विकासन्युज

गण्डकी विकास बैंकको ४ नयाँ शाखा सञ्चालनमा, संख्या ७२ पुग्यो

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले ताप्लेजुङको फुङलिङ, मुस्ताङको कागवेनी, भक्तपुरको सुकुलढोका र ललितपुरको इमाडोलमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको शाखा संख्या ७२ पुगेको छ । बैंकले छिटै थप ५ वटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।

अल्का अस्पतालद्धारा अपाङ्गता भएका ७ जनालाई ह्विल चेयर प्रदान

ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले धापाखेलका ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चेयर प्रदान गरेको छ । अल्का अस्पताल, तथा अल्का पोलिक्लिनिक प्रालि सातदोबाटोले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा प्रदेश नम्बर ३ की सांसद देवकी वान्तवाले ह्विल चेयर प्रदान गरेकी हुन् । पुर्णगोपाल श्रेष्ठ, वासुदेव खड्का, गिता मालाकार, तारा महर्जन, सम्झना कार्की, गोमा खत्री र पवित्रा ज्ञवालीलाई वान्तासहित लाइन्स क्लव डिस्ट्रिक ३२५ ए टुका पुर्व गर्भनर रुद्रहरी ज्ञवाली, नागदह पर्यटन सहकारीका अध्यक्ष हरिशरण गिरीले ह्विल चेयर प्रदान गरेका हुन् । साथै,  ह्विलचेयर पाएपछि खुसी हुँदै उनीहरुले हिँडडुलमा सहजता आउने बताएका छन् । जल्पा माविमा भएको उक्त शिविरलाई लाइन्स क्लव अफ काठमाडौं अल्का, लियो क्लव काठमाडौं अल्का र नागदह पर्यटन सहकारीले सहयोग गरेका थिए । शिविरमा स्त्री रोग विशेषज्ञ, बाथरोग विशेषज्ञ,दन्त रोग विशेषज्ञ, नाक, कान घाँटी रोग विशेषज्ञ, सुगर रोग विशेषज्ञ र जनरल फिजिसियनहरुले करिव ३ सय विरामीको स्वास्थ्य परीक्षण गरेका थिए । बिरामीहरुलाई औषधी पनि निशुल्क प्रदान गरिएको थियो । अल्का अस्पतालकी कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापाले स्थानीय निकायहरुसँग स्वास्थ्य शिविर र ह्विल चेयर बाँड्न पाउँदा खुसी भएको बताएका छन् ।

एलजीले ल्यायो मनसुन सेल अफर, वासर र ड्रायर खरिदमा २० प्रतिशत छुट

काठमाडौं । एलजीले आकर्षक मनसुन सेल अफर ल्याएको छ । यस योजना अन्तर्गत एलजीको वासिङ मेसिनहरु अन्तर्गत वासर र ड्रायर मोडलहरुको खरिदमा २० प्रतिशत छुट पाईनेछ । यो योजना एक महिनामासम्म लागु हुनेछ । एलजीका विभिन्न मोडलका वासिङ मेसिन रहेको छ । जसमध्ये केही मोडलहरुमा ८ देखि १८ केजी सम्मको लुगाधुने क्षमताका साथै ५ देखि १० केजी सम्मको लुगा केहि समयमै सुकाउने सुविधा रहेको छ । जस कारण वर्षा याममा भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिने कम्पनीले जनाएको छ । एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी इम्पेक्स रहेको छ ।

