विकासन्युज

१५ प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो असोज १४ गते साधारण सभा

काठमाडौं । १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले असोज १४ गते आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजे ३२औँ वार्षिक साधारण सभा बोलाएको हो ।  सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  सभाबाट संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावली संशोधन र चालु आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्नेछ ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । 

त्रिशूली थ्री ए सुरुङभित्रबाट मानिसको आवाज आएको सांसद न्यौपानेको दाबी

काठमाडौं । सांसद श्रीराम न्यौपानेले त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको बताएका छन् । भोटेकोसीमा आएको बाढीपछि सुरुङभित्र फसेकाको खोज तथा उद्धार कार्य जारी छ । सांसद न्यौपानेका अनुसार नेपाली सेनाले सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी दिएको हो । उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको छ । सुरुङभित्रबाट मानिसको आवाज सुनिएको पुष्टि हुनु आशाजनक संकेत भएको उनले बताएका छन् । न्यौपानेले भने, 'उद्धार कार्य अझै जारी छ । भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ । उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ ।' न्यौपानेले आफू हिजो साँझसम्म इन्जिनियरको भूमिकामा आयोजनास्थलमै रहेर खोज तथा उद्धार कार्यमा संलग्न रहेको बताए । अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडीमार्फत काठमाडौं फर्कने तयारीमा रहेको उनले बताए । उद्धार कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै उनले सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइने आशा व्यक्त गरेका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बीपी राजमार्गमा आलोपालो प्रणाली

काठमाडौं । केही दिनअघि आएको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ । सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक व्यवस्थापनका लागि आलोपालो प्रणाली लागू गरेको छ । जिल्लास्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारीसाधनलाई रातको समयमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । साथै, बीपी राजमार्गमा १० टनभन्दा बढी तौलका सवारीसाधन सञ्चालनमा समस्या हुने भएकाले तौल सीमा कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोकका अनुसार सडक जाम हुन नदिन ट्राफिक प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँगको समन्वयमा आवश्यक व्यवस्था मिलाइएको छ । धुलिखेलबाट खुर्कोटतर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ आउने मालवाहक सवारीसाधन बाटोमा सम्भव भएसम्म एकै समयमा आमनेसामने नहुने गरी समय व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।  ग्यास बुलेटलगायत ठूला मालवाहक सवारीसाधनलाई बीपी राजमार्गअन्तर्गत धुलिखेल–भकुण्डेबेँसी सडकखण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिने व्यवस्था गरिएको छ । त्यस्तै, दुर्घटनाको उच्च जोखिम रहेका साँघुरा घुम्ती तथा सडक अवरुद्ध हुनसक्ने स्थान पहिचान गरी सम्भव भएसम्मका सुधारका काम तत्काल अघि बढाइने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गका जोखिमयुक्त स्थानमा सवारीसाधनलाई सहज रूपमा पार गराउन तथा सडक अवरुद्ध हुन नदिन डोजरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ । कार्यालयका अनुसार जोखिमयुक्त स्थानमा सडकको अवस्था सुधार गर्ने तथा सवारीसाधनको आवागमन सहज बनाउने कामलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।

नेशनल लघुवित्तद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले भोटेकोसी बाढीपीडितको उद्धार तथा राहतका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । बिहीबार संस्थाका सञ्चालकद्वय प्रदीपकुमार रेग्मी र नरेन्द्रप्रसाद छद्कुली तथा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्र बस्नेतले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ७० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत यादवले कोषमा सहयोग गर्नुसँगै बाढीबाट प्रभावित आफ्ना ग्राहक सदस्यका लागि संस्थाले छुट्टै आर्थिक सहयोगसमेत उपलब्ध गराउने जानकारी दिए ।

एनभिडियाका सीईओ जेन्सन ह्वाङद्वारा १ करोड डलर सहयोग, १० अर्ब नाघ्यो कोष

काठमाडौं । एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँ) सहयोग गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ह्वाङले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनका अनुसार उक्त सहयोग प्राप्त भएसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अर्थमन्त्री वाग्लेले यसलाई अभूतपूर्व सहयोग भन्दै ह्वाङप्रति धन्यवाद व्यक्त गरेका छन् ।

