नेपाल टेलिकमले माग्यो ब्रोकरको सूची, १० अर्बको कारोबार हुनुपर्ने
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (ब्रोकर) सेवा प्रदायक कम्पनीको सूची दर्ता गर्न प्रस्ताव आह्वान गरेको छ । कम्पनीलाई चालु आवको लागि धितोपत्र दलाल सेवा आवश्यक भएकोले योग्यता पुगेका कम्पनीलाई सूची दर्ता गर्न आग्रह गरेको हो । टेलिकमका अनुसार सूचीकरणका लागि इच्छुक धितोपत्र दलाल सेवा प्रदायक कम्पनी प्रचलित कानुनबमोजिम कम्पनी वा संगठित संस्थाका रूपमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी अद्यावधिक नवीकरण गरेको र स्थायी लेखा नम्बर प्राप्त गरेको हुनुपर्नेछ । कम्पनीले नेपाल धितोपत्र बोर्डले तोकेको न्यूनतम चुक्ता पुँजी पूरा गरेको, आर्थिक वर्ष २०८१/८२ को खुद कार्यशील पुँजी धनात्मक रहेको र सोही आर्थिक वर्षको करचुक्ता गरेको हुनुपर्नेछ । त्यसैगरी, अन्तिम दुई आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा धितोपत्र खरिद-बिक्रीको औसत वार्षिक कारोबार रकम १० अर्ब रुपैयाँभन्दा बढी भएको हुनुपर्नेछ । धितोपत्र दलालका रूपमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव पनि आवश्यक पर्नेछ । सूचीकरणका लागि कम्तीमा एउटा पूर्ण वा आंशिक सरकारी स्वामित्व भएको कम्पनी, संगठित संस्था वा अन्य संगठित संस्थामा धितोपत्र दलालका रूपमा कम्तीमा एक वर्ष काम गरेको अनुभव हुनुपर्ने टेलिकमले जनाएको छ । साथै, प्रचलित कानुनबमोजिम कारोबार गर्न अयोग्य नभएको हुनुपर्नेछ ।
देशभर मनसुनी वायुको प्रभाव, यी ४ प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेश प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
टीकापुर घटनाको लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न मन्त्री चौधरीको प्रतिबद्धता
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । थारू कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोज्नुपर्ने बताइन् । थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारमै बसेर उठाइरहेको बताउँदै थारू समुदायको अधिकार, पहिचान र न्यायका सवालमा आफू निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरिन् । उनले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने र थारू समुदायका जायज माग सम्बोधनका लागि सरकार गम्भीर रहेको बताइन् ।
प्रतिनिधिसभा र पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । यसैबीच, आजै विभिन्न पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ ।
नेपालमा सार्वजनिक भयो दीपल नेभो क्यू०५, सुरुवाती मूल्य ४६ लाख ९९ हजार
काठमाडौं । एमएडब्लू वृद्धि नेपालले चिनियाँ अटोमोबाइल निर्माता चांगानको प्रिमियम सब-ब्रान्ड नेभोको नयाँ विद्युतीय गाडी दीपल नेभो क्यू०५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आइतबार आयोजित एक कार्यक्रमकाबीच दीपल नेभो क्यू०५ गाडी सार्वजनिक गरेको हो । यस एसयूभीले नेपालमा प्रविधि, आराम र विलासिताको नयाँ मापदण्ड खडा गर्ने कम्पनीले विश्वास लिएको छ । बिक्रीसँगै बिक्रीपछिको सेवालाई प्राथमिकता दिँदै एमएडब्लू नेपालले ग्राहकको सुरक्षाका लागि ७ करोडभन्दा बढीको स्पेयर पार्टस र २४ घण्टा चल्ने हेल्पलाइनको व्यवस्था गरेको छ भने चांगान इन्टरनेशनलले यो गाडी आफ्ना सेगमेन्टभन्दा माथि उठ्नका लागि बनाइएको बताएको छ । नेपालमा म्याक्स र अल्ट्रा गरी दुई भेरियन्टमा भित्र्याइएको यस ईभीको सुरुवाती मूल्य नाडा अटो शो अवधिसम्मका लागि क्रमशः ४६ लाख ९९ हजार र ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । अटो शोपछि म्याक्सको ४८ लाख ९९ हजार र अल्ट्राको ५१ लाख ९९ हजार रुपैयाँ पुग्नेछ । प्राविधिक रूपमा १२० किलोवाटको मोटर र ५२ किलोवाट आवरको गोल्डेन शिल्ड २.