६० मेगावाटको माथिल्लो त्रिशुली ३ एको काम ९० प्रतिशत सकियो, असारसम्म बिजुली बल्ने

काठमाडौं । सरकारी लगानीमा निर्माण भइरहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको ९० प्रतिशत काम सकिएको छ । आयोजनाको काम अब १० प्रतिशत मात्र बाँकी छ । चालु आर्थिक वर्षभित्र आयोजना सम्पन्न हुने गरी काम अघि बढी रहेको आयोजना प्रमुख फडिन्द्र जोशीले बताए । “सिभिल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । अब इलेक्ट्रोमेकानिकलको काम सुरु हुने छ” उनले भने । यस्तै बाँधको ४ वटा ढोका मध्ये १, र २ को काम सम्पन्न हुन बाँकी छ । यस्तै भूमिगत विद्युत प्रसारणलाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइनको मातातीर्थमा १ हजार ३०९ मिटर भूमिगत लाइन बनाउनु पर्छ । त्यसमध्ये हालसम्म ६३० मिटरको काम सकिएको हो । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ ।प्रसारणलाइनको काम चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशन (सीडब्ल्यूई) ले गरिरहेको छ । गत असोजमा ४ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएको थियो । आउदो २० महिनामा आयोजनाको काम सम्पन्न गर्ने नयाँ कार्ययोजना तयार पारिएको छ । सन् २०१९ को अप्रिल ३० मा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको हो । ०७२ बैशाख १२ गतेको भूकम्पपछि जटिल अवस्थामा पुगेको आयोजनाको काम सुरु भएपछि मुख्य संरचनाको काम सकिएको छ । चीनको आर्थिक सहयोगमा निर्माण सुरु भएकाले सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माणको ठेकेदार चीनियाँ कम्पनीका छन् । कुल १२ अर्ब ४२ करोड रुपैयाँमा आयोजनाको सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माण सम्पन्नगर्ने लक्ष्य लिएको छ । सन् २०११ म ३५ महिनामा काम सम्पन्न गर्नेगरी चाइना गेजुवा ग्रुप लिमिटेडसँग इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) प्रारुमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । नुवाकोट र रसुवामा रहेको सो आयोजनाबाट वार्षिक ४८ करोड ९७ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

बोनस र हकप्रद सेयरमा लाभकर प्रकरणः २ महिनादेखि निरन्तर अध्ययन, के गर्ने टुंगो छैन्

काठमाडौं । आन्तरिक राजश्व विभागले जेठ १८ गते पत्र काटेर २० गते देखिको सेयर कारोबारमा बोनस र हकप्रद सेयरमा अंकित चुक्ता मूल्यलाई आधार मानेर ७.५ प्रतिशत लाभकर असुल्न परिपत्र गर्यो । आइतबार र सोमबार लगानीकर्ताले सेयर कारोबार ठप्प पारे । लगानीकर्ताले नै सेयर बजार बन्द गराउँदै हिडेर नयाँ नजिर स्थापीत भएपछि जेठ २२ गते मंगलबार अर्थमन्त्रालयले सहसचिव उत्तर कुमार खत्रीको नेतृत्वमा अध्ययन समिति गठन गर्यो । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने अख्तियार प्रदान गरिएको थियो । तर गठन भएको २ महिना पुरा भैसक्दा पनि समितिले प्रतिवेदन बुझाएको छैन् । अध्ययन समितिका संयोजक उत्तरकुमार खत्री भन्छन्–‘अध्ययन प्रक्रिया जारी छ, अहिलेलाई यो भन्दा धेरै नबोलौं ।’ राजश्व सचिव शिशिर कुमार ढुंगानाले विद्यमान कानुन र अन्तराष्ट्रिय अभ्यासहरुका आधारमा बोनस र हकप्रद सेयरमा लगाइएको लाभकरबारे निर्णय लिने बताए । ‘अध्ययन समितिले आफ्नो काम गरिरहेको छ, मुलतः विद्यमान कानुन र अन्तराष्ट्रिय अभ्यासलाई आधार बनाएर प्रतिवेदन आउँछ र मन्त्रालयले त्यसको कार्यान्वयन गर्छ’, सचिव ढुंगानाले विकासन्युजसँग भने । विश्व बैंकको बैठकमा सहभागी हुन अमेरिका पुगेका अर्थमन्त्री डा. युवराज खतिवडा फर्किएपछि बोनस र हकप्रद सेयरको किचलो समाप्त हुने पनि बताए । ‘मन्त्रीज्यू फर्किएपछि प्रतिवेदन बुझेर कार्यान्वयन गर्छाै’, सचिव ढुंगानाले भने । आन्तरिक राजश्व विभागले बोनस र हकप्रद सेयरको लागत १ सय रुपैंयाँ मानेर सो भन्दा बढि रकममा किनबेच भएमा ७.५ प्रतिशत अग्रिम कर असुल्ने निर्णय गरेको थियो । अर्थमन्त्रालयको वित्तिय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख खत्रीको नेतृत्वमा गठन गरिएको अध्ययन समितिमा मन्त्रालयको राजश्व महाशाखा प्रमुख, आन्तरिक राजश्व बिभागका महानिर्देशक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र सिडिएस क्लियरिङ हाउस लिमिटेडका प्रतिनिधी सदस्य छन् । त्यस बाहेक लगानी कर्ता संघ संगठनका प्रतिनिधीहरु समेत पदेन सदस्य रहेका छन् ।

