नागरिक लगानी कोषका कार्यकारी निर्देशक कार्कीले गरे पदबहाली
काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन् । पदबहालीपछि बोल्दै कार्कीले कोषको सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै यसअघि हुँदै आएका कामलाई अझ चुस्त र पारदर्शी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले कोषमा रहेको ठूलो रकम सरकारका प्राथमिकतामा रहेका परियोजना तथा उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउनुपर्ने बताए । त्यसका लागि कोषले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने उनको भनाइ छ । कार्कीले यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेकाले कोषका गतिविधि र कार्यप्रणालीबारे आफू जानकार रहेको बताए । आगामी दिनमा कोषलाई थप प्रभावकारी र सुदृढ बनाउँदै अघि बढाउन आफू प्रतिबद्ध रहेको उनले बताए । नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले कार्कीलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
सम्बन्धविच्छेद प्रमाणपत्रका लागि १० हजार घुस लिएको आरोपमा वडा सचिवविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार शाहविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने नाममा सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको आरोपमा शाहविरुद्ध आरोपपत्र दायर गरिएको हो । अख्तियारको कार्यालय इटहरीमा परेको उजुरीका आधारमा खटिएको टोलीले वडा सचिव शाहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र कानुनबमोजिम उपलब्ध गराउनुपर्ने जिम्मेवारी हुँदाहुँदै शाहले आफ्नो पद र अधिकारको दुरुपयोग गर्दै नियतवश ढिलासुस्ती गरेको आयोगको निष्कर्ष छ । दर्ता प्रक्रिया सहजीकरण गरी प्रमाणपत्र उपलब्ध गराइदिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस मागेर लिएको आयोगले जनाएको छ । आयोगका अनुसार शाहको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर ठहर भएको भन्दै बिगो १० हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
लघुवित्त क्षेत्रका चुनौती र सुधारबारे डेपुटी गभर्नर रावलसँग छलफल
काठमाडौं । नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन (एनएमबीए) ले नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावललाई भेटेर बधाई तथा शुभकामना दिएको छ । एसोसिएसनका अध्यक्ष रामबहादुर यादवको नेतृत्वमा पूर्वउपाध्यक्ष रामहरी दाहाल, सल्लाहकार तथा पदाधिकारीहरूको टोलीले रावललाई भेटेर नियुक्तिको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो । भेटका क्रममा एसोसिएसनका पदाधिकारीहरूले लघुवित्त क्षेत्रको स्थिरता, प्रभावकारी नियमन र संस्थागत सुदृढीकरणमा डेपुटी गभर्नर रावलको नेतृत्वबाट थप सहयोग र समन्वयको अपेक्षा रहेको बताएका छन् । सो अवसरमा डेपुटी गभर्नर रावल र एसोसिएसनका प्रतिनिधिबीच लघुवित्त क्षेत्रका समसामयिक विषय, नियामकीय व्यवस्था तथा क्षेत्रको सुधार र विकासका विविध पक्षमा छलफल भएको एसोसिएसनले जनाएको छ ।
तथ्यमा आधारित नीति निर्माणमा अनुसन्धान प्रतिष्ठानको जोड, ८ अध्ययन प्रतिवेदन समीक्षा हुँदै
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको नीति अनुसन्धान प्रतिष्ठानले नेपालको सार्वजनिक नीति निर्माण प्रक्रियालाई तथ्यपरक र प्रमाणमा आधारित बनाउने दिशामा आफ्नो सक्रियतालाई तीव्रता दिएको छ । प्रतिष्ठानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको साउन १६ देखि ३१ गतेसम्मको पाक्षिक कार्यप्रगति विवरणअनुसार त्यहाँ तयार भएका ८ वटा प्रतिवेदनहरूलाई विज्ञ तथा आन्तरिक समीक्षाका लागि पठाइएका छन् । ‘विद्यालयको पाठ्यक्रममा लैङ्गिक सवाल र घरेलु हिंसा, कसुर तथा सजाय’, ‘नेपालमा विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता अभिवृद्धि र व्यवस्थापन प्रणालीको सुदृढीकरण स् एक रणनीतिक अध्ययन’लाई प्रतिष्ठानको प्रकाशन पुनरावलोकन तथा सिफारिस समितिमा आन्तरिक समीक्षाका लागि तथा ‘पिछडिएको वर्गको पहिचानका आधारहरू निर्धारण सम्बन्धी अध्ययन’ प्रतिवेदनलाई विज्ञ समीक्षाका लागि पठाइएको छ । अर्कोतर्फ, ‘विपन्न खस(आर्यको पहिचानका आधारहरू’, ‘राष्ट्रिय आवास नीति, २०६८ को समीक्षा स् नेपालको बदलिँदो