विकासन्युज

नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

काठमाडौं । नापी कार्यालय, धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ ।  मिथिला बिहारी नगरपालिका वडा नं ३ का ३१० परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।  साबिक मिथलेश्वर महुवाही  वडा नं। १, २, ३, ४, ५, ६, ७, ८ र ९ अन्तर्गत पर्ने  स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/०७३ मा सम्पन्न भएको थियो । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो ।  विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३१० थान जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय, धनुषाले जनाएको छ । पुर्जा प्राप्त गरेसँगै उनीहरूले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।

आमाले दिइन् कलेजो, ५ वर्षीया छोरीले पाइन् नयाँ जीवन

ललितपुर । नेपालमा पहिलो पटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल बाल कलेजो प्रत्यारोपण गरिएको छ । किष्ट प्रत्यारोपण केन्द्रले सम्पन्न गरेको यस सफल प्रत्यारोपणले नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । विल्सन रोगका कारण गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पतालमा ल्याइएको थियो। प्रत्यारोपणअघि उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको थियो। करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीमार्फत स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गरिएको हो। गत भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी ५ वर्षीया छोरीलाई आफ्नो कलेजोको एक अंश दान गरेकी थिइन्। आमाबाट छोरीमा गरिएको जीवित दाता कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो। बाल कलेजो प्रत्यारोपण अत्यन्त जटिल र चुनौतीपूर्ण चिकित्सा प्रक्रिया मानिन्छ। यसका लागि अनुभवी प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, बेहोस बनाउने चिकित्सक, बालरोग विशेषज्ञ, सघन उपचार टोली तथा अत्याधुनिक चिकित्सा पूर्वाधार आवश्यक हुन्छ। किष्ट प्रत्यारोपण केन्द्रको विभिन्न विशेषज्ञ सम्मिलित टोलीले आपसी समन्वयमा उक्त जटिल उपचार सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। यस सफलतासँगै किष्ट प्रत्यारोपण केन्द्रले आगामी दिनमा बाल उपचार केन्द्रका रूपमा समेत सेवा विस्तार गर्दै बालबालिकाका लागि विभिन्न विशेषज्ञ सम्मिलित उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। एउटी आमाको त्याग, चिकित्सकहरूको समर्पण र आधुनिक चिकित्सा सेवाबीचको समन्वयले ५ वर्षीया बालिकालाई नयाँ जीवनको अवसर दिएको छ। यो सफलता किष्ट प्रत्यारोपण केन्द्रका लागि मात्र नभई नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विस्तार र विकासतर्फ महत्वपूर्ण कदमका रूपमा रहने विश्वास गरिएको छ।

जब कर बुझाउन जाँदा ३५ लाख घुस मागियो

काठमाडौं । दुई वर्षअघि सिराहाको गोलबजारस्थित गोदाममा अचानक सल्किएको भिषण आगलागीले ’सिरहा सुपरमार्केट प्रा.लि.’ का खाद्यान्न, किचन, इलेक्ट्रोनिक्स र लत्ताकपडा पूर्ण रूपमा खरानी बनाइदियो । एकातिर कोभिड–१९ को दोस्रो लहरको मार र अर्कातिर करोडौँको भौतिक क्षति भोगिरहेको यो फर्ममाथि आन्तरिक राजस्व कार्यालय लहानले आर्थिक वर्ष २०७८/०७९ को पूर्ण कर परीक्षणको फाइल खोल्यो ।  कर कार्यालयले आय विवरण, बिलबिजक र बैंक स्टेटमेन्ट १५ दिनभित्र पेस गर्न पत्राचार गरेपछि सञ्चालक जफिर अन्सारी आवश्यक कागजात बोकेर लहान पुगेका थिए ।   लहानस्थित कर परीक्षण तथा अनुसन्धान शाखा ’क’ मा कार्यरत २९ वर्षीय कर अधिकृत युवराज एम.एस. पालले कागजात मिलाउन हाकिम साबलाई भन्नुपर्ने र नत्र ३० देखि ३५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने चेतावनी दिए ।  आगलागीले ध्वस्त भएको व्यवसायमा यति ठूलो जरिवाना सुन्दा छाँगाबाट खसेझैं भएक अन्सारीले याचना गर्दा अधिकृत पालले मुखले रकम नतोकी टेबुलमा रहेको क्यालकुलेटर थिचेर र औंलाको इसाराबाट सोझै १२ लाख रुपैयाँ माग गरे । दुवै पक्षबीच औंलाको इसारामा मोलमोलाइ हुँदै जाँदा अन्तिममा घुसको रकम ५ लाख रुपैयाँ तय भयो । अधिकृत पालले घुस रकम सोझै आफ्नो हातमा नलिई गोलबजारस्थित आरआरवाई एण्ड एसोसिएट चार्टर्ड एकाउन्टेन्सका सञ्चालक ३४ वर्षीय चार्टर्ड एकाउन्टेन्ट रामरिझन यादवलाई बुझाउन निर्देशन दिए ।  लगातारको अत्याचार सहन नसकी व्यवसायी अन्सारीले भ्रष्टाचार विरुद्ध उभिने आँट गर्दै २०८३ श्रावण ६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा पुगेर घुस माग गर्दाका गोप्य अडियो÷भिडियो रेकर्डिङहरू आयोगसमक्ष बुझाए ।   योजनाबद्ध ‘स्टिङ अपरेसन’ गरेर रङ्गेहात पक्राउ उजुरी दर्ता भएलगत्तै अख्तियारले डिएसपी सरोज राईको नेतृत्वमा टोली खटाई १ हजार दरका ५०० थान नोटका सिरियल नम्बर दर्ता गरेर अन्सारीको जिम्मा लगायो । श्रावण ७ गते दिउँसो अन्सारीले खैरो लेदरको झोलामा ५ लाख रुपैयाँ राखी अधिकृत पालको टेबुलमा राख्नासाथ अख्तियार टोलीले कार्यालय घेराउ गर्यो ।  स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा खानतलासी गर्दा टेबुलको झोलाबाट बरामद नोटका सिरियल नम्बरहरू अख्तियारको भरपाईसँग शतप्रतिशत भिडेपछि पाललाई सामसुङ एस२३ मोबाइलसहित नियन्त्रणमा लिइयो । पक्राउ परेपछि अधिकृत पालले रकमबारे आफूलाई थाहा नभएको दाबी गरे पनि वैज्ञानिक अनुसन्धानका अगाडि उनको दाबी टिकेन । अख्तियारको पोलिग्राफ परीक्षणमा पाल र सीए रामरिझन यादव दुवैले झुट बोलेको पुष्टि भयो । साथै टङ्गालस्थित डिजिटल फरेन्सिक ल्याबबाट अडियो÷भिडियोको ह्यास भ्यालु सुरक्षित भेटियो भने नेपाल प्रहरीको ब्युरोले गरेको भ्वाइस टेस्टमा उनीहरूको स्वर शतप्रतिशत म्याच भयो । अनुसन्धान अधिकृतहरू रामकृष्ण देवकोटा, देव सिंह भण्डारी र विनिता दाहालको टोलीले तयार पारेको प्रतिवेदनका आधारमा अख्तियारले कर अधिकृत युवराज एम.एस. पाल र सीए रामरिझन यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिम ५ लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित विशेष अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको छ । 

बेलायत फर्किँदै ह्यारी-मेघन, राजपरिवारसँगको सम्बन्धमा सुधार

काठमाडौं । प्रिन्स ह्यारी र उनकी पत्नी मेघन मार्केलले राजकीय जिम्मेवारीबाट अलग भएको छ वर्षपछि यही महिना बेलायत फर्किने तयारी गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । ‘ड्युक एन्ड डचेस अफ ससेक्स’ ह्यारी र मेघन आफ्ना दुई सन्तान ७ वर्षीय प्रिन्स आर्ची र ५ वर्षीया प्रिन्सेस लिलिबेटसहित क्यालिफोर्नियाबाट बेलायत फर्किन लागेका हुन् ।  उनीहरू लामो समय बेलायतमै बस्ने र दुवै छोराछोरीले आगामी सेप्टेम्बरदेखि त्यहीँ विद्यालय जाने ‘पिपुल’ म्यागजिन र बेलायती पत्रिका ‘द टेलिग्राफ’ले जनाएका छन् । ह्यारी र मेघनले सन् २०२० मा राजकीय जिम्मेवारीबाट अलग भएपछि अमेरिकाको क्यालिफोर्नियास्थित सान्ता बारबरानजिकैको मोन्टेसिटोमा बस्दै आएका थिए ।  सञ्चारमाध्यमका अनुसार उनीहरूले त्यहाँ १६ वटा बेडरुम भएको घर १ करोड ४७ लाख अमेरिकी डलरमा खरिद गरेका थिए । त्यसपछि ह्यारी र मेघनले विभिन्न टेलिभिजन अन्तर्वार्ता, नेटफ्लिक्सको वृत्तचित्र शृङ्खला र ह्यारीको संस्मरणात्मक पुस्तक ‘स्पेयर’मार्फत बेलायती राजपरिवार र राजसंस्थामाथि पटक–पटक आलोचना गरेका थिए । सन् २०२१ मा ओप्रा विन्फ्रेसँगको अन्तर्वार्ताका क्रममा मेघनले राजपरिवारका एक सदस्यले उनका छोरा आर्चीको छालाको रङ कति गाढा हुन सक्छ भनेर प्रश्न गरेको बताएकी थिइन् ।  त्यसपछि ह्यारीका दाजु तथा बेलायती राजगद्दीका उत्तराधिकारी प्रिन्स विलियमले बेलायती राजपरिवार जातिवादी रहेको आरोप अस्वीकार गरेका थिए । ह्यारीले आफ्ना पिता राजा चार्ल्स र दाजु विलियमबारे पनि कडा टिप्पणी गरेका थिए । त्यसपछि उनीहरूबीचको सम्बन्ध निकै बिग्रिएको थियो । ह्यारी बेलायती सरकारले आफ्नो सुरक्षा व्यवस्थामा गरेको परिवर्तनप्रति पनि असन्तुष्ट थिए । स्वतः प्राप्त हुने प्रहरी सुरक्षा हटाइएपछि आफ्ना छोराछोरीलाई बेलायत ल्याउन आफू असुरक्षित महसुस गरेको उनले बताएका थिए । बुबा–छोराको सम्बन्धमा सुधार तर गत सेप्टेम्बरमा ह्यारी र राजा चार्ल्सबीचको सम्बन्धमा केही सुधार देखिएको थियो । २० महिनापछि उनीहरू पहिलोपटक छोटो भेटमा सहभागी भएका थिए । राजा चार्ल्सलाई सन् २०२४ मा क्यान्सर भएको पत्ता लागेको थियो । गत डिसेम्बरमा उनले उपचारप्रति आफ्नो शरीरले ‘असाधारण रूपमा राम्रो’ प्रतिक्रिया दिएको र चिकित्सकहरूले उपचार क्रमशः घटाउँदै लगेको बताएका थिए । गत महिना ह्यारी, मेघन र उनका छोराछोरी बेलायत पुगेका बेला राजा चार्ल्सले सन् २०२२ पछि पहिलोपटक आफ्ना नातिनातिनासँग भेट गरेका थिए । राजा चार्ल्सले ससेक्स परिवारलाई अझ बढी भेट्न पाउने अवसरको स्वागत गरे पनि उनीहरू बेलायत फर्किने योजनाबारे भने आइतबार मात्रै जानकारी पाएको समाचारमा उल्लेख छ । ह्यारी र उनका पिताबीचको सम्बन्धमा सुधार आए पनि दाजु विलियमसँग भने उनको सम्बन्ध अझै सामान्य बन्न सकेको छैन । हलिउडमा पनि प्रयास अमेरिका बसेपछि ह्यारी र मेघनले हलिउडमा विभिन्न सञ्चार परियोजना अघि बढाएका थिए । उनीहरूले पोडकास्ट शृङ्खलाका लागि स्पोटिफाइ र विभिन्न कार्यक्रम निर्माणका लागि नेटफ्लिक्ससँग करोडौं डलरका सम्झौता गरेका थिए । तर ती परियोजनाले मिश्रित सफलता पाए । ह्यारीको संस्मरणात्मक पुस्तक निकै सफल भयो भने उनीहरूको पोडकास्ट सम्झौता अन्त्य भयो । मेघनले सञ्चालन गरेको नेटफ्लिक्स कार्यक्रम तेस्रो सिजनका लागि नवीकरण भएन । हलिउड प्रकाशन ‘डेडलाइन’का कार्यकारी सम्पादक डोमिनिक प्याटेनका अनुसार ह्यारी र मेघनले आफूहरूले चाहेको ‘सुपरस्टार’ हैसियत हासिल गर्न नसके पनि उनीहरूले आफ्नो कथाप्रति सार्वजनिक चासो भने कायम राख्न सफल भएका छन् ।

