विकासन्युज

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल ल्याएको छ । एलआरआरले बीई ११ मोडलका स्काईवेल ईभी नेपाल ल्याएको हो ।  कम्पनीले अहिले दुइ भेरियन्ट नेपाल ल्याएको छ । यी ईभी नाडा अटो शो २०२६ को पहिलो दिन भदौ ९ गते औपचारिक रुपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । सोमबार उत्पादक कम्पनी स्काईवेलका उपाध्यक्षले एलआरआर मोटर्सका प्रतिनिधि, कर्मचारी र अटोमोबाइल्स प्रेमीहरुका बीचमा औपचारिक रुपमा स्काईवेलको लोगो अनावरण गरेका छन् । कम्पनीका अनुसार ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकमा आएको बीई ११ ले एक पटकको पूर्ण चार्जमा ५२० किलोमिटर रेन्ज दिनेछ । साथै, ५१.९१ किलोवाटको एलएफपी ब्याट्री अप्सनमा आएको बीई११ ले एक पटकको चार्जमा ४१० किलोमिटर रेन्ज दिनेछ । यो ईभी डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ । यी दूबै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर छ । यसमा ८ सय हाई(भोल्टेज आर्किटेक्चर रहेको छ, जसले फास्ट चार्जिङलाई सपोर्ट गर्छ ।   पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेडेट सिट, प्रशस्त स्पेश र आधुनिक बडी डिजाइनले यो ईभीलाई लक्जरी बनाएको छ । साथै, यो ईभीमा १९८ एमएमको भव्य ग्राउण्ड क्लियरेन्स छ । उत्कृष्ट ग्राउण्ड क्लियरेन्सका कारण यो ईभी नेपालको जस्तोसुकै बाटोमा पनि सहजै हिड्न सक्ने दाबी कम्पनीको छ । ५ सिट क्षमताको यो ईभीको वारेन्टी र मूल्य लगायतका विषय भने औपचारिक रुपमा गाडी सार्वजनिक गर्दा जानकारी गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आक्रामक मूल्यमा यो ईभी सार्वजनिक हुनेछ ।

ग्लोबल फिनटेक फेस्टमा नेपालको आइमार्क ‘बेस्ट पेमेन्ट्स सोलुसन’का लागि छनोट

काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक आइमार्क प्रालि विश्वकै प्रतिष्ठित फिनटेक सम्मेलन ग्लोबल फिनटेक फेस्ट २०२६ अन्तर्गत ‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधाको अवार्डका लागि मनोनयनमा परेको छ। अन्तर्राष्ट्रिय फिनटेक अवार्डको महत्वपूर्ण विधामा नेपाली कम्पनी छनोट भएको यो पहिलोमध्ये एक उपलब्धि मानिएको छ । भारतको मुम्बईमा आगामी सेप्टेम्बर ८ देखि ११ गतेसम्म आयोजना हुने ग्लोबल फिनटेक फेस्टमा विश्वभरका बैंक, वित्तीय संस्था, केन्द्रीय बैंक, नियामक निकाय, फिनटेक कम्पनी, स्टार्टअप र प्रविधि क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन् । ‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा आइमार्कसँगै क्याम्सपे, बैंक अफ इन्डिया, स्प्रिन्टपीजीएक्स र इन्भ्वाइसमार्ट पनि सर्टलिस्टमा परेका छन् । गत वर्ष यही विधाको अवार्ड भारतीय डिजिटल भुक्तानी कम्पनी पेटिएम ले जितेको थियो । नेपाली कम्पनी अन्तर्राष्ट्रिय फिनटेक अवार्डको प्रतिस्पर्धामा उत्रिनु नेपालको डिजिटल भुक्तानी क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको सरोकारवालाले बताएका छन् ।   यस वर्षको जीएफएफको मुख्य विषय ‘पोटेन्सियल टु इम्प्याक्ट’ रहेको छ । सम्मेलनमा एजेन्टिक एआई, टोकनाइजेसन, क्वान्टम प्रविधि, डिजिटल भुक्तानी, वित्तीय समावेशीकरण, जोखिम व्यवस्थापन, डेटा तथा डिजिटल रूपान्तरणजस्ता विषयमा छलफल हुनेछ । आयोजकका अनुसार सम्मेलनमा एक लाखभन्दा बढी सहभागी, पाँच हजारभन्दा बढी संस्था, चार हजार पाँच सयभन्दा बढी स्टार्टअप र एक हजारभन्दा बढी वक्ता सहभागी हुने अपेक्षा गरिएको छ । ८० भन्दा बढी देशका प्रतिनिधि र ८० भन्दा बढी नियामक निकायको सहभागिता रहने जनाइएको छ ।  