भूमिसुधारका नासु दामोदर खतिवडा ३० हजार घुस लिदाँलिदै पक्राउ
काठमाडौं । भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई रु ३० हजार घुससहित पक्राउ गरिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो । प्रहरी निरीक्षक कार्कीले रु ३० हजार घुससहित पक्राउ गरेको पुष्टी गरे । उनले भने – “भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडा रु ३० हजार नगदसहित पक्राउ गरिएको हो ।” विराटनगरका एक व्यक्तिसँग मोहियानी हक दिलाइदिने भन्दै खतिवडाले घुस मागेको बताइन्छ । तिनै व्यक्तिले अख्तियारलाई सम्पर्क गरेर यसबारे जानकारी दिएका थिए । घुस दिने व्यक्तिको पहिचान अख्तियारले गोप्य राखेको छ ।
भारतले भन्यो- नेपालमा पानी जाहाज ल्याउन कोसी भन्दा नारायणी नदी उपयुक्त, सोमबार समझदारी हुँदै
काठमाडौं । हिन्द महासागरबाट पानी जाहाज ल्याउन सबैभन्दा उपयुक्त नारायणी नदी देखिएको छ । नारायणीमा पानीको बहाव बढी हुनुका साथै साँघुरो र बढी गहिराइ भएकाले पानी जाहाज चलाउन उपयुक्त देखिएको भारतीय प्राविधिक टोलीको एक अध्ययनले देखाएको छ । हिन्द महासागरबाट नेपालमा पानी जाहाज चलाउने विषयमा दुई देशका अधिकारीबीच आइतबार भएको छलफलमा भारतीय पक्षले कोशीको तुलनामा जाहाज चलाउन नारायणी नै उपयुक्त देखाएको वार्ता टोलीका प्रमुख तथा जल तथा ऊर्जा आयोगका सहसचिव माधव वेल्वासेले बताए । जल यातायात सञ्चालनका विषयमा कोसी र नारायणी नदीका केन्द्रीत भएर छलफल हुँदा कोसीको फैलावट बढी भएको र गहिराइ कम भएकाले त्यति सम्भव नदेखिएको उनको भनाई छ । कोसीमा पानीको बहाव राम्रो छ तर नारायणी साँघुरो र बढी गहिराइ देखिएकाले भारतको प्राविधिक टोलीले बताएको उनले जानकारी दिए । जाहाज सञ्चालन गर्न जति गहिराइ भयो त्यति सहज हुने उनको भनाई छ । जल यातायातको विषयमा सोमबार समझ्दारीपत्र (एमओयु) मा हस्ताक्षर हुने उनले जानकारी दिए । एमओयुको मस्यौदा तयार भएपनि सहमति हुन बाँकी रहेको वेल्वासेको भनाई छ । वेल्वासे र भारतका जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डले नेतृत्व गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला हिन्द महासागरबाट नेपालमा पानी जाहाज सञ्चालन गर्ने विषयमा दुई देशबीच सहमति भएको थियो । त्यसबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल समुद्रसंग जोडिएको उद्घोष गरेका थिए । पानी जाहाज सञ्चालनमा आएमा वस्तु आयात र निर्यात लागत घट्ने देखिएको छ ।हाल कोलकोता बन्दरगाहमार्फत सामान आयात निर्यात भइरहेको छ । यो बन्दरगाह नेपालका लागि धेरै खर्चिलो भएको छ ।
प्रभु बैंकको २ वटा शाखा बागलुङ्ग र भोजपुरमा
काठमाडौं । प्रभु बैंकले बागलुङ्ग र भोजपुरमा आफ्नो थप २ शाखा विस्तार गरेको छ । बैंकले बागलुङ्ग जिल्लाको ताराखोला र भोजपुर जिल्लाको हतुवागढि गरी २ वटा नयाँ शाखा कार्यालयहरु आइतबारदेखि सञ्चालनमा ल्याएको छ । उक्त ताराखोला शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले गरेका छन् । त्यसैगरी, हतुवागढि शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले गरेको हुन् ।
बैंक अफ काठमाण्डूको १३.२५ प्रतिशत बोनस सेयर पारित, अध्यक्षद्धारा सपथ ग्रहण
