लालीबजार महिलाले छोरीका लागि गाउँ, समाज र समुदायसँगै राज्यसँग गर्ने सङ्घर्षको कथा हो : अभिनेत्री खड्का
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय चरित्र बाच्ने अभिनेत्रीको रुपमा परिचित छिन् । ‘होस्टेल रिटन्स’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गरेकी अभिनेत्री खड्कालाई चर्चित गीत ‘कुटुमा कुटु’ ले आम दर्शकमाझ परिचित गरायो । उनलाई ‘कुटुमा कुटु गर्ल’ भनेर उपनाम समेत दिइयो । सुन्दरीका रूपमा मात्र नभई गम्भीर र चरित्रप्रधान भूमिकामा पनि स्थापित गर्न सफल अभिनेत्री खड्कालाई ‘बुलबुल’ को ट्याम्पो चालक र ‘चिसो मान्छे’ मा सुदूरपश्चिमको लवजसहितको सशक्त भूमिकाले मात्र बाच्ने अभिनेत्रीको रुपमा स्थापित गर्यो । यिनै अभिनेत्री खड्काले अभिनय गरेको चलचित्र ‘लालीबजार’ पछिल्लो समय चर्चामा छ । आजदेखि प्रदर्शन हुने उक्त चलचित्रमा अभिनेत्री खड्काले आमाको भूमिका निर्वाह गरेकी छन् । हिजो साँझ कलाकार, चलचित्र निर्माता र सञ्चारकर्मीहरुको उपस्थितिमा राजधानीमा यस चलचित्रको प्रिमियम–शो भएको थियो । उक्त चलचित्रमा अभिनेत्री खड्काले वादी समुदायको महिलाको भूमिका निर्वाह गरेकी छन् । उक्त चलचित्रको सार्वजनिक पहिलो पोस्टरमै अभिनेत्री खड्काको चर्चा भएको थियो । गर्भवती महिला ढोकामा शृङ्गार गरेर उभिरहेको पोस्टरमार्फत अभिनेत्री खड्काले चर्चा बटुलेकी थिइन् । प्रस्तुत छ, उनै अभिनेत्री खड्कासँग उनको कला यात्राका बारेमा गरेको कुराकानीको सम्पादित अंश : अभिनयप्रतिको लगाव कसरी भयो ? सायद टेलिभिजन हुनसक्छ । म सानी छँदा टेलिभिजनमा धेरै शृङ्खला आउथ्यो, हामी सबै परिवार बसेर टिभी हेथ्र्यों । त्यतिबेलादेखि हामी टेलिभिजनमा देखिएजस्तै अभिनय गर्ने गथ्र्यौं । त्यसैले मलाई कलाकारितामा आकर्षित गरेको हुनसक्छ । चलचित्रमार्फत अभिनय यात्रा कसरी सुरुआत भयो ? म अध्ययन नै गरिरहेकी थिएँ । सोही क्रममा म सौन्दर्य प्रतियोगिता ‘मिस टिन’ मा सहभागी भएँ । त्यसपछि म ‘मोडलिङ’ गर्दै थिएँ, केही ‘म्युजिक भिडिओ’ मा समेत अभिनय गरेँ । तर, त्यो विस्तारै भइरहेको थियो । सोही क्रममा निर्माता सुनिल रावलले मलाई चलचित्रमा अभिनय गर्न प्रस्ताव गर्नुभयो । मैले अभिनय गर्ने मनसाय बनाएको थिइन्, तर एक पटक भेटेर कुरा गर्ने भन्ने भयो । भेटघाटका क्रममा चलचित्रको कार्यशाला भइरहेको थियो । त्यो माहोलले मलाई चलचित्रमा अभिनय गर्न प्रेरित गर्यो तर त्यो अर्कै चलचित्रको लागि थियो, पछि मेरो सहकार्य सोही समूहसँग ‘होस्टल रिटन्स’मार्फत भयो । ‘कुटुमा कुटु’ गीतमा कसरी नृत्य गर्ने अवसर जुर्यो ? मैले विस्तारै अभिनय यात्रा प्रारम्भ गरेकी थिएँ । मेरो विवाह निर्देशक निश्चल बस्नेतसँग भइसकेको थियो । ‘कुटुमा कुटु’ गीत रहेको चलचित्र ‘दुई रुपैयाँ’ मा मेरो श्रीमान् निश्चल पनि निर्माण र अभिनयमा सहभागी हुनुहुन्थ्यो । उक्त समयमा एउटा गीतमा अतिथि भूमिका गर्नुपर्ने भएकाले मलाई नै प्रस्ताव गरिएको थियो । त्यो समयमा विस्तारै लोक गीतसङ्गीत चलचित्रमा प्रयोग हुन् थालेको थियो । चलचित्रको दृश्य सकिएपछि हामीले इटहरीमा उक्त गीतको छायाङ्कन गरेका थियौँ । केही पारिवारिक कारणले पनि उक्त गीतको छायाङ्कनको समयमा धेरै कठिनाइ भएको थियो । तर, त्यो गीतले मलाई बृहत् रुपमा चिनाउन मद्दत गर्यो । चलचित्र ‘बुलबुल’ ले तपाइँको अभिनय क्षमतालाई प्रस्ट्यायो, त्यो चलचित्र गर्ने निर्णय कसरी लिनुभयो ? मलाई मेरो श्रीमान् बस्नेतमार्फत नै ‘बुलबुल’ को प्रस्ताव आएको थियो किनकि त्यो चलचित्रका लेखक तथा निर्देशक मेरो श्रीमान्सँग चलचित्रसम्बन्धी अध्यन गर्नुभएको थियो । मलाई त्यो पटकथा पढ्नेले तिमीलाई सुहाउँदैन होला की भन्ने गर्थे । त्यही कारण नै मैले त्यो चलचित्र गरे । त्यस अगाडि मैले गरेका कामको आधारमा मैले यो सक्छु, यो सक्दिन वा यो मात्र गर्नुपर्छ भन्ने मानसिकता बनाउनु सही होइन । त्यसलाई मैले एउटा ‘च्यालेञ्ज’ को रुपमा लिएँ । म भन्दा त्यो पात्र भिन्न थियो । त्यसकारण पनि मैले यसलाई निर्वाह गर्न मेहनत गरेँ । ‘बुलबुल’ को पात्रले तपाइँलाई के दियो ? म बिहान टेम्पो चलाउन सिकेर दिउँसो चलचित्रको कार्यशालामा सहभागी पात्रलाई तयार गरेकी हुँ । त्यो पात्रले मलाई भिन्न जीवन र जीवनशैलीसँग परिचित गरायो । त्यो मेरा लागि नयाँ अनुभूति थियो । तपाइँले अभिनय गर्नुभएको ‘चिसो मान्छे’ पनि पोस्टरकै कारण चर्चामा आएको थियो । त्यो पात्र निर्माण कसरी भएको थियो नि ? ‘बुलबुल’ चलचित्रपछि मलाई निकै चर्चामा ल्याएको पात्रलाई मैले ‘चिसो मान्छे’ चलचित्रमा निर्वाह गरेकी थिएँ । त्यो चलचित्रका लागि मैले सुदूरपश्चिममा बोल्ने भाषा नै सिकेकी थिएँ । म अहिले त्यताको भेगको मान्छे भेट्दा यो ठाउँको हुनहुन्छ भनेर म चिन्न सक्छु । त्यो पात्रले पनि मलाई भिन्न छाप छाडेको छ । यसलाई मैले मनदेखि नै ‘इञ्जोय’ गरेकी थिएँ । त्यो पात्रले मलाई केही सिकाएको छ । चलचित्र निर्मात्री बन्न के कुराले प्रेरित गर्यो ? मलाई चलचित्र बनाउँछु भन्ने लागेको थिएन् । म निर्मात्रीभन्दा पनि निर्देशनमा सोच बनाएकी थिएँ । म तत्कालै नभई भविष्यमा निर्देशन गर्छु भन्ने सोच बनाएकी थिएँ तर मलाई एउटा पटकथा आयो, त्यो केवल अभिनयको लागि थियो । त्यतिबेला त्यसको नाम ‘बेहुली फ्रम मेघौली’ थिएन तर मलाई पटकथाले तान्यो । मैले पटकथा पढेको देखेर मेरो श्रीमान्ले पनि चासो लिनुभयो । त्यसपछि हामीले नै चलचित्र निर्माणमा सघाउने प्रस्ताव राखेका थियौँ । कहिलेकाहीँ निर्देशक र पटकथा राम्रो हुँदा हुँदै पनि सही तरिकाले बजारसम्म पुग्दैन । त्यसैले हामी निर्माणमा जोडिएका हौँ । एउटा राम्रो कथालाई सही तरिकाले दर्शकसम्म पुर्याएको आभाष भएको छ । अभिनय गर्न थालेको एक दशकपछि ‘लालीबजार’ का लागि ‘अडिसन’ नै दिनुभयो, किन नि ? मैले पहिलो चलचित्रको लागि पनि ‘अडिसन’ दिएको थिइन् । कार्यशालामै कुरा भएर चलचित्रमा अभिनय गरेकी थिएँ तर मलाई कहिले पनि ‘अडिसन’ हो वा ‘लुक टेस्ट’ गर्नु हुँदैन भन्ने लागेन । किनकि जो आफ्नो काममा गम्भीर छ, उसले यस्ता जाँच गरेर नै चलचित्र निर्माण सुरु गर्छ । मलाई ‘लालीबजार’ को नामले नै आकर्षित गरेको थियो । चलचित्रको निर्माण घोषणा हुँदा म आबद्ध थिइन । यसको विषयवस्तु नौलो भएकाले नै मैले पनि ‘लुक टेस्ट’ गरेर मेरो पात्रलाई बुझ्न खोजेकी थिएँ । पहिलो सार्वजनिक पोस्टरले नै पाएको चर्चाले हामीलाई झनै गम्भीर भएर काम गर्नुपर्छ भन्ने दायित्व बोध गरायो । हामी छायाङ्कनस्थलमा पुगेर वादी समुदायका महिलालाई भेटेर, अनुसन्धान गरेर चलचित्रलाई तयार गरेका छौँ । अहिले आफूलाई चाहिने जानकारी डिजिटल माध्यममार्फत लिने प्रचलन छ, तर हामीले वादी समुदायसँग जोडिएका डिजिटल सूचना निकै कम पायौँ । हामी समुदायकै महिलासँग पुगेर बुझ्दा केही रहेका जानकारी पनि भ्रामक रहेको आभाष भयो । सम्भवतः यो चलचित्र आगामी पुस्ताका लागि एउटा ‘डिजिटल दस्ताबेज’ पनि हुनेछ । ‘लालीबजार’ कस्तो खालको चलचित्र हो ? चलचित्रमा आमा र छोरीको कथा देखाइएको छ तर आमा वादी समुदायकी महिला हुन्छिन् । यो एउटी महिलाले आफ्नो छोरीका लागि गाउँ, समाज र समुदायसँगै राज्यसँग गर्ने सङ्घर्षको कथा हो । यसले वादी समुदायमा रहेकी महिलाको बाध्यता, विवशता र सङ्घर्षलाई चित्रण गरेको छ । यो गम्भीर विषयमा बनेको छ तर यसले समुदायलाई चोट पुर्याउने नभई गर्व गर्ने कथा देखाउने छ भन्नेमा विश्वस्त छु । तपाइँको भूमिका कस्तो छ चलचित्रमा ? चलचित्रमा मेरो पात्रको नाम ‘मधुवाला’ हुन्छ । यसलाई मैले बर्दियामै रहनुभएका वादी समुदायको महिलासँग कुराकानी गरेर तयार गरेकी हुँ । साथै, हाम्रो निर्देशक यम थापा त्यहाँकै हुनुहुन्छ, जसले उक्त समुदायलाई बाल्यकालदेखि नै देख्दै र बुझ्दै आउनुभएको छ । निर्देशक थापाको बुझाइ र हाम्रो अनुसन्धानलाई मिश्रण गरेर पात्र तयार गरेका छौँ । मधुवालाले आफ्नो