ग्राहककेन्द्रित सेवामा आइमार्कको जोड आइमार्कले सुरक्षित, भरपर्दो र नवीन डिजिटल भुक्तानी समाधान विकास गर्दै आएको जनाएको छ ।  कम्पनीले ग्राहककेन्द्रित सेवा, चुस्तता, उत्कृष्टता, सहकार्य, पारदर्शिता र निरन्तर सुधारलाई आफ्नो कार्यसंस्कृतिको आधार बनाएको बताएको छ । कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रामप्रसाद ढुङ्गाना ले टोलीको निरन्तर मेहनत, ग्राहक र साझेदारको विश्वासका कारण अन्तर्राष्ट्रिय फिनटेक मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको बताए । उनका अनुसार आइमार्कको यो मनोनयनले नेपाली डिजिटल भुक्तानी प्रविधि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रवेश गरेको संकेत दिएको छ । साथै नेपालमा विकास भइरहेका डिजिटल भुक्तानी समाधानलाई विश्व बजारमा चिनाउने महत्वपूर्ण अवसर पनि सिर्जना भएको छ ।

कांग्रेस प्रमुख सचेतक थापा र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार (आज) भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, शिक्षा, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो । भेटमा प्रमुख सचेतक थापाले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई थप बलियो बनाउन संसदीय तहको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताइन् ।  उनले दुवै देशका सांसदबीच नियमित संवाद र अनुभव आदानप्रदान बढाउनुपर्नेमा जोड दिइन् । थापाले नेपाल-अष्ट्रेलिया संसदीय मैत्री समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुई देशका सांसदबीचको संस्थागत सम्बन्ध विस्तार गर्नुपर्ने बताइन् । साझा हितका विषयमा सहकार्य र पारस्परिक समझदारी बढाउन संसदीयमैत्री समूह महत्त्वपूर्ण माध्यम बन्न सक्ने उनको भनाइ थियो । त्यस अवसरमा उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा अष्ट्रेलियाले लामो समयदेखि गर्दै आएको सहयोगको प्रशंसा गरिन् । विशेषगरी अष्ट्रेलिया अवार्ड स्कलरसिप, क्षमता अभिवृद्धि तथा तालिमका अवसरमार्फत नेपालको मानव संसाधन विकासमा अष्ट्रेलियाले पु‍र्याएको योगदानप्रति उनले आभार व्यक्त गरिन् । थापाले उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीको प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताइन् । भेटमा थापाले राजदूत अर्न्स्टमार्फत अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकप्रति हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गरिन् । भेटवार्तामा राजदूत अन्स्र्टले नेपाल-अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय सहकार्य र जनस्तरीय सम्बन्ध महत्त्वपूर्ण रहेको बताए ।  उनले शिक्षा, मानव संसाधन विकास तथा संसदीय सहकार्यलगायतका क्षेत्रमा हुँदै आएको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न अष्ट्रेलियाका तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कांग्रेसले भदौ ११ मा महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले महिला उद्यमशीलताको प्रवर्द्धन र आर्थिक सशक्तीकरणलाई केन्द्रमा राख्दै ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा भदौ ११ गते आयोजना हुने एकदिने सम्मेलनमा महिला उद्यमीका चुनौती, सम्भावना, वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग तथा लगानीका अवसरबारे छलफल गरिने कांग्रेसले जनाएको छ । सम्मेलनको उद्देश्य महिलाको आर्थिक सशक्तीकरणसँगै उद्यमशीलताको विकासमार्फत नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउनु रहेको कांग्रेसको भनाइ छ । सम्मेलनले