मुक्तिनाथ विकास बैंकको चाडपर्व अफर, कृषि तथा एसएमई कर्जामा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ । बैंकले कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह हुने विभिन्न कर्जामा आधार दरमा न्यूनतम ०.५० प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा उपलब्ध गराउने जनाएको छ । साथै, कर्जा प्रवाह गर्दा लाग्ने प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । बैंकका अनुसार यो योजनाले चाडपर्वको समयमा व्यवसाय विस्तार, उद्यम सञ्चालन तथा कार्यशील पुँजी व्यवस्थापनका लागि आवश्यक वित्तीय स्रोत जुटाउन कृषि तथा साना तथा मझौला व्यवसायीलाई सहयोग पुग्नेछ । योजनाअन्तर्गत कृषि तथा एसएमई व्यवसाय विस्तार, उद्यम सञ्चालन, कार्यशील पुँजीलगायत सम्बन्धित प्रयोजनका लागि कर्जा लिन सकिनेछ । अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा स्थानान्तरण गर्नसमेत यो सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ । यो विशेष कर्जा सुविधा बैंकका देशभर रहेका १७६ वटै शाखाबाट उपलब्ध हुनेछ । ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी कर्जाको प्रकार, लागू हुने ब्याजदर, आवश्यक कागजात तथा अन्य शर्तबारे जानकारी लिन सक्नेछन् । बैंकले विशेष कर्जा योजना सीमित अवधिका लागि मात्र लागू हुने जनाएको छ ।

व्यापारीसँग सेटिङ मिलाएर भ्रष्टाचार, एकै पालिकाका आधा दर्जन कर्मचारी मुछिए

काठमाडौं । महोत्तरीको औरही नगरपालिकामा खानेपानी तथा सिँचाइ सामग्री खरिदका क्रममा व्यापक अनियमितता र भ्रष्टाचार भएको खुलेको छ । कागजी मिलेमतो गरी सार्वजनिक कोषको हानि–नोक्सानी पु¥याएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा अभियोग पत्र दायर गरेको छ ।  आयोगका अनुसन्धान अधिकृत पुण्यराम सुलुको प्रतिवेदनका आधारमा दायर मुद्दामा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीसहित ६ जना राष्ट्रसेवक कर्मचारी, ५ वटा आपूर्तिकर्ता फर्म र तिनका सञ्चालकसमेत गरी कुल १६ जना र फर्महरूलाई प्रतिवादी बनाइएको छ ।  आर्थिक वर्ष २०७९÷०८० मा सञ्चालित नगरभित्र खानेपानी तथा सिँचाइ कार्यक्रम अन्तर्गत मालसामान खरिद गर्दा गैरकानुनी लाभ–हानि पु¥याएको अख्तियारको निष्कर्ष छ ।  सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११ (२) बमोजिम मालसामान खरिद गर्दा बजार दररेट र ढुवानी खर्चका आधारमा लागत अनुमान तयार गर्नुपर्नेमा, निर्माण कार्यमा मात्र जोडिने १५ प्रतिशत ठेकेदार ओभरहेडलाई विद्युतीय मोटर, ह्याण्डपम्प र पाइप खरिदको लागतमा बदनियतपूर्वक समावेश गरिएको भेटिएको हो । सोही ओभरहेडका आधारमा अस्वाभाविक रूपमा बजेट स्वीकृत गराई सरकारी कोषबाट बढी भुक्तानी दिइएको अभियोगपत्रमा उल्लेख छ । नगरपालिकाले सो आ.व. मा बोलपत्र, सिलबन्दी दरभाउपत्र र सोझै खरिदका विभिन्न ५ चरणमार्फत क्वालिटी सोलुसन, जैसवाल निर्माण सेवा, श्री राम इन्टरप्राइजेज, लीला आयरा स्टोर्स र डि.एम. जेनरल अर्डर सप्लायर्सबाट सिँचाइ मोटर, ह्याण्डपम्प तथा ट्युबवेल खरिद गरेको थियो ।  अनुसन्धानका क्रममा नगरपालिकाले सङ्घीय विशेष अनुदानको १ करोड रुपैयाँ बजेटबाट कुल ८२० थान ह्याण्डपम्प खरिद गरी सबै वितरण भइसकेको दाबी गरे पनि प्राविधिक एवम् कागजी छानबिनबाट गम्भीर बदमासी पुष्टि भएको छ ।  अध्ययनअनुसार ६७६ थान मात्रै वास्तविक वितरण भएको, ५८ थानमा दोहोरो भरपाई देखाइएको र खरिदै नभएका २०२ थान ह्याण्डपम्प कागजी रूपमा स्टोर दाखिला गरी १५ लाख ६३ हजार ५८१ रुपैयाँ (मू.अ.कर सहित) अस्वाभाविक भुक्तानी दिएर सार्वजनिक सम्पत्ति गायब पारिएको छ ।  यसका साथै, ओभरहेड बापत क्वालिटी सोलुसनलाई ६ लाख ३० हजार, जैसवाल निर्माण सेवालाई ६ लाख २७ हजार ९८५, श्री राम इन्टरप्राइजेजलाई रु. १ लाख ९४ हजार ८६४, लीला आयरा स्टोर्सलाई रु. १ लाख ११ हजार ४४२ र डि.एम. जेनरललाई १ लाख १० हजार २२९ रुपैयाँ भ्याट बाहेक बढी भुक्तानी दिएको पाइएको छ । प्रतिवादी बनाइएका कर्मचारीहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र, इन्जिनियर सन्तोष कुमार यादव, तत्कालीन जिन्सी प्रमुख शिव शंकर यादव, योजना प्रमुख गंगाराम यादव, सब–इन्जिनियर बिपिन कुमार मण्डल र लेखापाल बिजय कुमार यादव रहेका छन् ।  त्यस्तै, आपूर्तिकर्ता फर्म र तिनका प्रोप्राइटरहरू लीला आयरा स्टोर्सका बिनय कुमार यादव, डि.एम. जेनरलका दुधनाथ कुमर, श्री राम इन्टरप्राइजेजका अमर नाथ कुमर, जैसवाल निर्माण सेवाका राम बाबु चौधरी र क्वालिटी सोलुसनका प्रबन्ध निर्देशक मनोज कुमार यादवविरुद्ध मुद्दा चलाइएको छ । छानबिनबाट श्री राम इन्टरप्राइजेज र डि.एम. जेनरलका प्रोप्राइटरहरू दाजुभाइ नाता पर्ने र आपसमा दररेट घटबढ गराई बदमासी गरेको भेटिएको उल्लेख छ । आयोग समक्ष बयान दिने क्रममा आरोपी कर्मचारीहरूले कार्यपालिकाको निर्णय र स्वीकृत मापदण्डअनुसार नै खरिद कार्य गरिएको दाबी गर्दै बचाउ गरेका छन् भने विभिन्न वडाका वडाध्यक्षहरू र उपप्रमुख रेणु झाले नागरिकताका आधारमा विपन्न परिवारलाई चापाकल वितरण गरिएको र जडान खर्च सम्बन्धित व्यक्ति आफैँले व्यहोरेको बयान दिएका छन् ।  पर्याप्त प्रमाणका आधारमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) अनुसार कसुरदारहरूबाट बिगो असुलउपर गरी कडा कैद र जरिवाना सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दर्ता गराएको छ ।

