विकासन्युज

ज्योति विकास बैंकको शाखा चितवनको पर्सामा, विपन्न परिवारलाई लघु कर्जा शुरु

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चितवनको पर्सामा नयाँ शाखा संचालनमा ल्याएको छ । पर्सा बजारमा रहेको उक्त शाखाको उद्घाटन प्रमुख अथिति खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । कायक्रममा बैंकका अध्यक्ष खड्काले ज्योति विकास बैंकले विपन्न परिवारका लागि लघु कर्जा शुरु गरेको र सम्पूर्ण शाखा मार्फत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताएका छन् । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले व्यवसायिक हिसाबले महत्वपुर्ण मानिने चितवनमा शाखा संजाल विस्तार गर्ने क्रममा पर्सामा शाखा खोलेको बताएका छन् । हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।  

एनएमबी बैंकको एफपीओमा साढे २ अर्ब रुपैयाँको आवेदन

काठमाडौं । संस्थागत र सर्वसाधारणको गरी एनएमबी बैंकको एफपीओमा साढे २ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । बुधबारसम्म ६१ हजार ४५० आवेदकबाट २ अर्ब ४५ करोड ५० लाख रुपैयाँको एफपीओ खरिदका लागि आवेदन परेको हो । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । असार २८ गतेसम्म पनि एफपीओ बिक्री नभए संस्थापक लगानीकर्ता अवसर पाउने र त्यसपछि पनि बिक्री नभए अण्डरराइटले सकार्ने छन् । बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ ।

भुक्तानी प्रणाली सञ्चालनका लागि ५ कम्पनीले पाए अनुमति

काठमाडौं । विभिन्न ५ निजी कम्पनीले भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति पाएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालन (पीएसओ) सञ्चालनका लागि ३ र भुक्तानी सेवा प्रदायक (पीएसपी) का गर्न २ कम्पनीलाई अनुमति दिएको छ । प्रभु टेक्नोलोजिज प्राइभेट, नेपाल क्लियरिङ हाउस लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले पीएसओ र आईएमई डिजिटल सलुसन्स लिमिटेड र ईसेवा फोन पे प्राइभेट लिमिटेडले पीएसपी सेवा सञ्चालन गर्न अनुमति पाएका हुन् ।

कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माण हुने, एक वर्षभित्र परियोजना तयार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माणका लागि एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार हुने जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सो मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै काठमाडौंभित्रका मर्मत सुधारका क्रममा कलंकी, चावहिल क्षेत्रका सडकबारे मुआब्जा विवाद भएकाले काममा ढिलाइ भएको बताए । मन्त्री महासेठले मुग्लिन-नारायणगढ सडकखण्डमा कालोपत्रेको काम पूरा भएको र पहिरो नियन्त्रणका काम पनि द्रुत गतिमा भइरहेको उल्लेख गर्दै यातायात क्षेत्रमा एकाधिकारको अन्त्य गरिएको बताए । पर्याप्त बजेट नभएकाले सम्पूर्ण सडक र पुल समयमा बनाउन नसकिएको बताउँदै उनले बहुवर्षीय ठेक्काको भुक्तानीका लागि आवश्यक प्रबन्ध मिलाइएको पनि जानकारी दिए। मन्त्री महासेठले अब उपभोक्ता समितिमार्फत नभई प्रचलित कानूनबमोजिम ठेक्का प्रणालीको व्यवस्था हुने र सोहि अनुरुप काम अघि बढाइने स्पष्ट गरेका थिए । मन्त्री महासेठसंग सांसदहरु प्रेम सुवाल, अतहर कमाल मुसलमान, दुर्गाबहादुर राउत, राजेन्द्रकुमार केसी, ज्ञानकुमारी छन्त्याल, दिलेन्द्रप्रसाद बडू, रङ्गमती शाही, प्रेमबहादुर आले, देवप्रसाद तिमल्सिना, केदार सिग्देल, विमला विक, कृष्णप्रसाद दाहाल, अञ्जना बिसंखेले थप स्पष्टीकरण मागेका थिए । रासस

