काठमाडौं । नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले लिपमोटर बी १०को आपूर्ति तथा ढुवानी प्रणालीमा परिमार्जन गरेको छ । सामान्यतया चीनबाट रसुवागढी नाका हुँदै गाडीहरू आयात गरिने भए तापनि, हालै रसुवा क्षेत्रमा आएको बाढीका कारण उक्त मार्गमा अस्थायी अवरोध सिर्जना भएको छ ।
सम्भावित ढिलाइलाई रोक्दै ग्राहकहरूलाई तोकिएकै समयमा गाडी उपलब्ध गराउन सांग्रिला मोटर्सले लिपमोटर बी १० गाडीहरू मुस्ताङस्थित कोरला नाकाबाट नेपाल भित्र्याउन सुरु गरेको छ । यससँगै ग्राहकहरूलाई गाडी डेलिभरी गर्ने कार्य छिट्टै सुरु हुनेछ ।
नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा लिपमोटर द्यज्ञण् ले पाएको उत्साहजनक प्रतिक्रिया तथा अत्यधिक बुकिङलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो ।
ग्राहकहरूको यही उच्च मागलाई छिटोभन्दा छिटो पूरा गर्न सांग्रिला मोटर्सले कोरला नाकाबाट हुने ढुवानी तथा भन्सार जाँचपासको प्रक्रियालाई तीव्र बनाएको छ, जसले गर्दा देशभरका खरिदकर्ताहरूले सहज र द्रुत रूपमा गाडी प्राप्त गर्न सक्नेछन् ।
बजेट भाषणपछि लिपमोटर बी १० को मूल्य घटेसँगै यो ईभी पारखीहरूमाझ थप लोकप्रिय बनेको छ । ५४.९९ लाख रुपैयाँ मूल्य तोकिएको बी १० मा १६० किलोवाटको शक्तिशाली रियर ह्विल ड्राइभ मोटर र ६७.१ किलोवाट आवर्स क्षमताको ब्याट्री रहेको छ, जसले एकपटकको पूर्ण चार्जमा ६०० किलोमिटर सम्मको उत्कृष्ट रेन्ज प्रदान गर्दछ ।
आरामदायी र व्यावहारिक प्रयोगका लागि निर्मित यस गाडीमा १८० मिमीको ग्राउण्ड क्लियरेन्स रहेको छ । साथै, १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी, रेकर्डिङ सुविधासहितको ३६०-डिग्री क्यामेरा, हिटर र भेन्टिलेसन सुविधासहितको प्रिमियम लेदरेट सिट, र यस सेगमेन्टमै सनसेडसहितको सबैभन्दा ठूलो प्यानोरामिक सनरूफ जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन् ।