विकासन्युज

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्रीले गरे भर्चुअल उद्घाटन

काठमाडौं । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो । जनैपूर्णिमाका अवसरमा बडीमालिका क्षेत्रमा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएको हो । समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको त्यस क्षेत्रमा सञ्चार सेवा पुगेपछि स्थानीयवासी, तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायका लागि सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ । सोमबार दिउँसो करिब १ बजे टावर जडानको काम सम्पन्न भएसँगै फोर–जी सेवा सञ्चालनमा ल्याइएको हो । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सेवा सञ्चालनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै दुर्गम भूगोलमा रहेका नागरिकलाई पनि सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए । त्यस क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउन निरन्तर खटिने नेपाल टेलिकमका कर्मचारी, हेलिकप्टरमार्फत् सामान ढुवानीमा सहयोग गर्ने नेपाली सेना तथा सो कार्यमा समन्वय र सहकार्य गरेका बडीमालिकाका जनप्रतिनिधिलाई सञ्चारमन्त्री डा. तिमिल्सिनाले धन्यवाद ज्ञापन गरे । सञ्चारमन्त्री तिमिल्सिनाले यस वर्षलाई सरकारले दूरसञ्चार क्षेत्रमा अभूतपूर्व सुधारको वर्ष र डिजिटल रूपान्तरणको वर्षका रुपमा मनाउन लागेको उल्लेख गर्नुहुँदै भौगोलिक रूपमा विकट भएकै कारण कुनै पनि नागरिक सञ्चार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गरिने बताए । उनले देशका दुर्गम तथा पर्यटकीय क्षेत्रसम्म गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए । सेवा सञ्चालनपछि सञ्चारमन्त्री डा. तिमिल्सिनाले टावर स्थापनाका लागि बडीमालिका क्षेत्रमा खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कलमार्फत प्रत्यक्ष संवाद गरे । नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय र सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट टावर निर्माणका लागि बडीमालिका क्षेत्रमा खटिएका कर्मचारीसँग उनले सेवा सञ्चालनको अवस्था र त्यहाँको कठिनाई बारे जानकारी लिए । सो भिडियो संवादका क्रममा सहायक प्राविधिक अधिकृत माधव बुढाथोकी, इन्जिनियर सुदर्शन आचार्य, सिभिल इन्जिनियर दीपकराज भट्टलगायतका प्राविधिकले टावर स्थापना तथा सेवा सञ्चालनका क्रममा भएका कामबारे जानकारी गराएका थिए । त्यस्तै, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले दुर्गम क्षेत्रमा सञ्चार सुविधा पु¥याउने विषय टेलिकमको प्राथमिकतामा रहेको बताइन् । उनले टेलिकमको सेवा पहुँच विस्तारसँगै गुणस्तर सुधारमा समेत काम भइरहेको जानकारी दिइन् । प्रबन्ध निर्देशक पहाडीले व्यावसायिक लाभलाई मात्र आधार बनाएर सेवा विस्तार गर्नुभन्दा सञ्चार सेवाको पहुँच कमजोर रहेका दुर्गम क्षेत्रमा सेवा पुर्याउने जिम्मेवारीलाई प्राथमिकता दिइएको बताइन् । उनले देशका विकट भूभागमा समेत नागरिकलाई सञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्यअनुसार नयाँ पूर्वाधार निर्माण र सेवा विस्तार भइरहेको जानकारी दिइन् । टावर जडान गर्न करिब १ महिनाको प्रयास सफल बडिमालिका क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा ल्याउनका लागि सरकार र नेपाल टेलिकमले करिब एक महिनादेखि निरन्तर काम गरिरहेका थिए । सञ्चारमन्त्री डा. तिमिल्सिनाले बडीमालिका क्षेत्रमा तत्काल सञ्चार सेवा विस्तार गर्न गत साउन ८ गते नेपाल टेलिकमलाई निर्देशन दिएका थिए । बडीमालिकामा सञ्चार सेवा नपुगेको विषयमा गम्भीर चासो देखाउँदै उनले आवश्यक प्रक्रिया तत्काल अघि बढाउन र प्राविधिक तथा भौगोलिक चुनौती समाधान गरी सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए । सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशनपछि नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा टावर निर्माण तथा फोर–जी सेवा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको थियो । सडक सञ्जालबाट उपकरण तथा निर्माण सामग्री ढुवानी गर्न कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत टावर निर्माणका लागि आवश्यक उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको थियो । यसबीच सञ्चारमन्त्री डा. तिमिल्सिनाले बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग पनि त्यहाँ आवश्यक पर्ने दूरसञ्चार पूर्वाधार, सम्भावित टावर जडानस्थल तथा सडक सञ्जालको अवस्थाबारे छलफल गरेका थिए । सडकमार्फत उपकरण तथा निर्माण सामग्री पुर्याउन सम्भव नदेखिएपछि हेलिकप्टरबाट सामग्री ढुवानी गर्ने व्यवस्था मिलाउन उनले सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । बडीमालिका मन्दिर क्षेत्र समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको छ । टावर भने करिब चार हजार दुई सय ३० मिटरको उचाइमा रहेको लौरी विनायक भन्ने स्थानमा स्थापना गरिएको नेपाल टेलिकमले जनाएको छ । अत्यन्तै विकट तथा उच्च हिमाली भूगोलमा टावर स्थापना गर्न प्राविधिक टोलीले चुनौतीपूर्ण परिस्थितिमा काम गरेको थियो । बडीमालिका क्षेत्रमा स्थायी बस्ती कम रहेको भए पनि धार्मिक, पर्यटकीय तथा पदयात्राका दृष्टिले यो क्षेत्र महत्वपूर्ण रहेको नेपाल टेलिकमका सहायक प्राविधिक अधिकृत माधव बुढाथोकीले जानकारी दिए । बडीमालिका मन्दिर, विभिन्न पाटन, पदमार्ग तथा त्रिवेणी क्षेत्रसम्म पुग्ने तीर्थयात्री तथा पर्यटकका लागि मोबाइल तथा इन्टरनेट सेवा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

कांग्रेसको महाधिवेशन विवाद फेरि सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद फेरि सर्वोच्च अदालत पुगेको छ।  पूर्वसभापति शेरबहादुर देउवाले महाधिवेशन रोक्न माग गर्दै नयाँ रिट लिएर सर्वाेच्च पुगेका थिए । तर उनलाई सर्वाेच्चले पूरक निवेदन लिएर आउन भनेकाे छ भने पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट पूरक निवेदन परेको छ । वरिष्ठ अधिवक्ता खम्बबहादुर खातीले देउवाले १५औं महाधिवेशनको प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश माग गर्दै रिट लिएर अदालत गए पनि सर्वोच्चले पुरानै रिटमा पूरक निवेदन ल्याउन भनेको जानकारी दिए । सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार खड्काको निवेदन दर्ता भइसकेको छ भने देउवाको हकमा पूरक निवेदन ल्याउन भनिएको छ ।  विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी प्रक्रिया अघि बढाएपछि देउवा अदालत पुगेका हुन् । खड्काको तर्फबाट भने यसअघि दायर गरिएको मुद्दामा पूरक निवेदन पेस भएको हो ।  सर्वोच्चले अघिल्लो आदेश पुनरावलोकनका लागि अनुमति दिइसकेकाले पूरक निवेदनलाई पनि सोही मुद्दासँगै राखेर सुनुवाइ गर्नुपर्ने खड्काको माग छ ।  उनले महाधिवेशनका सम्पूर्ण कार्यक्रम रोक्नसमेत माग गरेका छन् । कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म महाधिवेशन अघि बढाउन नहुने देउवा र खड्का पक्षको जिकिर छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि देउवा र खड्का पक्ष सर्वोच्च पुगेका थिए । सर्वोच्चले सुरुमा निर्वाचन आयोगको निर्णय सदर गरेको थियो । त्यसपछि उक्त आदेश पुनरावलोकनको माग गर्दै दुवै पक्षले निवेदन दिएका थिए ।  प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको पूर्ण इजलासले पुनरावलोकनका लागि अनुमति दिएपछि कांग्रेसको आधिकारिकता विवाद पुनः बल्झिएको हो ।

