काठमाडौं । भोटेकोशी नदीमा ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै तथा शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता प्रकट गर्न चीनको ग्वाङ्झाउमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
चीनको ग्वाङ्झाउस्थित जुजियाङ नयाँ सहरको लिटल पापा रेस्टुरेन्टमा नेपाली युवाहरूको संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा चीनमा रहेका नेपाली समुदाय, सामाजिक संघसंस्था तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ग्वाङ्झाउस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत भरत खनाल रहेका थिए ।
कार्यक्रममा नेपाली महावाणिज्य दूतावास ग्वाङ्झाउका पदाधिकारी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनका अध्यक्ष मुकुन्द ढकाल, नेपाली युवाहरूको संस्थाका अध्यक्ष दिल बहादुर कठायत, महासचिव दुर्गाप्रसाद अम्गाईलगायत नेपाली समुदायका अगुवा तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाली युवाहरूको संस्थाका महासचिव दुर्गा प्रसाद अम्गाईले गरेका थिए । उनले उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति सम्मान, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरे ।
कार्यक्रमको सुरुवातमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
त्यसपछि प्रमुख अतिथि, विशिष्ट अतिथि तथा आयोजक संस्थाका प्रतिनिधिहरूले दीप प्रज्वलन गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रममा बोल्दै महावाणिज्यदूत भरत खनाल तथा अन्य वक्ताहरूले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे ।
उनीहरूले विपत्तिको समयमा नेपाली समुदायबीच आपसी एकता, सहयोग र मानवीय भावना अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
नेपाली युवाहरूको संस्थाका अध्यक्ष दिल बहादुर कठायतले दुःखको समयमा नेपाली समुदाय एकजुट भएर पीडित परिवारको साथमा उभिनुपर्ने बताए ।
उनले सामाजिक उत्तरदायित्व, सहकार्य र मानवीय सहयोगको महत्वमाथि प्रकाश पारे । त्यसैगरी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनका अध्यक्ष मुकुन्द ढकालले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे ।
उनले विपत्तिका समयमा समुदायबीच सहकार्य र सहयोगको भावना अझ बलियो बनाउनुपर्ने बताए ।
कार्यक्रम सञ्चालन गर्दै महासचिव दुर्गा प्रसाद अम्गाईले दुःखको समयमा एकआपसमा साथ दिनुपर्ने भावनालाई जोड दिँदै भने, ’आजको यो दीप प्रज्वलन केवल श्रद्धाञ्जलीको कार्यक्रम मात्र होइन, यो दुःखमा रहेका परिवारहरूप्रति हाम्रो साथ, सहानुभूति, एकता र मानवताको प्रतीक हो । ’
कार्यक्रममा सहभागी सबैले भोटेकोशी बाढीमा ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य, शक्ति र साहस प्राप्त होस् भनी प्रार्थना गरेका थिए ।
कार्यक्रम आयोजक नेपाली युवाहरूको संस्था रहेको थियो । संस्थाका अध्यक्ष दिल बहादुर कठायत र महासचिव दुर्गा प्रसाद अम्गाईको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो ।