३ लाख ९९ हजारमा रिभोल्ट आरभीएक्स, नाडा अटो शोमा सार्वजनिक

काठमाडौं । नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले नाडा अटो शो २०२६ मा नयाँ विद्युतीय मोटरसाइकल आरभीएक्स सार्वजनिक गरेको छ । कम्पनीले यसलाई रिभोल्टको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली र प्रविधियुक्त विद्युतीय बाइक भएको दाबी गरेको छ ।

कम्पनीका अनुसार नेपालमा विद्युतीय गतिशीलतालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ ल्याइएको आरभीएक्सको सुरुवाती मूल्य ३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । नाडा अटो शोस्थित रिभोल्ट पेभिलियन र काठमाडौंको पानीपोखरीस्थित फ्ल्यागसिप शोरुमबाट बाइकको बुकिङ र टेस्ट राइड सुरु भइसकेको छ ।  

आरभीएक्समा ४ किलोवाट क्षमताको मिड–ड्राइभ पीएमएसएम मोटर जडान गरिएको छ, जसले ५.३ किलोवाट पिक पावर र २३० एनएम टर्क उत्पादन गर्छ ।

कम्पनीका अनुसार बाइकले ३.९ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघण्टा गति लिन सक्छ भने ‘बुस्ट मोड’मा ९० किलोमिटर प्रतिघण्टासम्म दौडिन सक्षम छ ।

यसमा ३.२४ किलोवाट–आवर क्षमताको निकाल्न मिल्ने एनएमसी ब्याट्री जडान गरिएको छ । फास्ट चार्जरबाट ८० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने यो बाइकले एकपटकको पूर्ण चार्जमा १६० किलोमिटरसम्मको आईडीसी रेन्ज दिने कम्पनीले जनाएको छ ।  

आरभीएक्समा ३.५ इन्चको पीएमभीए डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टेलिम्याटिक्स, जियो–फेन्सिङ, हिल होल्ड असिस्ट, रिभर्स मोड र वाक असिस्टजस्ता स्मार्ट फिचर समावेश गरिएको छ ।

यो बाइक पर्ल ब्ल्याक, इलेक्ट्रिक ब्लु र इक्लिप्स रेड गरी तीन रङमा उपलब्ध हुनेछ ।   

बाइक सार्वजनिकसँगै एमभी दुगड ग्रुप र रिभोल्ट मोटर्सले ‘नेपाल गर्छ रिभोल्ट’ नामक नयाँ ब्रान्ड अभियान पनि सुरु गरेका छन् । कम्पनीका अनुसार यो अभियान नयाँ पुस्ताका नेपाली राइडरको आत्मविश्वास, पहिचान र दिगो यात्राको सन्देशसँग जोडिएको छ ।

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले बढ्दो इन्धन मूल्य र वातावरणीय चेतनाका बीच आरभीएक्सले शैली र कार्यक्षमतामा कुनै सम्झौता नगरी किफायती तथा दिगो विकल्प दिने बताए ।

रतनइन्डिया इन्टरप्राइजेजकी अध्यक्ष अञ्जली रतनले नेपाल रिभोल्टका लागि महत्त्वपूर्ण रणनीतिक बजार भएको उल्लेख गर्दै आरभीएक्सले पर्फर्मेन्स विद्युतीय बाइकको नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरिन् ।

कम्पनीका अनुसार काठमाडौं, पोखरा, विराटनगर, बुटवल, वीरगन्ज, जनकपुर, नेपालगन्ज र धनगढीलगायत प्रमुख सहरमा रहेका एमभी दुगड ग्रुपका शोरुमबाट बाइकको बिक्री, डेलिभरी र सर्भिस सुविधा उपलब्ध हुनेछ ।

Share News