विकासन्युज

सामसङ्गले ल्यायो तीन मोडलका टिभीमा आकर्षक अफर, सिमित समयको लागि मात्रै

काठमाडौं । विश्वकप २०१८ चलिरहेसँगै सामसङ्गले तीन नयाँ मोडलका टेलिभिजन सुपथ मूल्यमा बिक्री गर्ने अफर सार्वजनिक गरेको छ । यो योजनाको मुख्य उद्देश्य फुटबल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु रहेकाे कम्पनीले जनाएकाे छ। फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले सामसङ्गका टेलिभिजनहरुको खरिदमा विशेष अफर दिएको छ । यस योजनामा ग्राहकले यी ८२ इन्च प्रिमियम एमयू८००० ४के यूएचडी टिभी, ७५ इन्च एमयू ६१७२ स्मार्ट ४के यूएचडी टिभी र ६५ इन्च एमयू७००० स्मार्ट ४के यूएचडी टिभी मोडलहरुमा उत्कृष्ट अफर प्राप्त गर्न सक्नेछन् । यो अफर नेपालभर फैलिएर रहेका सामसङ्ग प्लाजाहरुबाट टेलिभिजन खरिद गर्दा पाउन सकिने छ । साथै, यो अफर केही दिनका लागि मात्रै ल्याइएको कम्पनीले जनाएको छ ।

बीपी राजमार्गमा १० टन र ३५ सिटसम्मको सवारी साधन चल्न पाउने

  काठमाडौं । सर्वोच्च अदालतले बीपी राजमार्गमा ठुला गाडी पनि सञ्चालन गर्नका लागि अन्तरिम आदेश दिएको छ । सर्वौच्चको आदेशसंगै बीपी राजमार्गमा १० टन क्षमताको मालवहाक ट्रक र ३५ सिटभन्दा कम क्षमताका बस सञ्चालन गर्न बाटो खुला गरेको हो । यातायात व्यवसायी कान्छामान बलले दायर गरेको रिटको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले १० टन र ३५ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन नरोक्न अन्तरिम आदेश दिएको हो । ढुवानी र ठूला यात्रुबाहक गाडी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै असार १२ गते कान्छामान बलले सरकार विरुद्ध रिट दायर गरेका थिए । उक्त रिटको पक्षमा कानुन व्यवसायीहरु शम्भु थापा, टीकाराम भट्टराई र टेकेन्द्र बस्नेतले बहस गरेका थिए । सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने वा नपर्ने विषयमा छलफलका लागि असार २६ गते दुबै पक्षलाई बोलाएको छ ।  

टाटा मोटर्स र सिप्रदी अटोपार्टसद्धारा टाटा गुरु सम्मेलन, २१ जना गुरुलाई सम्मान

काठमाडौं । टाटा मोटर्स र सिप्रदी अटोपार्टस् प्रा. लि.ले नेपालमा पहिलो टाटा गुरु सम्मेलनको सफल आयोजना गरेको छ । नेपालमा शुरु गरिएको यस टाटा गुरु सम्मेलनमा टाटा मोटर्सका तर्फबाट जयदीप मटकर (आईबी हेड) ले टाटा जेनुईन पार्टस्को बारेमा गुरुहरुलाई बताएका थिए । सम्मेलनमा मेकानिक्सहरुलाई एकै ठाउँमा भेला गरी टाटा ब्राण्डका गाडीहरु विश्वासिलो, भरपर्दो र सुरक्षित छ भन्ने कुराहरु आफ्ना ग्राहकहरुमा पुर्याउन सफल बनाएकोले उनीहरुलाई थप केही प्राविधिक ज्ञानहरु प्रदान गरिएको छ । साथै, आफ्नो दक्षताको विकास गर्ने अवसर तथा विभिन्न विधामा उत्कृष्ट कार्य गरेबापत् सम्मान तथा प्रोत्साहनको कार्यक्रमको रुपमा यस सम्मेलनलाई लिईएको थियो । प्रमुख कार्यकारी अधिकृत, प्रमुख संचालन अधिकृत लगायत सम्पूर्ण उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा टाटा गुरु सम्मेलनमा सबैभन्दा बढी अंक हासिल गर्ने टाटा गुरुहरुलाई सम्मानित पनि गरिएको थियो । जसमा पूर्व तर्फबाट एरिया वाइज हाईएस्ट प्वाईन्ट कलेक्सन गर्न सफल गुरु ईस्राफिल अन्सारीलाई विशाल पटेल एवं प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीबाट अवार्ड प्रदान गरिएको थियो । त्यस्तै, काठमाडौबाट धर्मा श्रेष्ठलाई बढी प्वाईन्ट कलेक्सन गरेकोमा जयदीप मटकर एवं प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठको हातबाट सम्मान दिलाईएको थियो । साथै, यस कार्यक्रममा २१ जना टाटा गुरुहरुलाई सम्मान गरिएको थियो । टाटा जेनुईन पार्टस्को प्रयोगले हुने चौतर्फी फाईदाहरुलाई मध्यनजर राख्नुनै टाटा गुरुको मुख्य दायित्व हो भन्ने कुरामा जोड गरिएको थियो ।