महिला उद्यमीबीच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच विस्तार, बजार प्रवर्द्धन र व्यावसायिक नेटवर्किङका लागि साझा मञ्च उपलब्ध गराउने अपेक्षा गरिएको छ । सम्मेलनसँगै कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनीसमेत आयोजना गरिनेछ । प्रदर्शनीमा उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता र सम्भावित साझेदारसमक्ष प्रत्यक्ष प्रस्तुत गर्ने अवसर पाउनेछन् । सम्मेलनमा महिला उद्यमशीलतासँग सम्बन्धित तीनवटा विषयगत प्यानल छलफल हुनेछन् । व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्वहरूले प्यानलमा सहभागिता जनाउने कांग्रेसले जनाएको छ । प्यानल छलफलमा महिला उद्यमीले भोग्दै आएका व्यावहारिक समस्या, लगानी तथा वित्तीय पहुँचका चुनौती, प्रविधि र डिजिटल बजारको सम्भावना तथा व्यवसाय विस्तारका अवसरबारे छलफल हुनेछ । कार्यक्रमको अर्को प्रमुख आकर्षण ‘मेरो उद्यमशील यात्रा’ सत्र रहनेछ । उक्त सत्रमा सफल महिला उद्यमीहरूले आफ्नो उद्यम यात्रा, संघर्ष, चुनौती, सफलता र सिकाइका अनुभव सुनाउनेछन् । यसबाट उद्यमशीलतामा प्रवेश गर्न चाहने नयाँ पुस्ताका महिलालाई प्रेरणा र व्यावहारिक मार्गदर्शन मिल्ने कांग्रेसको अपेक्षा छ । त्यसैगरी सम्मेलनस्थलमा लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्र सञ्चालन गरिनेछ । केन्द्रमार्फत व्यवसाय दर्ता, वित्तीय पहुँच, लगानी, सरकारी सेवा तथा उद्यम विस्तारका लागि उपलब्ध अवसरबारे जानकारी दिइनेछ । कांग्रेसका अनुसार सम्मेलन भदौ ११ गते बिहान ८ बजे सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा सुरु हुनेछ । सम्मेलनमा १० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महिला उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयआर्जन, आत्मनिर्भरता र समुन्नत समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ ।

एक वर्षको नाफा अर्को वर्ष ऋणात्मक, ब्यालेन्ससिटमा पेन्सनको बोझ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको वित्तीय विवरणमा नाफा बढिरहेको छ । सञ्चालन नाफा बढेको छ, खुद ब्याज आम्दानी उक्लिएको छ र प्रतिसेयर आम्दानीसमेत झण्डै तीन गुणा पुगेको छ । तर, सेयरधनीलाई बाँड्न मिल्ने नाफाको तस्वीर भने त्यति उज्यालो छैन । एक वर्ष नाफामा देखिएको वितरणयोग्य नाफा अर्को वर्षको वित्तीय विवरणमा ऋणात्मक देखिन्छ । बैंकको वित्तीय विवरणमा देखिएको यही अन्तरले नाफा र वितरणयोग्य नाफाबीचको फरक मात्रै देखाउँदैन, बैंकले विगतमा बोकेको दायित्व र नियामकीय समायोजनको भार पनि उजागर गर्छ । आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक रिपोर्टमा राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा ५८ करोड २१ लाख ९६ हजार रुपैयाँ थियो । तर, आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक रिपोर्टमा आर्थिक वर्ष २०८०/८१ कै वितरणयोग्य नाफा १ अर्ब २२ करोड २१ लाख ५३ हजार रुपैयाँ ऋणात्मक देखियो ।  त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक रिपोर्टमा वितरणयोग्य नाफा ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ देखिएको थियो । तर, आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक रिपोर्टमा आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य नाफा ८५ करोड २ लाख ७३ हजार रुपैयाँ ऋणात्मक देखियो ।  