाइमा एक्स्पोकै महँगो गाडी हो । एमजी मेजेस्टर इन्डिया मेड एमजीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइलले पनि नाइमा एक्स्पोमा एमजी मेजेस्टर सार्वजनिक गरेको हो । कम्पनीले मेजेस्टर एसयूभीको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकेको छ । एमजी मेजेस्टर एसयूभीमा निकै शक्तिशाली इन्जिन छ । यसले गत मार्चमा ४०६.४ टन तौल भएको रेल तानेर गिनिज वल्र्ड रेकर्ड समेत बनाएको थियो । एमजी मेजेस्टरमा २.० लिटरको ट्विन टर्बोचाज्र्ड डिजेल इन्जिन छ । उक्त इन्जिनले २१५.५ पीएस पावर तथा ४७८.५ न्युटन टर्क उत्पादन गर्छ । यसमा ८ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ । मेजेस्टर एसयूभी रियर ह्वील र फोर ह्वील दुवै ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । यसको लम्बाइ ५,०४६ एमएम, चौडाइ २,०१६ एमएम, चौडाइ १८७६ एमएम र २९५० एमएम लामो ह्वीलबेस छ । यसको अगाडि विशाल ठूलो ग्लसी ब्ल्याक कलरको ग्रिल प्रयोग गरिएको छ । पछाडि दिइएको दुई वटा ‘एग्जस्ट पाइप’ले गाडीलाई थप स्पोर्टी बनाएको छ । एमजीको म्याक्सस डी ९० मा आधारित म्याजेस्टरले ठूला गाडी चाहनेहरूको आवश्यकता पूरा गर्नेछ । मेजेस्टरको ग्रिलको दुवै छेउमा ठाडो आकारमा दिइएको एलईडी हेडलाइट छ । हेडलाइटको माथि आइब्रो डिजाइनमा स्लीक एलईडी डे टाइम रनिङ लाइट दिइएको छ । अगाडिको बम्परको तल्लो भागमा रग्ड देखिने कालो बडी क्लाडिङ पाउन सकिन्छ । एमजीले यसमा १९ इन्चको ड्यूल टोन ह्वील दिएको छ । पछाडि कनेक्टेड एलईडी टेल लाइट दिएको छ ।पछाडि बम्परको तल्लो भागमा सिल्भर कलरको स्कीड प्लेट दिएको छ । एमजी मेजेस्टर जस्तोसुकै अफरोडमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेगरी आएको छ । यसमा १० वटा अफरोड मोडहरू सहितको फोर ह्वील ड्राइभ सिस्टम, ट्रिपल डिफरेंशियल लक (अगाडि, पछाडि र बीच), क्रल कन्ट्रोल र २१९ एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ । यसलाई ८१० एमएम गहिरो पानीमा पनि चलाउन सकिन्छ । सुरक्षाका लागि मेजेस्टरमा लेभल २ एडास दिइएको छ । यसको क्याबिन पनि निकै फिचर लोडेड छ । कम्पनीले यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ टच स्क्रीन, १२.३ इन्चकै इन्फर्मेशन डिस्प्ले र थ्री स्पोक स्टेरिङ ह्वील दिएको छ । थ्री जोन क्लाइमेट कन्ट्रोल, १२ स्पीकर सहितको साउण्ड सिस्टम, हिटेड तथा भ्यान्टिलेटेड सिटहरू, मसाज सिटले यात्रुको लागि यो उत्कृष्ट मोडल बनाएको छ । आयोनिक नाइन हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पनि नाइमा एक्स्पोमा आयोनिक नाइन बिक्री सुरु गरेको हो । कम्पनीले लक्जरी एसयूभी आयोनिक नाइनको मूल्य २ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकेको छ । ७ सिट क्षमताको यो एसयूभी लामो ड्राइभिङ रेन्ज, अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा फिचर तथा तीव्र चार्जिङ क्षमताका कारण विश्व बजारमा चर्चित छ । आयोनिक नाइनलाई कम्पनीले आफ्नो ई जीएमपीमा आधारित रहेर बनाएको हो । ८०० भोल्ट विद्युतीय आर्किटेक्चर प्रयोग भएको एसयूभीले उच्च कार्यक्षमता, उत्कृष्ट स्थिरता, राम्रो तौल सन्तुलन कायम गर्छ । १६० किलोवाटको इलेक्ट्रीक मोटर रहेको यो एसयूभीमा ११० किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ । यसले एक पटकको फुलचार्जमा ६२० किलोमिटरसम्म