बाढीग्रस्त क्षेत्रमा १० हेलिकोप्टर परिचालन, २० वटा तयारी अवस्थामा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) मार्फत बाढीग्रस्त क्षेत्रमा थप उद्धारका लागि २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन् । ती हेलिकोप्टरलाई आज बिहान ६:३० बजेदेखि नै आवश्यक परेको क्षेत्रमा तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको हो । यस्तै, बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालन गरिएको छ । यससँगै उद्धारका लागि आवश्यक परे तत्काल परिचालन गर्न सकिने हेलिकोप्टरको संख्या ३० पुगेको छ । प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त उद्धारसम्बन्धी सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानको प्राथमिकता निर्धारण गरिनेछ । प्राथमिकताका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को निर्देशनअनुसार हेलिकोप्टर परिचालन गरिने जनाइएको छ ।
कृषि विश्वविद्यालयका सबै परीक्षा स्थगित
काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले भदौ ११ गते सञ्चालन हुने भनिएका सम्पूर्ण परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयको रजिस्ट्रार कार्यालयले जारी गरेको सूचनाअनुसार नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त सूचना तथा हालको प्राकृतिक विपत्तिबाट सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण परीक्षा स्थगित गरिएको रजिस्ट्रार प्रा.डा. सुविर सिंहले जानकारी दिए । स्थगित परीक्षाको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ । यसैबीच, भदौ १० गते नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो मानवीय क्षति र जनधनको विनाशप्रति कृषि तथा वन विज्ञान विश्वविद्यालय परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।
बाढी अपडेट: १६२ जनाको शव फेला
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी प्रभावित विभिन्न जिल्लामा हालसम्म १६२ वटा शव फेला परेका छन् । रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ वटा शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै, बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २०, त्रिशूली अस्पतालमा ९, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, नर्भिक अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पतालमा १ र ग्रिन सिटी अस्पतालमा १ जना घाइतेको उपचार भइरहेको छ । यस्तै, आज बिहान ५ बजेसम्म बाढीका कारण प्रभावित विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको जनाएको छ ।
बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार तथा पुनःस्थापनाका लागि १८ करोड ९६ लाख २२ हजार रुपैयाँ (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ । आइएफआरसीले नेपाल रेडक्रसका स्वयंसेवक तथा आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा सक्रिय भई तत्काल खोज, उद्धार तथा राहत वितरणमा जुटिसकेको जनाएको छ । महासङ्घले विपद् प्रतिकार्यलाई निरन्तरता दिनसमेत आग्रह गरेको छ । आइएफआरसीका महासचिव जगन चापागाईंले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ गर्दै प्रभावितलाई तत्काल मानवीय सहायता पु¥याउन आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए । सामाजिक सञ्जालमार्फत महासचिव चापागाईंले आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायसँगको समन्वयमा आवश्यकताअनुसार समुदायका लागि थप सहयोग परिचालन गर्न तयार रहेको बताएका छन्। उनले मानवीय सहायता निरन्तर जारी रहनेसमेत उल्लेख गरेका छन् । चापागाईंका अनुसार रेडक्रसका स्वयंसेवक प्रभावित समुदायमा सक्रिय छन् र प्रारम्भिक राहत तथा सहयोग उपलब्ध गराउन जुटिरहेका छन् । उनले बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएको र भौतिक संरचनामा क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
ठूलो मात्रामा लेदो थुप्रिएपछि पृथ्वी राजमार्ग बन्द, दिउँसोसम्म सञ्चालनमा आउने
काठमाडौं । रसुवामा आएको बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ । सडक विभागका अनुसार राजमार्गमा बाढीले थुपारेको लेदो हटाउने काम तीव्र गतिमा भइरहेको छ । विशेष अवस्था नआए आज दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको विभागले जनाएको छ । विभागका अनुसार मुग्लिनदेखि गल्छीसम्म र काठमाडौंदेखि बैरेनीसम्मको सडक सञ्चालनयोग्य छ । बैरेनीदेखि गल्छीसम्मको करिब १३ किलोमिटर सडकका विभिन्न स्थानमा बाढीले ठूलो मात्रामा लेदो थुपारेको छ । सडकमा थुप्रिएको लेदो हटाउन गएरातिदेखि १५ वटा उपकरण परिचालन गरिएको छ । गएराति १० बजेपछि वर्षा भएपछि केही समय काम रोकिएको थियो । आज बिहानैदेखि ती उपकरणमार्फत सडकमा थुप्रिएको लेदो हटाउने काम पुनः तीव्र पारिएको छ । बुधबार भोटेकोशी नदीमा आएको बाढीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याएपछि सडक अवरुद्ध भएको हो ।
आज बिहानैदेखि हेलिकप्टरबाट उद्धार, प्रभावित क्षेत्रमा राहत पठाइँदै
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेरअघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेको उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने शिविरमा उपचार गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयकाका अनुसार गम्भीर घाइतेलाई तत्काल उद्धार गरी काठमाडौं ल्याउने तयारी गरिएको छ । घाइतेको अवस्थाअनुसार प्राथमिकताका आधारमा वर्गीकरण गरी उद्धार तथा उपचारको व्यवस्था मिलाइनेछ । यसैगरी, बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ ।
काठमाडौं मेडिकल कलेजले २५ प्रतिशत लाभांश बाँड्ने
काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको करसहित २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २ गते बिहान ११ बजे काठमाडौं मेडिकल कलेज, दुवाकोट, भक्तपुरमा १७औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले कार्यकारी अध्यक्षको पारिश्रमिक वृद्धि तथा अन्य सुविधा निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । यस्तै, अस्पतालको स्तर वृद्धि गर्न विभिन्न स्वास्थ्य उपकरण खरिद गरी विश्वस्तरीय स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने, घरजग्गा खरिद गर्नुपर्ने र आवश्यक स्रोत जुटाउन विभिन्न बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ । कम्पनीको व्यवसाय विस्तारका लागि समान तथा अन्य उद्देश्य भएका कम्पनी, हाइड्रो इनर्जी तथा सोलार इनर्जीलगायत विभिन्न कम्पनी खरिद गर्न तथा त्यस्ता कम्पनीको सेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ । यस्तै, सञ्चालक समितिको तर्फबाट कार्यकारी अध्यक्षको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ ।
साल्ट ट्रेडिङले बिक्रीमा राख्यो ८ गाडी, मूल्य ३ लाखदेखि साढे ६ लाखसम्म
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्ना ८ वटा सवारीसाधन लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले २ वटा भक्सवागन भेन्टो, ४ वटा भक्सवागन पोलो र एक÷एक वटा टोयोटा यारिस र किया पिकान्टो ईएक्स-२ बिक्रीमा राखेको हो । कम्पनीका अनुसार भक्सवागन भेन्टोको मूल्य ६ लाख ५० हजार रुपैयाँ, भक्सवागन पोलोको ५ लाख २५ हजार रुपैयाँ, टोयोटा यारिसको ४ लाख रुपैयाँ र किया पिकान्टोको ३ लाख रुपैयाँ तोकिएको छ । कर्पोरेसनको केन्द्रीय कार्यालय, कालीमाटीमा रहेका ती सवारीसाधन हाल जे-जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्रीमा राखिएको हो । खरिद गर्न इच्छुक व्यक्ति, कम्पनीले २१ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रमा अङ्कित रकमको २५ प्रतिशत धरौटीबापत कर्पोरेसनको खातामा नगद जम्मा गरेको सक्कल भौचर बोलपत्र फारामसँगै संलग्न गर्नुपर्नेछ ।