विकासन्युज

सुनको मूल्य तोलामा ३ लाख २ हजार ५०० रुपैयाँ पुग्यो

काठमाडौं । बुधबारको तुलनामा स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा ३०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ७४५ रुपैयाँ कायम भएको छ ।  हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ७१० रुपैयाँमा कारोबार भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुन तीन लाख दुई हजार ९०० रुपैयाँ र चाँदी पाँच हजार ६९५ रुपैयाँमा खरिदबिक्री भएको थियो  । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

आज पनि संसदमा जवाफ दिने छैनन् प्रधानमन्त्री, अर्थमन्त्रीले दिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदहरुले जिज्ञासा दिएको जिज्ञासमा बिहीबार पनि प्रधानमन्त्रीले जवाफ नदिने भएका छन् । बुधबार सांसदरुको जिज्ञासाहरुमा प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची थियो । तर, पछि  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्ताब टेबुल गरे । त्यसपछि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरुले संसद बैठक अवरुद्द गरेपछि बैठक नै स्थगित भएको थियो ।  प्रधानमन्त्रीले बिहीबार जवाफ दिने अपेक्षा गरिएकोमा आज पनि उनले जवाफ नदिने भएका हुन् । प्रधानमन्त्रीका प्रतिनिधिका रुपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।  बुधबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे राखिएको छ । अर्थमन्त्री डा. वाग्लेले आव २०८३–८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफलका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने तालिका पनि छ ।   

लामो मौनतापछि सक्रिय हुँदै ओली, एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आगामी शनिबार बस्ने तय भएको छ । बैठकको स्थान भने अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर पछि निर्धारण गरिने बताइएको छ । निर्वाचनपछि ओली पहिलो पटक पार्टीको औपचारिक बैठकमा सहभागी हुन लागेका हुन् । गत चैत १३ गते जेनजी आन्दोलनका क्रममा लापरबाहीपूर्वक मानिसको ज्यान गएको अभियोगमा पक्राउ परेका ओली चैत २६ गते रिहा भएका थिए । रिहाइपछि स्वास्थ्य समस्याका कारण उनी पार्टी गतिविधिबाट टाढा रहेका थिए । ओली हिरासतमा रहँदा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दिइएको थियो ।  बादलकै नेतृत्वमा यस अवधिमा एमाले सचिवालयका दुई बैठक सम्पन्न भएका थिए ।  पछिल्ला दिनमा एमालेभित्र शक्ति सन्तुलनको विषयले नयाँ मोड लिएको छ । उपाध्यक्षद्वय विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेललगायत ओली निकट मानिने नेताहरूले समेत वैकल्पिक नेतृत्वबारे छलफल थालेको चर्चा छ । पार्टीभित्र बढ्दो असन्तुष्टि र समीक्षाको दबाबका बीच ओलीले बैठक टार्दै आएको आरोप असन्तुष्ट पक्षले लगाउँदै आएका थिए । निर्वाचनपछिको समीक्षा प्रक्रिया समेत अघि बढ्न नसकेको अवस्थामा सचिवालय बैठक बोलाइएपछि एमालेभित्र देखिएको अन्योल र गतिरोध हट्ने अपेक्षा गरिएको छ ।  

सरकारले क्यासिनोमा नेपाली प्रवेशको कडाइ गर्दै

काठमाडौं । सरकारले क्यासिनोमा नेपाली प्रवेशको रोक लगाउन कडा निर्देशन दिएको छ । १२ वटा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै क्यासिनोमा नेपाली नागरिकको प्रवेशमा कडाइ गर्न निर्देशन दिएको हो । विभागले एक परिपत्र जारी गर्दै क्यासिनोहरूको सूक्ष्म निगरानी एवं स्थलगत अनुगमन गर्न  जिल्ला प्रशासन कार्यालयलाई आदेश दिएको छ । पछिल्लो समय केही क्यासिनोहरूले नेपाली नागरिकलाई प्रवेश गराई खेल खेलाएको र इजाजतपत्रमा उल्लेख भएबाहेकका अन्य अवैध खेलहरू समेत सञ्चालन गरिरहेको भन्ने गुनासो बढेपछि विभागले यो कदम चालेको स्पष्ट पारेको छ ।  विभागले झापा, मोरङ, बारा, पर्सा, भक्तपुर, काठमाडौं, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुरलाई पत्र पठाएको छ । कानुनी प्रावधान के छ ?   पर्यटन ऐन, २०३५ तथा क्यासिनो नियमावली, २०८२ ले क्यासिनो सञ्चालनको व्यवस्था गरेको छ । साथै, क्यासिनो सञ्चालकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा नियमावली, २०८१ लगायतका कानुनको समेत पूर्ण रूपमा पालना गर्नुपर्ने हुन्छ । उल्लिखित कानुनी प्रावधानअनुसार नेपाली नागरिकलाई क्यासिनो स्थलमा प्रवेश गर्न र क्यासिनो खेल खेल्न पूर्ण रूपमा निषेध गरिएको विभागले जनाएको छ । पर्यटन विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई प्रचलित कानुनविपरीत नेपालीहरूको अवैध प्रवेशलगायतका कुनै पनि गतिविधि हुन नपाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।  अनुगमनका क्रममा कानुनविपरीतका यस्ता गतिविधि भएको पाइएमा तत्काल कानुनबमोजिम कारबाही अगाडि बढाई विभागलाई जानकारी गराउनसमेत भनिएको छ ।  