पहिलो नजरमा हेर्दा यो तथ्यांक असामान्य लाग्न सक्छ– बैंकले नाफा कमाइरहेको छ, तर त्यही नाफाबाट लाभांश बाँड्न मिल्ने रकम भने ऋणात्मक भइरहेको छ । बैंकका एक उच्च अधिकारीका अनुसार अपरिष्कृत वित्तीय विवरणपछि हुने अडिट, कर्जाको पुनर्वर्गीकरण, थप प्रोभिजन तथा विभिन्न नियामकीय समायोजनले वितरणयोग्य नाफाको तस्वीर बदलिने गरेको हो । बैंकका ती अधिकारीका अनुसार चौथो त्रैमासिकमा सार्वजनिक गरिने वित्तीय विवरण अपरिष्कृत हुन्छ । त्यसपछि अडिटका क्रममा केही कर्जाको वर्गीकरण घटाउनुपर्ने हुन सक्छ। नेपाल राष्ट्र बैंकले पनि जोखिमअनुसार थप प्रोभिजन राख्न निर्देशन दिन सक्छ । ‘कर्जाको जोखिम बढेपछि प्रोभिजन बढ्छ । प्रोभिजन बढेपछि नाफा घट्छ र नाफा घटेपछि वितरणयोग्य नाफा पनि घट्छ,’ उनले भने, ‘अपरिष्कृत रिपोर्टपछि अडिट गर्दा अडिटर र राष्ट्र बैंकले केही कर्जामा डाउन गर्नु र थप प्रोभिजन गर्न भनेर निर्देशन दिएको हुन्छ । सो प्रोभिजनिङ गर्दा बैंकको वितरणयोग्य नाफा पनि घाटामा हुन पुगेको हो ।’ अर्थात्, बैंकको नियमित कारोबारबाट नाफा भइरहेको अवस्थामा पनि अडिटपछि थप दायित्व सिर्जना हुँदा सेयरधनीलाई बाँड्न मिल्ने रकम घट्न सक्ने उनले बताए । तर, बैंकको वितरणयोग्य नाफामा ठूलो दबाब सिर्जना गर्ने अर्को कारण भने विगतमा छुट्याउन नसकिएको कर्मचारी पेन्सन दायित्व रहेको उनको भनाइ छ । बैंकका अनुसार कर्मचारीले सेवा गरिरहेको समयमा नै भविष्यमा तिर्नुपर्ने पेन्सन खर्चका लागि व्यवस्था गर्नुपर्ने थियो । तर, विगतमा पर्याप्त रकम छुट्याउन सकिएन । ‘कर्मचारीले सेवा गरिरहेको समयमा नै भविष्यमा तिर्नुपर्ने पेन्सन खर्चको व्यवस्था गर्नुपर्ने थियो । तर, विगतमा त्यस्तो दायित्व पर्याप्त रूपमा छुट्याइएन । त्यतिबेला बैंकको क्षमता पनि थिएन,’ ती अधिकारीले भने, ‘अहिले बैंकको वित्तीय क्षमता बढेपछि पुरानो दायित्व क्रमशः व्यवस्थापन भइरहेको छ । त्यसैले अहिले देखिएको पेन्सन खर्चको ठूलो हिस्सा वर्तमान वर्षमा सिर्जना भएको दायित्व नभई विगतको दायित्व हो । उनका अनुसार बैंकमा अहिले करिब साढे ४ हजार पेन्सनर छन् । उनीहरूलाई पद, सेवाअवधि लगायतका आधारमा पेन्सन भुक्तानी गर्नुपर्छ । बैंकले हालसम्म पेन्सन कोषमा करिब १८ अर्ब रुपैयाँ जम्मा गरिसकेको छ । उक्त कोषबाट आम्दानीसमेत हुन्छ । तर, पेन्सन भुक्तानीका लागि कोषको आम्दानी र सञ्चित रकमले नपुग्ने रकम बैंकले हरेक वर्ष थप बेहोर्नुपरेको उनले बताए । यस वर्ष पनि बैंकले करिब ८५ करोड रुपैयाँ पेन्सन दायित्वका लागि छुट्याएको बैंकका ती अधिकारीले बताए । पेन्सन दायित्वको असर आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा ठूलो रूपमा देखिएको थियो । बैंकका अनुसार त्यस वर्ष ३ अर्ब रुपैयाँभन्दा बढीको पुरानो पेन्सनसम्बन्धी दायित्व व्यवस्थापन गर्नुपरेको थियो । त्यसले बैंकको वितरणयोग्य नाफालाई ऋणात्मक बनाएको उनले बताए । ‘कर्मचारीले काम गरिरहेका बेला नै उक्त खर्च छुट्याउनुपर्ने भए पनि विगतमा बैंकको वित्तीय क्षमताका कारण त्यसो गर्न सकिएको थिएन । अहिले बैंकको क्षमता वृद्धि भएपछि पुरानो खर्च पनि छुट्याउन सक्ने भएको छ । पुरानो खर्चलाई पनि एडजस्ट गर्दै गइरहेका छौं,’ उनले भने ।  उनका अनुसार पेन्सन व्यवस्था मुख्यतः २०५१ सालअघि बैंकमा प्रवेश गरेका कर्मचारीसँग सम्बन्धित छ । २०५१ सालपछि नियुक्त कर्मचारीका लागि भने पेन्सनको सट्टा उपदानको व्यवस्था रहेको छ । पुराना पेन्सनर रहुन्जेल हरेक वर्ष रकम छुट्याउनुपर्ने भएकाले यसको प्रभाव तत्कालै पूर्ण रूपमा हट्ने अवस्था नरहेको उनले बताए ।  