काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् ।
द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ । यस अवसरमा देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तनलगायत कार्यक्रम आयोजना गरिन्छ। भक्तजनले व्रत बसी रातभर जाग्राम बस्ने परम्परा पनि छ ।
धार्मिक मान्यताअनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव समुदायको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको हो । श्रीकृष्णले जीवनभर सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक ग्रन्थमा उल्लेख छ ।
कुरुक्षेत्रको युद्धमा कौरवविरुद्ध लडिरहेका पाण्डवमध्येका अर्जुनलाई श्रीकृष्णले दिएको उपदेशलाई श्रीमद्भगवद्गीता भनिन्छ । हिन्दु धर्मावलम्बीका लागि पवित्र ग्रन्थ मानिने गीतालाई छोटकरीमा गीता पनि भनिन्छ। यो विश्वका धेरै भाषामा अनुवाद भएको धार्मिक ग्रन्थका रूपमा परिचित छ ।
पौराणिक ग्रन्थमा श्रीकृष्णले बाल्यकालदेखि नै विभिन्न लीला देखाएको र पुतना, कंस, जरासन्ध तथा शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको उल्लेख छ ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । त्यस्तै, काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा पर्ने कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाममा पनि भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ठूला तथा साना कृष्ण मन्दिरमा समेत भक्तजनको भीड लाग्ने गरेको छ । पर्वका अवसरमा विभिन्न धार्मिक संघसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत निकाल्ने गरेका छन् । श्रीकृष्ण जन्माष्टमीका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।