प्रसाईंलाई ‘घरबाहिर निस्कन रोक्नु’को कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरबाहिर हिँडडुल गर्न नदिनुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश जारी गरेको छ ।

सोमबार (आज) न्यायाधीश नृपध्वज निरौलाको इजलासले यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्चले प्रसाईंको घरमा गरिएको खानतलासीका क्रममा बरामद सामग्रीसमेत पेसीका दिन उपस्थित गराउनसमेत जिल्ला प्रहरी परिसर, भक्तपुरलाई आदेश दिएको छ ।

त्यसैगरी, आदेश जारी हुन नपर्ने भए त्यसको आधार र कारण खुलाएर आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ ।

त्यस्तै, गत भदौ ४ गते प्रसाईंको घर खानतलासी गर्दा बरामद भएका भनिएका सामानसमेत पेसीका दिन लिएर आउन पनि जिल्ला प्रहरी परिसर भक्तपुरलाई लेखी पठाउन आदेश दिइएको छ ।

प्रसाईंकी पत्नी उमा प्रसाईंले गत भदौ ५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । 

उक्त रिटमा प्रसाईंलाई घरबाहिर हिँड्डुल गर्न रोक लगाइएको विषयसँगै घरमा गरिएको खानतलासीबारे समेत प्रश्न उठाइएको थियो ।

सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले विपक्षीबाट कारण र लिखित जवाफ माग्नुका साथै खानतलासीका क्रममा बरामद सामग्रीसमेत पेस गर्न आदेश दिएको हो ।

Share News