सचेत वा नसिहत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन गरी सचेत गराइएका वा नसिहत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न योग्य ठहर्‍याउने गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ  । सोमबार आयोजित अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यससम्बन्धी जानकारी दिएका हुन् । मन्त्री वाग्लेका अनुसार बाफियाको दफा १८ को उपदफा (१) को खण्ड ‘ड’ मा रहेको विद्यमान व्यवस्थालाई परिमार्जन गर्न लागिएको हो । हालको व्यवस्थामा नियमनकारी निकायले कानुनविपरीत कार्य गरेको भनी कारबाही गरेको वा त्यस्तो कारबाही भएको पाँच वर्ष अवधि व्यतीत नभएको व्यक्ति सञ्चालक बन्न नपाउने कडा प्रावधान छ । सरकारले यसमा ‘तर सचेत गराइएको वा नसिहत पाएको व्यक्तिको हकमा यो खण्ड लागू हुनेछैन’ भन्ने वाक्यांश थप गरी संशोधन गर्ने तयारी गरेको छ । यो संशोधनका लागि छुट्टै बाफिया संशोधन विधेयक कुर्नु नपर्ने मन्त्री वाग्लेले स्पष्ट पारे । उनले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ मार्फत नै यसलाई सम्बोधन गर्न लागिएको र अर्थ मन्त्रालयले यससम्बन्धी प्रस्ताव स्वीकृत गरी कानुन मन्त्रालयमा पठाइसकेको जानकारी दिए । उनले प्रचलित अभ्यास र प्रक्रियालाई आत्मसात गर्दै कानुन निर्माण प्रक्रियालाई सहज बनाउन सरकार तयार रहेको समेत बताए । उनले भने, ‘यो प्रतिवेदन आएपछि प्रतिउत्तर दिने अवसर पाउने हो भने, विषयलाई सहज बनाउन हामी तयार छौँ भन्ने हो। तर ल मेकिङ बडीले कानुनको मूल उद्देश्य र विद्यमान अभ्यास प्रक्रियालाई बेवास्ता गर्न मिल्दैन । मेरो पछिल्लो बुझाइमा, राष्ट्र बैंक ऐनमा मात्र व्यवस्था गर्दा र बाफियामा सम्बोधन नभएमा यो प्रभावकारी नहुने भएकाले बाफियामै स्पष्ट व्यवस्था गर्नुपर्ने देखिन्छ ।’ यस विषयमा थप स्पष्ट हुन र छलफल गर्न मन्त्री वाग्लेले समितिसँग कम्तीमा २४ घण्टाको समय माग गरे । सरकारले ल्याउन लागेको यो संशोधनले सामान्य विभागीय कारबाहीमा परेका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको नेतृत्वदायी भूमिकामा पुग्न सहज हुने विश्वास गरिएको छ ।

