विकासन्युज

रक्सौल-वीरगञ्ज हुँदै काठमाडौं आउने रेलमार्गको अध्ययन शुरु

काठमाडौं । रक्सौल-वीरगञ्ज हुँदै काठमाडौं आउने रेलमार्गको प्रारम्भिक अध्ययन शुरु भएको छ । रेलमार्ग अध्ययनको लागि भारतीय टोलीले चोभारस्थित स्टेशनको अध्ययन गरेको हो । भारतीय रेल अध्ययन टोली बिहिबार नै नेपाल आएको रेल विभागका प्रवत्ता प्रकाशभक्त उपाध्यायले बताए । उनका अनुसार शुक्रबार टोलीले चोभारस्थित डिपोको अध्ययन गरेको र शनिबार वीरगञ्जको अध्ययन गर्नेछ । भारतीय टोली शनिबार विरगञ्जको अध्ययन गरी पर्किने उनले जानकारी दिए । नेपालको मन्त्रिस्तरको टोलीले भारतको भ्रमण गरी यस आयोजनालाई थप टुङगोमा पुर्याउने तयारी गरीएको उपाध्यायले बताए । रेलमार्ग निर्माणका लागि रेल विभागले ६ वटा कम्पनीले पेश गरेको आर्थिक र प्राबिधिक प्रस्तावका आधारमा एउटा कम्पनीलाई छान्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । रेल विभागले सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा १५ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर आर्थिक तथा प्राबिधिक प्रस्ताव मागिएको थियो । ती प्राबिधिक प्रस्तावहरुको अध्ययन गरेर उच्चतम प्रबिधी र न्युनतम आर्थिक प्रस्ताव गर्ने कम्पनीलाई सम्भाव्यता अध्ययनको जिम्मेवारी दिन लागिएको हो ।त्यसरी तयार भएको सम्भाव्यता अध्ययन रिपोर्टकै आधारमा डिपिआर निर्माण र रेल मार्ग निर्माणको काम अघि बढाइनेछ । विभागले २०७३ मंसिर १९ गते काठमाडौं–वीरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनी खोज्न ग्लोबल टेण्डर आव्हान गरेको थियो । विभागले सम्भाव्यता अध्ययनका लागि ७ करोड बजेट विनियोजन गरेको थियो । करिब २ सय किलोमिटर लामो हुने पुर्वानुमान गरिएको काठमाडौं-वीरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनपछि डीपीआर निर्माण गरिने योजना विभागले बनाएको छ ।

नेपाल बैंकर्स र भारतीय बैंक संघबीच एमओयू, नेपालका बैंकहरुको क्षमता बढ्ने

काठमाडौं । नेपाल बैंकर्स संघ तथा भारतीय बैंक संघबीच एमओयूमा हस्ताक्षर भएको छ । सो सम्झौतामा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा भारतीय बैंक संघका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतासंगै दुई देशका संघहरुबीच आपसी सहकार्य, क्षमता विकास, सुचना प्रदान, अनुसन्धान, आदि क्षेत्रहरुमा कार्य अगाडि बढाउन सहयोग मिल्नेछ । त्यसैगरी, यसले नेपालका बैंकहरुको क्षमता तथा अनुभब अभिवृद्धि गर्न समेत ठूलो मद्दत मिल्ने नेपाल बैंकर्स संघको विश्वास छ । साथै, आगामी दिनमा साउथ एशियन रिजन(क्षेत्र)मा सबै बैकर्स संघहरु बीचमा यसरी नै आपसी समझदारी गर्दै जाने कुरामा समेत सहमति भएको छ ।

सानेपामा सनराइज बैंकको एटिएम

काठमाडौं । सनराइज बैंक लिमिटेडले सानेपाको सिटी भ्यू अपार्टमेन्ट्समा एटिएम संचालनमा ल्याएको छ । सिटी भ्यू एटिएमको उद्घाटन बैंकका संचालक ओमकृष्ण जोशी र सिटी स्केप डेभलपर्सका अध्यक्ष मीनमान श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । हाल बैंकले ८३ वटा शाखा, ९७ वटा एटिएम, २२ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै, मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

कन्काई विकास बैंकले एलआईसीको जीवन बीमा योजना बेच्ने

काठमाडौं । कन्काई विकास बैंकले एलआईसी नेपालसँग बैकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रकाशमान बज्राचार्य र एलआईसी नेपालको सीईओ अभिजित घोष दस्तिदारले एक समारोहबीच हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बैंकका सीईओ बज्राचार्यले ग्राहकहरुको चाहना अनुसार एलआईसी नेपालको जीवन बीमा योजनाहरु सबै शाखा कार्यालयहरुबाट बेचिने जानकारी गराएका छन् । त्यस्तै, एलआईसी नेपालका सीईओ दस्तिदारले एलआईसी नेपालको उच्चतम बोनसदर र उत्कृष्ट ग्राहक सेवाको कारण आम नागरिकहरुले यस कम्पनीको योजनाहरु लिने गरेको बताएका छन् ।