रेन्ज डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसलाई ३५० किलोवाट क्षमताको डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई करिब १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २४ मिनेट मात्रै लाग्ने कम्पनीको दाबी छ । विभिन्न भेरियन्टमा उपलब्ध यो एसयूभीमा रियर ह्वील ड्राइभ सिस्टम पाउन सकिन्छ । विकल्पमा डुअल मोटर भएको अल ह्वील ड्राइभ सिस्टम पनि छ । तीव्र एक्सेलेरेसन, उच्च टर्क र सहज पावर डेलिभरीले यसलाई प्रिमियम इलेक्ट्रिक एसयूभी बनाएको छ । डिजाइनका हिसाबले पनि आयोनिक नाइनले हुन्डाईको नयाँ एरो एस्थेटिक डिजाइन दर्शनलाई पछ्याएको छ । एरोडाइनामिक बडी, पिक्सेल शैलीका एलईडी लाइट, क्लोजअफ ग्रिल पाउन सकिन्छ । इन्टेरियरमा डुअल प्यानोरामिक डिस्प्ले, डिजिटल ककपिट, प्रिमियम सामग्री, आरामदायी सिट, मल्टि जोन क्लाइमेट कन्ट्रोल, ओटीए सफ्टवेयर अपडेट, डिजिटल की, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, ३६० डिग्री क्यामेरा पाउन सकिन्छ । हाइलक्स र र्याभ फोर नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले दुईवटा मोडल नाइमा एक्स्पोमै लन्च गरेको छ । जसमा हाइलक्स र र्याभ फोर हाइब्रिड ईभी लन्च गरेको छ । हाइलक्सको मूल्य १ करोड ५५ लाख रुपैयाँ तथा र्याभ फोर हाइब्रिडको २ करोड १३ लाख रुपैयाँ तोकिएको छ । बलियो निर्माण, अफरोड क्षमता र व्यावसायिक तथा व्यक्तिगत प्रयोगका लागि लोकप्रिय हाइलक्सको नयाँ संस्करणमा डिजाइन, प्रविधि र सुविधामा अपडेट गरिएको छ । नयाँ र्याभ फोर मोडलमा २.५ लिटर फोर सिलिण्डर इन्जिन रहेको छ । सेल्फ चार्जिङ हाइब्रिड नामबाट आउने र्याभ फोरको इन्जिन र इलेक्ट्रीक मोटरको संयुक्त पावर २४० पीएस छ, जुन अहिले बजारमा रहेको र्याभ फोरको तुलनमा १८ पीएसले बढी हो । सेल्फ चार्जिङ मोडलमा ब्याट्री भने १.५ किलोवाट आवर उपलब्ध हुनेछ । एचएस पीएचईभी एमजी (चीन)को आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले पनि नाइमा एक्स्पोमा एमजी एचएस पीएचईभी बिक्री सुरू गरेको हो । कम्पनीले एचएस प्लगइन हाइब्रिडको मूल्य १ करोड २० लाख रुपैयाँ तोकेको छ । पर्फमेन्स, विद्युतीय रेन्ज, व्यावहारिकता र मूल्यका कारण यो एसयूभी विश्व बजारमा निकै सफल छ । एमजी एचएस एसयूभीमा १.५ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनसँगै १३५ किलोवाटको इलेक्ट्रीक मोटर जोडिएको छ । दुवैको संयुक्त रूपमा २९५ बीएचपी रहने छ । पावरफुल इन्जिन भएको कारण एचएस हाइब्रिड एसयूभीले ० देखि १०० किलोमिटरको स्पीड केबल ६.१ सेकेण्डमै भेट्टाउने छ । ब्याट्री र इलेक्ट्रीक मोटर प्रयोग भएको कारण चलाउन पनि निकै सहज लाग्छ । एमजी एचएस प्लगइन हाइब्रिड एसयूभीको सबैभन्दा ठूलो आकर्षण यसको विद्युतीय रेन्ज हो । कम्पनीले यसको आधिकारिक इलेक्ट्रीक रेन्ज १२० किलोमिटर दाबी गरेको छ । विभिन्न परीक्षणमा ११० किलोमिटर माथि प्योर ईभी रेन्ज पाइएको छ । रोचक कुरा के छ भने एमजी एचएस हाइब्रिड मोडलले प्रति किलोमिटर कार्बन उत्सर्जन केबल १२ ग्राम मात्रै गर्छ । औसत पेट्रोल कारले १०० किलोमिटरको यात्रा गर्दा १७ केजी कार्बन उत्सर्जन गर्छ । एमजी एचएसको अर्को बलियो पक्ष यसको फराकिलो इन्टेरियर हो । यसको ५०७ लिटर क्षमताको बुट स्पेस सेग्मेन्टकै ठूलो मानिन्छ । ड्यासबोर्डमा दुईवटा १२.