प्रसाईंलाई ‘घरबाहिर निस्कन रोक्नु’को कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरबाहिर हिँडडुल गर्न नदिनुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश जारी गरेको छ । सोमबार (आज) न्यायाधीश नृपध्वज निरौलाको इजलासले यस्तो आदेश जारी गरेको हो । सर्वोच्चले प्रसाईंको घरमा गरिएको खानतलासीका क्रममा बरामद सामग्रीसमेत पेसीका दिन उपस्थित गराउनसमेत जिल्ला प्रहरी परिसर, भक्तपुरलाई आदेश दिएको छ । त्यसैगरी, आदेश जारी हुन नपर्ने भए त्यसको आधार र कारण खुलाएर आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ । त्यस्तै, गत भदौ ४ गते प्रसाईंको घर खानतलासी गर्दा बरामद भएका भनिएका सामानसमेत पेसीका दिन लिएर आउन पनि जिल्ला प्रहरी परिसर भक्तपुरलाई लेखी पठाउन आदेश दिइएको छ । प्रसाईंकी पत्नी उमा प्रसाईंले गत भदौ ५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।  उक्त रिटमा प्रसाईंलाई घरबाहिर हिँड्डुल गर्न रोक लगाइएको विषयसँगै घरमा गरिएको खानतलासीबारे समेत प्रश्न उठाइएको थियो । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले विपक्षीबाट कारण र लिखित जवाफ माग्नुका साथै खानतलासीका क्रममा बरामद सामग्रीसमेत पेस गर्न आदेश दिएको हो ।

उद्घाटनको एक महिनापछि निजी सवारीका लागि नागढुङ्गा सुरुङमार्ग खुला

काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गमा निजी सवारीसाधन आवतजावतका लागि खुला गरिएको छ । उद्घाटनको करिब महिना दिनपछि परीक्षण सम्पन्न भई निजी सवारीसाधनका लागि मात्रै सोमबार (आज)बाट सुरुङमार्ग खुला गरिएको नागङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना प्रमुख सौजन्य नेपालले बताए ।  ‘हामीले आपतकालीन उद्धारको लाइभ घटना गराएर प्रशिक्षण सम्पन्न गरेलगत्तै आजबाट जिप, कार, भ्यान जस्ता साना सवारीका लागि सुरुङबाटैआवतजावत सुरु गरेका हौं,’ निर्देशक नेपालले भने । अब क्रमशः ठूला सवारीसाधनका लागि सुरुङ खोलिने उनले जानकारी दिए ।  निर्देशक नेपालका अनुसार उद्घाटनपश्चात सुरुवाती चरणमा सोमबार बिहान ९ बजेदेखि अत्यावश्यकका सवारीसाधनसहित ९ सिट यात्रु क्षमताका निजी सवारीसाधन आवतजावत गराइएको हो ।   पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष लगायतकाको उपस्थितिमा गत साउन १३ गते सुरुङमार्ग उद्घाटन गरिएको थियो । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भएर पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलासम्म पुगिने सुरुङमार्ग  निर्माणमा जापान सरकारको २१ अर्ब बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ बराबरको लगानी रहेको छ । 