सूर्य नेपालले पायाे ५० हजार पुरस्कारसहितकाे प्रमाणपत्र

काठमाडौं । वातावरण संरक्षणमा बाराको सूर्या नेपाल प्रालि प्रथम भएको छ। वातावरण संरक्षणमा प्रथम स्थानमा रहन सफल रहेको भन्दै उक्त कम्पनीलाई विश्व वातावरण दिवसको अवसरमा प्रमाणपत्र प्रदान गरिएको छ। मंगलबार विश्व वातावरण दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सूर्या नेपाललाई ५० हजार पुरस्कार सहितको प्रमाणपत्र प्रदान गरेको हो। बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा संचालनमा रहेको सूर्या नेपाललाई वातावरण संरक्षणमा योगदान पुर्याएको भन्दै वन तथा वातावरण संरक्षण मन्त्री शक्ति बहादुर बस्नेत, वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीको हस्ताक्षर रहेको प्रमाण पत्र प्रदान गरिएको छ। वीरगन्ज पथलैया औद्योगिक करिडोरमा प्रदूषण फैलियो भनेर गुनासोहरु आउने गरेकोमा उक्त क्षेत्रमा नै वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको सूर्या नेपाललाई वन तथा वातावरण मन्त्रालयबाटै प्रमाणपत्र प्रदान गरिनु सकारात्मक रहेको र यसले अन्य उद्योग कलकारखानाहरुलाई पनि वातावरण स्वच्छ राख्न प्रेरित गर्ने वीरगन्ज उद्योग वाणिज्य संघका मनोज उपाध्यायले बताए। उनले सूर्या नेपालले नेपालको अर्थतन्त्रमा पनि उक्तिकै योगदान दिएको र उत्पादन गर्ने क्रममा वातावरण पनि संरक्षण गरेकोमा प्रमाणपत्र प्रदान गरिएको जनाएको छ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ग्राण्डी हस्पिटलमा विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र ग्राण्डी ईन्टरनेशनल हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र ग्राण्डी ईन्टरनेशनल हस्पिटलका बजार व्यवस्थापन एंव व्यवसाय विकास प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात ग्राण्डी ईन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट/क्रेडिट कार्ड लिएका बैैंकका ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ७.५ प्रतिशत छुट पाउने छन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

अवरुद्ध उत्तर-दक्षिण लोकमार्ग निर्माणकाे काम पुनः शुरु, ३६ करोडको लागत

ताप्लेजुङ । स्थानीयवासीको अवरोधका कारण २४ दिनदेखि रोकिएको उत्तर-दक्षिण लोकमार्ग आयोजनाअन्तर्गतको सडक निर्माण कार्य आजदेखि पुनः शुरु भएको छ । निर्माणका क्रममा फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपका केही स्थानीयवासीले अवरोध गरेका कारण जेठ १ गतेदेखि आयोजनाको निर्माणको कार्य रोकिएको थियो । स्थानीयवासी, ठेकेदार एलाइट कम्पनी र सडक आयोजनाका प्रतिनिधिबीच दुई दिनसम्म चलेको छलफलपछि निर्माण शुरु गरिएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङले जानकारी दिए । उनका अनुसार दुई दिनसम्म चलेको छलफलपछि लोकमार्गलाई बस्ती हुँदै अघि बढाउने सहमति बनेपछि निर्माण शुरु भएको होे । यसअघि बस्तीको दायाँतर्फको माथिल्लो भागबाट निर्माण अघि बढाइएको थियो । आयोजनाको निर्माण लेलेपमा पुगेपछि निर्माण पक्षले बस्तीबाट नै अघि बढाउने तयारी गरेका समयमा भने बस्ती जोगाइदिन भन्दै निवेदन गरेका थिए । सोही समयमा पनि छलफल गरी बस्तीको माथिल्लो भागबाट बाटो लैजाने सहमति भएको थियो । सहमतिअनुसार नै बाटो सर्वेक्षण गरी निर्माण शुरु हुन थालेपछि पुनः बस्तीबाटै लैजानु पर्ने माग राखी स्थानीयवासीले अवरोध गरेका थिए । सो क्षेत्रमा तीनवटा मेसिन लगाएर निर्माणको कार्य तीव्र बनाइएको छ । रु ३६ करोडको लागतमा निर्माणको जिम्मा पाएको एलाइट कम्पनीले निर्धारित समयमा नै काम सक्ने गरी तीनवटा मेसिन लगाएर काम अघि बढाइरहेको हो । एलाइटले तापेथोकदेखि ओलाङ्चुङ्गोलासम्मको मार्ग खोल्ने जिम्मा पाएको हो । ओलाङ्चुङ्गोलामा सडक जोडिन अब झण्डै ३२ किलोमिटरमात्र बाँकी रहेको आयोजनाले जनाएको छ । रासस

नारायणगढ-मुग्लिन सडकः दुई नम्बर सडकखण्ड

नारायणगढ-मुग्लिन सडकको कालोपत्रे कार्य सम्पन्न भएको दुई नम्बर सडकखण्ड । रासस (तस्बिर नारायण अधिकारी, चितवन)