३ इन्चका स्क्रीन दिइएको छ । यसमा १९ इन्चको एलोय ह्वील, हिटेड लेदरेट सिट, ३६० डिग्री क्यामेरा र किलेस इन्ट्रीजस्ता सुविधा उपलब्ध छन् । साथै, भेन्टिलेटेड फ्रन्ट सिट, हेडअप डिस्प्ले र वायरलेस स्मार्टफोन चार्जिङ सुविधा छ । कम्पनीले यसको मोटरमा ५ वर्ष वा १ लाख किलोमिटर र ब्याट्रीमा ८ वर्ष वा डेढ लाख किलोमिटर (जुन पहिला आउँछ) वारेन्टी दिएको छ । बीजे३० चिनियाँ अटोमोबाइल ब्राण्ड बीएआईसी (बेइक)को हाइब्रिड एसयूभी बीजे३० सार्वजनिक भएको छ । यो गाडी लक्ष्मी मोटरले नाइमा एक्स्पोमा सार्वजनिक गरेको हो । अफ-रोड डिजाइन र आधुनिक विद्युतीय प्रविधिको संयोजनको बीजे३०ईको मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । नेपालमा बीएआइसी ब्राण्डको प्रवेशसँगै कम्पनीले हाइब्रिड प्रविधिसहितको एसयूभी बजारमा उतारेको हो । बीजे३०ई यसको हाइब्रिड पावरट्रेनले पेट्रोल इन्जिनसँग विद्युतीय मोटरको संयोजनमार्फत सञ्चालन गर्छ । यसले परम्परागत पेट्रोल एसयूभीको तुलनामा इन्धन खपत कम गर्ने तथा ड्राइभिङमा थप सहजता दिने लक्ष्य राख्छ । आकर्षक बक्सी डिजाइन, एलईडी लाइटिङ, ठूलो ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक सनरूफ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो इन्फोटेन्मेन्ट स्क्रिन तथा एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) जस्ता फिचरले यसलाई प्रिमियम सेग्मेन्टमा प्रतिस्पर्धी बनाउने कम्पनीको विश्वास छ ।
काठमाडौंमै पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने, दिल्ली धाउनुपर्ने सास्ती हट्ने
काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले उक्त निर्णयको स्वागत गर्दै नेपाल तथा पोर्चुगल सरकारप्रति खुसी व्यक्त गरेको छ । नेपाल सरकारको मंगबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको थियो । निकट भविष्यमा नै कार्यालय सञ्चालनमा आउने अपेक्षा गरिएको एनआरएनए पोर्चुगलले जनाएको छ । एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले जारी गरेको विज्ञप्तिमा काठमाडौंमै पोर्चुगलको कन्सुलर कार्यालय सञ्चालनमा आएपछि पोर्चुगलमा रहेका नेपालीलाई विभिन्न कन्सुलर सेवा लिन सहज हुने उल्लेख गरिएको छ । विशेषगरी पारिवारिक पुनर्मिलन, भिसा तथा अन्य कन्सुलर सेवाका लागि हाल भारतको नयाँ दिल्लीसम्म पुग्नुपर्ने बाध्यता कम हुने संघको विश्वास छ । नयाँ सरकार गठन भएपछि काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापनाका लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहल अघि बढाइएको थियो । सोही क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका राज्य तथा विदेश मामिलामन्त्री पाउलो राङ्गेलसँग टेलिफोन संवाद गरी कन्सुलर कार्यालय स्थापनालगायतका विषयमा कुराकानी गरेका थिए । नेपाल सरकारको अनुरोध तथा त्यसपछिका कूटनीतिक पहलपछि पोर्चुगल सरकारले काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । एनआरएनए पोर्चुगलले यसलाई पोर्चुगलमा रहेका नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । नेपाल र पोर्चुगलबीच १ सेप्टेम्बर १९७६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । लामो समयसम्म नेपालले पोर्चुगलमा आवासीय दूतावास स्थापना नगरेका कारण पोर्चुगलसम्बन्धी नेपाली कूटनीतिक जिम्मेवारी पेरिसस्थित नेपाली दूतावासले