टर्बो बुस्टरजेट इन्जिनसहित आयो सुजुकी ब्रेजा, नाडा अटो शोमा हेर्न पाइने

काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सुजुकी नेपालले नयाँ ब्रेजा सार्वजनिक गरेको छ । नयाँ पुस्ताका ग्राहकलाई लक्षित गर्दै ल्याइएको ब्रेजामा पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसन दिइएको छ । नयाँ ब्रेजा भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०८३ मा प्रदर्शन गरिनेछ । सुजुकी प्याभिलियनको स्टल बी८२ मा ग्राहकले गाडी प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । साथै टेस्ट ड्राइभ बुकिङ र अन्य मोडेलका सुविधाबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।  टर्बो इन्जिन र नयाँ ट्रान्समिसन नयाँ ब्रेजामा टर्बो बुस्टरजेट इन्जिन उपलब्ध छ । उक्त इन्जिनले ५ हजार ५०० आरपीएममा अधिकतम ८१ किलोवाट शक्ति उत्पादन गर्छ । २ हजारदेखि ३ हजार ५०० आरपीएममा १७० न्युटन–मिटर टर्क उत्पादन गर्छ । इन्जिनलाई नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ । यसले सहरदेखि राजमार्गसम्म सहज र प्रभावकारी ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ । ब्रेजामा स्मार्ट हाइब्रिड प्रविधिसहितको १.५ लिटर ड्युअल जेट, ड्युअल भीभीटी इन्जिनको विकल्प पनि छ । यसमा ६–स्पिड म्यानुअल र स्टियरिङमा प्याडल सिफ्टरसहितको ६–स्पिड स्वचालित ट्रान्समिसन उपलब्ध छ ।  नयाँ डिजाइन र प्रिमियम इन्टेरियर नयाँ ब्रेजाको बाहिरी डिजाइनमा पनि परिवर्तन गरिएको छ । यसमा स्मोक क्रोम ग्रिल, मेटालिक ग्रे बुल बार, नयाँ स्किड प्लेट र परिमार्जित ड्युअल–टोन साइड क्ल्याडिङ दिइएको छ । नयाँ प्रिसिजन–कट अलोय ह्विलले गाडीलाई थप आकर्षक बनाएको छ । भित्र गाढा खैरो र कालो ड्युअल–टोन थिम प्रयोग गरिएको छ । मेटालिक सफ्ट टच फिनिस, ग्लस ब्ल्याक एक्सेन्ट र प्लस लेदरेट सिट दिइएको छ । भेन्टिलेटेड फ्रन्ट सिट, अटोप्युरिफाइ, पीएम२.५ फिल्टर, वायु गुणस्तर डिस्प्ले र एक्टिभ कुलिङसहितको वायरलेस स्मार्टफोन चार्जरजस्ता सुविधा पनि छन् ।  १०.१ इन्चको स्मार्ट इन्फोटेनमेन्ट प्रणाली नयाँ ब्रेजामा २५.६५ सेन्टिमिटर अर्थात् १०.१ इन्चको टचस्क्रिनसहितको स्मार्टप्ले प्रो एक्स इन्फोटेनमेन्ट प्रणाली छ । यसमा इनबिल्ट इन्टरनेट कनेक्टिभिटी, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छ । आर्कामिसद्वारा ट्युन गरिएको प्रिमियम स्पिकर र ६४ रङमा मिलाउन सकिने एम्बियन्ट लाइटिङ पनि राखिएको छ ।  सुरक्षामा पनि विशेष ध्यान नयाँ ब्रेजामा अल्ट्रा हाई–टेन्साइल र हाई–टेन्साइल स्टिलको प्रयोग गरिएको कम्पनीले जनाएको छ । सुरक्षा सुविधाअन्तर्गत ब्लाइन्ड स्पट वार्निङ, लेन चेन्ज अलर्ट, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, इमर्जेन्सी स्टप सिग्नल र एक्जिट सपोर्ट वार्निङ छन् । तीनवटा नयाँ भ्युसहितको ३६० डिग्री क्यामेरा र अगाडि–पछाडिका पार्किङ सेन्सरले पार्किङलाई सहज बनाउने कम्पनीको भनाइ छ । नयाँ सुजुकी ब्रेजाले भारत एनसीएपीमा वयस्क र बालबालिका दुवैको सुरक्षातर्फ ५–स्टार रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ ।  दुई नयाँ रङ थप नयाँ ब्रेजामा भाइभेसियस अरेन्ज र लस्ट्रस बेज गरी दुई नयाँ रङ थपिएका छन् । यससँगै पर्ल ब्लुइस ब्ल्याक, म्याग्मा ग्रे, सिज्लिङ रेड, स्प्लेन्डिड सिल्भर र पर्ल आर्कटिक ह्वाइट रङमा पनि गाडी उपलब्ध हुनेछ । ड्युअल–टोन विकल्पमा ब्लुइस ब्ल्याक छानासहितको लस्ट्रस बेज, आर्कटिक ह्वाइट र सिज्लिङ रेड उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ ब्रेजा सुजुकी नेपालका अधिकृत सोरुमहरूमा उपलब्ध हुनेछ । ग्राहकले नजिकैको सुजुकी सोरुममा सम्पर्क गरी थप जानकारी तथा टेस्ट ड्राइभ बुकिङ गर्न सक्नेछन् ।

२७ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले २७ जना सहसचिवको सरुवा गरेको छ । भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवलाई सरुवा गर्ने निर्णय गरेको हो । 

