काठमाडौं । सांसद श्रीराम न्यौपानेले त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको बताएका छन् ।
भोटेकोसीमा आएको बाढीपछि सुरुङभित्र फसेकाको खोज तथा उद्धार कार्य जारी छ । सांसद न्यौपानेका अनुसार नेपाली सेनाले सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी दिएको हो ।
उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको छ । सुरुङभित्रबाट मानिसको आवाज सुनिएको पुष्टि हुनु आशाजनक संकेत भएको उनले बताएका छन् ।
न्यौपानेले भने, 'उद्धार कार्य अझै जारी छ । भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ । उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ ।'
न्यौपानेले आफू हिजो साँझसम्म इन्जिनियरको भूमिकामा आयोजनास्थलमै रहेर खोज तथा उद्धार कार्यमा संलग्न रहेको बताए । अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडीमार्फत काठमाडौं फर्कने तयारीमा रहेको उनले बताए ।
उद्धार कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै उनले सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइने आशा व्यक्त गरेका छन् ।