नामी भिगो ई२ सार्वजनिक, ३५.९९ लाख रुपैयाँमा पाइने

काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले नेपाली बजारमा नामी भिगो ई२ फुल एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शो अवधिभरका लागि यसको विशेष प्रारम्भिक मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार नाडा अटो शो सकिएपछि भिगो ई२ को नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ । थप प्रिमियम सुविधा चाहने ग्राहकले ८ लाख रुपैयाँ थपेर भिगो ई२ प्लस संस्करण रोज्न सक्नेछन् । ई२ प्लसमा मुनरुफ र आर–१८ टायरलगायत अतिरिक्त सुविधा उपलब्ध छन् । गाडी सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल, डोङफेङ मोटर कर्पोरेसनकी दक्षिण एसिया क्षेत्रीय प्रबन्धक नोएमी, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, निर्देशक पार्थ सिकारिया, प्यासेन्जर कार डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी तथा प्रमुख कार्यकारी अधिकृत प्रसन्न पन्त सहभागी थिए । कार्यक्रममा अध्यक्ष अग्रवालले नयाँ राष्ट्रिय बजेटपछि विद्युतीय सवारीमा आएको सकारात्मक प्रभावलाई ग्राहकसम्म पुर्‍याउने उद्देश्यले भिगो ई२ को मूल्य पुनःसमायोजन गरिएको बताए । उनले कम मूल्यमा पनि फुल एसयूभीको स्पेस, क्षमता र ड्राइभिङ अनुभवमा कुनै सम्झौता नगरिएको दाबी गरे । कम्पनीका अनुसार भिगो ई२ दैनिक सहरी आवतजावतदेखि पारिवारिक तथा लामो दूरीको यात्रालाई लक्षित गरेर तयार गरिएको फुल एसयूभी हो । यसमा पाँच जना सहजै बस्न मिल्ने फराकिलो क्याबिन, २ हजार ७१५ एमएम ह्विलबेस र ५७२ लिटर बुट स्पेस उपलब्ध छ । फिचर्सतर्फ भिगो ई२ मा हिटेड र भेन्टिलेटेड सिट, मेमोरी सिट, एक्सटेरियर स्पिकर, ‘हेभन एन्ड अर्थ’ टेलगेट र डीजेआई–सञ्चालित एडास प्रणाली समावेश गरिएको कम्पनीले जनाएको छ । पर्फर्मेन्सका हिसाबले यसमा ५१.८७ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ । डब्लूएलटीपी मापदण्डअनुसार यसले एक पटकको चार्जमा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । साथै १९० एमएम ग्राउन्ड क्लियरेन्स र १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट पनि उपलब्ध छ । एमएडब्लू वृद्धि मोटर्सका अनुसार हाल नेपालभर २ हजारभन्दा बढी नामी ब्रान्डका गाडी सञ्चालनमा छन् । भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा र सल्लेरीजस्ता विभिन्न भूगोलमा आफ्नो क्षमता प्रमाणित गरिसकेको कम्पनीको दाबी छ । ग्राहकले एमएडब्लू वृद्धि मोटर्सका शोरुम तथा नाडा अटो शोमा रहेको नामी स्टलबाट भिगो ई२ को टेस्ट ड्राइभ र बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

एकैदिन ९ हजार ३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) सुनचाँदीको मूल्य बढेको छ ।  सुनको मूल्य प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढी ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य २६० रुपैयाँले बढी ४ हजार ८५५ रुपैयाँमा काराेबार भइरहेको छ ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन चार हजार ५१२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । गत वर्षको माघ १५ गते  सुनको मूल्य तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।