सम्हाल्दै आएको थियो । नेपाल सरकारले सन् २०२५ मार्चमा लिस्बनमा आवासीय नेपाली राजदूतावास स्थापना गरेको थियो । लिस्बनमा स्थापना भएको नेपाली दूतावासका पहिलो आवासीय राजदूत प्रकाशमणि पौडेल हुन् । दूतावासको औपचारिक उद्घाटन भने २० फेब्रुअरी २०२६ मा परराष्ट्र सचिव अमृतबहादुर रायको पोर्चुगल भ्रमणका क्रममा गरिएको थियो । यससँगै नेपाल-पोर्चुगल सम्बन्ध थप संस्थागत र प्रत्यक्ष बनेको एनआरएनए पोर्चुगलको भनाइ छ । पोर्चुगलमा नेपालीको यकिन तथ्यांक नभए पनि ६० हजारभन्दा बढी नेपाली रहेको अनुमान नेपाली दूतावासले गरेको छ । ठूलो संख्यामा नेपाली समुदाय रहेको पोर्चुगलका लागि काठमाडौंमै पोर्चुगलको कन्सुलर सेवा सुरु हुनु महत्वपूर्ण कदम भएको एनआरएनए पोर्चुगलले जनाएको छ । काठमाडौंमा कन्सुलर कार्यालय सञ्चालनमा आएपछि पोर्चुगलमा रहेका नेपालीले सेवा लिन भारतको नयाँ दिल्लीसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुने तथा समय र आर्थिक खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ ।
२ दिनमै ५५ हजारले गरे नाइमा एक्स्पोमा अवलोकन
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको जनाएको छ । आयोजक नाइमाका अनुसार २ दिनमै ५५ हजारले एक्स्पोको अवकोलन गरेका छन् । एक्स्पोमा सहभागी कम्पनीहरुरूका अनुसार महँगा र सस्ता कार तथा मोटरसाइकलमा अवलोकनकर्ताको समान रुचि देखिएको नाइमाले जनाएको छ । काठमाडौंको डिल्लीबजारबाट मेला अवलोकन गर्न आएका दिनेश महर्जनले नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारका कार बुक गर्ने महत्त्वपूर्ण अवसर भएको बताए । ‘म नाइमा एक्स्पोकै अवसर पारेर कार किन्ने सोचमा थिएँ,’ उनले भने, ‘धेरै ब्रान्डका आकर्षक मूल्य र फिचरसहितका गाडी देख्दा छनोट गर्न निकै सकस परिरहेको छ । बिहान साढे ११ बजेदेखि अहिलेसम्ममा १८–२० वटा गाडीको बारेमा बुझिसकेँ होला ।’ अवलोकनकर्ताहरुले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिसलगायत विषयमा चासो राखेका छन् । कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरुले मूल्यमा छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् । आज दोस्रो दिन पनि विभिन्न ब्रान्डका चार नयाँ मोडल सार्वजनिक भएका छन् । पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए । त्यस्तै, आज २६ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । उद्घाटनको दिन हिजो २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका थिए । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो ६ दिन अर्थात् साउन ३१ सम्म चल्नेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन्। एक्सपोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् । मेलाको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने रेडबुल पावर्डबाईका रुपमा रहेको छ । त्यस्तै, बैंकिङ पार्टनरका रुपमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । मेलाको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । त्यसैगरी, टेक्नोलोजी पार्टनरमा बोस, एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड, राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका छन् । नाइमा मोबिलिटी एक्स्पोको को–टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन् ।