साथै बैंकले एक्रुअल आधारमा ब्याज आम्दानी नाफामा देखाउन सक्छ । तर, त्यस्तो आम्दानीको सम्पूर्ण रकम तत्कालै लाभांशका रूपमा वितरण गर्न पाइँदैन । त्यस्तै, कर्मचारी खर्चको एक्चुरियल भ्यालुएसन गर्दा खर्च नाफामा देखिए पनि त्यहाँबाट लाभांश वितरण गर्न नमिल्ने अवस्था हुन सक्छ । सेयरमा गरिएको लगानीको मूल्यमा आएको परिवर्तनले पनि वितरणयोग्य नाफालाई प्रभावित गर्छ । सेयर भ्यालु रिजर्भमा आएको मुभमेन्टलाई कतिपय अवस्थामा नियामकीय रिजर्भमा स्थानान्तरण गर्नुपर्ने हुन्छ । ‘यस्ता विभिन्न नियामकीय व्यवस्थाका कारणले हाम्रो वितरणयोग्य नाफा ऋणात्मक हुन पुगेको हो,’ उनले भने ।  गत आर्थिक वर्ष २०८२/८३ मा भने राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा सकारात्मक भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ८५ करोड २ लाख ७३ हजार रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ७ करोड ६९ लाख ५७ हजार रुपैयाँ पुगेको छ । यससँगै बैंकको लाभांश वितरण क्षमता ६.८९ प्रतिशत पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकमा सरकारको करिब ९९.९७ प्रतिशत सेयर स्वामित्व छ । बाँकी ०.०३ प्रतिशत हिस्सा व्यक्तिगत लगानीकर्ताको छ । त्यसैले निजी सेयरधनीका लागि लाभांश महत्त्वपूर्ण भए पनि बैंकको प्राथमिकता निजी बैंकको जस्तो केवल नाफा र लाभांशमा केन्द्रित नरहेको बैंकका ती अधिकारीको भनाइ छ । निजी लगानीकर्ताले आफ्नो आवाज उठाए पनि स्वामित्वको हिस्सा अत्यन्तै कम भएकाले उनीहरूको प्रभाव सीमित रहेको उनले बताए । ‘हाम्रो फोकस नाफा दिनेभन्दा उत्कृष्ट सेवा कसरी दिने र कम्प्लायन्स कसरी कायम राख्ने भन्नेमा बढी हुन्छ,’ उनले भने ।  यस्तो छ बैंकको वित्तीय अवस्था  बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ६०.६८ प्रतिशत बढेर ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ८३ करोड ६० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १७.८५ प्रतिशत बढेर ११ अर्ब ९६ करोड ६१ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब १५ करोड ३९ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६३ करोड ४२ लाख ४२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५ अर्ब ५ करोड ६६ लाख ५७ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ४७ करोड ५३ लाख १८ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकले खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५० करोड ८४ लाख १९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३ अर्ब १८ करोड ५५ लाख ८७ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ९४ करोड २० लाख २४ हजार रुपैयाँ रहेको छ ।  १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३९ अर्ब ३७ करोड ३५ लाख २२ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ३७.११ प्रतिशत बढेर ६ खर्ब ८६ अर्ब १३ करोड ५६ लाख रुपैयाँ र कर्जा लगानी १३.५९ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब ८ करोड ३४ लाख रुपैयाँ प्रवाह गरेको छ ।  अघिल्लो वर्षको असारसम्म बैंकले ५ खर्ब ४१ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९२ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।  अघिल्लो वर्ष १०.२७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २९.१४ रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ३.७९ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ ।

इमरान खानको स्वास्थ्यलाई लिएर कपिल देव चिन्तित