आफ्नो परिवारको जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष नै चलचित्रको कथा हो । अहिले दर्शकले सार्वजनिक श्रव्यदृश्य सामग्रीमार्फत गरिरहनुभएको अनुमानभन्दा चलचित्र भिन्न छ । तपाइँका लागि ‘लालीबजार’ कतिको महत्वपूर्ण छ ? मैले धेरै वर्षपछिसम्म सम्झिने चलचित्र हो, ‘लालीबजार’ किनकि यसमा मैले वादी समुदायको महिलाको भूमिका निर्वाह गरेकी छु । हाम्रो पहिलो सार्वजनिक पोस्टर नै चर्चामा आएको थियो, जहाँ एउटी गर्भवती महिला शृङ्गार गरेर ढोकामा उभिएकी थिइन् । पेटमा रहेको बच्चाका लागि उनले आफूलाई आराम दिन सकेकी छैनन् । त्यहीँबाट यो एउटी आमाको कथा हो भन्ने प्रस्ट भएको थियो । मेरो अभिनय यात्रामा ‘बुलबुल’ र ‘चिसो मान्छे’पछि मलाई चिनाउने चलचित्र ‘लालीबजार’ बन्नेमा विश्वस्त छु । मेरो चर्चा हुँदा यी तीन चलचित्रको चर्चा पनि धेरै वर्षसम्म हुनेछ । रासस
उपसभामुखसँग रिसाए हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया र त्यसमा आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख रुवीकुमारीको संलग्नताप्रति आपत्ति जनाएका छन् । शुक्रबार (आज) एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले सरकारले संसद्लाई छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु र वरिष्ठतालाई मिचेर चौथो नम्बरका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्नु ‘गलत र आपत्तिजनक’ भएको ठहर गरेका हुन् । वरिष्ठताको क्रममा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्ने सरकारको कदमलाई साम्पाङले ‘ठूलो गल्ती’ को संज्ञा दिएका छन् । सहकारी ठगी प्रकरण, भदौ २३–२४ को जेनजी आन्दोलन जस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउन राजनीतिक र कानुनी स्वार्थ राखेर यो नियुक्ति गरिएको विज्ञप्तिमा उल्लेख छ । श्रम संस्कृति पार्टीकै तर्फबाट उपसभामुख बनेकी वीकुमारीले वरिष्ठता मिचेर गरिएको उक्त निर्णयमा हस्ताक्षर गर्नुलाई साम्पाङले ‘खेदपूर्ण’ भनेका छन् । नियुक्ति प्रक्रियाको बैठकमा एमसीसी र एसपीपी जस्ता विवादित विषयहरू ल्याएर दबाब र प्रभाव सिर्जना गरिएको दाबी समेत गरिएको छ । साम्पाङले सुशासन र विधिको शासनको आश्वासन दिएर सत्तामा पुगेको दलले नै विधि मिचेको भन्दै यस्तो प्रवृत्तिको सदासर्वदा विरोध गर्ने पनि बताएका छन् । प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा सिफारिस भएका छन् । संवैधानिक नियुक्तिबारे छलफल गर्न बिहीबार बोलाइएको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको हो । प्रधानन्यायाधीशका न्याय परिषद्ले सिफारिस गरेका ६ जनामा उनी चौथो वरीयतामा थिए । चौथो वरीयतामा भएका व्यक्तिलाई प्रधानन्यायाधीश सिफारिस गरेकाे भन्दै अहिले सरकारकाे आलाेचना भइरहेकाे छ ।
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हान्ताभाइरस प्रकोप अझ फैलिन सक्ने जोखिम रहेको चेतावनी दिएको छ, यद्यपि समयमै कडा स्वास्थ्य सावधानी अपनाइएमा यो प्रकोप सीमित स्तरमै नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ । हालसम्म यस प्रकोपका कारण तीन जनाको मृत्यु भइसकेको छ भने पाँच वटा पुष्टि भएका र तीन वटा शंकास्पद सङ्क्रमणका केसहरू देखिएका छन् । सङ्क्रमित तथा शंकास्पद बिरामीहरूलाई बेलायत, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्याण्ड र दक्षिण अफ्रिकामा उपचार वा आइसोलेसनमा राखिएको छ । यो सङ्क्रमण एमभी होन्डियस नामक क्रुज जहाजसँग जोडिएको छ, जसले अर्जेन्टिनाको उसुआइआबाट यात्रा सुरु गरी क्यानरी टापुहरूतर्फ समुद्री यात्रा गरिरहेको थियो । यात्राका क्रममा केही यात्रुहरूमा अचानक गम्भीर लक्षण देखिन थालेपछि स्वास्थ्य अधिकारीहरूले जहाजमा फैलिएको संक्रमणबारे अनुसन्धान सुरु गरेका हुन् । प्रारम्भिक अनुसन्धानअनुसार एक यात्रु अर्जेन्टिनामा जहाज चढ्नु अघि नै संक्रमित भएको हुन सक्ने र पछि जहाजमा