इनड्राइभ विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड हुने राइड–हेलिङ एप

काठमाडौं । ४८ देशहरूमा सञ्चालन भैरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप हुन सफल भएको छ । लिडिङ मार्केट इण्टेल्लिजेन्स फर्म सेन्सर टावरका अनुसार, इनड्राइभले लगातार चौथो वर्ष पनि आफ्नो स्थान कायम राखेको छ । साथै, ट्राभल विधाअन्तर्गत विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड हुने एपहरूको सूचीमा कम्पनी चौथो स्थानमा पुगेको छ, जुन सन् २०२४ को पाँचौं स्थानबाट उक्लिएको हो । कम्पनीले ‘सुपर एप’ तर्फको आफ्नो रूपान्तरणलाई निरन्तर अघि बढाइरहेका क्रममा प्रयोगकर्ताको संलग्नता र लोकप्रियता बढ्दै गएको यसले संकेत गर्दछ । पियर–टु–पियर मूल्य निर्धारण मोडलमार्फत चालक र यात्रुबीच आपसी सहमतिमा उचित भाडा तय गर्न सकिने विशेषतासहितको इनड्राइभ एप आफ्नो सुरुवातदेखि हालसम्म विश्वभर ४०० मिलियनभन्दा बढी पटक डाउनलोड भइसकेको छ । हाल विश्वका १,१०० भन्दा बढी शहरहरूमा उपलब्ध यस प्लेटफर्ममार्फत विश्वव्यापी रूपमा ८ बिलियनभन्दा बढी कारोबार सम्पन्न भइसकेको सेन्सर टावरको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०२५ मा इनड्राइभले आफ्नो मुख्य राइड–हेलिङ सेवाभन्दा बाहिर विस्तार गर्दै सुपर एपमा रूपान्तरण हुने प्रक्रियालाई तीव्रता दिएको छ । कम्पनीले अन्तरशहरी यातायात, कुरियर सेवा, ग्रोसरी डेलिभरी तथा वित्तीय सेवाजस्ता थप सेवाहरू सञ्चालनमा ल्याउँदै आफ्नो सेवा दायरा विस्तार गरेको हो । सेवाहरूको विविधीकरणमार्फत प्रयोगकर्ताहरूका दैनिक आवश्यकताहरूलाई अझ व्यापक रूपमा सम्बोधन गर्दै इनड्राइभले प्रयोगकर्ताको संलग्नता तथा प्रयोगको आवृत्ति बढाइरहेको छ । यही रणनीतिले कम्पनीको विश्वव्यापी विस्तार र निरन्तर वृद्धि यात्रालाई थप मजबुत बनाइरहेको जनाएको छ । एआई तथा एड्भान्स एनालिटिक्स लगायतका अत्याधुनिक प्रविधिहरूले यस विकासक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् । मेशिन लर्निङमार्फत म्यापिङसम्बन्धी त्रुटिहरू सुधार गर्दै थप सटीक ईटीए उपलब्ध गराउनेदेखि लिएर, प्रिडिक्टिभ एनालिटिक्स प्रयोग गरी प्रयोगकर्ताको आवश्यकता पूर्वानुमान गर्ने तथा सेवा प्रस्तावहरूलाई व्यक्तिगत रुचिअनुसार अनुकूल बनाउने कार्यसम्म यी प्रविधिहरूले नवप्रवर्तनलाई गति दिएका छन् । साथै, इनड्राइभले ‘रोजाइमार्फत निष्पक्षता’प्रति आफ्नो प्रतिबद्धतालाई कायम राख्दै मूल्य निर्धारणमा प्रयोगकर्ताको पूर्ण नियन्त्रण सुनिश्चित गरेको छ । सेन्सर टावरको पछिल्लो प्रतिवेदनले राइड–हेलिङ उद्योगमा ‘सुपर एप’ इकोसिस्टम प्रमुख वृद्धिको आधार बन्दै गएको देखाएको छ, विशेषगरी उदीयमान बजारहरूमा जहाँ प्रयोगकर्ताहरू विभिन्न सेवाहरूमा अझ बढी र नियमित रूपमा संलग्न भइरहेका छन् । आर्टिफिसियल इन्टेलिजेन्स तथा एडभान्स एनालिटिक्ससहितका अत्याधुनिक प्रविधिहरूले यस्ता सेवाहरूलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । स्थानीय बजारको आवश्यकता र प्रयोगकर्ताको अपेक्षासँग नजिक रहेर दैनिक जीवनमा उपयोगी बहु–सेवा प्लेटफर्म उपलब्ध गराउने रणनीतिका कारण इनड्राइभको निरन्तर वृद्धि भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । इनड्राइभका फाउन्डर र सीईओ आर्सेन टम्स्कीले भने, 'लगातार चौथो वर्षसम्म विश्वकै दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एपको रूपमा आफ्नो स्थान कायम राख्न सफल हुनु इनड्राइभका लागि अत्यन्त गौरवको विषय हो। यो उपलब्धि केवल डाउनलोड संख्यामा सीमित नभई विश्वभरका प्रयोगकर्ताहरूले हाम्रो प्लेटफर्ममाथि देखाएको विश्वास, समर्थन र अपनत्वको प्रतिफल हो ।' 