आठ देशका नागरिकलार्इ अमेरिका जान राेक, राष्ट्रपति ट्रम्प प्रसन्न

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सारेका थिए । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत वर्ष नै यी आठ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको आदेशात्मक कानुन बनाएका थिए । त्यस कानुनलाई अमेरिकाका विभिन्न तहका अदालतले बदर गरिदिएका थिए । त्यसपछि ह्वाइट हाउस स्वयंकै यस मुद्धा सर्वोच्च अदालत पुगेको थियो । विश्वका केही देश, मानवअधिकारवादी र अमेरिकी अधिकारवादीहरुले यसरी कुनै निश्चित देशका नागरिकलाई अमेरिका छिर्न नपाउने भनी गरेको निर्णयको विरोध गरेका थिए । तर मङ्गलबार अमेरिकी सर्वोच्च अदालतले भने ट्रम्पको निर्णय सदर गरिदिएको छ । यो मुद्धाको फैसला न्यायाधीशको बहुमत सङ्ख्याको आधारमा गरिएको बताइएको छ । उक्त मुद्धाको फैसलामा ४ जना न्यायाधीशले सदर गर्न नहुने अडान लिएका थिए भने ५ जनाले भने ती मुस्लिम देश बाहुल्य भएका र अरु २ गरी ८ देशका नागरिकलाई अमेरिका छिर्न प्रतिबन्ध लगाउनुपर्ने पक्षमा मत राखेका थिए । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि एकपछि अर्को गर्दै विभिन्न विषयमा उनका निर्णयहरु विवादमा परेका र अधिकांश त बदर नै भइरहेका छन् । कतिपयले उनको कार्यकाललाई विवादास्पद भनिरहेका छन् । तर यो फैसला भने ट्रम्पको पक्षमा आएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले यो पछिल्लो फैसलालाई उनको अहिलेसम्मकै ठूलो जितका रुपमा पनि लिएका छन् । राष्ट्रपति ट्रम्प प्रसन्न विभिन्न छ मुस्लिम देशसहित आठ देशका नागरिकले अमेरिका प्रवेश गर्न नपाउनेगरी अमेरिकी सर्वोच्च अदालतले फैसला गरे लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले सो फैसलाको स्वागत गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गरेर उक्त फैसलाको स्वागत गरेका हुन् । यस फैसलाप्रति उनले प्रसन्नता व्यक्त गरेका अमेरिकी सञ्चारले जनाएका छन् । राष्ट्रपति ट्रम्पले यो आफ्नो पुरानो निर्णय मात्र नभएर एक किसिमले भन्ने हो भने राष्ट्रपतीय निर्वाचनको एजेण्डा नै हो भन्दै उक्त निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएकोमा प्रशन्नता व्यक्त गरेका हुन् । यसअघिका तल्ला अदालतहरूले उक्त आदेश असंवैधानिक भनेकोमा उहाँले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीट अकाउन्टमा अदालतको यस फैसलालाई ठूलो सफलता हो भनेका छन् । अहिले पनि ट्रम्प प्रशासन मेक्सिकोबाट गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूका विरुद्धमा कडा रुपमा प्रस्तुत भइरहेको थियो । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पनि संक्षिप्त प्रतिक्रिया दिने क्रममा अदालतको आदेशको स्वागत गरेका थिए । उनले सो प्रतिक्रियामा भने-“हामी हाम्रो देशको सुरक्षाको लागि जति कडा हुनुपर्छ त्यति नै हामीले हुन पाउनुपर्छ । आफ्नो देशको सुरक्षा हाम्रो अधिकार र दायित्व हो त्यसैले जसरी हामी सुरक्षित हुन सक्छौँ त्यो मापदण्ड हामीले पूरा गर्न पाउनुपर्छ ।’’ रासस/एएफपी

द्रुत गतिमा अघि बढ्यो औद्योगिक स्थापनाको कार्य

काठमाडौं । मुलुकभर औद्योगिक क्षेत्रको स्थापना दु्रत गतिमा अघि बढेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बताए । उनले बुधबार प्रतिनिधिसभा संवोधन गर्ने क्रममा प्रदेश नम्बार ६ सुर्खेतको साटाखानीमा ११ सय विद्यामा औद्योगिक क्षेत्र सम्भाव्याता अध्ययन सम्पन्न भइसकेको बताए । ‘पूर्वधार क्षेत्र निर्माणको प्रारम्भिक काम समेत अघि बढाएका छौं,’ उनले भने । त्यस्तै दैलेकको चुप्रा र जुम्लामा औद्योगिक क्षेत्रको सम्भाव्यताको अध्ययन भइरहेको छ । प्रदेश नम्बर ३ मकवानपुरको हेटौडा औद्योगिक क्षेत्र मयुर धापमा रहेको २०० विद्या क्षेत्रफलमा थप औद्योगिक क्षेत्र स्थापना गर्न डिपीआर भएको उनको भनाइ छ । उनको अनुसार हरेक स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गर्न प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रको सहर्य र साझेदारी भइरहेको छ । औद्योगिकरणको लागि आवश्यक बजेट विनियोजन भइ सकेको उनको भनाइ छ । साथै औद्योगिक ग्राम स्थापनाको लागि मापदण्ड मस्यौदा तयार पारिएको छ । सरकारले सिमेन्ट, फलाम, चिनी लगायतमा आत्मनिर्भर बन्नका लागि सुविधासम्पन्न औद्योगिकरण गरिनेछ उनले बताए ।