अन्य यात्रुहरूमा संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससका अनुसार हान्ताभाइरसको इन्क्युबेशन अवधि छ हप्तासम्म हुन सक्ने भएकाले आगामी दिन वा हप्ताहरूमा थप सङ्क्रमणका केसहरू देखिन सक्ने सम्भावना रहन्छ । उनले यस रोगको विकासक्रमलाई नजिकबाट निगरानी गरिँदैछ र अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको बताए । डब्ल्यूएचओका आपतकालीन प्रतिक्रिया निर्देशक अब्दी रहमान महमुदले यदि सबै देशहरूले समयमै परीक्षण, सङ्क्रमित व्यक्तिहरूको पहिचान, सम्पर्क ट्रेसिङ र आइसोलेसन जस्ता सार्वजनिक स्वास्थ्य उपायहरू प्रभावकारी रूपमा लागू गरे भने यो प्रकोप ठूलो स्तरमा फैलिन नदिई नियन्त्रण गर्न सकिने बताए । उनका अनुसार अहिलेको अवस्था ‘सीमित तर सतर्क रहनुपर्ने’ प्रकृतिको छ । यसबीच अर्जेन्टिनाका स्वास्थ्य अधिकारीहरूले सङ्क्रमणको स्रोत पत्ता लगाउन उसुआइआ क्षेत्रमा मुसा परीक्षण गर्ने तयारी गरेका छन्, किनकि हान्ताभाइरस सामान्यतया संक्रमित मुसाको सम्पर्कबाट फैलिने गर्छ । जहाजमा यात्रा गरेका सबै यात्रु र चालक दलको विस्तृत सम्पर्क ट्रेसिङ पनि भइरहेको छ । जहाज सञ्चालक कम्पनी ओशनवाइड एक्सपेडिसनका अनुसार हाल जहाजमा कुनै पनि लक्षण देखिएका यात्रु छैनन् र जहाज आफ्नो गन्तव्य स्पेनको टेनेरिफतर्फ अघि बढिरहेको छ, जहाँ आइतबार पुग्ने तालिका छ । यात्रुहरूलाई विभिन्न देशमा पठाइएपछि स्थानीय स्वास्थ्य निकायहरूले उनीहरूको स्वास्थ्य निगरानी गरिरहेका छन् । डब्ल्यूएचओले यो प्रकोपलाई नियन्त्रणमा राख्न अन्तर्राष्ट्रिय सहयोग, समयमै परीक्षण र कडा आइसोलेसन उपायहरू अत्यन्त आवश्यक छन्, अन्यथा संक्रमण थप देशहरूमा फैलिन सक्ने जोखिम रहने जनाएको छ । रासस
युद्ध जोखिम बढ्दै : तेल मूल्य उकालो, सेयर बजार ओरालो
काठमाडौं । अमेरिका र इरानबीच हर्मुज जलडमरूमध्य क्षेत्रमा भएको नयाँ सैन्य झडपपछि विश्व बजारमा ठूलो असर परेको छ । शुक्रबार तेलको मूल्य तीव्र रूपमा बढेको छ भने विश्वका प्रमुख सेयर बजारहरू घटेका छन् । यस घटनाले युद्ध अन्त्य गर्ने सम्भावित सम्झौता र महत्त्वपूर्ण समुद्री मार्ग पुनः खोल्ने आशामा धक्का पुगेको छ । पछिल्ला केही हप्तादेखि बजारमा युद्ध चाँडै अन्त्य हुने र कच्चा तेल आपूर्ति सामान्य हुने अपेक्षामा सकारात्मक माहोल थियो, जसले गर्दा तेलको मूल्य पनि केही घटेको थियो । तर बिहीबार अमेरिका र इरानबीच पुनः तनाव चुलिएपछि स्थिति फेरिएको हो । अमेरिकी सेनाले तीन अमेरिकी युद्धपोतमाथि आक्रमण भएको प्रतिक्रियास्वरूप इरानी सैन्य लक्ष्यहरूमा हवाई हमला गरेको बताइएको छ । यो घटनाले एक महिनादेखि कायम रहेको युद्धविराम कमजोर बनाएको छ । इरानको सेनाले भने अमेरिका स्वयंले युद्धविराम उल्लङ्घन गर्दै तेल ट्याङ्कर र अर्को जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ । यसले दुवै देशबीचको तनाव झनै बढाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै भने,'यदि उनीहरूले सम्झौता छिट्टै गरेनन् भने हामी अझ कडा र धेरै हिंसात्मक रूपमा जवाफ दिनेछौं ।' तर पछि उनले वासिङ्टनमा बोल्दै युद्धविराम अझै कायम रहेको दाबी गरे । उनका अनुसार, 'हो, युद्धविराम छ । उनीहरूले आज हामीलाई उक्साए, हामीले कडा जवाफ दियौं ।' यो झडप त्यतिबेला भयो जब ट्रम्प प्रशासनले युद्ध अन्त्य गर्ने सम्झौता नजिक पुगिएको सङ्केत दिएको थियो र हर्मुज जलडमरूमध्य पुनः खोल्ने सम्भावना छलफलमा थियो । यो समुद्री मार्गबाट विश्वको करिब पाँच भागको एक हिस्सा तेल र ग्यास आपूर्ति हुन्छ । यस्तै, अमेरिकी प्रशासनले ‘प्रोजेक्ट फ्रीडम’ नामक कार्यक्रम पुनः सुरु गर्नेबारे विचार गरिरहेको समाचार पनि आएको छ, जसको उद्देश्य वाणिज्य जहाजहरूलाई सुरक्षित मार्ग दिने हो । तर यसले इरानसँग थप तनाव बढाएको छ । तनाव बढेसँगै कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढी बढेको छ । पछिल्ला