सामाजिक(आर्थिक परिवेशका सन्दर्भमा नीतिगत मार्गदर्शन’, ‘सामाजिक सुरक्षा प्रणालीको एकीकरणका लागि सुझावहरू’, ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता र त्यसको कार्यान्वयन’ र ‘नेपालमा फर्केका आप्रवासीहरूको पुनःएकीकरण स् पुँजी, ज्ञान र सीपको सदुपयोग’ सम्बन्धी प्रतिवेदनहरूलाई भने आन्तरिक र विज्ञ दुवै समीक्षाको प्रक्रियामा लगिएको छ । कर्मचारीतन्त्रमा हुने निरन्तरको सरुवा र जिम्मेवारी हेरफेरका कारण उत्पन्न हुने सूचनाको रिक्ततालाई चिर्न र संस्थागत स्मृति कायम राख्न प्रतिष्ठानले यसै अवधिमा 'सार्वजनिक खर्च व्यवस्थापनको प्रभावकारिता' र 'निजामती सेवामा ज्ञान हस्तान्तरणको संस्कृति' सम्बन्धी दुई वटा महत्त्वपूर्ण प्रतिवेदनहरू अनलाइन प्रकाशन गरेको छ । यसका साथै, नीतिगत बहसलाई थप तार्किक र प्रमाणमुखी बनाउने लक्ष्यसहित अन्य ३ वटा प्रतिवेदनहरू हाल ले(आउटको अन्तिम चरणमा पुगेका छन् । प्रतिष्ठानको संस्थागत सुदृढीकरणको यो यात्रा अनुसन्धान र प्रकाशनमा मात्र सीमित नभई व्यापक नीतिगत संवाद र ठोस योजना निर्माणतर्फ पनि विस्तारित भएको छ । दुई दशक पुरानो 'लागूऔषध नियन्त्रण राष्ट्रिय नीति २०६३' लाई वर्तमान अन्तर्राष्ट्रिय मानव अधिकार र स्वास्थ्य मापदण्ड अनुकूल बनाउनका लागि प्रतिष्ठानले सरोकारवालाहरूसँग सार्वजनिक नीति संवाद सम्पन्न गरेको छ । यसैगरी, प्रतिष्ठानको विकास समितिबाट आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट बाँडफाँट तथा वार्षिक कार्यक्रम कार्ययोजना स्वीकृत भएको छ । यो स्वीकृतिले प्रतिष्ठानका अनुसन्धान गतिविधिलाई केवल प्राज्ञिक अभ्यासमा मात्र खुम्चिन नदिई सरकारको वार्षिक कार्ययोजनासँग वित्तीय र रणनीतिक रूपमा एकाकार गराउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
रास्वपाको नयाँ प्रवक्ता जगदीश खरेल, को–कसले पाए जिम्मेवारी ?
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रवक्तामा जगदीश खरेल (ललितपुर) मनोनीत भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट उनलाई प्रवक्तामा नियु्क्त गरेको हो । त्यस्तै पार्टीको सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने र अर्थ विभागमा लिमा अधिकारीलाई मनोनीत भएका छन् । सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा शिशिर खनाल मनोनीत भएका छन् ।
सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढ्यो
काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.६७ अंकले घटेर २६१८.७२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ७० कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३४४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सोलु हाइड्रोको २४ करोड, रिडि पावरको १८ करोड र सानिमा मिडल तमोरको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
रास्वपाको केन्द्रीय सदस्यमा गृहमन्त्री सुधनगुरुङदेखि भूपदेव शाहसम्म मनोनीत
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङदेखि भूपदेव शाहसम्म मनोनीत भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनीत गरेको हो । केन्द्रीय सदस्य मनोनीत हुने अन्य नेताहरूमा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई छन् । त्यस्तै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल मनोनीत भएका छन् ।
शंखमुलको होस्टलमा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु
काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्ला दाङको घोराही उ.म.न.पा.–१७ घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीको मृत्यु भएको हो । सोही होस्टलमा बस्ने बाराको कलैया उ.म.न.पा.–३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए । घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । टाउको र घाँटीमा चोट लागेका उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा उपचार भइरहेकोमा उपचारकै क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनामा संलग्न शेखर यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ भने फरार रहेका प्रमित पटेलको खोजी तथा अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको छ ।