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान कपिल देवले सोमबार पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा चर्चित क्रिकेटर इमरान खानलाई राम्रो उपचार र आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने बताएका छन् । कपिल देवले पाकिस्तानको कानुनबारे आफू कुनै टिप्पणी गर्न नचाहेको बताए ।  तर, जेलमा रहेका इमरान खानसँग मानवीय व्यवहार गरिनुपर्ने उनले अपिल गरेका छन् । उनले भने, ‘हामीलाई त्यस देशको कानुनबारे थाहा छैन । तर, जोसुकै भए पनि प्रत्येक कैदीसँग मानवीय व्यवहार गरिनुपर्छ र आवश्यक सुविधा उपलब्ध गराइनुपर्छ । उनी देशका पूर्वप्रधानमन्त्री र विश्वका महान् क्रिकेटरमध्ये एक हुन् ।’ इमरान खानबारे बोल्दै कपिल देवले आफूले सँगै खेलेका र क्रिकेट कौशलको प्रशंसा गरेका साथीको समर्थन गर्ने बताए । उनले भने, ‘हामी केवल उनलाई उत्कृष्ट उपचार र आवश्यक सुविधा उपलब्ध गराइएको हेर्न चाहन्छौं । हामीले मागेको यत्ति हो । हामी अरू केही मागिरहेका छैनौं न त कुनै जवाफ नै खोजिरहेका छौं । हामी केवल अपिल गरिरहेका छौं ।’ यसैबीच कपिल देवसहित क्रिकेट जगत्का २१ जना पूर्वकप्तानले हालै पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्य अवस्थालाई लिएर प्रधानमन्त्री शहबाज सरिफलाई पत्रसमेत लेखेका थिए ।

एनआईएमबीले ल्यायो ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा योजना

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै ५.७५ प्रतिशत ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने मूल नाराका साथ सञ्चालनमा ल्याएको यस योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशतको आकर्षक ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ । बैंकका अनुसार व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको सदुपयोगिताका आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको हो । यस योजनामार्फत व्यवसायी तथा उद्यमीले आफ्नो व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानी तथा व्यवसायको आवश्यकताअनुसार कर्जा प्राप्त गर्न सक्नेछन् । एनआईएमबीले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकले मेहनती उद्यमी तथा व्यवसायीसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यावसायिक विकास र समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

२२९ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ बिन्दुमा झरेको छ ।  नेप्सेका अनुसार ४७ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  सोमबार ३५० कम्पनीको ८५ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै सोलु हाइड्रोको ११ करोड, साहस ऊर्जाको १० करोड, रिडि पावरको ९ करोड र एक्सएल डेभलपमेन्टको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।   सोमबार नेप्सेमा सबै उपसूचक घटेका छन् । बैंकिङदेखि बीमा, जलविद्युत् र उत्पादन समूहसम्म सबै क्षेत्र राताम्मे बनेका छन् ।  जलविद्युत् उपसूचक सबैभन्दा धेरै १.१९ प्रतिशत घटेर ३,६८१.४४ बिन्दुमा झरेको छ । निर्जीवन बीमा उपसूचक १.१२ प्रतिशत घट्दा जीवन बीमा उपसूचक पनि ०.८१ प्रतिशत ओरालो लागेको छ । बैंकिङ उपसूचक ०.६७ प्रतिशत घटेर १,४३७.६६ बिन्दुमा कायम भएको छ । विकास बैंक उपसूचक ०.४७ प्रतिशत, वित्त उपसूचक ०.८० प्रतिशत र लघुवित्त उपसूचक ०.५३ प्रतिशतले घटेका छन् । उत्पादन तथा प्रशोधन उपसूचक ०.४६ प्रतिशत, अन्य उपसूचक ०.७८ प्रतिशत, म्युचुअल फन्ड उपसूचक ०.८० प्रतिशत र ट्रेडिङ उपसूचक ०.५० प्रतिशतले गिरावट बेहोरेका छन् । यस्तै, होटल तथा पर्यटन उपसूचक सामान्य ०.०१ प्रतिशतले घट्दा लगानी उपसूचक ०.४१ प्रतिशतले ओरालो लागेको छ ।