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको प्रस्तावित १३.२५ प्रतिशत बोनस सेयर पारित भएको छ । हालै सम्पन्न कम्पनीको २३औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पूँजीको सो मात्राको लाभांश पारित गरेको हो । त्यसैगरी, सभाले छलफल तथा अनुमोदनका लागि पेश भएका अन्य सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ । साथै, आइतबार(आज) बैंकका सञ्चालक प्रकाश श्रेष्ठले अध्यक्षको सपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपाल समक्ष सञ्चालक समितिको अध्यक्ष पदको सपथ ग्रहण गरेका हुन् ।
पर्यटन श्रमिकको समस्या बेलैमा सुनुवाई नभए पर्यटन क्षेत्र नै ठप्प पार्ने चेतावनी
काठमाडौं । पर्यटन क्षेत्रका श्रमिकहरुले पर्यटन श्रमिकको नियमसंगत पाउनुपर्ने मागको बेलैमा सम्बोधन हुन नसके यो क्षेत्र नै ठप्प पार्ने चेतावनी दिएका छन् । काठमाडौंमा संचालित पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको सेवा सम्बन्धी क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा पर्यटन क्षेत्रका श्रमिक नेताहरुले व्यवसायीका कारण पर्यटन क्षेत्र नै टिक्छ कि टिक्दैन भन्ने अवस्थामा पुगेको आरोप लगाए । नेपाल पर्यटन बोर्डको प्रायोजन र पर्यटन क्षेत्रका तीन मजदुर संगठन यूनिट्राभ, नेपाल पर्यटन श्रमिक संघ र अखिल नेपाल पर्यटन मजदुर संघको संयुक्त आयोजनामा भएको तालिमको समापन गर्दै नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले अब चप्पल लगाएर काम गर्ने मजदुरको माग खान देउ भन्ने मात्र होईन नीति निर्माण गर्ने तहमै सहभागीता हुनुपर्ने बताए । कार्यक्रममा नेपाल ट्रेड यूनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवरले जिम्मेवार भएर श्रमिकले कार्य गर्नुपर्ने बताउँदै आफ्ना अधिकारका विषयमा नडराई माग उठाउन श्रमिकहरूलार्इ आग्रह गरे । कार्यक्रममा आयोजकमध्येको एक यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्र नियमसंगत ढंगले चल्नुपर्ने भन्दै गलत काम गर्ने व्यवसायी र सरकारी निकायका पदाधिकारीलाई पर्यटन श्रमिकले साथ नदिने बताए । उनले ट्रेकिङ क्षेत्रका समस्या बेलैमा समाधान नगर्ने हो भने यो क्षेत्र नै धरापमा पर्ने भन्दै पर्यटन मजदुरका समस्या बेलैमा समाधान भएन भने श्रमिकले यो क्षेत्र नै ठप्प पार्ने चेतावनी दिए । त्यस्तै व्यवसायीका कारण अहिले पर्यटन क्षेत्र नै टिक्छ कि टिक्दैन भन्ने अवस्थामा पुगेको भन्दै बेलैमा सचेत हुन उनले व्यवसायीको ध्यानाकर्षण गराए । उनले टिम्सको रकम श्रमिकको पक्षमा नहुने हो भने यसलाई बन्द गर्नुपर्ने वा श्रमिकको सामाजिक सुरक्षा कोषमा हाल्नुपर्ने बताए । कार्यक्रममा नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष दीपेन्द्र पाण्डे (कपिल)ले नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय मिडियामा नकारात्मक प्रचार किन भयो भन्नेबारे सबै व्यवसायी र सरकारले विचार पुर्याउनुपर्ने भन्दै बेलैमा नेपालको पर्यटन सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने खाँचो औंल्याए । कार्यक्रममा अखिल नेपाल पर्यटन मजदुर संघका अध्यक्ष रामचन्द्र ढुंगानाले पर्यटन क्षेत्रका सबै श्रमिकहरु एक भएर गलत कामको भण्डाफोर गर्नुपर्ने बताए । कार्यक्रममा पर्यटन व्यवसायी दिपक महत मजदुरको समस्या समाधान गर्न व्यवसायी र राज्य लाग्नुपर्ने र टिम्सको रकम श्रमिकको हितमा लागाईनुपर्ने बताए । त्यस्तै पर्यटन व्यवसायी ज्योति अधिकारीले पर्यटन क्षेत्रमा इमान्दारिता देखाउनुपर्ने भन्दै पर्यटन श्रमिकको बीमाको कुरा व्यवसायी स्वयंले नै बहोर्नुपर्ने र टिम्सको रकममा र्याल