तीन दिनमा भने तेलको मूल्य करिब १० प्रतिशत घटेको थियो । एशियाली बजारमा पनि गिरावट देखिएको छ । दक्षिण कोरियाको शेयर बजार १ प्रतिशतभन्दा बढी घटेको छ भने टोकियो, हङकङ, सिड्नी, साङ्घाई, सिंगापुर, वेलिङ्टन, ताइपेई, मनिला र जाकार्ता जस्ता प्रमुख बजारहरू पनि ओरालो लागेका छन् । यसै क्रममा अमेरिकी वाल स्ट्रिटमा पनि गिरावट आएको छ । एस एन्ड पी ५०० र नास्डाक सूचकाङ्क रेकर्ड उच्चबाट तल झरेका छन् । विश्लेषकहरूका अनुसार लामो समयको तीव्र वृद्धि पछि यस्तो गिरावट अस्वाभाविक होइन । बजार विश्लेषक क्रिस वेस्टनका अनुसार, 'यो द्वन्द्व समाधानतर्फको बाटो सीधा हुँदैन भन्ने कुरा फेरि स्पष्ट भएको छ । लगानीकर्ताहरूले परिस्थिति फेरि मूल्यांकन गर्न थालेका छन् ।' यसैबीच, ब्रिटिस मुद्रा पाउन्ड पनि अमेरिकी डलरको तुलनामा कमजोर भएको छ । युकेमा भइरहेका स्थानीय चुनावका कारण पनि लगानीकर्तामा अनिश्चितता बढेको छ । जापानमा भने सरकारले हालै यन (जापानी मुद्रा) स्थिर गर्न करिब ६४ अर्ब अमेरिकी डलर बराबरको हस्तक्षेप गरेको समाचार आएको छ । यन केही समयका लागि कमजोर भएर फेरि केही सुधार देखिएको छ । अर्कोतर्फ, लगानीकर्ताहरू अब अमेरिका रोजगारी सम्बन्धी नयाँ तथ्याङ्कको प्रतिक्षामा छन्, जसले युद्ध र बढ्दो मूल्य वृद्धिको असर अर्थतन्त्रमा कस्तो परेको छ भन्ने सङ्केत दिने अपेक्षा गरिएको छ । रासस
छहारी र ओमकार ब्रान्डको तेल उत्पादक विजय श्रेष्ठ पक्राउ
काठमाडौं । सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठ छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक हुन् । सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ गरी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ओमकार आयल इन्डस्ट्रिज ललितपुरको गोदावरी नगरपालिका वडा नं. ५ लेलेमाबाट सञ्चालक श्रेष्ठसँगै ९०५ कार्टुन तेलसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।
‘नेपाली सर्भेयर विस्थापित हुने खतरा छ’
नेपाल बीमा प्राधिकरणले ‘बीमा सर्भेयरसम्बन्धी निर्देशन, २०८२’ मार्फत विदेशी सर्भेयरलाई ८० प्रतिशतसम्म वैदेशिक लगानी गर्न पाउने व्यवस्था गरेपछि स्वदेशी सर्भेयरहरूले विरोध जनाएका छन । यसले नेपाली सर्भेयर विस्थापित हुने भन्दै उनीहरूले पुनर्विचारको माग गरेका छन् । यसै सन्दर्भ र सर्भेयर व्यवसायका चुनौतीबारे बीमा सर्भेयर संघका अध्यक्ष ऋषि कोइरालासँग विकासन्युजका लागि बबिता तामाङले कुराकानी गरेकी छन् । बीमा सर्भेयर संस्थामा विदेशी लगानीको सीमा ८० प्रतिशत पुर्याउने प्राधिकरणको नयाँ व्यवस्थाले नेपाली सर्भेयर वा संस्थाहरूमा कस्तो प्रभाव पार्ला ? प्राधिकरणले हालै जारी गरेको सर्भेयरसम्बन्धी निर्देशिकाका धेरै बुँदामा हाम्रो असहमति छ । विशेषगरी विदेशी सर्भेयरलाई नेपालमा लाइसेन्स प्रदान गर्ने तथा कम्पनी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । त्यति मात्र होइन, नेपालमा दर्ता भएका विदेशी सर्भेयर संस्थालाई ८० प्रतिशतसम्म लगानी गर्न दिने प्रावधानसमेत राखिएको छ, जुन विश्वमै विरलै पाइने व्यवस्था जस्तो लागेको छ । हामी नेपाली सर्भेयरलाई प्रवर्द्धन गर्दै उनीहरूसँग सहकार्य गर्नु उपयुक्त मान्छौं । विदेशी सर्भेयरसँग आवश्यक सहकार्य गरेर अघि बढ्नुलाई पनि सकारात्मक रूपमा लिन सकिन्छ । तर विदेशी सर्भेयरलाई लाइसेन्स दिएर संस्था खोल्न लगाउने र ८० प्रतिशतसम्म लगानी गर्न दिने व्यवस्था भने नेपाली सर्भेयरलाई विस्थापित गर्ने प्रयासजस्तो देखिएको छ । यसप्रति हाम्रो गम्भीर आपत्ति छ । नेपालमा पछिल्लो समय बीमा बजार विस्तार हुँदै गएको छ । बीमा कम्पनीहरूले नागरिकलाई बीमाप्रति सचेत र आकर्षित बनाउन विभिन्न अभियान सञ्चालन गरिरहेका छन् । यस्तो अवस्थामा नियामक निकायले पनि त्यसलाई थप प्रोत्साहन गर्ने नीति लिनु आवश्यक हुन्छ । हिजोको तुलनामा आज नेपाली सर्भेयरहरू धेरै सक्षम बन्दै