आलु होइन, खाने तरिका गलत हुँदा बढ्छ स्वास्थ्य जोखिम

काठमाडौं । आलु धेरैको दैनिक खानाको महत्त्वपूर्ण हिस्सा हो । तर आलु खाँदा स्वास्थ्यमा असर गर्छ भन्ने धारणा पनि व्यापक छ । विज्ञ तथा विभिन्न अध्ययनले भने आलु आफैमा समस्या नभई यसलाई पकाउने र खाने तरिकाले स्वास्थ्यमा फरक पार्ने देखाएका छन् । हार्वर्ड हेल्थमा प्रकाशित एक रिपोर्टअनुसार आलुलाई सन्तुलित मात्रामा, सही तरिकाले पकाएर खाँदा स्वास्थ्यका लागि फाइदा पुग्न सक्छ । विशेषगरी जैतुन, सूर्यमुखी र भटमासबाट बनेका असन्तृप्त वनस्पति तेलमा पकाइएको आलु तथा बोक्रासहित पकाइएको वा उसिनेको आलु तुलनात्मक रूपमा स्वस्थकर मानिन्छ ।  आलुमा पोटासियम र फाइबरजस्ता पोषक तत्त्व पाइन्छन् । त्यसैले सन्तुलित आहारको हिस्सा बनाएर आलुको सेवन गर्न सकिन्छ ।   अमेरिकी कृषि विभागका अनुसार नुन नहाली बोक्रासहित उसिनेको १०० ग्राम आलुमा करिब ८७ क्यालोरी, ७७ प्रतिशत पानी, १.९ ग्राम प्रोटिन, २०.१ ग्राम कार्बोहाइड्रेट, ०.९ ग्राम चिनी, १.८ ग्राम फाइबर र ०.१ ग्राम बोसो हुन्छ ।   ‘द जर्नल अफ न्युट्रिसन’मा प्रकाशित अध्ययनमा ७७ हजार २९७ वयस्कको खानपान र स्वास्थ्य अवस्थालाई औसत ३३.५ वर्षसम्म अध्ययन गरिएको थियो । अध्ययनले सन्तुलित मात्रामा विशेषगरी बोक्रासहित र नतारेको आलु सेवन गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने देखाएको छ । दैनिक १०० ग्राम वा सोभन्दा कम आलु सेवन गर्ने व्यक्तिमा मुटुसम्बन्धी समस्या, मधुमेह तथा मोटोपनाको जोखिम केही कम देखिएको अध्ययनमा उल्लेख छ । तर आलुलाई ‘सुपरफुड’ भने मान्न नसकिने अध्ययनले स्पष्ट पारेको छ । आलुबाट स्वास्थ्यमा समस्या हुनेभन्दा पनि धेरै तेलमा तारेको फ्राइज, चिप्स तथा डिप फ्राइड आलुको नियमित सेवन स्वास्थ्यका लागि बढी जोखिमपूर्ण हुन सक्छ ।  कसरी खाने आलु ? स्वास्थ्यलाई ध्यानमा राख्दै आलुलाई उसिनेर, बेक गरेर वा कम तेलमा पकाएर खान सकिन्छ । बोक्रासहित पकाउँदा फाइबरलगायत केही पोषक तत्त्व प्राप्त गर्न सकिन्छ । उसिनेको आलुलाई सलाद, सादा दही तथा अन्य तरकारीसँग मिसाएर खान सकिन्छ । त्यसैगरी, बेक गरिएको आलुलाई सिमी, एभोकाडो तथा अन्य पौष्टिक खाद्य पदार्थसँग मिलाएर पनि खान सकिन्छ । आलु पोषक तत्वयुक्त खाद्य पदार्थ भए पनि यसको सेवन सन्तुलित मात्रामा गर्न आवश्यक हुन्छ । विशेषगरी मधुमेह वा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिले आफ्नो खानपानबारे चिकित्सक वा पोषणविद्सँग परामर्श गर्नु उपयुक्त हुन्छ ।