काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक समृद्धि बाँड्ने गरी आगामी वर्षका लागि बजेट आएको बताएका छन् । उनले मुलुकलाई आर्थिक समृद्ध बनाउन ८ प्रतिशत आर्थिक वृद्धि लक्ष्य परिकल्पना गरिएको स्पष्टपारेका छन् ।
व्यवस्थापिका संसदको बैठक सांसदले राखेको प्रश्नको जवाफ दिदै अर्थमन्त्री खतिवडाले भने “समाजवाद गरिवी बाँड्न हैन, समृद्धि बाँड्नलार्इ हो । त्यसैले पहिलो पटक उच्च आर्थिक वृद्धिको लक्ष्य राखेको छ, यसलाई हासिल गर्ने छौं” उनले भने ।
चालु खर्चभित्र पुँजीगत भएको र अनुदान रकम सबै पुँजीगत खर्च हुने जानकारी दिँदै उनले अन्तराष्ट्रिय प्रणालीअनुसार लेखाङ्कन चालुमा हुने भएकोले पुँजीगतमा नदेखिएको उनको भनाई छ । प्रदेश र केन्द्रबाट हुने ६ खर्ब पुँजीगत खर्चले ८ प्रतिशत आर्थिक वृद्धि र साढे ६ प्रतिशत मुद्रास्फिती कायम गर्ने उनले दावी गरे ।
१० दिन भित्र संसदबाट पारित हुने बित्तिकै बजेट कार्यन्वयन कार्यतालिका बनाएर अघि बढ्ने उनले जानकारी दिए । उनले १ खर्ब ५२ अर्ब रुपैयाँ रकम संघको रकम प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको बताए ।
कामलाई उत्पादनसंग जोडेर ८ प्रतिशत आर्थिक वृद्धि गर्ने योजना रहेको उनले सुनाए । राजश्व र वैदेशिक स्रोत परिचालन गरेर आर्थिक वृद्धि हासिल गर्ने सरकारकारको योजना रहेको छ । कृषि र साना व्यवसायलाई कर नलगाएको उनले स्पष्टपारे । अहिलेको मूल्यवृद्धि बजेटको प्रयासलाई प्रतिकुल पार्न गरिएको दुष्प्रयास भएको जिकिर गर्दै उनले “कार्टेलिङर सिण्डिकेट मूल्यवृद्धिको मुल कारण हो । वस्तु बजारको कार्टेलिङ सरकारले रोक्ने छ ।”
ब्याजदर महंगो भएको सांसदको प्रश्नको जवाफमा अर्थमन्त्री खतिवडाले २०४० देखि ब्याजदरलाई बजार प्रणालीमा छाडेको र त्यसपछि ब्याजदर नियन्त्रण नगरिएको स्पष्ट पारे । ब्याजदर नियन्त्रण गर्न कर्जा निक्षेप अनुपात (स्प्रेड) ५ प्रतिशत सीमा मात्र लगाएको जानकारी दिँदै उनले भने “ब्याजदरका कारण लगानी निरुत्साही हुनुहुदैन ।”