गएका छन् । विगतमा सीमित ज्ञान र अनुभवका आधारमा काम गरेका सर्भेयरहरूले अहिले आफ्नो दक्षता र विज्ञता प्रमाणित गर्न सक्ने अवस्थामा पुगेका छन् । यस्तो बेला नेपाली सर्भेयरलाई थप तालिम, क्षमता अभिवृद्धि र प्रवद्र्धन गर्नुपर्नेमा स्पष्ट मापदण्डबिनै विदेशी सर्भेयरलाई कहीँ काम गरेको आधारमा ८० प्रतिशत लगानी गर्न दिनु उचित होइन । यदि विदेशी सर्भेयरले नेपालमा बढी प्राथामिकता पाउने हो भने यहाँ वर्षौं काम गरेका सर्भेयरको रोजीरोटी खोसिन सक्छ । समस्या त्यहाँ छ । अहिलको निर्देशिकाले हामीलाई दुखित तुल्याएको छ । सर्भेयरसम्बन्धी निर्देशिकाका कुन-कुन बुँदामा असहमति हाे ? निर्देशिकामा सर्भेयर फीको बारमा स्पष्ट खुलाइएको छैन । हामीले वर्षौंदेखि उठाउँदै आएको विषय भनेको सर्भेयरले काम गरिसकेपछि त्यहीअनुसारको पारिश्रमिक पाउनुपर्छ भन्ने हो । २०औं वर्ष भइसक्यो, सर्भेयर फी बढ्न सकेको छैन । निर्देशिकाले सर्भेयरको पारिश्रमिक सर्भेयरले प्रतिवेदन बुझाएको ३५ दिनभित्र निजको बैंक खातामा जम्मा गर्नुपर्ने भनिएको छ । तर हामीले महिनौंसम्म पारिश्रमिक पाउँदैनौं । पारिश्रमिक पाउन वर्षौं लाग्छ। घटना घटिसकेपछि सेटल नहुञ्जेलसम्म हामीले सर्भेयर फी पाउँदैनौँ । सेटल हुन समय लाग्छ । बीमित र बीमकको भुक्तानी सेटल भइसकेपछि मात्रै हामीले पारिश्रामिक पाउँछौं । प्राधिकरणले बीमा सर्भेयर गर्न चाहने व्यक्ति वा संस्थालाई सर्भेयरको लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ । तर बजारमा नयाँ सर्भेयर पाइरहेका छैनन् । किनभने उनीहरूले तालिम लिएका छन् तर परीक्षा दिन पाइरहेका छैनन् । सर्भेयर पेशालाई जोगाउने दायित्व उनीहरूको पनि हो । एउटा पुस्ता गइसकेपछि अर्को पुस्ता आउनुपर्यो भन्ने हाम्रो धारणा हो । प्राधिकरणले सर्भेयर पेशा गर्न लाइसेन्स लिनेदेखि तालिम, परीक्षा लिनुपर्ने व्यवस्था निर्देशिकामार्फत गरेका छ । नियमालीले बीमाा सर्भेयर भई काम गर्न ३६ घण्टाको आधारभूत तालिम लिनुपर्ने भनिएको छ । त्यस्तै, नवीकरण गर्दा पनि १५ घण्टाको तालिम लिनुपर्ने व्यवस्था छ । तर निर्देशिकामा तालिम कोसँग कसरी लिने भन्ने स्पष्ट खुलाइएको छैन । यो विषयमा सर्भेयर संघले प्राधिकरणसँग वार्ता गरेर त्यसलाई चाँडै समाधान निकाल्छौं । निर्देशिकामा सर्भेयरले पालना गर्नुपर्ने काम, कर्तव्य र दायित्वबारे विभिन्न व्यवस्था गरिएको छ । ती विषयमा हामी सचेत छौं र आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध पनि छौं । तर सर्भेयर कार्य प्राविधिक प्रकृतिको क्षेत्र भएकाले मूल्यांकनका क्रममा दायित्व निर्धारणमा केही फरक पर्न सक्छ । यस्तो प्राविधिक विषयलाई आधार बनाएर सिधै जेल सजायसम्मको व्यवस्था गर्नु उपयुक्त हुँदैन भन्ने हाम्रो माग हो । हामीले कुनै फौजदारी अपराध वा कसैको हत्या गरेका होइनौं । कामको क्रममा कमजोरी वा त्रुटि भए दण्डित हुनु स्वाभाविक हो र साँच्चिकै दोषी ठहरिए कारबाही हुनुपर्छ भन्नेमा हामी सहमत छौं । तर काम गरेको आधारमै जेल जानुपर्ने मानसिकता राखियो भने भविष्यमा यस्तो क्षेत्रमा काम गर्न मानिस नै नबस्ने अवस्था सिर्जना हुन सक्छ । नेपालमा विदेशी सर्भेयरहरूको उपस्थिति कति छ, कुन-कुन क्षेत्रमा बढी छ ? हालसम्म नेपालमा विदेशी सर्भेयरको उपस्थिति धेरै देखिएको छैन । पुनर्बीमा वा बाहिरबाट विशेषज्ञता आवश्यक परेको अवस्थामा मात्रै विदेशी सर्भेयर नेपाल आउने गरेका छन् । विशेषगरी ठूलो भूकम्प, बाढी जस्ता विपद्का समयमा नेपाली सर्भेयरको क्षमता र संख्या अपुग हुँदा विदेशी सर्भेयरको सहभागिता बढी देखिने गरेको छ । नेपालमा अहिले कति विदेशी सर्भेयर कार्यरत छन् भन्ने यकिन तथ्यांक भने हामीसँग छैन । तर मैले देखेसम्म केही विदेशी सर्भेयर संयुक्त लगानी (जोइन्ट भेञ्चर) मार्फत काम गरिरहेका छन् । विशेषगरी बाह्य लगानी वा अन्तर्राष्ट्रिय फन्डिङ भएका ठूला परियोजना तथा विदेशमै बीमा