विकासन्युज

कर्मचारी सम्बन्धित विनियमावली बनाउन लोकसेवाको निर्देशन

ललितपुर । लोक सेवा आयोगले कर्मचारीको सेवाको शर्तसम्बन्धी कानून, बढुवा र विभागीय कारबाहीसम्बन्धी सामान्य सिद्धान्त, २०७४ बमोजिम विनियमावली बनाउन संगठित संस्थालाई निर्देशन गरेको छ ।आयोगको परामर्शमा कर्मचारी सेवा शर्त विनियमावलीे तयार भएपछिमात्र संगठित संस्थामा कर्मचारी पदपूर्ति प्रक्रिया अघि बढ्ने भएकाले यथाशक्य छिटो विनियमावली संशोधनका लागि आयोगले ताकेता गरेको हो । आयोगद्वारा आज यहाँ आयोजित संगठित संस्थाका पदाधिकारीसँगको अन्तरक्रियामा आयोगका अध्यक्ष उमेश मैनालीले कानून अभावका कारण संगठित संस्थामा एकीकृत परीक्षा प्रणाली सञ्चालन गर्न नसकेको र परीक्षा प्रणालीलाई यथाशक्य मितव्ययी बनाउन प्रयास गरेको जानकारी दिए । संगठित संस्थामा खुलातर्फको कुनै पनि पदको लिखित परीक्षाको सम्पूर्ण जिम्मेवारी आयोगले लिने स्पष्ट गर्दै अध्यक्ष मैनालीले विद्यमान अवस्थामा संगठित संस्थाको कार्यसम्पादन मूल्याङ्कन फारामको व्यवस्थापन तथा करार सेवाको नियुक्ति प्रक्रियामा आयोगको भूमिका नरहने बताए । सो अवसरमा संगठित संस्थाका पदाधिकारीले आयोगद्वारा लिइने परीक्षा प्रणाली विश्वसनीय भए पनि साना संस्थाहरूका लागि आर्थिक हिसाबले बोझिलो भएको, समान तहमा परीक्षा दिन पाउने प्रावधान रहेका साना संस्थामा कर्मचारीको स्थायित्वमा समस्या आउने गरेको, कार्यसम्पादन मूल्याङ्कन बढुवा र करार सेवाको नियुक्तिमा आयोगको भूमिकाको अपेक्षा गरेको बताए । संस्थाहरूको विशिष्टीकरणका आधारमा कर्मचारी नियुक्ति तथा बढुवा प्रक्रिया अघि बढाउनुपर्ने, प्राविधिक तहको परीक्षा प्रणाली छिटो गर्नुपर्ने, वैकल्पिक उम्मेदवारको सूची बढाउनुपर्ने उल्लेख गर्दै उनले अधिकांश संगठित संस्थाका पदाधिकारीले एक पटकका लागि विशेष बढुवा, कार्यरत कर्मचारीको हकमा उमेर हद र सीमित प्रतियोगितालाई सम्बोधन गरिदिन अनुरोध गरे। रासस

सुन तस्करीमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा :गृहमन्त्री

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नका जवाफ दिँदै उनले छानबिन जारी रहेकाले यथासमयमा यसबारे विस्तृत जानकारी आउने सदनलाई अवगत गराएका हुन्। सुन तस्करीमा उच्च राजनीतिक र प्रशासनिक क्षेत्रको संलग्नताबारे सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै उनले उच्च निकायका व्यक्ति पनि अनुसन्धानको घेरामा आएका छन् तर अनुसन्धान जारी रहेकाले अहिले सबै भन्न स्पष्ट नसकिने जवाफ दिए । “भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई अनुभूति हुने गरी कानूनी कार्यान्वयन गर्न सरकार कटिबद्ध छ”, मन्त्री थापाले भने, “तस्करी, भ्रष्टाचार र जनविरोधी हर्कत नियन्त्रण गर्न गरी शान्तिसुरक्षा र अमनचयन कायमका गर्नका लागि सरकार कटिबद्ध छ ।” कानूनबमोजिम भएका सम्झौता कार्यान्वयन गराई तोकिएको गुणस्तर र समयमा काम नगर्ने ठेकेदारहरुलाई कानूनी कारबाही गर्न मन्त्रालयले आफ्नो भूमिका प्रभावकारी रुपमा अगाडि बढाएको छ भन्दै उनले सम्भावित विपद्बाट हुन सक्ने जोखिमका लागि रकम निकासा भइसकेको, सडक दुर्घटना र प्राकृतिक विपद्बाट ज्यान जोखिममा पर्ने समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिएको बताए । नागरिकता प्राप्तिको हक सुनिश्चितताका लागि कानून तर्जुमा गरी कानून मन्त्रालयमा प्रस्ताव पठाइएको जानकारी दिँदै उनले सीमा सुरक्षा विशेष अभियान सञ्चालन गरी अपराध नियन्त्रण गरिने बताए । मन्त्री थापासँग, दिलेन्द्रप्रसाद बडू, विमलप्रसाद श्रीवास्तव र रामबहादुर विष्टले थप स्पष्टीकरण मागेका थिए । रासस