दरबार मार्गको सुन पसल प्रहरीले फोर्यो, भित्र रित्तै

काठमाडौं । दरबारमार्गको डिजाइनर सुन चाँदी पसलको ताला प्रहरीले फोरेको छ । विसं २०७२ सालदेखि बन्द रहेको पसलमा बुधबार महानगरिय प्रहरीको टोलीले ताला फोरेको हो । पसलभित्र प्रहरीको टोली प्रवेश गर्दा भित्र सबै खाली देखिएको छ । पसलका सबै बहुमूल्य गरगहनाहरु हटाइएको देखिएको हो । होटल अन्नपुर्णको स्वामित्वमा रहेको सो पसल होटलले नवराज नेपाललाई मासिक २ लाखमा भाडामा लगाएको थियो । पसल ०७२ सालदेखि बन्द रहेपछि नेपालको कम्पनी द मास इन्टरनेशनल विरुद्ध होटलले २०७३ सालमा मुद्दा दायर गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट मुद्दा जितेर पसलको ताला फोरिएको होटलका एक कर्मचारीले बताए । उनका अनुसार व्यवसायी नेपालले होटल ८४ लाख भन्दा बढी भाडा तिर्न बाँकी रहेको छ । साथै नेपालले सरकारलाई कर पनि तिरेका छैनन् । पसलभित्र प्रहरीको टोली प्रवेश गर्दा भित्र सबै खाली देखिएको छ । सुनको परिमाण जोख्नका लागि प्रहरीले लगेको सुन नाप्ने मेसिनले सुन नाप्न समेत पाएन । व्यवसायी नेपालको नजिकको सुत्रको अनुसार उनी धादिङबाट एक सामान्य नागरिकका रुपमा काठमाडौं प्रवेश गरेका थिए । एक मुस्लिम व्यवसायीको सहकार्यमा उनले दरबारमार्गमा ‘द डिजाइनर’ नामक सुन चाँदी पसल खोलेका थिए । बैंकिङ कर्जा बढ्दै जाँदा उनले सनराइज बैंकको ऋण तिर्न सकेनन् । श्रोतका अनुसार अहिले उनी मलेसियमा रहेका छन् । उनले धर्म समेत परिवर्तन गरी मुस्लिम धर्म मान्दै आएका छन् । व्यवसायी नेपाललाई सनराइज बैंकले कर्जा तिर्न नसकेको भन्दै कालो सूचिमा समेत राखेको छ ।

सेयर बजारमा उतारचढाव, बुधबारको नेप्से सामान्य अंकले उकालो

काठमाडौं । सेयर बजारमा तीव्र उतारचढाव आएको छ । मंगलबार दोहोरो अंकले ओरालो लागेको बजार बुधबार सामान्य अंकले उकालो लागेको छ । बुधबारको बजारमा उच्च उतारचढाव देखिएको छ । कारोबार खुलेदेखि सामान्य अंकले घटिरहेको बजार एक बजेपछि एक्कासी उकालो लागेर १२०० अंक नाघेको थियो । त्यसपछिको बजार पुनः घटेर ११९९ अंकमा झरेको छ । अन्ततः बुधबारको बजार अघिल्लो दिनको तुलनामा ४.६२ अंकले उकालो लागेर ११९९ अंकमा पुगेको छ । बजारमा परिसूचकमा केही वृद्धि भएपनि सेयर कारोबारमा भने गिरावट आएको छ । बुधबार १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनमा ६ करोड रुपैयाँ घटी हो । मंगलबारको बजारमा २३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको थियो । बुधबार ३ समूह बाहेक बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी होटल समूह २० अंकले उकालो लागेको छ । त्यस्तै, विकास बैंक ११, बैंकिङ ५, अन्य र माइक्रोफाइनान्स ४/४ र फाइनान्स समूह ०.२१ अंकले बढेको छ । उता उत्पादनमूलक १९, बीमा ४.५८ र हाइड्रोपावर ४.४७ अंकले घटेको छ । नेको इन्स्योरेन्सको र मेगा बैंक नेपालको ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको ५.३१ प्रतिशतले सेयर मूल्य बढेको छ । रैराङ् हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.७६ प्रतिशतले घटेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा २.२४ प्रतिशत गुमाएका छन् ।