ब्रोड पिक दुर्घटनाका मृतक नेपालीका परिवारलाई नेको इन्सुरेन्सले दियो बीमा रकम
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा गएको हिमपहिरोमा परी मृत्यु भएका दुई नेपाली आरोहीका परिवारलाई नेको इन्सुरेन्स लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । हिमपहिरोमा विश्वप्रसिद्ध हिमाल आरोही निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको थियो। मृतकमध्ये पाँच जना नेपाली नागरिक रहेका थिए । सोही दुर्घटनामा मृत्यु भएका नेपाली नागरिक ग्यालु शेर्पा र ङाङ ठिन्डु शेर्पाका परिवारलाई ट्रेकिङ तथा एक्सपेडिसन बीमाअन्तर्गतको दाबी रकम भुक्तानी गरिएको नेको इन्सुरेन्सले जनाएको छ । उक्त बीमा सेवा सेवन समिट ट्रेक्स प्रालिमार्फत गरिएको कम्पनीले जनाएको छ । आवश्यक प्रक्रिया पूरा गरी दाबीको छानबिन तथा मूल्याङ्कनपछि कम्पनीले शीघ्र रूपमा बीमा रकम भुक्तानी गरेको हो । विपद्को कठिन समयमा बीमितका परिवारलाई आर्थिक राहत र सहयोग प्रदान गर्नु बीमाको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ । सेवन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले नेको इन्सुरेन्सले गरेको शीघ्र दाबी भुक्तानीप्रति खुसी व्यक्त गरे । ट्रेकिङ तथा एक्सपेडिसन व्यवसायमा शेर्पाहरू मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै उनले कठिन परिस्थितिमा गरिएको सहज र शीघ्र दाबी भुक्तानीले पीडित परिवारलाई ठूलो राहत पुगेको बताए । नेको इन्सुरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत पवन थापाले बीमा जोखिम हस्तान्तरणको माध्यम मात्र नभई दुर्घटना तथा विपद्का समयमा बीमित र उनका परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने महत्वपूर्ण आधार भएको बताए । उनले विशेषगरी ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा कार्यरत जनशक्तिका लागि उपयुक्त बीमा सुरक्षाको महत्वमा जोड दिए । नेको इन्सुरेन्सले आगामी दिनमा पनि बीमित तथा सेवाग्राहीलाई छिटो, सरल र प्रभावकारी दाबी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
भदौ ९ गते मात्रै बस्नेगरी राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं। राष्ट्रिय सभाको बैठक चार दिनपछि बस्नेगरी स्थगित भएको छ । शुक्रबारको राष्ट्रिय सभाको बैठक स्थगित गर्दै सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक यही भदौ ९ गते बस्ने जानकारी दिए ।
नाडा अटो शोमा नेपाल बैंकको अफर, ३ लाखसम्मको लाइफटाइम क्रेडिट कार्ड निःशुल्क
काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष तथा आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा नयाँ निजी तथा व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै बैंकले यस्तो योजना ल्याएको हो । योजनाअन्तर्गत नाडा अटो शोमा नेपाल बैंकबाट कर्जा लिएर जुनसुकै ब्रान्डका नयाँ सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत थप गरी कायम हुने ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकका अनुसार विद्युतीय तथा अन्य सबै प्रकारका नयाँ निजी र व्यावसायिक सवारीसाधन खरिदका लागि कर्जा सुविधा लिन सकिनेछ । यस योजनाअन्तर्गत कर्जा लिँदा कर्जा प्रशासनिक शुल्कबापत ०.५ प्रतिशत मात्र सेवा शुल्क लाग्नेछ । त्यसैगरी, कर्जा उपभोग गर्ने ग्राहकले कुनै अतिरिक्त शुल्कबिना ३ लाख रुपैयाँसम्मको आजीवन क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । नेपाल बैंकले नाडा अटो शोमा सहभागी ग्राहक तथा आम सर्वसाधारणलाई नजिकैको शाखामा सम्पर्क गरी बैंकका नवीनतम वित्तीय सेवा तथा सवारी कर्जासम्बन्धी सुविधाबारे जानकारी लिन आग्रह गरेको छ ।
ट्रकको ठक्करबाट महिला साइकलयात्रीको मृत्यु
कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१, आन्दोलन चोकस्थित हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट एक महिला साइकलयात्रीको मृत्यु भएको छ। कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको मोरङको सुनवर्षी नगरपालिका–१० निवासी ४३ वर्षीय कृष्णप्रसादले चलाएको ना ५ ख २३६० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेकी साइकलयात्री जिल्ला कपिलवस्तु नगरपालिका–२, बर्गदवा बस्ने अन्दाजी २२ वर्षीया निशा गद्दीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी निशालाई व.प्र.का. तौलिहवा, कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी जिल्ला अस्पताल तौलिहवा पठाएको थियो। अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनामा उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। ट्रक तथा ट्रक चालक जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको नियन्त्रणमा रहेका छन् भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
पेटभित्र सुन लुकाएर ल्याएका बंगलादेशी नागरिक पक्राउ
काठमाडौं। पेटभित्र लुकाएर ल्याएको सुनसहित बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ परेका छन् । शुक्रबार नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्याप्सुल जस्तो देखिने ३५ वर्षीय मोहम्मदर रसिल हल्दार पक्राउ परेका हुन् । दुबईबाट काठमाडौं आएका विमानस्थलको भन्सार एरिया क्रस गरेर पार्किङतर्फ जाँदै गर्दा सादा पोशाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा करिब १५० ग्रामको सुन लुकाई ल्याएको भनी स्वीकार गरेका थिए । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार काठमाडौ मेडिकल कलेज, सिनामंगलमा प्लेभिक एरियाको एक्स रे जाँच गराउँदा शंकास्पद धातु पेट भित्र देखिएको थियो । तत्काल शौच गराउँदा उक्त वस्तु ननिस्किएर पेटमा अड्किएर बसेको देखिएको थियो । स्वास्थ्यमा कुनै प्रतिकुलता नदेखिएको र आवश्यक कानूनी प्रक्रिया पुरा गरी ५ दिन उनलाई अस्पतालमा भर्ना गरी राखिएको छ । बंगलादेशी नागरिकलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय गौचरमा बुझाइएको सूचना अधिकारी राजकुमार सिलवालले जानकारी दिए।
बैंकहरुले कर तिर्न छुट्याए साढे ३७ अर्ब रुपैयाँ, कुनको कति ?
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका वाणिज्य बैंकहरुले ३७ अर्ब ६२ करोड २ लाख ३३ हजार रुपैयाँ आय करका छुट्याएका छन् । सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूले छुट्याएको आय कर अघिल्लो वर्षको तुलनामा ९.१३ प्रतिशत अर्थात् ३ अर्ब १४ करोड रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूले ३४ अर्ब ४७ करोड रुपैयाँ आय कर छुट्याएका थिए । आयकरका लागि सबैभन्दा धेरै रकम छुट्याउनेमा नबिल बैंक रहेको छ । बैंकले गत आर्थिक वर्ष ३ अर्ब ६० करोड ३१ लाख रुपैयाँ आयकर छुट्याएको छ । नबिल बैंकले नै गत वर्ष बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९७ करोड रुपैयाँ आयकर छुट्याएको थियो । गत वर्ष अघिल्लो वर्षको तुलनामा २१.११ प्रतिशत अर्थात् ६२ करोड ८२ लाख रुपैयाँ बढी रकम करका लागि छुट्याइएको हो । त्यस्तै, सबैभन्दा धेरै आयकर छुट्याउने बैंकको दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले गत आर्थिक वर्ष ३ अर्ब ४५ करोड ५५ लाख रुपैयाँ आयकर छुट्याएको छ । यो अघिल्लो वर्षको २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँको तुलनामा ३१.४५ प्रतिशत अर्थात् ८२ करोड ६९ लाख रुपैयाँ बढी हो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ८३ हजार ३६७ प्रतिशत बढेर १ अर्ब १५ करोड ३५ लाख २७ हजार रुपैयाँ, सिटिजन्स बैंकको ८१.३७ प्रतिशत बढेर १ अर्ब ३९ करोड ५७ लाख ३ हजार रुपैयाँ, सानिमा बैंकको ५३.८२ प्रतिशत बढेर १ अर्ब ५३ करोड ३८ लाख २३ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ४९.६९ प्रतिशत बढेर १ अर्ब ३० करोड ३३ लाख ५२ हजार रुपैयाँ, प्रभु बैंकको ४६.३७ प्रतिशत बढेर २ अर्ब ३१ करोड ८ लाख ७१ हजार रुपैयाँ आय करका लागि छुट्याएका छन् । यस्तै, एनएमबि बैंकको ४१.१८ प्रतिशत बढेर १ अर्ब ७९ करोड ५५ लाख २९ हजार रुपैयाँ, प्राइम बैंकको १४.३९ प्रतिशत बढेर २ अर्ब २८ करोड ४१ लाख ३१ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ६.८१ प्रतिशत बढेर ३ अर्ब २ करोड ४६ लाख ६६ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकको २.०९ प्रतिशत बढेर ९२ करोड ८५ हजार रुपैयाँ आय करका लागि छुट्याएका छन् । गत आर्थिक वर्षमा ९ वटा वाणिज्य बैंकको आयकर रकम भने घटेको छ । कुमारी बैंकले ३५.९६ प्रतिशतले घटाएर २ अर्ब ९२ करोड ४५ लाख ९५ हजार रुपैयाँ आयकरका लागि छुट्याएको छ । त्यस्तै, कृषि विकास बैंकले १२.०२ प्रतिशत घटाएर १ अर्ब २ करोड ८१ लाख ५४ हजार रुपैयाँ तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले १२.२० प्रतिशत घटाएर १ अर्ब ३१ करोड ८५ लाख ८१ हजार रुपैयाँ छुट्याएका छन् । एभरेस्ट बैंकले १०.०९ प्रतिशत घटाएर २ अर्ब ३१ करोड ७१ लाख १५ हजार रुपैयाँ, हिमालयन बैंकले ६.८० प्रतिशत घटाएर १ अर्ब ५९ करोड ३१ लाख ६५ हजार रुपैयाँ र लक्ष्मी सनराइज बैंकले ५.९७ प्रतिशत घटाएर १ अर्ब ६४ करोड ६१ लाख ८२ हजार रुपैयाँ आयकरका लागि छुट्याएका छन् । नेपाल एसबीआई बैंकले ४.६२ प्रतिशत घटाएर ८८ करोड ७७ लाख १० हजार रुपैयाँ, सिद्धार्थ बैंकले २.९८ प्रतिशत घटाएर १ अर्ब ५९ करोड ३१ लाख १९ हजार रुपैयाँ र नेपाल बैंकले ०.३९ प्रतिशत घटाएर १ अर्ब ५३ करोड ११ लाख ४१ हजार रुपैयाँ आयकरका लागि छुट्याएका छन् ।
कृषि विकास बैंकको मोबाइल एपबाट १० लाखसम्म पुरस्कार जित्ने अवसर
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘एडीबीएल स्मार्ट प्लस’मा आन्तरिक राजस्व विभाग (आईआरडी)को करदाता प्रोत्साहन कार्यक्रम समावेश गरेको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने तथा कर अनुपालन बढाउने उद्देश्यले बैंकले एपमा यस्तो सुविधा थपेको जनाएको छ । नेपाल सरकार तथा आन्तरिक राजस्व विभागद्वारा सञ्चालित यस कार्यक्रमअन्तर्गत १०० रुपैयाँभन्दा बढीको क्यूआर भुक्तानी गर्ने ग्राहकले दैनिक १ लाख रुपैयाँसम्म र प्रत्येक १५ दिनमा १० लाख रुपैयाँसम्मको बम्पर नगद पुरस्कार जित्ने अवसर पाउनेछन् । कसरी सहभागी हुने ? कार्यक्रममा सहभागी हुन ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी कृषि विकास बैंकको मोबाइल बैंकिङ एपमार्फत मर्चेन्ट क्यूआर प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ । त्यसरी भुक्तानी गर्दा सम्बन्धित प्यान वा भ्याट बिल लिएर प्रमाणीकरणका लागि सुरक्षित राख्नुपर्नेछ । दैनिक १ लाखदेखि बम्पर १० लाखसम्म पुरस्कार आन्तरिक राजस्व विभागले तोकेको व्यवस्थाअनुसार योग्य डिजिटल कारोबार स्वतः भाग्यशाली छनोट प्रक्रियामा सहभागी हुनेछन् । एक जना भाग्यशाली ग्राहकले दैनिक पुरस्कारका रूपमा कर कट्टीपछि १ लाख रुपैयाँ नगद पाउनेछन् । त्यस्तै, प्रत्येक १५ दिनमा एक जना ग्राहकले १० लाख रुपैयाँको बम्पर नगद पुरस्कार जित्नेछन् । एपबाटै कारोबार र पुरस्कारको अवस्था हेर्न सकिने कृषि विकास बैंकले ‘एडीबीएल स्मार्ट प्लस’मा छुट्टै ‘आईआरडी इन्सेन्टिभ प्रोग्राम’ मेनु थपेको छ । यसमार्फत ग्राहकले आफूले गरेका योग्य कारोबारको संख्या, विस्तृत विवरण तथा कारोबारको इतिहास हेर्न सक्नेछन् । त्यसैगरी, ग्राहकले आफ्नो पुरस्कारको अवस्था र भाग्यशाली छनोटको नतिजासमेत एपबाटै हेर्न सक्ने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई मर्चेन्ट क्यूआरमार्फत डिजिटल भुक्तानी गर्न, प्यान वा भ्याट बिल लिन तथा एपमार्फत आफ्नो योग्यता नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ । यस कार्यक्रमले डिजिटल कारोबार विस्तार गर्दै नगदरहित अर्थतन्त्र निर्माण र वित्तीय पारदर्शिता बढाउन योगदान पुर्याउने बैंकको विश्वास छ ।
रास्वपाले विस्तार गर्यो सचिवालय, १० जना थपिए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सचिवालय विस्तार गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गर्ने निर्णय गरेको हो । बैठकले सचिवालयमा १० जना सदस्य थप गरेको छ । विस्तारित सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा रहेका छन् । पार्टीका संगठनात्मक तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउन सचिवालय विस्तार गरिएको रास्वपाले जनाएको छ । विस्तारित सचिवालयले पार्टीका दैनिक राजनीतिक, सांगठनिक तथा संसदीय गतिविधिमा समन्वय गर्नेछ ।