सातै प्रदेशमा मेगा आयोजना :ऊर्जामन्त्री

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सात प्रदेशमा सात मेगा जलविद्युत् आयोजना अघि बढाइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उनले ठूला र राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिएको र तराईमा भरपर्दो सिँचाइ व्यवस्था गरिएको जानकारी दिए । उनले भने – अबदेखि कसैले झोलामा खोला राख्ने अवस्था छैन ।आगामी तीन वर्षदेखि विद्युत् आपूर्तिमा मुलुक पूर्ण आत्मनिर्भर हुने गरी काम भइरहेको पनि उनले जानकारी दिए । मन्त्री पुनको जवाफमा सांसद्हरु प्रेम सुवाल, देवप्रसाद तिमल्सिना, रामबहादुर विष्ट, दिलेन्द्रप्रसाद बडू, सत्यनारायण खनाल, विमलप्रसाद श्रीवास्तव र मीना पाण्डेले थप स्पष्टीकरण माग गरेका थिए । रासस  

नाडेप लघुवित्तमा २२ गुणा बढी आवेदन, मागेको ४ करोड ८० लाख, आवेदन पर्यो १ अर्ब ३ करोड

काठमाडौं। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आइपिओ) २२ गुणा बढि आवेदन परेको छ । संस्थाले गत आइतबारदेखि निष्कासन गरेको आईपीओमा बुधबार अन्तिम दिनसम्म १ अर्ब ३ करोड रुपैयाँको आवेदन परेको छ । संस्थाले ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो । आईपीओमा २ लाख १९ हजारले आवेदन दिएका थिए । जसमा १० करोड ३५ लाख कित्ताको लागि आवेदन परेको सेयर निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । नविल इन्भेष्टमेन्टका अनुसार अनलाइन मार्फत १ लाख ११ हजार आवेदकले ४७ लाख ९८ हजार कित्ताको लागि आवेदन दिएका छन् ।

मेसी उत्कृष्ट ड्रिबलर कहाँबाट पस्छन थाहा हुन्न, त्यो बल रोक्न निकै कठिन थियो: बिरियन ओडु

काठमाडौं । मलाई हारको तनाबले छोडेको छैन । तर म अहिले परिवारसँग छु यसबाट टाढा हुने प्रयास गर्दैछु । शारिरीक रुपमा केही घाइते भएको छु यसले थप चिन्ता थपिरहेको छ । हामी अन्तिम १६ मा प्रवेश गर्न ४ मिनेट मात्रै बाँकी रहेको थियो । यो समय अनुभवको लागि एक कठिन घडी सँगै पिडा पनि । यो अनुभव मेरो जिवनमा लामो समयसम्मका लागि रहिरहनेछ । मेसीले मेरो साइडबाट खेल्ने धेरै प्रयास गरिरहेका थिए । मलाई थाहा थियो उनी उत्कृष्ट ड्रिबलर हुन् । एक-एक पास सजिलै निकाल्न सक्छन् । डिफेन्डरको अगाडी उनी कहाँबाट पस्छन त्यो थाहा हुँदैन । उनले प्रहार गरेको बल छेक्न निकै कठिन थियो किनकी त्यो गोल हुने राम्रो दिशा थिएन । मैले हेरिरहेको थिए प्रत्येक खेलाडीको अनुहारमा निरासा छाइरहेको थियो । भीएआर प्रविधीले हामीलाई पेनाल्टी नदिनु दुखद रह्यो ।रोजोको गोलले मलाई धेरै चकित पार्यो मलाई लाग्छ यो गोलले उनीहरुको समर्थकलाई धेरै उत्तेजित बनायो । सायद उनीहरुले धेरै खुशि मनाए यो फुटबलको प्रकृति हो । उनि नाइजेरियाका भरपर्दा डिफेन्डर हुन् ।  गोल डटकमको सहयोगमा

पोखरामा यामाहा ‘राइड एन्ड रिट्रिट’

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका स्कुटरचालकहरुलाई रोमाञ्चक ‘राइड एन्ड रिट्रिट’को आयोजना गरेको छ । गण्डकी अञ्चलका २५ जना यामाहा स्कुटरचालकलाई पोखराको यामाहा डिलर विश्वकर्मा अटोवक्र्सबाट पोखरा बजार हुँदै अतिथि रिसोर्ट लगिएको थियो । पाँच समूहमा विभाजन गरिएका २५ जना स्कुटर चालकलाई ‘पिलो फाइटिङ’, ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, जस्ता खेल खेलाइएको थियो । विश्वकर्मा अटोवक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले डिलर र राइडरहरुबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा सहभागीमध्ये एक कृति ढुंगानाले यामाहाको यो सुरुवात प्रशंसायोग्य भएको र यसले निरन्तरता पाउने अपेक्षा गरिन् । यामाहाले यसअघि काठमाडौं र नारायणघाटमा ‘राइड एन्ड रिट्रिट’को आयोजना गरिसकेको छ । केही महिनाअघि भएको एक स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरहरु स्टाइल र कम्फर्टका लागि सबैभन्दा बढी रुचाइने गरेको देखिएको थियो । एमएडब्लुले विगत ६ वर्षदेखि नेपालमा स्कुटर भित्र्याउँदै आएको छ । नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् । यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिलापुरुषलाई सुहाउने गरी तयार पारिएका हुन् । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन छ जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउने कम्पनीले जनाएको छ ।