० ब्याट्री जडान गरिएको यस गाडीले एक पटकको फुल चार्जमा ४६२ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । इटालीको ‘ए-डिजाइन अवार्ड’ मा गोल्ड मेडल जित्न सफल क्लाउड्स एण्ड सोफिया कन्सेप्टमा आधारित यो एसयूभी ४.५४ मिटर लम्बाइ र २.७३ मिटर ह्विलबेससहित निकै फराकिलो छ । क्याबिनको ८० प्रतिशत भाग सफ्ट-टच सामग्री, ९ तहको कुशन सिट र ६७ स्थानमा साउन्ड इन्सुलेशन प्रविधि प्रयोग गरिएकाले यात्रा शान्त र विलासी हुने कम्पनीले जनाएको छ । सुरक्षाका लागि १८ वटा स्मार्ट ड्राइभिङ सिस्टम, ट्रान्सप्यारेन्ट च्यासिस, स्वचालित इमर्जेन्सी ब्रेक र स्टेयरिङ कन्ट्रोलका साथै मोबाइल एपबाटै चार्जिङ, लोकेसन र तापक्रम नियन्त्रण गर्न सकिने सुविधा उपलब्ध छ । ग्राहकको विश्वास जित्न कम्पनीले ५ वर्षको सवारी साधन वारेन्टीका साथै ब्याट्री र ड्राइभ ट्रेनमा नेपालकै सबैभन्दा लामो ११ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ ।
बीमा क्षेत्रको सुधार र दक्षता वृद्धिमा अनुसन्धान र सहकार्य आवश्यक
काठमाडौं । बीमा क्षेत्रलाई थप प्रभावकारी, विश्वसनीय र दक्ष बनाउन अनुसन्धान, प्राविधिक अध्ययन तथा सम्बन्धित संस्थाबीच सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन् । उनीहरूले बीमा सर्भेक्षण, दाबी मूल्याङ्कन, बीमालेख निर्माण तथा प्राविधिक विषयमा निरन्तर अनुसन्धान गरी त्यसका आधारमा नीतिगत सुधार अघि बढाउनुपर्नेमा जोड दिएका छन् । रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स (रिसी) को प्रथम वार्षिक साधारणसभाका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन् । नेपालमा बीमा सर्भेक्षण, क्षति मूल्याङ्कन तथा दाबी प्रक्रियासम्बन्धी अनुसन्धान गर्ने उद्देश्यले स्थापना भएको रिसीले नेपाल बीमा प्राधिकरण तथा अन्य सम्बन्धित संघसंस्थासँग सहकार्य गर्दै बीमा क्षेत्रका नयाँ अभ्यास र चुनौतीबारे अनुसन्धानमूलक अध्ययन तथा सुझाव प्रस्तुत गर्दै आएको छ । कार्यक्रममा रिसीका अध्यक्ष मोहन पुरुष ढकालले संस्थाको आगामी प्रमुख प्राथमिकता सदस्यता विस्तारका लागि बलियो र प्रभावकारी संयन्त्र विकास गर्नु रहेको बताए । उनले संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सञ्चालक समितिसहित सबैप्रति आभार व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणको प्रयास र संस्थाले अघि सारेका रणनीतिका आधारमा आगामी कामलाई थप प्रभावकारी बनाइने बताए । उनका अनुसार संस्थाले विभिन्न रणनीति विकास गरिसके पनि अझै धेरै काम गर्न बाँकी छ । विशेषगरी सदस्यता विस्तारलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक संयन्त्र विकासको काम अघि बढिरहेको उनले जानकारी दिए । अध्यक्ष ढकालले सर्भेयरहरू आ–आफ्नो क्षेत्रमा विज्ञ रहेको उल्लेख गर्दै उनीहरूले लामो समयदेखि