युनियन हाइड्रोपावरले आईपीओ निष्कासन गर्न पायो अनुमति, ७ करोड ५० लाखको आउने

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले बिहीबार कम्पनीलाई ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले पहिलो चरणमा १० प्रतिशत आईपीओ आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड नियुक्त भएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक बहुमतले स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको बिहीबार(आज)कोे दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीयमन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यसअअघिको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले प्रजातन्त्रमा संसद चलेका बेला निर्वाचनसम्बन्धी विधेयकलाई अध्यादेशका नल्याउन प्रतिबद्धता जनाउनुपर्ने बताए । उनले राष्ट्रिय सभाको निर्वाचन पनि प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा हुने प्रावधान राख्नुपर्ने सुझाव दिएका छन् । प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ । रासस

घरबाटो सिफारिश र नक्सा पासमा रोक

भक्तपुर । नगर विकास प्राधिकरणद्धारा सञ्चालित कमेरोटार र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाभित्रका घरेडीको नक्सा पास र घरबाटो सिफारिशमा मध्यपुर थिमि नगरपालिकाले रोक लगाएको छ । कमेरोटार जग्गा एकीकरण आयोजना र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका अध्यक्षसमेत रहेका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पत्रकार सम्मेलनमै यस्तो निर्णय सुनाएका हुन् । प्रमुख श्रेष्ठले भने -“कमेरोटार जग्गा एकीकरण आयोजना शुरु भएको १८ वर्ष भैसक्यो, यहाँभित्रको अनियमितता छानबिन गर्दै आयोजनाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिने नगर परिषद्ले निर्णय गरिसकेको अवस्थामा प्राधिकरणले आत्तिएर नगर प्रमुखलाई अध्यक्षबाट हटाएर एकलौटी गर्ने गैरकानूनी निर्णयको नगरपालिका घोर भत्र्सना गर्दछ ।” नगर कार्यपालिकाको २१ औँ बैठकले कमेरोटार र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाले विकसित घडेरी बिक्रीको लागि प्रकाशित सूचनामा उल्लेख भएका जग्गा बिक्रीका लागि घरबाटो सिफारिशलगायतको कार्यमा रोक लगाउने र मोलपोत कार्यालय भक्तपुरमा समेत रोक्का राख्नका लागि पत्र पठाउने निर्णय गरेको गरेको हो । नगर विकास ऐन २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार सञ्चालन भएका जग्गा