काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले बाढीबाट प्रभावित परिवारलाई राहत पुग्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको छ ।
यसका साथै, एनएमबि क्यापिटलका कर्मचारीहरूले पनि छुट्टै रकम संकलन गरेका छन् । कर्मचारीबाट संकलित रकमबाट खरिद गरिएका विभिन्न राहत सामग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखा, टेकुमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
एनएमबि क्यापिटलले बाढी–पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, बेपत्ता भएका व्यक्तिको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।