हासिल गरेको दक्षता र परीक्षण भइसकेको क्षमतालाई कानुनी तथा संस्थागत रूपमा समेट्नुपर्नेमा जोड दिए । सर्भेयरहरूको क्षमता ओझेलमा नपरोस् भन्नेतर्फ सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले नेपाली बीमा सर्भेयरहरूले अनपेक्षित विपद्का समयमा जोखिमको यथार्थ मूल्याङ्कन गर्दै समयमै दाबी फछ्र्यौट गर्न सक्ने क्षमता प्रमाणित गरिसकेको बताए । उनले नेपाली बीमा क्षेत्रको बढ्दो दायरा, प्राविधिक जनशक्तिको विकास तथा विशेषगरी विपद् व्यवस्थापनमा सर्भेयरहरूले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरे । नेपालमा पर्याप्त संख्यामा अनुभवी तथा दक्ष सर्भेयर रहेको उल्लेख गर्दै उनले कोभिड-१९ महामारी तथा पछिल्ला ठूला प्राकृतिक विपद्का समयमा सर्भेयरहरूले निर्वाह गरेको भूमिका र दाबी फर्छ्याैटमा पु‍र्याएको योगदान प्रशंसनीय रहेको बताए । अध्यक्ष क्षेत्रीले बीमा क्षेत्रसँग आबद्ध सर्भेयर एसोसिएसन तथा बीमक संघलगायत संस्थालाई सहभागी गराएर संयुक्त रूपमा अध्ययन तथा अनुसन्धान अघि बढाउनुपर्ने बताए । बीमालेखको डिजाइनदेखि दाबी मूल्याङ्कनसम्मका विषयमा अनुसन्धान गरी आवश्यक सुझाव तथा सिफारिस तयार गर्नुपर्ने उनको भनाइ थियो । इन्जिनियरिङ बीमामा ‘फिडिक’का सिफारिस तथा इन्जिनियरिङ काउन्सिलले तयार गर्ने बीमा क्लजलाई आधार बनाउने गरिएको उल्लेख गर्दै क्षेत्रीले नेपालमा पनि बीमा क्षेत्रका प्राविधिक विषयमा व्यवस्थित अनुसन्धान आवश्यक रहेको बताए । उनका अनुसार नेपाल बीमक संघले प्राविधिक विषयमा सुझाव दिन विभिन्न प्राविधिक समूह तथा उपसमिति गठन गरेको छ । अन्डरराइटिङसम्बन्धी विषयमा सुझाव दिन सात सदस्यीय प्राविधिक उपसमिति रहेको तथा स्ट्यान्डर्ड फाइनान्स र पुनर्बिमालगायत विषयमा पनि प्राविधिक उपसमितिमार्फत काम भइरहेको उनले जानकारी दिए । नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसिएसन (निर्मा) का उपाध्यक्ष उदयराज अधिकारीले रिसीले संस्थाको सुरुवातदेखि नै वित्तीय स्रोत, कार्ययोजना र सञ्चालन मोडलबारे स्पष्ट योजना बनाउनुपर्ने बताए । निर्माले सञ्चालनका क्रममा भोगेका कठिनाइ रिसीले भोग्न नपरोस् भन्नेतर्फ सुरुदेखि नै तयारी आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता संस्था सञ्चालनका लागि पर्याप्त नगद प्रवाह आवश्यक हुने बताए । संस्थाको व्यावसायिक योजना र वित्तीय स्रोतबारे सुरुदेखि नै स्पष्ट हुनुपर्ने उनको भनाइ थियो । अधिकारीले अनुसन्धानसँगै जर्नल तथा प्रकाशनलाई पनि संस्थागत विकासको महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताए । निर्माले विगत पाँच वर्षदेखि नियमित रूपमा जर्नल प्रकाशन गर्दै आएको र हालसम्म छ वटा संस्करण प्रकाशित गरिसकेको जानकारी दिँदै उनले एउटा जर्नल प्रकाशनमा न्यूनतम चारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुने बताए । रिसी र निर्माबीच जर्नल प्रकाशन तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्न सकिने उल्लेख गर्दै अधिकारीले बीमा क्षेत्रसँग आबद्ध विभिन्न गैरनाफामूलक संस्था तथा संघसंस्थाबीच अनुसन्धान र विकासका क्षेत्रमा संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिए । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसीले नेपालको बीमा क्षेत्रलाई थप परिष्कृत र विश्वसनीय बनाउन अनुसन्धानमूलक संस्थाको आवश्यकता रहेको बताए । बीमा क्षेत्रमा अनुसन्धानको आवश्यकता महसुस गरी रिसी स्थापना हुनु आफैंमा प्रशंसनीय प्रयास भएको उनको भनाइ थियो । रिसीलाई सफल बनाउन संस्थाको आफ्नै पहलसँगै नेपाल बीमक संघ, बीमा कम्पनी तथा नेपाल बीमा प्राधिकरणको समेत महत्त्वपूर्ण भूमिका रहने केसीले बताए । अनुसन्धानका लागि आवश्यक स्रोतसाधन जुटाउन सम्बन्धित निकायले सहयोग गर्नुपर्ने उनले बताए । नेपालको बीमा क्षेत्रमा देखिने नयाँ तथा आकस्मिक विषयलाई सम्बोधन गर्न नियमित अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै केसीले बीमा क्षेत्र अझै आलोचनाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको र अपेक्षित गतिमा अघि बढ्न नसकेको अवस्थामा अनुसन्धानमार्फत समस्याको पहिचान तथा समाधान खोज्नुपर्ने बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सर्भेयरहरू आफ्नो क्षेत्रमा स्थापित विज्ञ रहेको भन्दै बीमा व्यवसायमा उनीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए । नेपालमा सर्भेयरको पेशा पुस्तौंदेखि चल्दै आएको र पुस्तान्तरण हुँदै जाँदा पनि यसको महत्व उत्तिकै कायम रहेको उनले उल्लेख गरे । सर्भेयरहरूको हकहित तथा बीमा क्षेत्रको सुधारका लागि प्राधिकरणले रिसीसँग निरन्तर समन्वय र सुझाव आदानप्रदान गर्दै आएको लामिछानेले बताए । रिसीको मुख्य उद्देश्य बीमा क्षेत्रका विभिन्न विषयमा अनुसन्धान गर्नुका साथै सर्भेयरहरूलाई आवश्यक तालिम प्रदान गर्नु रहेको उनले बताए । प्राधिकरणले सर्भेयर लाइसेन्सका लागि परीक्षा तथा तालिमको व्यवस्था गरेको उल्लेख गर्दै उनले रिसीले उपयुक्त पाठ्यक्रम विकास गरी तालिम सञ्चालन गर्दा प्राधिकरणको कानुनी आवश्यकतासमेत पूरा गर्न सहयोग पुग्ने बताए । बीमा दाबी तथा सर्भेका क्रममा देखिने विसंगति, बीमालेखसम्बन्धी विवाद र प्राविधिक समस्याको समाधानका लागि ठोस अनुसन्धान आवश्यक रहेको लामिछानेको भनाइ थियो । रिसीको सञ्चालनका लागि सेवा शुल्क, सदस्यता शुल्क तथा विभिन्न तथ्यांक र अनुसन्धान परियोजनामा हुने सहकार्यलाई आम्दानीको मुख्य स्रोत बनाउन सकिने उनले बताए । उनका अनुसार प्राधिकरणले हाल छ वटा नयाँ पोर्टफोलियो निर्माण गरिरहेको छ । विद्यमान सर्भेयरले कसरी काम गर्ने, उनीहरूको कार्यक्षेत्र कसरी निर्धारण गर्ने तथा कस्तो अनुभव भएका सर्भेयरलाई कुन श्रेणीमा राख्ने भन्ने विषयमा रिसीले गर्ने अनुसन्धान महत्त्वपूर्ण हुने उनले बताए । रिसीबाट प्राप्त अनुसन्धान प्रतिवेदनले सर्भेयरको कार्यक्षेत्र निर्धारण तथा वर्गीकरणका विषयमा प्राधिकरणलाई महत्त्वपूर्ण प्राविधिक सहयोग पुग्ने लामिछानेले बताए ।
नेपालमै बेलायतको डिग्रीः स्ट्याम्फोर्डमा कम खर्चमै युकेको शिक्षा
काठमाडौं । स्ट्याम्फोर्ड कलेजले युकेको ४ वर्षे डिग्रीसहित बीएससी अर्न्स कम्युयुटिङ साइन्स र साइबर सेक्यूरिटी कोर्स पढाउँदै आएको छ । कलेजले युकेको टाइम्स हाइयर र्याङकिङको ‘टप छ सय प्लस’मा पर्ने ‘युनिभर्सिटी अफ् द वेस्ट अफ् स्कटल्याण्ड’को कोर्स नेपालमै अध्यापन गराइरहेको हो । ‘युके पढ्न जाने मन हुँदाहुँदै पनि कति विद्यार्थी आर्थिक कारण वा सानै उमेरको हुँदा परिवारले ब्याचलर सम्म त यही पढेर जाउँ भन्ने हुन्छ । कतिले नेपालमै