भारतद्वारा सीमामा एकतर्फी सडक निर्माण

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ । नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको छ । भारतले टनकपुर ब्यारेजदेखि उत्तरतर्फको ब्रह्मदेव बजार छेउसम्म करीब १ हजार ३०० मिटर सडक निर्माण गर्न थालेपछि ब्रह्मदेवका बासिन्दाले विरोध गरेका छन् । भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले भारतले नेपाली पक्षसित समन्वय नगरी करीब २०० मिटर वरसम्म नेपाली भूभागमा सडक बनाउन थालेको बताए । सीमास्तम्भ नं ३ हराएका कारण लामो समयदेखि त्यहाँ विवाद हुँदै आएको छ । केही समयअघि नेपाल–भारत संयुक्त सीमा सर्भे टिमले सो क्षेत्रको सर्भे गरेको थियो । सर्भेपछि टनकपुर तटबन्धको सिँढी टनकपुरदेखि १ हजार मिटर उत्तरतर्फ विद्युत्गृहमा बनाएको सिँढीलाई नेपाल–भारत सिमाना मानिँदै आएको थियो । उक्त सिमाना मानिएको क्षेत्रमा नै ३ नं सिमास्तम्भ पर्ने सर्भे टिमले निक्र्योल गरेको थियो । भारतले अहिले एकतर्फीरूपमा उक्त क्षेत्रमा सडक निर्माण गर्न थालेपछि विरोधमा उत्रिएको स्थानीयवासी गगनसिंह कार्कीले बताए । “विसं २०४०÷०४२ तिर ३ नं सिमास्तम्भ महाकाली नदीको बीचमा थियो, त्यो सीमास्तम्भ वरपर गाईवस्तु चराएको छु,” उनले भने, “सीमास्तम्भ हराएका कारण लामो समयदेखि भारतले सीमा मिच्दै आएको छ ।” भारतीय पक्षले हाल उक्त क्षेत्रमा पक्की सडक बनाउन थालेको छ । करीब एक हजार १५० मिटर सडक निर्माण गर्ने भारतको योजना छ । यस्तै तटबन्ध छेउमा टनकपुर ब्यारेज क्षेत्रमा करीब १ हजार ३०० मिटर सडक बनाउँदैछ । टनकपुर पुल र बाँध निर्माणका क्रममा महाकाली नदीको बीच भागमा रहेको ३ नं सिमास्तम्भ हराएको हो । “दशगजा र नेपाल–भारत सीमाको वास्ता नगरी भारतले सडक निर्माण गरिरहेकाले हामीले स्थानीय प्रशासन र नगरप्रमुखलाई यसबारे खबर गरेका छौं,” वडाध्यक्ष नाथले भने, “नेपाली पक्षसीत समन्वय गरेर मात्र भारतले सडक निर्माण गर्नुपर्छ ।” उनले सो क्षेत्रमा सीमाक्षेत्र निर्धारण गर्न माग गरे। मंगलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासहितको सुरक्षा निकायको टोलीले सडक निर्माणस्थलको अवलोकन गरेको थियो । “सडक निर्माण गर्न भारतीय पक्षले हामीसित समन्वय गरेको छैन,” उनले भने, “उक्त क्षेत्रमा लामो समयदेखि विवाद रहेकाले संयुक्त सर्भे टिमले टुंगो लगाएपछि मात्रै सडक निर्माण गर्न भारतीय पक्षलाई आग्रह गरेका छौँ ।” भारतीय पक्षलाई काम रोक्न भने पनि भारतले सडक निर्माणलाई निरन्तरता दिएको छ । भारतले दुई महिनादेखि उक्त क्षेत्रमा ठेक्का प्रक्रियाबाट पक्की सडक निर्माण गरिरहेको छ । रासस