चुहाएर सरकारको भर पर्न नहुने बताए । राज्यको रकम आपत विपदका बेला प्रयोग गर्नुपर्ने उनको सुझाव थियो । त्यस्तै टानका अध्यक्ष नवराज दाहालले पर्यटन क्षेत्रमा एकताको खाँचो रहेको भन्दै फेक हेलिकप्टर रेस्यु गर्ने सिमित व्यवसायीका कारण पुरै पर्यटन क्षेत्रलाई बद्नामी गर्न नहुने बताए । त्यस्तै एनएमएका महासचिव कुलबहादुर गुरुङले टिम्सको रकम सिधै मजदुरको कल्याणकारी कोषमा जानुपर्ने भन्दै जिम्मेवार पर्यटन गर्न लाग्नुपर्ने बताए । पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले पर्यटन श्रमिकलाई फेक रेस्क्यूको नाममा अवैध सुन बोक्ने गोरेजस्तै बनाउन नहुने बताए । ६ दिनको क्षमता अभिवृद्धि तालिम कार्यक्रममा १५० जना पर्यटन श्रमिकहरु सहभागी भएका थिए । आयोजकले सहभागीहरुलाई प्रमाणपत्र उपलब्ध गराएको थियो ।
चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि….
काठमाडौं । “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ ? देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा ?” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र स्वदेश विदेशका वरिष्ठ साहित्यकारहरु सातै प्रदेशका प्रतिनिधि कविका समृद्धिका स्वरमा आफ्ना कानलाई अडेस लगाइरहनुभएको थियो । आफूले देखेको “समृद्ध नेपाल, सुखी नेपाली” को सपनालाई स्रष्टाका सिर्जनात्मक कविताका रुपमा आज “चन्द्रागिरिबाट समृद्धिका स्वर” सिर्जना यात्रामा प्रधानमन्त्री ओलीले अनुभूत गरेका थिए । कविता वाचन हुनुपूर्व पर्यटकीयस्थल चन्दागिरिको भालेश्वर मन्दिर अवलोकन र नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर स्रष्टाहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हरेक नेपालीले कर्म मौरी झैँ समृद्धिको लागि काम गर्न आग्रह गरेका थिए । त्यसैअनुरुप कविहरुले पनि श्रम, सीप, सिर्जना, स्वदेशमा रोजगार, आपसी एकता, प्राकृतिक सम्पदाको उपयोग, कुशासनको अन्त्य आदि विषयलाई कविताको धागोले उनेर समृद्धिको माला उपहार प्रदान गरेका थिए । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय वृहत हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ को अन्तिम दिन स्रष्टाहरु चन्दागिरि सिर्जनायात्रामा भेला भएका थिए । प्रधानमन्त्रीसँगै वरिष्ठ साहित्यकार, चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकाल पनि मञ्चमा बसेर कविता श्रवणबाट मन्त्रमुग्ध हुनुभएको थियो । कविता फुरेमा कार्यक्रमको अन्त्यसम्म आफूले पनि कविता सुनाउने प्रधानमन्त्रीको उद्घोषले सहभागीमा अर्को उत्सुकता पनि पैदा भइरहेको थियो । छिनछिनमा परिवर्तन हुने चन्द्रागिरिको वातावरणलाई नियाँल्दै नयाँ समृद्धिको सपना देख्ने कविहरुले घाम, पानी, कुहिरोको दृष्यलाई पृष्ठभागमा राखेर हिमाली संस्कृति र सभ्यताको झलक पनि प्रस्तुत गरेका थिए । काठमाडौँका कवि डा रामप्रसाद ज्ञवालीले भाका हालेर सुमधूर स्वरमा यसरी कविता भनेका थिए । “उड्दैछन् पुतली स्वयम् सुर लिई आकाशमा फर्रफर नेपाली यदि स्वाभिमान छ भने आफैँ उठाऊ शिर” गण्डकी प्रदेशको गोरखाका कवि नारायण पोखरेलले शार्दुलविक्रीडित छन्दमै थपे, “ऊर्जा छैन विदेशमा कहरले नेपालको तागत के समृद्ध बनाउने रहर यो डाकेर अभ्यागत” प्रदेश नं ५ को अर्घाखाँचीका कवि बुँद रानाले गजलबाट समृद्धिको तीर्खा यसरी पोखेका थिए । “अरु छैन धोको यति गर्न पाउँ वतन्को सिपाही भई मर्न पाउँ चुनौतीहरुको