आज श्रीकृष्ण जन्माष्टमी, देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरिँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ । यस अवसरमा देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तनलगायत कार्यक्रम आयोजना गरिन्छ। भक्तजनले व्रत बसी रातभर जाग्राम बस्ने परम्परा पनि छ । धार्मिक मान्यताअनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव समुदायको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको हो । श्रीकृष्णले जीवनभर सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक ग्रन्थमा उल्लेख छ । कुरुक्षेत्रको युद्धमा कौरवविरुद्ध लडिरहेका पाण्डवमध्येका अर्जुनलाई श्रीकृष्णले दिएको उपदेशलाई श्रीमद्भगवद्गीता भनिन्छ । हिन्दु धर्मावलम्बीका लागि पवित्र ग्रन्थ मानिने गीतालाई छोटकरीमा गीता पनि भनिन्छ। यो विश्वका धेरै भाषामा अनुवाद भएको धार्मिक ग्रन्थका रूपमा परिचित छ । पौराणिक ग्रन्थमा श्रीकृष्णले बाल्यकालदेखि नै विभिन्न लीला देखाएको र पुतना, कंस, जरासन्ध तथा शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको उल्लेख छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । त्यस्तै, काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा पर्ने कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाममा पनि भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ठूला तथा साना कृष्ण मन्दिरमा समेत भक्तजनको भीड लाग्ने गरेको छ । पर्वका अवसरमा विभिन्न धार्मिक संघसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत निकाल्ने गरेका छन् । श्रीकृष्ण जन्माष्टमीका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

बाढीपीडितको सहयोगमा यामाहा ब्लू स्ट्रीक्स, रसुवा र नुवाकोटमा राहत वितरण

काठमाडौं । यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीले रसुवा र नुवाकोटका बाढीपीडित परिवारका लागि राहत सामग्री वितरण गरेको छ । गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई तत्काल सहयोग पुर्‍याउने उद्देश्यले कम्युनिटीका सदस्यहरूले आफ्नै तर्फबाट रकम संकलन गरी राहत अभियान सञ्चालन गरेका हुन् । अभियानमार्फत ९३ हजार रुपैयाँ संकलन गरिएको थियो । संकलित रकमबाट चामल, दाल, मिनरल वाटर, स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री खरिद गरी राहत प्याकेज तयार पारिएको थियो । भारी वर्षाका बीच पनि ब्लू स्ट्रीक्सका सदस्यहरूले राहत सामग्री तयार गरी मोटरसाइकलको समूहसहित प्रभावित क्षेत्रतर्फ लगेका थिए ।  थप राहत सामग्री एउटा सवारीसाधनमार्फत पनि प्रभावित क्षेत्रमा पुर्‍याइएको थियो । राहत सामग्री नुवाकोटको श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी होल्डिङ सेन्टरमा वितरण गरिएको थियो ।  त्यहाँ कम्युनिटीका सदस्यहरूले बाढीपीडित परिवार, विशेषगरी ज्येष्ठ नागरिक तथा बालबालिकासँग प्रत्यक्ष भेट गरी राहत सामग्री उपलब्ध गराउनुका साथै उनीहरूलाई हौसला र साथ दिएका थिए । एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले ब्लू स्ट्रीक्सका सदस्यहरू राइडिङसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको बताए । ‘हाम्रा राइडरहरू राइड मात्र सँगै गर्दैनन्, समाजलाई सहयोग पनि सँगसँगै मिलेर गर्छन्,’ अग्रवालले भने, ‘नेपालभर भइरहेका हाम्रा सामाजिक उत्तरदायित्वका गतिविधि हुन् वा यस्ता कठिन परिस्थिति, हाम्रो मूल मन्त्र सधैं ‘राइड टू प्राइड’ रहँदै आएको छ । ब्लू स्ट्रीक्स आवश्यक परेको समयमा आम नागरिकको साथमा निरन्तर उभिइरहनेछ ।’ बाढीबाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणको काम जारी रहेका बेला ब्लू स्ट्रीक्सको पहलले सामुदायिक सहकार्य र सामाजिक उत्तरदायित्वलाई मानवीय सहयोगमा रूपान्तरण गर्ने उदाहरण प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

गरिमा विकास बैंकद्वारा शेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफामार्फत आफ्ना शेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । (भाद्र १८ गते) बिहीबार बसेको सञ्चालक समितिको ३५१औं बैठकले हाल कायम चुक्ता पुँजी  ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसाको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी २०औं वार्षिक साधारण–सभाबाट पारित भएपश्चात् शेयरधनीहरूमा वितरण गरिने बैंकले जनाएको छ । प्रस्तावित १० प्रतिशत बोनस शेयर जारी भएपश्चात् बैंकको चुक्ता पुँजी वृद्धि भई ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा पुग्नेछ ।  काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले हाल देशभर रहेका १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।