काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ भारत जाने भएका छन् । उनी सेप्टेम्बरमा नयाँदिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनसक्ने समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
रोयटर्सका अनुसार तीनवटा स्रोतले चिनफिङ ठूलो प्रतिनिधिमण्डलसहित भारत आउन सक्ने जानकारी दिएका छन् ।
यो सात वर्षपछि जिनपिङको पहिलो भारत भ्रमण हुनेछ । यसलाई भारत र चीनबीचको सम्बन्ध सुधार हुँदै गएको अर्को संकेतका रूपमा हेरिएको छ ।
भारतले आगामी सेप्टेम्बर १२ र १३ मा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्दैछ ।
रोयटर्सका अनुसार सम्मेलनमा जिनपिङको सहभागितालाई ब्रिक्सको एजेन्डाभन्दा पनि सन् २०२० को घातक सीमा संघर्षपछि भारत र चीनबीचको सम्बन्ध सामान्य बनाउने प्रयासबारे दिने संकेतका रूपमा बढी चासोका साथ हेरिनेछ ।
एक भारतीय स्रोतले रोयटर्सलाई भनेका छन्, ‘चिनियाँ अधिकारीहरू होटल र सुरक्षा व्यवस्थासम्बन्धी तयारीलाई अन्तिम रूप दिन जुटिरहेका छन् ।’
अन्य दुई भारतीय स्रोतका अनुसार जिनपिङसँग करिब ४०० अधिकारीको प्रतिनिधिमण्डल भारत आउने सम्भावना छ ।
सन् २०१९ मा उनको पछिल्लो भारत भ्रमणका क्रममा भने २०० भन्दा कम अधिकारी उनीसँगै आएका थिए ।