सिटिजन्स बैंकको अगुवाईमा मर्स्याङ्दी जलविद्युत आयोजनामा ११ अर्ब लगानी हुने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाईमा ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणका लागि सहवित्तीयकरण कर्जा सम्झौता भएको छ । बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले करिब ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । वैशाख ३० गते सम्पन्न सम्झौतामा प्रवद्र्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेड र लगानीकर्ता बैंकहरूबीच वित्तीय व्यवस्थापनको सहमति भएको हो । आयोजना गण्डकी प्रदेशको लमजुङ जिल्लाअन्तर्गत मस्र्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिकामा निर्माण गरिनेछ । परियोजनाको कुल अनुमानित लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यसमध्ये ६७ः३३ को ऋण–स्वपुँजी अनुपातअनुसार ७ अर्ब ५० करोड रुपैयाँ ऋण र बाँकी ३३ प्रतिशत स्वपुँजी प्रवद्र्धकबाट जुटाइनेछ । आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण सम्पन्न भएपछि उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको उदिपुरस्थित सबस्टेशनमा जोडिनेछ । आयोजनाबाट हिउँदमा ११२.०९९ गिगावाट घण्टा र वर्षायाममा २००.५०३ गिगावाट घण्टा गरी वार्षिक ३१२.६०२ गिगावाट घण्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले स्थापनाकालदेखि नै जलविद्युत तथा हरित ऊर्जा क्षेत्रमा सहवित्तीयकरणमार्फत उल्लेख्य लगानी गर्दै आएको बताए । उनका अनुसार निजी क्षेत्र र बैंकिङ क्षेत्रको सहकार्यले ऊर्जा क्षेत्रको विकासमा ठूलो योगदान पुगेको छ । बैंकले हालसम्म २७४.४०१ मेगावाट क्षमताका १६ वटा आयोजना सम्पन्न गरिसकेको छ भने १,३३०.८२५ मेगावाट क्षमताका २६ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । कुल १,६०५.२२६ मेगावाट क्षमताका ४२ आयोजनामा बैंकको लगानी रहेको छ । त्यसैगरी, प्रवद्र्धक कम्पनीका अध्यक्ष सतिस न्यौपानेले सबै कानुनी प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै आयोजनाको निर्माण छिट्टै सुरु भई तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

पिँडालु किलोको ५० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा साना (टनेल) रु ९१, आलु रातो (लाम्चो) प्रतिकिलो रु २२, आलु रातो (गोलो) प्रतिकिलो रु २५, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ६५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६५ र भन्टा डल्लो प्रतिकिलो रु ७५ कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १६०, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ५५, परवर (लोकल) प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ६०, चिचिन्डो प्रतिकिलो रु ४५, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ९०, सखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी प्रतिकिलो रु ६५, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु १००, पालुङ्गो प्रतिकेजी रु १००, तोरीसाग प्रतिकिलो रु ३५, चमसुरको साग प्रतिकेजी रु ११०, मेथीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु १६०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४००, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ६५, निगुरो प्रतिकिलो रु ८०, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ११०, पार्सले प्रतिकिलो रु २८०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, कागती प्रतिकेजी ३४०, केरा (मालभोग) दर्जन २२०, केरा (नेपाली) २००, अनार प्रतिकिलो रु ५००, अङ्गुर (हरियो) प्रतिकिलो रु ३००, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १६०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु १३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, माछे खुर्सानी प्रतिकिलो रु ८०, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १४०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, छ्वी १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु २८० निर्धारण गरिएको छ ।

८ बैंकले ब्याजदर घटाउँदा १२ ले राखे स्थिर, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । जेठ १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।  जेठ महिनाका लागि बैंकहरूको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०७ प्रतिशत घटेर औसत ४.३४ प्रतिशतमा ब्याजदर झरेको छ । जबकि वैशाखमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.४२ प्रतिशत थियो । यस्तै, वैशाखमा मुद्दती निक्षेपको संस्थागततर्फ औसत ०.०३ प्रतिशत घटेर ३.२० प्रतिशतमा झरेको छ । यसअघि जैशाख संस्थागततर्फ औसत ३.२३ प्रतिशत ब्याजदर थियो । जेठ महिनाका लागि ८ बैंकले ब्याजदर घटाएका छन् भने १२ बैंकले ब्याजदर स्थिर राखेका छन् । नेपाल बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् ।  कषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले ब्याजदर स्थिर राखेका छन् ।