मुक्तिनाथ विकास बैंकले रिनल्टकाे गाडीमा ६५ प्रतिशतसम्म लगानी गर्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले रिनल्ट ब्राण्डका विभिन्न मोडेलका सवारी साधनमा लगानी गर्ने भएको छ । बैंकले रिनल्ट कम्पनीको सवारी साधनको अधिकृत विक्रेता विशाल ग्रुपअन्तर्गतको एडभान्सड अटोमोबाइल्स प्रा.लिसँग गाडी खरिद मूल्यको ६५ प्रतिशतसम्म लगानी गर्ने सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र एडभान्स अटोमोबाइल्सको तर्फबाट प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरेका छन् । यस सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकले रिनल्ट कम्पनीको गाडी खरिद मूल्यको ६५ प्रतिशतसम्म लगानी गर्ने भएको छ । साथै, बैंकले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने बताएको छ । त्यस्तै, कर्जा लिने ग्राहकहरुले अग्रिम रुपमा कर्जा भुक्तानी गर्नुपर्दा बैंकबाट लिइने कर्जा भुक्तानी शुल्क नलिने व्यवस्था गरेको बैंकले जनाएको छ ।
समाजवाद गरिवी बाँड्ने हैन, समृद्धिका लागि हो –अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक समृद्धि बाँड्ने गरी आगामी वर्षका लागि बजेट आएको बताएका छन् । उनले मुलुकलाई आर्थिक समृद्ध बनाउन ८ प्रतिशत आर्थिक वृद्धि लक्ष्य परिकल्पना गरिएको स्पष्टपारेका छन् । व्यवस्थापिका संसदको बैठक सांसदले राखेको प्रश्नको जवाफ दिदै अर्थमन्त्री खतिवडाले भने “समाजवाद गरिवी बाँड्न हैन, समृद्धि बाँड्नलार्इ हो । त्यसैले पहिलो पटक उच्च आर्थिक वृद्धिको लक्ष्य राखेको छ, यसलाई हासिल गर्ने छौं” उनले भने । चालु खर्चभित्र पुँजीगत भएको र अनुदान रकम सबै पुँजीगत खर्च हुने जानकारी दिँदै उनले अन्तराष्ट्रिय प्रणालीअनुसार लेखाङ्कन चालुमा हुने भएकोले पुँजीगतमा नदेखिएको उनको भनाई छ । प्रदेश र केन्द्रबाट हुने ६ खर्ब पुँजीगत खर्चले ८ प्रतिशत आर्थिक वृद्धि र साढे ६ प्रतिशत मुद्रास्फिती कायम गर्ने उनले दावी गरे । १० दिन भित्र संसदबाट पारित हुने बित्तिकै बजेट कार्यन्वयन कार्यतालिका बनाएर अघि बढ्ने उनले जानकारी दिए । उनले १ खर्ब ५२ अर्ब रुपैयाँ रकम संघको रकम प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको बताए । कामलाई उत्पादनसंग जोडेर ८ प्रतिशत आर्थिक वृद्धि गर्ने योजना रहेको उनले सुनाए । राजश्व र वैदेशिक स्रोत परिचालन गरेर आर्थिक वृद्धि हासिल गर्ने सरकारकारको योजना रहेको छ । कृषि र साना व्यवसायलाई कर नलगाएको उनले स्पष्टपारे । अहिलेको मूल्यवृद्धि बजेटको प्रयासलाई प्रतिकुल पार्न गरिएको दुष्प्रयास भएको जिकिर गर्दै उनले “कार्टेलिङर सिण्डिकेट मूल्यवृद्धिको मुल कारण हो । वस्तु बजारको कार्टेलिङ सरकारले रोक्ने छ ।” ब्याजदर महंगो भएको सांसदको प्रश्नको जवाफमा अर्थमन्त्री खतिवडाले २०४० देखि ब्याजदरलाई बजार प्रणालीमा छाडेको र त्यसपछि ब्याजदर नियन्त्रण नगरिएको स्पष्ट पारे । ब्याजदर नियन्त्रण गर्न कर्जा निक्षेप अनुपात (स्प्रेड) ५ प्रतिशत सीमा मात्र लगाएको जानकारी दिँदै उनले भने “ब्याजदरका कारण लगानी निरुत्साही हुनुहुदैन ।”
कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् । बैठकले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । भ्रमण अपेक्षा अनुरुप नेपालको हितमा रहेको निष्कर्षमा मन्त्रिपरिषद् पुगेको मन्त्री बाँस्कोटाले जानकारी दिएका छन् । “नेपाल र बङ्गलादेश सरकारबीच हुने द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न र बीमा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ”, सञ्चारमन्त्री बाँस्कोटाले भने। त्यसैगरी, सरकारले कर्जा सुरक्षण नियमावली, २०७५ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले कृषि विकास रणनीति कार्यान्वयनका लागि युरोपेली संघबाट प्राप्त हुने ४० मिलियन यूरो (करीब पाँच अर्ब ६ करोड) अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । त्यसैगरी, बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन विधेयक-२०७५ संसद्मा पेश गर्न स्वीकृत प्रदान गरेको छ । बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतको छनोट, सेवाको शर्त, पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी नियमावली–२०७५ र निक्षेप सुरक्षण नियमावली–२०७५ लाई पनि स्वीकृत गरेको छ । रासस
सिजीको विश्वकप अफरमा दुई जनाले पाए २० इन्चको एलइडि टिभी
काठमाडौं । सिजीको विश्वकप अफरमा दुई जना विजेताले २० इन्चको एलइडि टिभी पाएका छन् । हाल भइरहेको विश्वकप फुटबल प्रतियोगितालाई मध्यनजर गरि सिजीले आफ्ना टिभी खरिदकर्ताहरु मध्यबाट प्रत्येक हप्ता एक जनालाई लक्की ड्र मार्फत सिजीको एलईडि टिभी प्रदान गरेको हो । जस अन्तर्गत हिजो मात्र एक पत्रकार सम्मेलन गरि २ जना भाग्यसालि विजेताहरु छानिएका थिए । जस मध्य इलाम घर भएका धिरज आर्चाय र काठमाडौं, तिलगंगा घर भएकी संजिता देउला रहेका छन् । तसर्थ योजना अनरुप सिजीले उनीहरु २ जनालाई सम्पर्क गरि उक्त उपहार प्रदान गर्ने र अझै २ वटा टिभीहरु उपहार स्वरुप दिन बाँकी रहेको बताएको छ । साथै, सिजीका ब्राण्ड म्यानेजर दिवाकार नगरकोटीले सिजीका टिभीहरु खरिद गरि आफुलाई भाग्यशाली विजेता बनाउन आग्रह गरेका छन् ।
चक्रपथ विस्तारको नयाँ डिजाइनः हरियाली, फुटपाथ, आकासे पुल, सोलार बत्ति र ट्राफिक लाइट
काठमाडौं । चीन सरकारको सहयोगमा विस्तार हुने चक्रपथको कलंकी–महाराजगञ्ज खण्डमा डिजाइन परिवर्तन हुने भएको छ । कोटेश्वर–कलंकी खण्डको सडक डिजाइनमा त्रुटि भेटिएपछि सडक विस्तार आयोजनाले कलंकी–चक्रपथ खण्डमा भने डिजाइनमै सुधार गर्न लागेको हो । ‘कोटेश्वर–कलंकी खण्डबाट पाठ सिकेर कलंकी–चक्रपथको डिजाइनमै सुधार गर्ने काम भैरहेको छ, चिनियाँ पक्षसँग यसबारेमा छलफल गरिरहेका छौं’, चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकाश भण्डारीले भने । उनका अनुसार कलंकी–महाराजगञ्ज खण्डको सडकमा हरियाली, आकासे पुल, मेडियन, सोलार लाइट, ट्राफिक लाइट, फुटपाथ लगायत समावेश हुनेछन् । आयोजनाले असोजदेखि सो खण्डको चक्रपथ विस्तार कार्य आरम्भ गर्न लागेको छ । हाल सडकको राइट अफ वे भित्र पर्ने व्यक्तिगत संरचना हटाउन सार्वजनिक सूचना प्रकाशित गरिएको छ । साउनदेखि रुख, वत्ति, पानी, ढल लगायतका संरचनाहरु हटाउन थालिने पनि भण्डारीले जानकारी दिए । कलंकी महाराजञ्ज खण्डको स्वम्भुमा भने सुरुङ खन्ने विकल्पबारे छलफल भैरहेको पनि उनले जानकारी दिए । ‘विश्व सम्पदा सूचिमा रहेको स्वयम्भु क्षेत्रमा भने सुरुङ वा फ्लाईओभरको विकल्पबारे छलफल भैरहेको छ’, भण्डारीले भने । स्वम्भुमा सडकको राइट अफ वे भित्रै वुद्धका बिभिन्न अवतारका तीन वटा ठूला मूर्ति रहेका छन् । ‘कलंकी–महाराजगञ्ज खण्डको प्रारम्भिक डिजाइन तयार भएको छ, त्यसमा थप सुधारका लागि हामीले आफ्नो धारणा दिनेक्रम जारी छ’, आयोजना प्रमुख भण्डारीले भने । कलंकी–कोटेश्वर खण्डको निर्माण सकिए लगत्तै चीनले कलंकी देखि महाराजगञ्जसम्मको ८.