बाहिरको जस्तो कोर्स चाहिरहेका हुन्छन् । विद्यार्थीलाई टार्गेट गरेर हामी ‘युनिभरर्सिटी अफ् द वेस्ट अफ् स्कटल्याण्ड’सँग एफिलेटेड भएर निकै कम फिमा युकेको डिग्री नेपालमै अध्यापन गराइरहेका हौं,’ कलेज हेड सन्दिप पोखरेलले भने । उनका अनुसार उक्त डिग्री लिएपछि थप अध्ययनका लागि विश्वका जुनसुकै युनिभर्सिटीमा पढ्न विद्यार्थीलाई समस्या रहँदैन । कलेजले विद्यार्थीका लागि एआई र साइबर सेक्युरिटी ल्याबमा कोडिङ च्यालेन्ज, ह्याकाथन तथा इन्डस्ट्री वर्कसपमार्फत सिक्ने अवसरमा समेत जोड्ने गरेको छ । यस्तै, करिअर काउन्सिलिङ, सेमिनार, नियमित उद्योग भ्रमण गराएर पढ्दै गर्दा नै इन्टर्नसिप र जब पेलेसमेन्टमार्फत करिअरको उचाइ पक्का गर्न विद्यार्थीलाई सघाउने गरेको कलेज प्रशासनको भनाइ छ । विद्यार्थीको मानसिक तथा शारीरिक अवस्थालाई ध्यानमा राख्दै कलेज परिसरमै लाइब्रेरी, जिम, स्नूकर हाउस र रुफटप क्याफेटेरिया सञ्चालन गरिएको छ । कलेजको शैक्षिक तथा प्रशासकीय व्यवस्थापनबारे प्रश्न गर्दा बीएससी कम्यूयुटिङ साइन्स पढ्दै गरेका सुशान्त थारु भन्छन्, ‘२ वर्ष पहिले १२ कक्षाको नतिजा प्रकाशन भइसकेपछि आइटी पढ्नका लागि विदेश जाने तयारीमा थिए । तर परिवारले विदेशमा अध्ययनको स्वीकृति नदिएपछि स्ट्याम्फोर्ड कलेजमा भर्ना भएँ ।’ यतिबेला उनले बीएससी कम्यूयुटिङ साइन्सको अध्ययन सुरु गरेको दुई वर्ष पुगेको छ । यो अवधिमा आफू कलेजको अध्ययन अध्यापन र अतिरिक्त क्रियाकलापबाट सन्तुष्ट रहेको सुशान्तले सुनाए । ‘म अहिले कलज जोइन भएको २ वर्ष भयो । टप र्याङ्किङमा पनि परेको छु । यहाँको कक्षाकोठादेखि टिचर, पढाउने तरिका सबै मन परेको छ । साँच्चै नै युके नै गएर पढेको जस्तो महसुस गरेको छु,’ उनले भने । सोही कोर्समा यसै वर्ष भर्ना भएकी जेनिसी भण्डारीले पनि कलेजको वातावरण नयाँ विद्यार्थीको लागि पनि नयाँ जस्तो नभएको अनुभव साटिन् । ‘म आजबाट मात्रै कलेज सुरु गरेको हुँ । टिचर, एडमिन सबैको व्यवहार एकदमै घुलमिल हुन सकिने खालको रहेछ । विदेशको तुलनामा यहाँ निकै कम ‘फि’ मा विश्वभर क्रेडिड आवर पुग्ने डिग्री पाइने भएकाले यो कलेज रोजेँ,’ विद्यार्थी भण्डारीले भनिन् ।
‘पुराना दलसँग ३५ वर्षको हिसाब माग्न बन्द गर्नू, आगामी ३५ वर्षको कार्ययोजना ल्याउनू’
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार (आज) राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । ‍उनले विगत ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागि अगामी ३५ वर्षको कार्ययोजना ल्याउन समेत निर्देशन दिए । लामिछानेले विगतमा अन्य नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भएपनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेको समेत स्पष्ट पारे । उनले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अब हामीले दोष देखाउने कुनै कुरा छैन । अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो । ३५ वर्षको योजना ल्याउनुहोस् । अब वितेको ३५ वर्षको लागि उहाँहरु लाई कचकच गर्ने ठाउँमा हामी छैनौँ । जति सके गरे धन्यावाद । तर अबको ३५ वर्षमा कस्तो बनाउने हाम्रै हातमा छ नि ।’ उनले विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरूले गरेका सकारात्मक कामहरूप्रति धन्यवाद दिनुपर्ने पनि बताए ।