छ जंघार चर्को नमानेर झर्को सधँै छर्न पाउँ” कविहरु डिएम कन्दङ्वा, आभाष सेतु सिंह, प्रकाश चापागार्इं, लक्ष्मी माली, लक्ष्मी थापा, हीरा शर्मा, वासुदेव पाण्डे, रघुराम कडरिया, तुल्सी शर्माले समृद्धिका स्वरमा आफ्ना सिर्जना मिसाएका थिए । सम्मिलनमा सहभागी विदेशी स्रष्टाहरुले पनि आफ्ना रचना प्रस्तुत गरेका थिए। भुटानका छत्रपति फुयाँल, भारत सिलगडीका ज्ञानेन्द्र खतिवडा र कालुसिंह रणपहेँली, दार्जिलिङ्का कर्ण विरह, खस्र्याङ्की उषाकिरण सत्यदर्शी, आसामका विष्णु शास्त्रीलगायत बंगलादेश, थाइल्याण्डलगायत मुलुकका सहभागी कविले कविता प्रस्तुत गरेका थिए। सम्मिलनमा आजै चन्द्रागिरि घोषणापत्र जारी गरिनेछ । रासस
अब टेलिकमको भ्वाइस र डाटा दुवैमा सेवा शुल्क तिर्नु पर्ने, साउन १ गतेदेखि लागू हुने
काठमाडौं । नेपाल टेलिकमको मनसुन अफर अन्तर्गत अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नु पर्ने भएको छ । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्दैनथ्यो । नेपाल सरकारले आगामी साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क (टीएससी) ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुर्याएको छ । त्यसैगरी, डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ । टेलिकमले मनसुन उक्त अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा टेलिकम सेवा शुल्क(टीएससी) समायोजन गर्ने भए तापनि ग्राहकहरुको सुविधाको लागि हाललाई विभिन्न सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने भएको छ । एडीएसएल लगायत निम्न लिखित प्याकहरु विशेष लोकप्रिय भएकाले ग्राहकहरुलाई थप आर्थिक भार नपर्ने गरी पहिलेकै दरमा उपलब्ध गराइएको छ: कम्पनीले पहिले देखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी÷फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराइएको छ । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार निम्न प्याक तथा सेवाहरुमा मूल्य समायोजन गरिएको छ: अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजहरुको मूल्य समायोजन गरिएको छ । कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजहरुमा २५ देखि ५० प्रतिशत सम्म बोनस उपलब्ध गराइएको छ । मनसुन अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415# डायल गर्नु पर्नेछ । त्यसैगरी, कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।
नेप्से ८ अंकले बढेर १२०० अंकमा, सबैभन्दा बढी सेञ्चुरी बैंकको प्रमोटर सेयर कारोबार
काठमाडौं । आइतबारको नेप्से परिसूचक ८.११ अंकले उकालो लागेको छ । दिनभर सामान्य उतारचढाव आएको बजारमा परिसूचक ०.६८ प्रतिशतले बढेर १२०० अंकमा पुगेको छ । बजारमा कूल १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १७० कम्पनीको ६ लाख ५१ हजार कित्ता सेयर किनबेच भएका छन् । सो मध्ये सबैभन्दा बढी सेञ्चुरी कमर्शियल बैंकको प्रमोटर सेयर किनबेच भएको छ । आइतबार यस बैंकको एक लाख २९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । जसको बजार मूल्य प्रतिकित्ता १७३ रुपैयाँ रहेको छ । आइतबार फाइनान्स समूह बाहेक बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेको छ । सबैभन्दा बढी बीमा ४३.४९ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ४०.६६, होइड्रो १०.७८ र उत्पादनमूलक समूह ९.३८ अंकले उकालो लागेका छन् ।