ग्लोबल फिनटेक फेस्टमा नेपालको आइमार्क ‘बेस्ट पेमेन्ट्स सोलुसन’का लागि छनोट

काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक आइमार्क प्रालि विश्वकै प्रतिष्ठित फिनटेक सम्मेलन ग्लोबल फिनटेक फेस्ट २०२६ अन्तर्गत ‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधाको अवार्डका लागि मनोनयनमा परेको छ। अन्तर्राष्ट्रिय फिनटेक अवार्डको महत्वपूर्ण विधामा नेपाली कम्पनी छनोट भएको यो पहिलोमध्ये एक उपलब्धि मानिएको छ ।

भारतको मुम्बईमा आगामी सेप्टेम्बर ८ देखि ११ गतेसम्म आयोजना हुने ग्लोबल फिनटेक फेस्टमा विश्वभरका बैंक, वित्तीय संस्था, केन्द्रीय बैंक, नियामक निकाय, फिनटेक कम्पनी, स्टार्टअप र प्रविधि क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा आइमार्कसँगै क्याम्सपे, बैंक अफ इन्डिया, स्प्रिन्टपीजीएक्स र इन्भ्वाइसमार्ट पनि सर्टलिस्टमा परेका छन् । गत वर्ष यही विधाको अवार्ड भारतीय डिजिटल भुक्तानी कम्पनी पेटिएम ले जितेको थियो ।

नेपाली कम्पनी अन्तर्राष्ट्रिय फिनटेक अवार्डको प्रतिस्पर्धामा उत्रिनु नेपालको डिजिटल भुक्तानी क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको सरोकारवालाले बताएका छन् ।  

यस वर्षको जीएफएफको मुख्य विषय ‘पोटेन्सियल टु इम्प्याक्ट’ रहेको छ । सम्मेलनमा एजेन्टिक एआई, टोकनाइजेसन, क्वान्टम प्रविधि, डिजिटल भुक्तानी, वित्तीय समावेशीकरण, जोखिम व्यवस्थापन, डेटा तथा डिजिटल रूपान्तरणजस्ता विषयमा छलफल हुनेछ ।

आयोजकका अनुसार सम्मेलनमा एक लाखभन्दा बढी सहभागी, पाँच हजारभन्दा बढी संस्था, चार हजार पाँच सयभन्दा बढी स्टार्टअप र एक हजारभन्दा बढी वक्ता सहभागी हुने अपेक्षा गरिएको छ । ८० भन्दा बढी देशका प्रतिनिधि र ८० भन्दा बढी नियामक निकायको सहभागिता रहने जनाइएको छ । 

ग्राहककेन्द्रित सेवामा आइमार्कको जोड

आइमार्कले सुरक्षित, भरपर्दो र नवीन डिजिटल भुक्तानी समाधान विकास गर्दै आएको जनाएको छ ।  कम्पनीले ग्राहककेन्द्रित सेवा, चुस्तता, उत्कृष्टता, सहकार्य, पारदर्शिता र निरन्तर सुधारलाई आफ्नो कार्यसंस्कृतिको आधार बनाएको बताएको छ ।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रामप्रसाद ढुङ्गाना ले टोलीको निरन्तर मेहनत, ग्राहक र साझेदारको विश्वासका कारण अन्तर्राष्ट्रिय फिनटेक मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको बताए ।

उनका अनुसार आइमार्कको यो मनोनयनले नेपाली डिजिटल भुक्तानी प्रविधि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रवेश गरेको संकेत दिएको छ । साथै नेपालमा विकास भइरहेका डिजिटल भुक्तानी समाधानलाई विश्व बजारमा चिनाउने महत्वपूर्ण अवसर पनि सिर्जना भएको छ ।

Share News