निगमको नयाँ एयरबस भोलि बिहान ८ बजे काठमाडौंमा, १ महिनापछि टिकट बुकिङ खुला हुने

काठमाडौं । नेपाल वायु सेवा निगमको २६७ सिट क्षमताको एयरबस बिहिबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएको छ । एयरबस फ्रान्सको टुलुस शहरबाट सिधैं सिधैं काठमाडौंका लागि उड्नेछ । जहाज लिनको लागि निगमको टोली फ्रान्स पुगिसकेको निगमका सह प्रवक्ता शैलेस कंशाकारले बताए । उनका अनुसार एयरबस सञ्चालनको लागि २१ दिन जति कागजी प्रक्रिया लाग्नेछ । अबको १ महिनापछि एयर बसको टिकट बुकिङ खुल्ला हुनेछ । निगमले एयरबस सञ्चालनको केहि समय विशेष छुटको व्यवस्था गर्ने तयारी गरको छ । कंशकारका अनुसार विमान कसरी सञ्चालनमा कसरी ल्याउने भन्ने विषयमा निगमले अध्ययन गरिरहेको छ । एयरबस सञ्चालनको लागि अमेरिकन लिजिङ कम्पनीले १ जना क्याप्टेन पाइलटको व्यवस्था गरिदिएको छ ।  निगमले ४ जना को पाइलट तयार गरी राखेको छ । निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठका अनुसार २ वटा एयरबस सञ्चालन गर्नका लागि १२ जना को पाइलट र २ जना सिनयर पाइलटको आवश्यक पर्छ । जसमध्ये ६ जना को पाइलटको तयार भैसकेका छन् । एयर वस १२ अर्ब रुपैयाँमा खरिद गरेको हो । कर्मचारी संचय कोषले एक साताअघि निगमलाई जाहाजको अन्तिम किस्ता भुत्तानीका लागि ८ अर्ब रुपैयाँ ऋण सहयोग गरेको थियो । निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनलाई एयरबस ३३० र २०० सिरिजको विमान ल्याउन जिम्मा दिएको छ । नयाँ विमानले जापानको ओसाका, कोरियाको सिउल, र साउदी अरबको रियादमा उडान भर्नेछ । निगमले थप्न लागेको अर्को नयाँ न्यारोबडी ३२० अग्रेजी वर्ष २०१९ सम्ममा आइपुग्नेछ । १५६ सिट क्षमताको जहाज आएपछि ठूला एयरबसलाई लामो दुरीको उडान भर्ने जिम्मा दिइनेछ । निगमसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भर्ने ७४ जना पाइलट रहेका छन् । २९ जनाले आन्तरिक उडान भरिरहेका छन् । भने ४५ जना अन्तराष्ट्रिय उडान भर्ने पाइलट रहेको छन् । हाल ६ वटा साना र ३ वटा ठुला विमान रहेको निगमसँग ६ साना विमानले देशभित्र विभिन्न २२ स्थानमा उडान भरिरहेका छन् । हप्तामा सेक्टर हेरी १ देखि ३ उडान गरिहेको छ ।    

व्यापार र पारवहन सम्झौताको प्रोटोकल मस्यौदा चीन पठाइयो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सन् २०१६ मा चीनसँग भएको व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गरी चीन सरकारलाई पठाइएको जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उनले सो मस्यौदामाथि आगामी जुलाई दोस्रो सातामा दुई पक्षीय वार्ता हुने जानकारी दिएका हुन् । हालै प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको चीनको औपचारिक भ्रमणका क्रममा उक्त प्रोटोकलमा आगामी जुलाईमा हस्ताक्षर गर्ने सहमति भएको थियो । ओली प्रधानमन्त्री हुँदा सन् २०१६ मा व्यापार र पारवहन सम्झौता भएको हो । उनले मूल्यवृद्धि कम गर्ने र बजार अनुगमन प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उदारीकरण र निजीकरणको नाममा विगतमा सार्वजनिक संस्था बेच्ने काम भएको प्रसंग पनि उनले बताए। मन्त्री यादवसँग सांसद्हरु प्रेम सुवाल, रामबहादुर विष्ट, दिव्यमणि राजभण्डारी, गंगा चौधरी सतगौवा र लक्ष्मी चौधरीले थप स्पष्टीकरण मागेका थिए। रासस