गरिएका परियोजनासँग सम्बन्धित काममा विदेशी सर्भेयर नेपाल आउने गरेका हुन् । नेपालमा विदेशी सर्भेयर आवश्यक छ ? नेपालमा पर्याप्त सर्भेयर छन् । सबैले एकदमै प्रष्ट रूपमा काम गरिरहेका छन् । हामीले कयौं विपत्तिहरू खेपिसकेका छौं, अनुभव पनि भइसकेको छ । धेरै सर्भेयरले ठूला प्रोजेक्टहरू ह्यान्डल गरिसक्नुभएको छ । नेपाली सर्भेयरले विदेशमा समेत गएर काम गरिरहेको अवस्थामा विदेशी सर्भेयर आवश्यक छ जस्तो मलाई लाग्दैन । तर, उहाँहरू आउनै हुँदैन भन्ने होइन । उहाँहरूबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौं । तर, यहाँका सर्भेयरलाई विस्थापित नै गरेर विदेशी सर्भेयर आउनुपर्छ भन्ने मान्यता होइन । उहाँहरूको सीप, ज्ञान, क्षमता ट्रान्सपर गर्नुपर्छ भन्ने भनाइ हो । कतिपय अवस्थामा विदेशी सर्भेयर आउनुपर्ने हुन सक्छ । तर विदेशी सर्भेयरलाई नै बढी प्राथमिकता दिन थालियो भने भोलि हामीलाई अप्ठ्यारो पर्दैन भन्न सकिन्न । विदेशी सर्भेयरलाई बढी विश्वास गर्ने प्रवृत्ति किन देखिन्छ ? नेपाली सर्भेयरहरूमाथि विश्वास नभएको होइन, छ । अहिले पनि बजारमा धेरै नेपाली सर्भेयरले काम गरिरहनुभएको छ । नेपाली सर्भेयरहरूमाथि गरेको विश्वासले नै आज उहाँहरू टिकिरहनुभएको छ । तैपनि नेपाली सर्भेयरभन्दा विदेशी सर्भेयरलाई बढी विश्वास गर्ने प्रवृत्ति नभएको होइन । हामीलाई अझ बढी विश्वास हुनपर्ने हो किनभने हामी यहीँको स्थानीय भएकाले धेरै कुरा थाहा हुन्छ । यहाँको कन्सट्रक्सन, भौगोलिक अवस्था, वातावाराण, सामाजिक अवस्थालाई हामीले नजिकैबाट नियालिरहेका हुन्छौं । विदेशी र स्थानीय सर्भेयरबीच असमान व्यवहार वा विभेद छ ? पारिश्रमिको विभेद छ । हामीले एउटै बनाउन खोजिरहेका छौं । तर विदेशी सर्भेयरको छुट्टै हुन्छ । उनीहरुको छुट्टै रिइन्स्योरेन्स र बीमा कम्पनीहरूले तोकिदिएको मापदण्डमा काम गर्नुहुन्छ । हामी पनि बाहिर गयौं भने त्योअनुसारको पेमेन्ट हुन्छ । कुरा पेमेन्टको मात्रै नभएर विदेशी सर्भेयर यहाँ छिरेर नेपाली सर्भेयर विस्थापित हुन्छ कि भन्ने हाम्रो चिन्ता हो । उहाँहरू एउटा कामले आउनुभयो, काम सकाएर जानुभयो, भने ठीक छ । तर, हामीलाई नै विस्थापित हुनेगरी आयो भने फरक हुन जान्छ । सर्भेयर क्षेत्रमा देखिएका मुख्य समस्या वा चुनौतीहरू के-के छन् ? नेपालमा हाल ५ सय देखि एक हजारको हाराहारीमा सक्रिय सर्भेयर छन् । लाइसेन्स लिने सर्भेयर भने धेरै छन् । सबै सर्भेयरले काम पाइरहेका छैनन् । त्यसलाई कसरी समाधान गर्ने भन्ने मुख्य चुनौती छ । हुन त निर्देशिकाले सर्भे गर्न पाउने सीमा तोकिदिएको छ । निर्देशिकाअनुसार कुनै व्यक्तिगत सर्भेयरले बढीमा ५ वटा र संस्थागत सर्भेयरले बढीमा १० वटासम्म काम गर्न पाउने भन्ने व्यवस्था छ । तर यो व्यवस्थाअनुसार चलेको छैन । यहाँ कसैको काम भ्याइनभ्याई कोही खाली हात बसेको अवस्था छ । हामीले सबैले काम पाउनुपर्यो भनिरहेका छौं । सर्भेयरको लाइसेन्स दिएर मात्रै हुँदैन, काम पनि दिनुपर्छ भन्नेमा लागिरेहका छौं । अहिले सर्भेयरको लाइसेन्स नवीकरण गर्नलाई पनि तालिम लिनुपर्ने भनेर आएको छ । तर यसको मोडल तयार भएको छैन, कसरी जाने भनेर यो हाम्रो लागि चुनौती नै छ । पहिले लाइसेन्स लिइसकेपछि जुनसुकै क्षेत्रको क्षति मूल्यांकन गर्न पाउने व्यवस्था थियो । अहिले प्राधिकरणले कामको आधामा पोर्टफिलियो छनोट गरी एउटै मात्र क्षेत्रमा काम गर्न निर्देशन दिएको छ । यो व्यवस्थाले पुराना सर्भेयरलाई समस्या भएको छ । पुरानो सर्भेयर जसले सबै क्षेत्रमा काम गर्दै आइरहेको छ अहिले आएर एउटा मात्रै क्षेत्रमा जाउ भन्नुभन्दा त्यसलाई व्यवस्थित बनाउनुपर्छ । यो व्यवस्था नयाँ सर्भेयरलाई ठीक छ । अर्को चुनौती सर्भेयर काम गर्न पनि ठेकेदारी पेशाजस्तो भएको छ । हामी व्यवसायिक र मापदण्डअनुसार सर्भेयर बन्छौं । तर मान्छेहरूले ब्यागग्राउण्डमा बसेर ठेक्का जस्तो लिएर काम गरिरहेका छन् । उदाहरणको रूपमा १० प्रतिशत सर्भेयरलाई सेयर दिएर ९० प्रतिशत अरू नै कम्पनीको मान्छेले काम गरिरहेका छन्, ती सर्भेयर होइनन् । यसले थप चुनौती थपिएको छ । सर्भेयर क्षेत्र सुधारका लागि के-कस्ता नीतिगत सुधार आवश्यक छन् ? सम्पूर्ण सर्भेयरहरूको हकहितको लागि भनेर स्थापना भएको संस्था सर्भेयर संघले यो क्षेत्रको सुधारको लागि पहल गरिरहेका छौं । संस्थामा नयाँ छु । नेतृत्व लिएको १ महिना मात्रै भयो । हामीले सदस्यहरूलाई तालिमको व्यवस्था गर्ने योजना बनाएका छौं । सर्भेयरलाई तालिमप्राप्त बनाएर बजारमा ल्याउने हाम्रो योजना छ । एकैचोटी हुँदैन, अब थालनी गछौं । त्यस्तै, सबै सर्भेयरलाई काम पाउनेगरी सम्बन्धित निकायसँग समन्वय गछौं । सर्भेयर शुल्कलाई कसरी बढाउन सकिन्छ त्यो विषयमा पनि हाम्रो ध्यान छ । हामी त्यसमै लागिरहेका छौं । समन्वय गर्ने भनेको बीमा प्राधिकरण त्यसपछि बीमक संघ, बीमा कम्पनीहरू र ग्राहकहरूसँग हो । हाम्रो छलफल हुने नै छ । उहाँहरूको सहयोगबिना हामी अगाडि बढ्न सक्दैनौं ।
सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडौं । बिहीबारको तुलनामा स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँ र चाँदी १२० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २७५ रुपैयाँ कायम भएको छ । हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु पाँच हजार १५५ रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नदीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन–सङ्कलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानुनबमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ । सो कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुङ्गा, गिटी, बालुवा, माटोलगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएकामा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन, सङ्कलन, ओसारपसार तथा बिक्रीवितरणलगायत कार्य गैरकानुनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यानाकर्षण भएको जनाएको हो । प्रचलित कानुन, मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी नीतिबमोजिम विकास निर्माण कार्यमा नदीजन्य तथा खानीजन्य पदार्थको अभाव हुन नदिइ यस्ता स्रोतसाधनको अत्यधिक दोहनलाई निरुत्साहित गरी उत्खनन, सङ्कलन, ओसारपसार र उपयोग कार्यलाई व्यवस्थित, पारदर्शी तथा दिगो बनाउन भनिएको छ । प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सबै मुख्यमन्त्री र स्थानीय तहलाई पत्राचार गरी सो आग्रह गरेको हो । जथाभावी उत्खनन, अवैध सङ्कलन तथा अनधिकृत ओसारपसार कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न नियमित गस्ती परिचालन, जोखिम क्षेत्रमा स्थानीयवासी समेतको रोहवरमा अनुगमन तथा अवैध उत्खनन, सङ्कलन तथा ओसारपसार कार्यमा तत्काल प्रहरी प्रशासनबाट नियन्त्रण गर्न निर्देशन दिइएको छ । नदी, खोला, वन क्षेत्र, खेतीयोग्य जमिन तथा बस्ती क्षेत्रमा वातावरणीय विनाश नहुनेगरी मात्र उत्खनन कार्य सञ्चालन गर्ने र स्थानीय तहहरूले नदीजन्यवस्तुको उत्खनन समय दैनिक बिहान ६ः०० बजेदेखि बेलुका ६ः०० बजे तोक्ने गरी आवश्यक व्यवस्था मिलाउने भनिएको छ । खानीजन्य पदार्थको उत्खनन तथा प्रयोग गर्दा श्रमिक सुरक्षा, वातावरण संरक्षण तथा स्थानीय समुदायको हितलाई प्राथमिकता दिन, उत्खननबाट प्राप्त राजस्व गुम्न नदिन वास्तविक कारोबार मूल्यमा बीलबिजक जारी हुने अवस्था सुनिश्चित गर्ने तथा कारोबारबिना बीलबिजक जारी गर्ने अवस्थालाई निरुत्साहित गर्न, सम्बन्धित स्थानीय तहले सरोकारवालासँगको समन्वयमा नदी तथा खानीजन्य पदार्थको दिगो उपयोगका लागि जनचेतनामूलक कार्यक्रम तत्काल सञ्चालन गर्न निर्देशन दिइएको छ । सो सम्बन्धमा भएका प्रगति तथा समस्याका सम्बन्धमा गृह मन्त्रालयले प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन पेस पनि भनिएको छ ।