२ किलोमिटर चक्रपथ विस्तारको काम अघि बढाउँदैछ । चीन सरकारको शतप्रतिशत अनुदानमा आगामी असोज महिनादेखि कलंकी महाराजगञ्ज चक्रपथ विस्तार अघि बढाउन लागिएको हो । चीन सरकारले सो खण्ड विस्तारका लागि करिब ६ अर्ब बजेट लाग्ने अनुमान गरेको छ । निर्माण आरम्भ गरेको तीन बर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । ढिलोमा ४ बर्षभित्र कलंकी देखि महाराजगञ्ज खण्ड आठ लेनको बनिसक्नेछ ।
ग्लोबल आईएमई बैंक र कतारको कमर्सियल बैंकबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । ग्लोबल आईएमई बैंक र कतारस्थित कमर्सियल बैंकबीच रेमिट्यान्स व्यापार कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता पश्चात कमर्सियल बैंकको कतारमा रहेका ३० भन्दा बढि शाखाहरु मार्फत पठाएको पैसा ग्लोबल आईएमइको जुनसुकै शाखाबाट लिन सकिने छ । बैंकले हाल १२९ शाखाहरु, ५ वटा एक्सटेन्सन काउण्टर तथा ९० शाखा रहित बैंकिङ्ग सेवा, ७००० भन्दा बढि एजेन्ट मार्फत सेवा दिँदै आइरहेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । कतार स्थित कमर्सियल बैंक, कतारमा रहेका वाणिज्य बैंकहरु मध्यको अग्रणी स्थानमा रहेको बैंक हो जसको धेरै शाखा संजाल रहेको छ । ग्लोबल आइएमई बैंकले रेमिट्यान्सलाई प्राथमिकतामा राखी बिगत १० वर्षदेखि विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।
चिया पसलले गरे अस्पतालको लागि ७ कट्ठा १० धुर जग्गादान
काठमाडौं । गाउँमा अस्पताल निर्माणका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी विन्देश्वर साहले जग्गादान गरेका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर बजारमा चिया पसल गर्दै आउनुभएका साहले आफ्नो नाममा रहेको गाउँको सम्पूर्ण सात कट्ठा १० धुर जग्गा स्वास्थ्य मन्त्रालयको नाउँमा दान दिएका हुन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सुनकोशी कन्सट्रक्सन नेपाल प्रालि काठमाडौं मार्फत अस्पताल भवन निर्माण गर्ने योजना रहे पनि जग्गा अभावमा भवन निर्माण गर्न नसकेको अवस्थामा साहले जग्गा दान दिएपछि अब छिट्टै अस्पताल निर्माण गर्ने वडा नं १ का वडाध्यक्ष मानिकलाल यादवले जानकारी दिए।
दाेस्रो हाफमा साम्पोलीले मेसीलाई ‘के म अग्युइरोलाई राख्न सक्छु’, भनी सोधेको खुलासा
काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक जोर्जे साम्पाउलीले कुन खेलाडी राख्ने भनेर मेसीलाई सोधेको खुलासा भएको छ । नाइजेरिया विरुद्धको दाेस्रो हाफमा टचलाई नजिक आएर मेसीलाई साम्पाउलीले कुन अग्युइरोलाई राख्ने कि नराख्ने विषयमा मेसीलाई सोधेको एक भिडियो फुटेजबाट सार्वजनिक भएको हो । स्पेनिस अनलाइन मार्काका अनुसार खेल १/१ को बराबरी रहेको अवस्थामा साम्पोलीले मेसीलाई के म अग्युइरोलाई राख्न सक्छु भनी सोधेको पुष्टी गरेको छ । पछिल्लो समय कप्तान लियोनल मेसी र मस्कुरानोले अर्जेन्टिनाको खेलाडी छनोटमा प्रभाव पारिरहेको बताइएको छ । समुह चरणको दोस्रो खेलमा क्रोयोसियासँगको लज्जास्पद ३-० को हार बेहोरेपछि प्रशिक्षक साम्पोलीको चर्को विरोध भएको थियो । अब फ्रान्ससँगको खेलमा पनि मेसीले नै खेलाडी छनोटमा प्रभाव पार्न सक्ने अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।