एकीकरण आयोजनाको जग्गा व्यवस्थापन उपसमितिको अध्यक्ष स्थानीय नगर प्रमुख रहने व्यवस्था भएपनि प्राधिकरणको गत जेठ २२ गतेको बैठकले नगर प्रमुख श्रेष्ठलाई हटाएर दुबै आयोजनाको जग्गा व्यवस्थापन उपसमितिको अध्यक्षमा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्षलाई राख्ने निर्णय गरेको हो । प्राधिकरणले नगर प्रमुखलाई अध्यक्षबाट हटाएको भोलि पल्ट नै सार्वजनिक सूचना जारी गर्दै कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रका टुक्राहरु बिक्रीमा राखेको छ । बिक्रीमा राखेको नयाँ घरेडीको नामसारी, घरबाटो र नक्सा पासमा रोक लगाएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिएका छन्। नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडाअध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थितिमा नगर प्रमुख श्रेष्ठले स्थानीय सरकारविरुद्ध प्राधिकरण अगाडि बढेको आरोप लगाए । उनले प्राधिकरणको औचित्य समाप्त भइसकेको भन्दै प्राधिकरण खारेज गर्न माग गरेका छन् । जनताको जग्गामा मनोमानी मूल्य राख्दै बिक्री गर्ने, आयोजनाका सबै काम नसकी पटक पटक म्याद थप गर्दै यहाँ भएको मनोमानी र भ्रष्टाचार रोक्न खोज्ने नगरपालिकाको प्रमुखलाई अध्यक्षबाटै हटाउने काम भएबाट आक्रोशित नगरपालिकाका पदाधिकारीहरुले आयोजना नगरपालिकालाई हस्तान्तरण नगरे कुनै काम अगाडि बढ्न नदिने बताएका छन् । नगरप्रमुख श्रेष्ठले दुवै आयोजना नगरपालिकाको मातहत सञ्चालन हुनुपर्ने अडान राख्दै नगर परिषद्बाट समेत स्वीकृत गराई आयोजनाको जिम्मेवारी लिने तयारी गर्दै गर्दा प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले अहिलेकै व्यवस्था अनुसार आयोजना चलाउन जबर्जस्ती गर्दै आएको ती पदाधिकारीको भनाइ छ । प्राधिकरणले कमेरोटार जग्गा एकीकरण आयोजनाको आयव्यय पारदर्शी रुपमा नराखेको र लेखा परीक्षणसमेत नगरी करोडौँ रुपैयाँ अपचलन गरेको नगरपालिकाको आरोप छ । प्राधिकरणको भक्तपुर शाखामा प्रमुखका रुपमा नवराज प्याकुरेल आएपछि मात्रै कमेरोटार जग्गा एकीकरण आयोजनामा पाँच पटक भन्दा बढी र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाभित्र जग्गाका घडेरी दुई पटक बिक्री गरि सकिएको छ । भक्तपुर नगरपालिकामा सञ्चालित दुई वटा आयोजना भने प्राधिकरणले नगरपालिकालाई हस्तान्तरण गरेपछि शुरुदेखि नै नगरपालिकाले नै आयोजना सञ्चालन गर्दै आएको छ । रासस

नेपाल बैंककाे ८ अर्ब नोक्सान सकियो, आगामी वर्षदेखि लगानीकर्तालाई लाभांश दिने अवस्थामा