१२ स्थानीय तहमा शाखा विस्तार गर्न नविल बैंकले माग्यो १०० ट्रेनि सहायक

काठमाडौं । नविल बैंकले १०० जनालाई रोजगारी खुलाएको छ । बैकले विभिन्न स्थानीय तहका लागि १०० जना ट्रेनी सहायक कर्मचारी मागेको हो । बैंकले अगष्ट २२ सम्म आवेदन दिन भनेको छ । बैंकले एक दर्जन स्थानीय तहमा शाखा विस्तार गर्न ट्रेनी सहायक मागेको हो । बैंकले आछामको तर्मखाँड, रामारोशन, वैतडीको पञ्चेश्वर, बझाङको बित्ताचर, डडेलधुराको अलिताल, डोटीको सयाल, जुम्लाको तिला, कालिकोटको पाँचझरना र पलाटा, सुर्खेतको बाराताल, सल्यानको दर्मा र रुपन्देहीको समरीमाई गाँउपालिकामा शाखा विस्तारका लागि ट्रेनि सहयाक मागेको हो ।

तेस्रोपक्ष बीमा रकम ५ लाखबाट बढ्ने, यातायात व्यवस्था विभागले बीमा कम्पनीसंग माग्यो प्रस्ताव

काठमाडौं । सरकारले सवारी साधन दुर्घटना तेस्रो पक्ष बीमा दावी रकम बढाउने भएको छ । यातायात व्यवस्था विभागले तेस्रोपक्ष बीमा रकमको पुनरावलोकनको काम सुरु गरेको छ । प्रचलित बीमा सम्बन्धित व्यवस्थामा प्रमियम र तेस्रो पक्ष बीमा वृद्धि हुने रकम खुलाई १५ दिन भित्र प्रस्ताव पेश गर्न विभागले बीमा कम्पनीलाई भनेको छ । तेस्रो पक्षिय दुर्घटना बीमा रकम कम भएको सबत्र्र गुनासो आएपछि यसलाई पुनरावलोकन गर्न लागिएको विभागका प्रवत्ता तुलसी गौतमले बताए । “बीमा दावी रकम बढाउन प्रिमिय कति चाहिन्छ भनेर बीमा कम्पनीसंग प्रस्ताव मागेका छौ” उनले भने “बीमा कम्पनीको प्रस्ताव आएपछि सोको अध्ययन गरेर दावी भुत्तानी रकम बढाउने विषयमा निर्णय हुनेछ ।” अहिले नै यति हुन्छ भन्न नसकिने उनले स्पष्टपारे । सवारी दुर्घटनामा टाउको र स्पाइनल इन्जुरी भई सरकारी चिकित्सकको शिफारिशमा लामो समयसम्म उपचार गराउनु पर्ने घाइतेको हकमा बढीमा ६ महिनासम्मको उपचारका लागि प्रिमियममा थप बीमा रकम वहन गर्न सकिने रकम समेत प्रस्ताव गर्न बीमा कम्पनीलाई अनुरोध गरिएको गौतमले जानकारी दिए । सवारी दुर्घटनामा तेस्रो पक्षको मृत्यु भएको अवस्थामा पीडित परिवारलाई ५ लाख रुपैयाँ राहत र घाइतको उपचारका लागि ३ लाख रुपैयाँ बीमा कम्पनीबाट वहन हुदै आएको छ । यी दुबै रकममा वृद्धि गर्नका लागि विभागले बीमा कम्पनीबाट प्रस्ताव माग गरेको हो । सिण्डिकेट अन्त्य भइसकेपछि यातायात क्षेत्र सुधारको यो दोस्रो कदम भएको गौतमको भनाई छ । सिण्डिकेट हुदा यातायात समितिले मृत्यु भएको परिवारलाई आफनो तर्फबाट थप राहात दिने व्यवस्था गरेको पाइएको उनले बताए । सिण्डिकेट हटेपछि समिति खारेज भएका र थप दायित्व वहन नहुने भएपछि सरकारले नै दुर्घटनाबाट पीडित परिवारलाई दिने दावी भुत्तानी रकम बढाउने तयारी थालेको हो । सवारी दुर्घटनापछि भीडले लाखौ रुपैयाँ क्षतिपूर्ति मागेर समस्या ल्याएपछि समधान गर्न केही वर्षअघि सरकारले तेस्रो पक्षिय दुर्घटना बीमा योजना लागु गरेको हो । यसअन्तर्गत सवारीसाधन, यात्रु र तेस्रो पक्षको बीमा हुदै आएको छ ।