काठमाडौं । आगामी आर्थिक वर्षदेखि नेपाल बैंक लगानीकर्तालाई लाभांश दिन सक्ने अवस्था पुगेको छ । ८ अर्ब रुपैयाँ संचित नोक्सान भुक्तान गरिसकेकाले आगामी वर्षदेखि लाभांश बाँड्न सक्ने अवस्थामा बैंक पुगेको हो । चालु आर्थिक वर्षको ६ महिनामा बैंक नाफा–नोक्सान बराबरीको अवस्था (ब्रेकइभन) मा आएको छ । संचित कोषको आकार र नाफा बढेकाले लगानीकर्तालाई लाभांश बाँड्ने अवस्थामा बैंक पुगेको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) दुर्गाराज रेग्मी बताउँछन् । “नियामक निकाय नेपाल राष्ट्र बैंकबाट लाभांश बाँड्न अनुमति पाउन सक्ने अवस्थामा बैंक पुगेको छ” उनले भने “सञ्चालक समिति र साधारणसभाले दिने वा नदिने त्यसैमा निर्भर हुन्छ । सञ्चालक समितिले लाभांश नबाँडौ भन्न पनि सक्छ ।” संचित नोक्सानका कारण बैंकका लगानीकर्ताले लाभांश पाएका छैनन् । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुदनाफा २ अर्ब ५६ करोड रुपैयाँ पुगेको र संचित कोष पनि ५ अर्ब ९७ करोड रुपैयाँ पुगेकाले बैंक आगामी वर्षदेखि लगानीकर्तालाई लाभांश बाँड्ने अवस्थामा पुगेको उनले दावी गरे । “अब पहिलाको अवस्थामा बैंक छैन । वित्तीय अवस्था मजवुत छ” उनले भने । नाफा र संचित कोषमा भएको वचत बैंकले जुन बेला पनि लगानीकर्तालाई लाभांश वितरण गर्न सक्ने उनको भनाई छ । २०५४ देखि २०५७ सालसम्म बैंकको वित्तीय स्वास्थ्य बिग्रेको थियो । २०५९ सालदेखि बैंकले नोक्सानलाई पूर्ति गरेर ब्रेक इभनमा पुगेको हो । बैंकलाई ब्रेक इभनमा ल्याउन झण्डै १७ वर्ष लागेको छ । नेपाल बैंकको खराब कर्जा बढेर वित्तीय अवस्था खराब भएपछि विश्व बैंकको ऋण सहयोगमा वित्तीय सुधार कार्यक्रम ल्याइएको थियो । सोही कार्यक्रमले बैंकलाई सुधार गरी लाभांश वितरण गर्ने अवस्थामा पुर्याएको हो । बैंकले शुक्रबारदेखि प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्तापुँजीमा र बाँकी संचित कोषमा जम्मा हुनेछ । बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा गरेको छ । १४ प्रतिशत मात्रै नाफा बढाउने लक्ष्य बैंकले आउँदो ३ वर्षमा नाफा १४ प्रतिशत मात्र बढाउने लक्ष्य लिएको छ । बैंकले एफपीओ ल्याउनका लागि सार्वजनिक गरेको आव्हानपत्रमा नाफा वृद्धि न्युन हुने देखाएको हो । आगामी आर्थिक वर्ष ०७६/०७७ मा नाफा सामान्य बढाएर ३ अर्ब ५५ करोड ३४ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ११ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो । ३ वर्षमा बैंकको नाफा ४३ करोड ५५ लाख रुपैयाँ बढ्ने बैंकको प्रक्षेपण रहेको छ । जगेडा कोषको आकार पनि बढेर १६ अर्ब ७८ करोड रुपैयाँ पुग्ने बैंकको अनुमान छ । चालु आवमा जगेडा कोष ९ अर्ब ७६ करोड र आगामी वर्ष बढेर १३ अर्ब २३ करोड रुपैयाँ पुग्ने छ । एफपीओको ४ अर्ब ९५ करोड यसरी लगानी गर्दैछ बैंक बैंकले एफपीओ बिक्रीबाट संकलन हुने रकम कर्जा र शाखा विस्तारमा लगानी गर्ने भएको छ । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्दैछ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । सो मध्ये ८५ प्रतिशत अर्थात ४ अर्ब २० करोड ८९ रुपैयाँ कर्जा तथा सापटीमा लगानी गर्ने भएको छ । यस्तै १० प्रतिशत अर्थात ४९ करोड ५१ लाख लगानी, ३ प्रतिशत शाखा विस्तार अर्थात १४ करोड ८५ लाख रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । अन्य कामका लागि ९ करोड ९० लाख अन्य क्षेत्रमा खर्च गर्ने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकका ग्राहकलार्इ ग्रान्डी अस्पतालको सेवा शुल्कमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टोखाकाे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा तथा अस्पतालका तर्फबाट मार्केटिङ तथा व्यापार प्रवर्धन प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।